गौरीघाटस्थित घरमा ९४ वर्षीय गोविन्दकुमार रिमाल भुइँखाटमा बसिरहेका छन्। दोलाइँमा गुटमुटिएर बसेका। दसैंको फूलपातीका दिन बाथरुममा लडेर उनको दाहिने हात भाँचिएको छ। बाथरुममा उनी कसरी लडे? उनैलाई पत्तो छैन। घटनाबारे अरूले बताउनासाथ उनी चिडिन्छन् र भन्छन्, ‘मलाई सबै थाहा छ।
खालि लडेको पत्तो छैन। ढोकामा ठेस लागेकोसम्म याद छ।’ उनकी अर्धांगिनी ९१ वर्षीया सविता भने रातो धोतीमा रातै पछ्यौरा ओढेर भित्र–बाहिर गर्दै छिन्।
जवानीका कुरा थाल्नासाथ उनी श्रीमान्को आडैमा गएर बसिन्। उनी सानो स्वरमा बोलेको सुन्न सक्दिनन्। बुढेसकालले श्रवणशक्तिलाई कमजोर बनाउँदै लगेको छ। ठूलो फ्रेमको चस्माले जनाउँछ– उनको आँखा पनि कमजोर भइसकेको छ। ठूलो स्वरले बोल्न नसक्ने श्रीमान्को आवाजलाई भने प्रष्टै बुझ्न सक्छिन्। चाउरिएका अनुहारको रेखा हेरेरै उनी आवाज ठम्याउँछिन्।
लाग्छ– जीवन यात्राको आठ दशकभन्दा बढी सँगसँगै हिँडेका यी वृद्ध दम्पती अनुहारको रेखा हेरेरै एक–अर्काको भाव बुझ्न सक्छन्।
करिब दुई घन्टा बिताउँदा अधिकांश समय गोविन्द बा नै बोल्न तम्सिए। बीचबीचमा बज्यैलाई प्रश्न सोध्नासाथ उनी नै अघि सरे, श्रीमतीतिर हेरेपछि मात्रै बज्यै बोल्न थाल्छिन्।
विवाह गर्दा गोविन्द १३ वर्षका किशोर थिए। सविता ११ की। ९४ वर्षीय गोविन्द बालाई आफ्नो जन्म तिथि र वर्ष कण्ठस्थै छ। अर्धांगिनीको उमेर पनि उनले ख्याल गरिरहेका छन्। ‘मेरो जन्म १९७६ साल वसन्त पञ्चमीमा भएको हो,’ उनले मुस्काउँदै भने, ‘यिनको चाहिँ सीता पञ्चमीका दिन १९७८ मा हो। यिनकी बूढी बज्यैले मलाई भन्नुभएको।’
भारतको अयोध्यामा विवाह–कर्म गरेका यी वृद्ध दम्पतीलाई त्यस बेलाका टुक्राटाक्री याद मात्र बाँकी छन्। ‘त्यहाँको एक मेलामा हजुरआमाले यिनलाई देखेपछि मन पराउनुभएछ,’ गोविन्द बाले सुनाए, ‘पछि परिवार पत्ता लगाएर बिहेको कुरो पनि छिनियो।’
सविता बज्यैसँग बिहेबारे जिज्ञासा राख्दा उनी पनि मुस्कुराइन्, ‘म मेलामा घुम्दै थिएँ। उहाँको हजुआमाले बोलाएर नाम ठेगाना सोध्नुभयो। त्यसको केही समयपछि त बिहे नै भइहाल्यो। मैले उहाँलाई पहिलोपटक देखेको बिहेमै हो।’
उनले कुरा नसक्दै गोविन्द बा अघि सरिहाले, ‘मैले त यिनलाई बिहेअघि नै देखेको हुँ। यिनका बाबुले वरपरका पाँच–सात केटा बटुलेर पढाउनुहुन्थ्यो। मेरा भाइ पनि त्यहाँ जान्थे। भाइ लिन जाँदा घाँघर लाएर तलमाथि गरेको देख्थेँ।’
गोविन्द बाका परिवार काठमाडौंमा राणाहरूको ज्यादती सहन नसकेर अयोध्या बसाइँ सरेका थिए। बज्यैका परिवार भने बबरशमशेरले अयोध्यामा बनाएको नारायण मन्दिरको रेखदेख गर्न त्यहाँ पुगेका थिए। यसरी जुरेको थियो यिनीहरूको भेट।
भारतमै हुर्के–बढेकी सविता धेरैपछि मात्र नेपाल आएकी हुन्। गोविन्द भने २००७ सालमा प्रजातन्त्र आएपछि नेपाल फर्किए। उति बेला कलकत्ताको सेन्ट जेभियर्समा पढेका उनलाई काठमाडौं फर्केर जागिर खान समस्या भएन। विभिन्न पदमा रहेर काम गरे। सेवानिवृत्त हुँदा उनी राष्ट्रिय अनुसन्धान विभागमा डिएसपी थिए। त्यस बेलाको सरकारी काम–कारवाही उनलाई मन परेको थिएन रे। ‘राणाहरूले देशलाई आफ्नो विर्ता सम्झेकाले माथ खाए । चाकडी चाप्लुसीबाट मुक्त हुन नचाहेका राजाहरू पनि अन्ततः पाखा लागे,’ अनुसन्धान विभागमा पदमा १६ वर्ष काम गर्नुपरेको पीडा उनले यसरी पोखे। इन्स्पेक्टरको पदमा १६ वर्ष काम गरेका उनीसँग त्यसको मूल्यांकन नभएको गुनासो अझै बाँकी छ।
यी दम्पतीले दुई छोरा, सात छोरी, २१ नाति–नातिना र २६ पनाति–पनातिनी हुर्काइसकेका छन्। यहाँसम्म आइपुग्दा उनीहरू कुनै गुनासो छैन, न त असन्तुष्टि नै। जेठा छोरा गुमाउँदा भने उनीहरूमाथि ठूलो बज्रपात आइलागेको थियो। नुनिलो आँसुसँगै अब त्यो दुःख बगेर गइसकेको छ। कान्छो छोरा उदय अहिले अमेरिका छन्। उनीहरूको स्याहारमा भने बुहारी र नाति जुटिरहेका छन्। छोरा नै आएर स्याहार–सुसार गरून् भन्ने उनीहरूको चाह पनि छैन। छोराकै काखमा अन्तिम श्वास फुस्स उडोस्– त्यो पनि सोचेका छैनन्। ‘हामी त बूढाबूढी भइसक्यौं। सबै वरिपरि होऊन् भन्ने चाहना त हुन्छ,’ उनी भन्छन्, ‘तर उनीहरूको जिन्दगी पनि त चल्नुपर्यो नि।’
बुहारी सरिता र नातिको माया, श्रद्धा र स्नेहबाट यी जोडीमा कुनै असन्तुष्टिको भाव देखिन्न। हात भाँचिएपछि बाजे झनै कमजोर बने। कतिपय कुरा बिर्सन थालेका छन्।
सरिताको दैनिकी सासू–ससूराको स्याहार–सुसारबाट सुरु हुन्छ। प्रायः दिउँसोको समय उनी यसमै व्यस्त हुन्छिन्। सरितालाई आफ्ना सन्तान हुर्काउँदा जति गाह्रो थियो, सासू–ससूराको हेरचाह झनै गाह्रो लागेको छ। तर पनि उनी खुसी छिन्, ‘उहाँहरू नभएको भए त घर नै सुनसान हुन्थ्यो होला। उहाँहरूलाई हेर्न÷भेट्नकै लागि कोही न कोही आइरहनुहुन्छ।’ जसरी बच्चा–बच्ची हुँदा घरको वातावरण रमाइलो बन्छ, उसैगरी बूढाबूढी भएको घरमा झनै शोभा बढ्ने उनी बताउँछिन्। ‘उहाँहरूबीच भएको कुराकानी र समझदारी देख्दा रमाइलो लाग्छ,’ सरिता भन्छिन्, ‘कहिलेकाहीँ नोक–झाँेक पनि चल्छ। तर त्यो हेर्न अझ रमाइलो हुन्छ, भर्खरै प्रेममा परेका जोडीजस्तै।’
दिनरात सासू–ससूराको छत्रछायाँमै रहेकी सरिता भन्छिन्, ‘उहाँहरू एक–अर्काको पूरक हो। मुवाले बुवाको सबै कुरा ख्याल राख्नुहुन्छ। मुवामा स्वास्थ्य समस्या बढी छन्। उहाँले औषधि खाए÷नखाएको बुवाले विचार गरिरहनुहुन्छ।’
नयाँ पुस्ताले यो जोडीबाट सिक्ने कुरा धेरै हुन सक्छन्। आठ दशकसम्मको भोगाइ थोरै होइन, अटुट समझदारीले मात्रै यो सम्भव हुन्छ। एउटा ‘युग’ नै सँगै बिताउँदा भोगेका उतार–चढाव उनीहरू शब्दमा वर्णन गर्न सक्दैनन्। किनकि, आवाज मधुरो बन्दै गएको छ। स्वर काँप्न थालेका छन्। उनीहरूको उज्यालो अनुहारले नै बताइरहेको छ– आपसी समझदारी र सच्चा प्रेम नै काफी रहेछ, जसले ‘सम्बन्ध’को परिभाषाका लागि कुनै शब्दको थुप्रो आवश्यक पर्दैन।
@ nagariknews.com