यस वर्षको एसएलसी परीक्षाको नतिजा असार ३ गतेभित्र प्रकाशित हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले हालसम्म ८० प्रतिशत काम सम्पन्न गरेको जनाएको छ।
हिजो शुक्रबार बसेको परीक्षा बोर्डको बैठकले परीक्षाको ‘मिसम्याच’ अवलोकन गरेको छ। प्राप्तांकलाई ट्याब वान र टुबाट केही समस्या आए नआएको विषयमा बोर्डका पदाधिकारीले मिसम्याच अवलोकन गर्ने गरेका छन्। पनिकाले असारको पहिलो साता परीक्षाफल प्रकाशित गर्ने भने तापनि ३ गतेभित्रै काम सक्ने र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ।
गत वर्ष जस्तै यो वर्ष पनि महिनाको अन्तिम दिनसम्म रिजल्ट निकाल्ने तयारी गरेको पनिकाले केही दिन ढिलो गरी ३ गतेभित्रै परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ। सकभर यो महिनाको अन्त्य नभए ३ गतेभित्रै परीक्षाफल प्रकाशित गरिसक्ने स्रोतले जनाएको छ। अब मिसम्याचपछि सबै प्राप्ताङ्कसहितको बुक निकाल्ने, बुक पढ्ने र केही एभनर्मल घटना भए अवलोकन गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको स्रोतको दाबी छ। मिसम्याच सकिएपछि दुई दिनमा बुक तयारी गर्ने, दुई दिनमा पढिसक्ने, एक दिन अन्तिम तयारी गरी सबै नतिजा हेरेपछि करिब एक सातामा सबै काम सम्पन्न गर्न सकिन्छ स्रोतको दाबी छ।
बढीमा एक साताभित्रै नतिजा प्रकाशन गर्न सक्षम भए पनि केही विशेष घटना घटे केही दिन ढिलो हुनसक्ने गरी ३ गतेको अन्तिम समय तय गरिएको हो। परीक्षामा ५ लाख ६६ हजार ८५ परीक्षर्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख १९ हजार,३ सय ५२ र एक्जेम्टेडतर्फ १ लाख ४६ हजार,७ सय ३३ परीक्षार्थी सहभागी भएका थिए। परीक्षा सञ्चालन एवम् व्यवस्थापनका लागि १ हजार, ८ सय ३६ केन्द्राध्यक्ष, २ हजार ७ सय ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार ५ सय ९३ निरीक्षक ७ हजार ५ सय ३० सहयोगी र १८ हजार, ३ सय ६० सुरक्षाकर्मी परिचालन गरिएको थियो।
गत वर्षभन्दा यो वर्ष ५४ हजार ९ सय परीक्षार्थी बढेका छन्। गत वर्ष नियमित र एक्जाम्टेड गरी ५ लाख ११ हजार १ सय ६५ विद्यार्थी सहभागी थिए। परीक्षा रद्द भएका धनुषाका तीन केन्द्र मध्ये दुईमा पुनः परीक्षा सम्पन्न भएको थियो भने एउटाको खारेज गरेको थियो। यदुकुवा ख र धवौली केन्द्रका करिब चार सय जना विद्यार्थी ले परीक्षा दिएका थिए। यदुकुवा क को पुनः परीक्षा रद्ध गरिएको थियो। यसैबीच हिजो सम्पन्न बोर्डको बैठकमा पत्रकार सम्मेलन गरी परीक्षाफल प्रकाशित गर्नु अगाबै पेनड्राइभ, सिडी र विभिन्न अनलाइनलाई मन परी रूपमा रिजल्ट दिने कार्य बन्द गर्नुपर्ने आवाज उठाएपछि परीक्षा नियन्त्रक एवम् बोर्डका सदस्य सचिव विष्णुबहादुर द्वारेले पत्रकार सम्मेलनपश्चात मात्रै सूचीकृत भएका वेवसाइट, अनलाइन, एसएमएस, आईभीआरलाई सूचना दिने बताउनुभएको थियो।