महत्वपूर्ण सुचनाहरु :

कुलायन पूजा

कूल भनेको सगोत्री वंश हो र कुलायन कुलका उन्नायक देवता हुन् ।कुलको उन्नतिकालागि कुलवासीहरूमा सदाचार, विनय, विद्या, प्रतिष्ठा, तीर्थदर्शन, निष्ठा, वृत्ति, तप, दान, समेत नौ लक्षण हुनुपर्दछ भनेर शास्त्रमा बताइएकोछ -

आचारो विनयो विद्या प्रतिष्ठा दर्शनम्
निष्ठा वृत्ति स्तपो दानं नवधा कुल लक्षणम् ।

त्यसैगरी जाति, धर्म अनुरूप विवाह नगरीनु, सदाचार र सत्कर्म नगरीनु, पढाई र खानपानानादिमा बेपर्वाह हुनु जस्ता कुराहरूवाट कुल नाश हुनेतर्फ पनि शास्त्रले सतर्क गराएकोछ।
सगोत्री दाजुभाइहरू, वन्धु-वान्धधवहरू एकै ठाँउमा भेला भएर सामुहिक रूपमा कुका देवता एवं कुलदेवीको पूजा अर्चना गर्नु, पितृहरू प्रति श्रध्दा व्यक्त गर्नु, कुलका ऐतिहासिक व्यक्तिहरूको चर्चा, गुणानुवाद गर्नु कुलायन पूजा एवं त्यस पूजाका समयमा हुने कुल भेलाको तात्पर्य हो।कुल पूजाको परम्परा अनुसार कुनै स्थानमा वर्ष-वर्षमा, कतै-कतै दुइ-दुइ वर्षमा, कतिपय वंशमा ४।५ वर्षमा र कसैको १२ छर्षमा पनि हुने गरेको पाइन्छ।
रिमाल कलकमा प्रतिवर्ष कतै वैशाख पूर्णिमाका दिन कतै भाद्र शुक्ल चतुर्दशीको दिन र कतै धान्य पूर्णिमाका दिन कुलायन पूजाको परम्परा अगाडि बढेको पाइन्छ ।कतै कतै भने वैशाख पूर्णिमाका दिन देवाली र धान्यपूर्णिमाका दिन कुलदेवता पूजा गर्ने चलन भएको कुरा पनि सुन्नमा आएको छ ।

ललितपुरका रिमालहरूले केही वर्षदेखि वज्रवाराहीको जणगलमा कुल देवताको पूजा गर्दै आएका छन् भने पृथ्वीनाथ, विश्वनाथका वंशजहरूले (डिल्लीवजार, कालिकास्थान, पुतलीसडकमा फैलिएका खलक) गौशाला भण्डारखालमा कुलदेवता पूजा गर्दै आएका छन् । फिर्केपबाट काठमाण्डौं आइबसेका रिमाल परिवारहरूले भने अनुकुल अनुसार फिर्केपकै कुल देवता पूजामा सम्मिलित हुने, अनुकुल नपरे काठमाण्डौमा नै हुने सो पूजामा समावेश हुने गरेको पाइन्छ। परम्परा अनुसार काठमाण्डौ र लिलितपुरका रिमाल खलकले धान्यपूर्णिमामा कुलायन पूजा गर्दै आएकाछन् ।
सो पूजामा वलिका सम्वन्धमा पनि केही विभेद देखिन्छ। कतै कतै “अहिंसा परमोधर्म” भन्दै खीर, नरिवल चढाएर बोका वलि हटाएको पनि पाइन्छ भने कतिपय तिमाल खलकहरूले कुलायन पूजामा वलि प्रथा कायमै राखेका पनि छन् ।

श्रीखाली, फिर्केपमा गरिने कुलायन पूजा :

बैशाख शुक्ल पूर्णिमाका दिन बिहान कुलदेवताको स्थानमा सरसफाई र लिपपोत गरिन्छ । सबैभन्दा पहिले घरमा स्थापित गरेको वायुलाई (गतवर्ष पुजा गरेर पेरूङ्गामा थन्क्याएको) झिकेर सरसफाई गरी पूजाआजा गरी यसपाली पूजा गरेको फूलपाती, बस्त्र आदि त्यसैमा राखी कसैले नछुनेगरी अगज ठाउँमा (शिरानको तलामा) घरमै थन्क्याइन्छ । वायु पूजा गर्नेक्रम संगसंगै रुद्री पाठ पनि गरिन्छ ।यस पछि घर वाहिर कुलदेवताको स्थानमा सबै दाजुभाइ जम्मा भएर पूजा शुरू गरिन्छ । पूजाका सामानहरूमा - चन्दन, अक्षता, धूप, दीप, नैवेद्य (सेल, पुरी, फलफूल नरिवल, मिश्री आदि) र बस्त्र हुन ।पूजा विधि जान्ने जुनसुकै रिमाल ब्राह्मणले अग्नि स्थापना र होम गर्न सक्दछन् ।निजले नै पूजा पनि गर्दछन् । कुलदेबता जम्मा १६ वटा छन् । त्यस मध्ये भोग नखाने आठ वटा एक लहरमा हर्को लहरमा आठ वटा भोग (वलि) खाने देवताहरू स्थापित गरिएका छन् । यी दुई थरी देवताहरूलाई सानो आटले (पर्खाल) छुट्याइएको हुन्छ । पूजा गर्दा पहिले भोग नखाने देवताको पूजा गरिन्छ । सो पूजा गर्दा पूजा सामानहरु त्यतै पट्टि छोडिन्छ । अनि अर्को पट्टि (भोगखाने देवता) त्यहि राखेको भिन्नै पूजासामानवाट पूजा गरिन्छ । कुल देवतालाइ ढाइने नैबेद्य त्यसैस्थानमानै पकाइन्छ । त्यहा जम्माभएका सबे दाजुभाइहरूले यसैक्रमले पुजा गर्दछन् ।अर्को तर्फ होम गर्नेले होम पनि गरी सकेका हुन्छन् ।होम सकिएपछि वलि प्रदानदगर्नेहरूवाट यसै विचमा बलिको (बोका) संकल्प गराइन्छ । अनि बलि प्रदान गरिन्छ । त्यस पछि सबेलाइ टिका र तिलक लगाइ, फूलप्रसाद र तोरण लगाइदिन्छन् र बोका-प्रसाद र खीर-प्रसाद झिकेर सबैलाइ वितरण गरिन्छ । त्यसपछि विदा हुने बेलामा सम्पुर्ण ददेवताहरूलाई भेटी चढाई ढोगेर बिदा मागिन्छ ।कुलदेवताको स्थानमा पकाई-तुलाई गरेको प्रसाद त्यहीं बसि रिमालहरूले मात्र खाई बुत्याउनु पर्छ, घर लैजान मिल्दैन । आइमाई र छोरिवेटीलाई प्रसाद दिने चलन छैन । त्यस दिन निम्ता गरिएका ज्वाँई, भानिज छोरीबेटी आदिलाई घरमा नै तयार पारेको पक्वान्न मात्र दिइन्छ ।कुलदेवताको पूजाका वखतमा चढाइएका जिन्सी आदि पुरेतले (रिमाल) नै लिने गर्दछन् । नगद भेटी आदि चाँही संकलन गरेर कुलदेवताको स्थानको मर्मत आदिमा खर्च गरिन्छ ।