जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

समस्यामै अवसर खोज्न सकिन्छ

Posted on:  April 20, 2018

पढेर होइनपरेर जानिन्छ।‘ नेपाली समाजमा प्रचलित यो भनाइ नुवाकोटका जुम्ल्याहा दाजुभाइ राम-लक्ष्मणको जीवन-चरित्रसँग ठ्याक्कै मेल खान्छ। आफ्नो दैनिकीमा आइपर्ने व्यावहारिक अप्ठ्याराहरूको तार्किक समाधान खोज्ने क्रममा यी दाजुभाइको जीवनले यस्तो मोड लियोजहाँबाट उनीहरूले एउटा गतिशील यात्रा तय गरे।

घरबेटीले दिएको सामान्य जिम्मेवारीलाई कसरी सहज रूपमा सम्पन्न गर्न सकिन्छ भन्ने जुक्तिको खोजीमा सुरु भएको उनीहरूको प्रयास अन्तत: प्रविधिको क्षेत्रमा कोसेढुंगा सावित भएको छ। व्यावहारिक जीवनमा प्रयोग हुने प्रविधिको खोजअनुसन्धान एवं निर्माणमा खटिएका यी जुम्ल्याहा दाजुभाइले कम्युनिटी रेस्क्यु साइरन सिस्टमडिजिटल भोटिङ मेसिनअटोमेटिक मोटर अपरेटरलोड सेटिङ म्यानेजमेन्ट सिस्टमनेपाल टेलिकम वेयरकट अलार्म जस्ता जीवनपयोगी प्रविधिलाई घर-घरमा पुर्‍याएका छन्। व्यवस्थापनमा स्नातक गरेका राम-लक्ष्मण कसरी प्रविधितर्फ तानिए र त्यसलाई आम जनजीवनसँग जोड्न सफल भए यही सेरोफेरोमा साप्ताहिकका शिव मुखियाले गरेको कुराकानी :

व्यवस्थापनका विद्यार्थी, कसरी प्रविधितर्फ तानिनुभयो ? 

अभाव र आवश्यकताले हामीलाई यसतर्फ डोर्‍याएको हो। विभिन्न अप्ठ्यारा एवं कठिनाइसँग जुध्ने क्रममा हामी त्यसको वैज्ञानिक समाधान के हुनसक्छ भनेर घोत्लिन्थ्यौं। यसै क्रममा दैनिक जीवनलाई सहज बनाउने केही प्रविधिको खोज, अनुसन्धान एवं विकासमा जुट्यौं। 

जस्तो ? 

हामीले ट्यांकीमा पानी तान्ने र भरिएपछि स्वचालित रूपमा बन्द हुने प्रविधि बनायौं। आपत्-विपत्, चोरी-डकैती, दुर्घटनाजस्ता घटनामा कसरी सहयोग जुटाउने भन्ने अवधारणाअनुसार साइरन सिस्टम तयार गर्‍यौं। बिजुलीको तार चोरी हुनबाट रोक्ने यन्त्र बनायौं। डिजिटल प्रणालीको भोटिङ मेसिन बनायौं। 

यी प्रविधि प्रयोगका हिसाबले कति व्यावहारिक छन् ? 

हामीले अहिलेसम्म जे-जति खोज र विकास गर्‍यौं, ती सबै हाम्रो दैनिकीलाई सहज तुल्याउने हेतुले गरिएको हो। कुनै प्रविधि बनाएर चर्चित हुने उद्देश्य होइन। हामी आफ्नो दैनिकीलाई कसरी सहज अनि छिटो-छरितो बनाउन सकिन्छ भन्ने कुरामा केन्दि्रत छौं। 

तपाइर्ंहरूले विकास गरेको प्रविधिले आम जनजीवनलाई वास्तवमै सहज बनाएको छ त ?

त्यसमा हामी शतप्रतिशत ढुक्क छौं, किनभने अहिले हामीले प्रयोगमा ल्याएको प्रविधिले समाजमा प्रभावकारी ढंगले काम गरिरहेको छ। जस्तो, कम्युनिटी रेस्क्यु साइरन सिस्टमको कुरा गरौं। यसले आपत्कालीन अवस्था तथा आगलागीजस्ता दुर्घटनाबाट बचाएका प्रशस्तै उदाहरण छन्। चोरी-डकैतीलाई पनि धेरै हदसम्म कम गरेको छ। मन्त्री, मुख्यसचिवदेखि प्रहरी अधिकृतसम्मले यो प्रविधि अपनाएका छन्। त्यस्तै, नेपाल टेलिकम वेयरकट अलार्मले तार चोरी हुनबाट जोगाएको छ। यस्ता अरू पनि उदाहरण छन्। 

नेपाली समाजलाई कति प्रविधिमैत्री पाउनुभएको छ ? 

प्रविधिप्रति बिस्तारै लगाव बढ्दै गएको छ। अब परम्परागत ढंगले गरिने बोझिलो काम छिटो-छरितो बनाउन प्रविधिको सहयोग लिनुपर्छ भन्ने चेतनाको विकास भएको छ। 

त्यस्ता केही उदाहरण छन् ? 

गाउँमा छँदा मकै रोप्नुपर्‍यो भने स्कुल जान नपाइने। गोरु जोत्नेको पछि लागेर मकै छर्नुपथ्र्यो। बाल्यकालको त्यही दु:ख सम्झेर हामीले मकै छर्ने यन्त्र बनायौं, तर त्यसलाई प्रयोगमा ल्याउन सकिएन। कारण, किसानहरूले उक्त यन्त्र किन्नुभन्दा तुलनात्मक रूपमा सस्तो ज्यालामा पाइने खेताला लगाउनै उचित माने। त्यस्तै, हामीले चार वर्षको निरन्तर प्रयास र साढे ३ करोड रुपैयाँ खर्च गरेर डिजिटल भोटिङ मेसिन बनाएका छौं।

व्यवहारिक रूपमा असजिलो भएर प्रयोग नगरेका हुन् कि ? 

व्यवहारिक रूपमा असजिलो होइन, झन् सजिलो छ। खासमा चाहिँ परनिर्भर मानसिकताका कारण स्वदेशी उत्पादन प्रयोग गर्न सरकार हच्किएको हो।

सरकारी संयन्त्र चुस्त र वैज्ञानिक भएन भन्ने व्यापक गुनासो छ, यसको समाधान के छ ? 

एकदमै सही कुरा हो। हाम्रो सरकारी संयन्त्र एकदमै परम्परागत र अवैज्ञानिक ढंगबाट चलिरहेको छ। त्यसैले पनि सेवाग्राहीले छिटो, छरितो रूपमा सेवा गर्न सकिरहेका छैनन्। यसो भन्दैमा सरकारलाई गाली गर्नुको औचित्य छैन। 

यो त अरूको कुरा भयो, तपाईंहरूले आफ्नो कोणबाट के सोच्नुभएको छ ? 

हामीले कतिपय यस्ता प्रविधि बनाएका छौं, जसले प्रत्यक्ष वा परोक्ष रूपमा सरकारलाई सघाउ पुर्‍याएको छ। जस्तो, कम्युनिटी रेस्क्यु साइरन सिस्टमले प्रहरी प्रशासनको बोझ हलुका बनाएको छ। हामीले नै तयार गरेको आरएफटी वेस्ड भेकल ट्रेकिङ सिस्टमले पनि प्रहरीलाई सहयोग गरेको छ। यो प्रविधि प्रयोग गरेबापत उसले सरकारबाट ‘उत्कृष्ट प्रविधि प्रयोगकर्ता पुरस्कार’ समेत पाएको छ। 

नेपाली परिवेशमा प्रविधिको खोज, अनुसन्धान र विकासका मुख्य अवरोध के छन् ? 

केही अप्ठ्यारा अवश्य छन्, तर हाम्रो अनुभवले के भन्छ भने जहाँ समस्या हुन्छ, त्यहाँ अपार अवसर पनि हुन्छ।  

तपाईंहरूलाई यो क्षेत्रमा आउन के कुराले प्रेरित गर्‍यो ?

त्यतिबेला हामी नक्सालको गणपोखरीमा डेरा गरी बस्थ्यौं। डेरा भाडा धान्ने खर्च थिएन। त्यसैले घरबेटीको निजी काममा सघाउनुपथ्र्यो। अरूभन्दा पनि मोटर चलाएर पानी भर्ने काम साह्रै झन्झटिलो। कहिले ट्यांकीमा पानी रित्तिन्छ, कहिले भरिएर पोखिन्छ। त्यसैले यो समस्याबाट कसरी छुट्कारा पाउने भनेर सोच्न थाल्यौं अनि, ६-७ कक्षामा पढेको उत्तोलकको सिद्धान्त प्रयोग गरेर ट्यांकीमा पानी आफैं भरिने र भरिएपछि बन्द हुने प्राणालीको विकास गर्‍यौं।

त्यस्तो उपयोगी प्रविधि बनाउन कसरी सम्भव भयो ? 

त्यो त्यति गाह्रो थिएन। सामान्य हिसाबले तयार गरेका थियौं, तर यो कामबाट घरबेटी निकै प्रभावित भए। अनि, उनको ससुरालीका लागि पनि त्यस्तै प्रविधि बनाइदिनुपर्ने भयो। त्यसपछि हामीले यस किसिमको प्रविधि तयार गरेर बिक्री गर्न सकिन्छ भनेर दाजुभाइले सल्लाह गर्‍यौं। 

त्यसपछि ?

त्यसपछि पहिलेको भन्दा अलि परिस्कृत यन्त्र बनाएर त्यसलाई बिक्री गर्न घर-घर चहार्न थाल्यौं। तर, माओवादी द्वन्द्वको समयमा हामीजस्ता गाउँले केटाका लागि कसैले ढोका नखोल्ने। त्यसपछि अर्को उपाय अपनायौं। 

कस्तो उपाय ?

हामीले एउटा पर्चा बनायौ-‘रामलक्ष्मण यन्त्र’ भनेर। अब यन्त्रको प्रचार त हुने भयो तर, कसैले उक्त यन्त्रका बारेमा बुझ्न चाहे कसरी सम्पर्क गर्ने भन्ने प्रश्न उठ्यो। त्यतिबेला मोबाइलको चलन थिएन। त्यसैले एउटा पेजर किन्यौं र ‘सम्पर्क’ मा पेजर नम्बर राख्यौं। 

अनि ? 

त्यतिबेला घरबेटीको बिजुली, पानी र टेलिफोनको विल हामीले तिरिदिनुपथ्र्यो। हामीलाई लाग्यो, सहरका धेरै मान्छे त्यही भेला हुन्छन्। त्यसैले बिल तिर्ने ठाउँमा हामीले पर्चा टास्यौं र त्यसमा सम्पर्क ठेगाना पनि राखिदियौं। 

तपाईंहरूको जुक्तिले काम गर्‍यो त ? 

त्यसपछि ग्राहकहरूले सम्पर्क गर्न थाले। त्यतिबेला हामीसँग खासै व्यावसायिक सीप थिएन, ७ सय रुपैयाँ खर्च गरेर बनाएको यन्त्रलाई ८ सय ८८ रुपैयाँमा बेच्थ्यौं। त्यसपछि व्यवस्थित ढंगले यो काम गर्नुपर्छ भनेर छुट्टै डेरा लियौं।  अनि दुई/तीन जना सहयोगी लिएर मार्केटिङको काममा लगायौं। 

सुरुमै चुनौती मोल्नुभएछ  ? 

हो, तर सोचेजस्तो भएन। मार्केटिङ गर्न लगाएकाहरूले काम गरिदिएनन् अनि हामी आफैं त्यो काममा जुट्यौं। त्यही सिलसिलामा धेरैले हामीलाई ‘तिमीहरू यस्तो यन्त्र बनाउँदा रहेछौं, सुरक्षासँग सम्बन्धित यन्त्र पनि बनाउनु नि’ भने। त्यतिबेला माओवादी द्वन्द्वले गर्दा सहरवासीका लागि घरायसी सुरक्षा एउटा ठूलै चुनौती बनेको थियो। यही समस्या समाधानका लागि हामीले समुदायमा आधारित सुरक्षा प्रविधि तयार गर्‍यौं। 

त्यसपछिको यात्रा कसरी तय भयो ? 

पानी भर्ने यन्त्र जडान गर्ने क्रममा संयोगले हाम्रो भेट केबी भण्डारीसँग भयो। उहाँ जापानबाट फर्केर नेपालमै केही गरौं भन्ने सोचिरहनु भएको रहेछ। हामीसँगको भेटपछि उहाँ पनि यस्तै प्रविधिको खोज र विकासमा लाग्ने टुंगोमा पुग्नुभयो। हामीलाई आर्थिक हिसाबले पनि उहाँको सहकार्य आवश्यक थियो। उहाँसँग जोडिएपछि हामीले ‘टेक्नोलोजी सेल्स’ भन्ने संस्था स्थापना गर्‍यौं र प्रविधिको खोज एवं विकासलाई संस्थागत ढंगले अगाडि बढायौं। त्यसपछिको कथा सबैलाई थाहा छ ।

कान्तिपुर साप्ताहिक