जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

जसले सबै तन्त्रमा व्यावसायिक मन्त्र बोके

Posted on:  March 3, 2018

राजा महेन्द्रको पालामा नारायणहिटी राजदरबार बनाएका इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमालले गणतन्त्रकालमा राष्ट्रपतिको आवास भवन डिजाइनको छनोट समितिमा बसी काम गरे । सात सालपूर्वदेखि नेपालको राजनीति देखिभोगिआएका उनी न कुनै दलसँग आबद्ध छन् न पुरानो व्यवस्थाप्रति नै मोह । पूर्ण व्यावसायिक भएर जीवनको आनन्द मजासँग भोगिरहेका रिमाल समय जस्तो छ, मानिसले त्यसैबाट आनन्द लिनुपर्ने र समयले जीवनलाई जसरी डोहो¥याएर लैजान्छ, त्यसैको बढीभन्दा बढी उपयोग गर्नुपर्ने विचार राख्छन् ।

आफ्नो विषयमा व्यावसायिक प्रतिबद्धता भएका रिमाल नेकपा(एमाले)को नौमहिनेकालमा राष्ट्रिय योजना आयोगका सदस्य पनि बने, कुनै विचारले डोहोरिएर होइन । त्यहाँ पुगेपछि उनले आफूअघि अड्केर रहेका सयौँ योजना खुलाइदिए । आयोगमा पूर्वाधार विकास क्षेत्रको जिम्मा पाएका उनले बिपी राजमार्ग, ढल्केवार–जलेश्वर, जनकपुर–धनुषा जस्ता थुपै्र सडक खुलाए, हुलाक सृदृढीकरणमा योगदान गरे, सरकारी छात्रवृत्ति विषयमा नीति बनाए । काठमाडौँ उपत्यका विकासमा बजेट थपे । नौ महिना मात्र काम गर्न पाएका उनी भन्छन्—पाँच वर्ष काम गर्न पाएको भए नेपालको पूर्वाधार संरचनामा निकै परिवर्तन अनुभव गर्न पाउँथे मानिसले ।

यस्ता रिमालको कुरा पत्यार गर्नै मन लाग्छ । उनका हजुरबा सरदार शिवनाथ(१९४६–२०२१) राजा महेन्द्रका पालामा शाही आयुर्वेदिक चिकित्सक कविराज थिए । ख्यातिप्राप्त उनी राजकविराजसमेत थिए । डाक्टरले निको पार्न नसक्ने रोग उनी निको पार्न सक्थे । पिताजी देवेन्द्रनाथ बिरामीका कारण छिट्टै बिते पनि त्रियानब्बे वर्षीया आमा सीतादेवी अहिले पनि लेख्न रुचाउँछिन् । मौनसाधिका सीतादेवीको नेपालीमा रुपान्तरित ‘वाल्मीकीय रामायण’ र एक कवितासङ्ग्रह प्रकाशन भएको छ । इन्जिनियर रिमाल स्वयंको भने ‘लुम्बिनी चक्र’कृति प्रकाशित छ जसमा लुम्बिनी पवित्र बगैँचा क्षेत्रको अशोककालीन पुरातात्विक भग्नावशेषको ज्यामितीय विश्लेषण गरिएको छ । रिमाल धर्मपत्नी शशि रिमालका कृतिहरु(कविता कुञ्ज,२०४२, स्मृतिका झस्काहरु(कथासङ्ग्रह,२०५३), नओइलिने फूलहरु,प्रवचनहरु,२०६८)का प्रकाशक पनि हुन् । यिनकी सासू लोकप्रियादेवी जोशी, महाकवि देवकोटाकी दिदी हुन् जो आफैँमा आफ्नो समय शारदाकालका प्रख्यात कवि थिइन् ।

उनी तन्नेरी छँदा त्रिचन्द्र कलेजमा अध्ययन गरिरहेका बेलामा क्रिकेट एसोसिएसन अफ नेपाल नामक समूहका तर्पmबाट क्रिकेट खेल्थे । उनी राम्रो ब्याट्सम्यान थिए । उनका तीन भाइले सँगै आइएस्सी पास गरेपछि कोलम्बो प्लानअन्तर्गत भारतमा इन्जिनियरिङ पढ्न गए । माहिला गौरीनाथ र उनले बङ्गाल इन्जिनियरिङ कलेज, श्रीपुर हाल बङ्गाल इन्जिनियरिङ, युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा इन्जिनियरिङ अध्ययन गर्न थाले भने कान्छा दुर्गानाथले इन्जिनियरिङ स्कुल अफ माइन्स एन्ड जियोलोजी धानवाद विहारमा भूगर्भशास्त्र अध्ययन गरे ।

यसरी राम्रो परिवार र अध्ययनको पृष्ठभूमिमा उनले नेपालका राजनीतिक, कूटनीतिक, आर्थिक, धार्मिक, सामाजिक क्षेत्रका संरचनामा योगदान दिएका छन् । उनको पहिलो जागिर पब्लिक निक्सारी अड्डा अथवा बिन्तीपत्र एवं उजुरीको निकासा गर्ने कार्यालय थियो जसले पृथ्वीनारायण शाहको सालिक राख्ने काम गरेको थियो । उनले सालिक राख्ने ठाउँको डिजाइन गरेका थिए । पछि ‘नेपाल स्मारक’ वा अहिलेको सहिदद्वार बनाए । यसको निर्माणको रोचक पक्षबारे धेरै पटक लेखिसकिएको छ । हात्ती छिर्न मिल्ने स्मारक बनाइएकामा पछि दायाँ बायाँ मोटर गुड्ने बनाइएको थियो । विसं२०१८वैशाख १ गते राजा महेन्द्रबाट उद्घाटन भएको त्यो स्मारकमा महेन्द्रकै चाहनानुसार सहिद र राजा त्रिभुवनको सालिक राखिएको थियो, सालिक स्थापनाबारे रिमाल स्वयंलाई थाहा थिएन । पछि जर्मनीको छात्रवृत्ति पाई एउटा पुलको स्ट्रक्चरल डिजाइन गर्दा उनले जर्मनहरुलाई नै जितेका थिए र उनलाई उतै बस्न अनुरोध गरिएको थियो तर उनलाई नेपालीकै मन जित्नुथियो र स्वदेश फर्के । नेपालको राष्ट्रिय झन्डा उनैले पहिलो पटक डिजाइन गरेका थिए, त्यसपछि मात्र नेपालको संविधान२०१९मा झन्डाबारे अनुसूची तोकिएको थियो । त्यसअघि हाम्रो झन्डा कोही सूर्य माथि तल चन्द्र बनाउँथे त कोही सानो ठूलो त्रिकोण । न रङ थियो, न ढङ्ग । नेपाल प्रज्ञा–प्रतिष्ठान, परराष्ट्र मन्त्रालय(सिंहदरबार), राष्ट्रिय सभागृह, पशुपतिनाथ यज्ञशाला, उन्मत्त भैरव र पूर्वीढोका, जैन मन्दिर, साइमन्दिर(नक्साल),विष्णु मन्दिर(सिङ्गापुर),नेपाली मन्दिर(मेरिल्यान्ड,अमेरिका) अध्यात्मज्योति भवन, संस्कृतग्राम(दोलखा), टीकापुर नगर, रामानन्दचोक द्वार, जनकपुर चुरोट कारखाना लि, होटेल सोल्टी, तारागाउँ, एभरेस्ट होटेल, शारदा सदन, शान्तिकुञ्ज, शोभागृह, अस्कल, दियालो बङ्गला, रेयुकाइ भवन (धोबीधारा), नेपाल विश्वसम्बन्ध परिषद् उनकै शिल्प हुन् जसले विविध क्षेत्रको प्रतिनिधित्व गरेका छन् ।

गुड्ने र खुट्ने घरका कथा
सत्र अठार सालतिर त्यसबेला ज्यादै चर्चित थिए ः उड्ने घर, गुड्ने घर र खुट्टे घर । खुट्टे घरको पहिलो नमुना शारदा सदन (तत्कालीन अधिराजकुमारी शारदा र खड्गविक्रम शाहको घर) नै हो । त्यसभन्दा अलिक फरक ढङ्गले बागबजारस्थित अङ्गुरबाबा जोशीको घर बनाएका थिए उनले । त्यो पनि खुट्टे घरकै एक नमुना थियो । शारदा सदन १९ फिटको उचाइबाट सुरुआत गरिएको छ अर्थात् खुट्टाकै उचाइ १९ फिट छ । दुइटा खुट्टाको बीचमा स्विमिङ पुल छ । तत्कालीन जर्मन राजदूतले त्यसको अवलोकन भ्रमण गरेपछि तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान भवनको उद्घाटनका अवसरमा उनलाई भनेका थिए रे “शारदा सदन त मास्टर पिस नै रहेछ ।” छतको बगँचामा सबै मानिसको पहुँच पुग्दैन । तसर्थ सबैको पहुँचमा पुग्ने किसिमको बगैँचा निर्माणका लागि त्यो उपयुक्त थियो । यो उनले कुनै नयाँ आविष्कार गरेको कुरा थिएन । फ्रान्समा यस किसिमका धेरै घर बनेका छन्। उनले पनि त्यहीँको सिको गर्ने प्रयास मात्र गरेका थिए । गुड्ने घरको नमुनाका रुपमा चाहिँ तत्कालीन गृहमन्त्री खड्गबहादुर सिंहको पुल्चोकस्थित घर थियो । त्यो पनि उनले त्यसै शृङ्खला (विसं २०१९ देखि २०२४ सम्म)मा बनाएको घर हो । गृहमन्त्री सिंहको घर त्यसबेला ज्यादै चर्चित थियो । गुड्ने घरका रुपमा नाम चलेको त्यो घर अहिले पुल्चोक इन्जिनियरिङ कलेजको स्वामित्वमा छ । त्यसको संरक्षण गर्ने उद्देश्यले नै क्याम्पसले आफ्नो स्वामित्वमा लिएको हो । उनले चाहिँ त्यसलाई पाङ्ग्रेघर नाम राखेका थिए तर पञ्चायतभित्रैबाट सूर्यबहादुर थापा आदिबाट यस्ता घरहरुका विरुद्धमा चर्का आवाजमा विरोधका स्वर सुनिए । “गरिब मुलुकका मन्त्रीले यस्तो घर बनाउने” भनी उनीहरुले आलोचना गरे । पञ्चायतका हस्तीहरुले यस्ता घर बनाए भनेर आलोचना गर्नाको साटो आधुनिक आर्किटेक्ट (वास्तुशिल्प, वास्तुकला)आत्मसात् गर्न खोजे भनेर भनिएको भए त्यसको सकारात्मक परिणाम निस्कन्थ्यो होला, नेपालमा अझ आधुनिक प्रविधि भित्रिन्थ्यो होला तर नकारात्मक कोणबाट त्यसको आलोचना हुँदा परिणाम पनि नकारात्मक नै निस्कियो । त्यो प्रगतिशील र रचनात्मक काम हतोत्साहित भयो । आधुनिक विचारलाई कमसे कम आफ्नो घरसम्म भित्र्याउन चाहने मान्छेहरु पनि त्यसबाट निरुत्साहित भए । पञ्चायतका हस्तीहरुले नै “यस्ता यस्ता घर बनाए” भनेर आलोचना हुन थालेपछि त आधुनिक प्रविधि भित्र्याउनु नै श्राप हो भन्ने प¥यो । जसले आलोचना गरे, तिनैले पछि गएर त्यस्ता धेरै घर बनाए । तसर्थ यो सबै राजनीतिका कारण मात्र गरिएको रहेछ भन्ने त्यसैबाट प्रस्ट भयो । रिमाल भन्छन्—“प्रगतिशील र रचनात्मक कामको विरोध गर्दा प्रतिगमनलाई बढावा पुग्छ भन्ने कुरा बुद्धिजीवीले सोच्दैनन्, त्यसले हामीजस्ता सिर्जनात्मक काम गर्नेलाई यस्तै समस्या पर्छ । ”

काठमाडौं–निजगढ छ लेनको द्रुतमार्ग(फास्ट ट्रयाक) ले पनि काठमाडौँ उपत्यका र वरिपरिका क्षेत्रको बढ्दो जनघनत्व र नेपाल भित्रिरहेका गाडीको बढ्दो सङ्ख्या हेर्दा उनी त विद्युतीय रेलमार्गको सुझाव पो दिन्छन् । प्रत्येक दशकमा काठमाडौँ भित्रने नयाँ र चौडा राजमार्गको निर्माण गर्न हाम्रो भूबनोटले नदिने हुनाले फास्ट ट्रयाक निर्माणलाई बुद्धिमत्तापूर्वक बिराम दिएर विद्युत् रेलमार्गको निर्माणमा लाग्नुपर्छ, जसले राजधानीवासीको एक शताब्दीसम्मको आवश्यकता धान्न सक्छ, रेलले बस–ट्रकले जस्तो सडक जामको झमेला बेहोर्नु नपर्ने हुँदा निर्धारित समय सीमाभित्र यात्रु गन्तव्यमा पुग्न सक्छन्, भाडाभरोट पनि एकतिहाई सस्तो पर्न जान्छ भन्ने उनको अनुमान छ ।

उनको पेसा डिजाइन हो । एक पेसेवार आर्किटेक्टले उसको जिन्दगीमा धेरै भवन, स्तम्भलगायतको डिजाइन गर्छ । उनी पनि डिजाइन नै गरेर जीवनको उत्तराद्र्धसम्म आइपुगे । कति डिजाइन गरे, कुनै हिसाबकिताब नै छैन । हुन त प्रत्येक काम महत्वपूर्ण, भिन्न र नयाँ लाग्छ र हुन्छ पनि तर उनलाई अहिलेसम्म पाएको जिम्मेवारीमध्ये गोरखा स्मारकको डिजाइन चाहिँ सबैभन्दा नयाँ र गहन लागेको छ । उनले यसलाई आफ्नो जिन्दगीको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिएका छन् । गोरखा स्मारक डिजाइनको काम सुरु गरेपछि उनले गोरखा सेना सम्बन्धमा अध्ययन सुरु गरे । त्यसपछि उनी निष्कर्षमा पुगे–“गोरखालीहरुको इतिहास नबुझी नेपालको समग्र अध्ययन बुझ्न सकिँदैन ।’ दुई शताब्दीअघिदेखि नेपाली नागरिकहरु गोरखा सैनिकमा निरन्तर गइरहेका छन् । हामीलाई लाग्छ, ‘उनीहरु सैनिकको जागिरबाट राम्रो कमाउँछन् ।’ तर उनीहरुले भोग्दैआएका पीडाप्रति हामी बेखबर छौँ । उनीहरुका बारे इतिहास त लेखिएको छ तर शासक बेलायतीहरुले मात्रै लेखेका छन् । उनीहरुले आफ्नो कोणबाट मात्र इतिहास लेखेका छन् । उनीहरुले आफ्नो दाबी प्रस्तुत गरेका छन् तर गोरखालीहरुको पीडा र दुःख लेखेका छैनन् । हामीले आफ्ना पीडा आफैँ लेख्न सक्नुपर्छ । त्यो अभाव एक हदसम्म गोरखा स्मारकले पनि पूरा गर्ने छ । स्मारकमार्फत हाम्रा दाबी हामीले प्रस्तुत गर्नुपर्छ ।” अहिले गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)नेतृत्वले गोरखा स्मारक बनाउँदैछ । नेपालको लुकेको इतिहास पढेर उनले स्मारक डिजाइनमा आफूले आर्जन गरेका ज्ञान प्रयोग गरेका छन् । गेसोले युद्धमा मारिएका ६० हजार गोर्खा सैनिकको सम्झनामा स्याङ्जा फेदीखोला–८ साल्मेडाँडामा स्मारक बनाउन लागेको हो । तीन सय रोपनी जग्गामा बन्ने गोर्खा स्मारकसँगै गोर्खा सङ्ग्रहालय र सांस्कृतिकग्राम पनि बन्नेछन् ।

सीताभवनमा नाफा आर्ट ग्यालरी निर्माण गर्नेताका यिनको कलाकार प्राज्ञ लैनसिंह बाङ्देलसँगको भेटले यिनको जीवन यात्रामा अर्काे मोड पनि थपियो—चित्रकला । बाङ्देलसँग चित्रकला सिकेका रिमालका कलाकृति बेल्जियम, जर्मनी, बेलायत र नेपालमा धेरैचोटि प्रदर्शन भइसकेका छन् । बेल्जियमम उनका दुई कृति कसैले किनिदिएकामा उनी झन् उत्साहित भए । उनका धेरैजसो कृति अमूर्त प्रकृतिका र केही नग्न पनि छन् । नेपाली शास्त्रीय कलाको अध्ययन र कामसँगै (जस्तै थान्का, गहना आदि) रङ, माध्यम र उपकरणमा पनि नयाँपन दिनुपर्ने उनको विचार छ । नेपाली थान्का र गहनाको अध्ययन उनीसँग विश्वप्रसिद्ध चित्रकार पिकासो एक्लैका एक दर्जनभन्दा बढी किताब छन् । कलाबाहेक उनका कोठाका दराजमा विभिन्न विषयका पुस्तक छन् । विसं२०५० देखि हरेक वर्ष उनी वार्षिक रु दस हजारभन्दा बढी पुस्तकमा नै खर्च गर्छन् । डाली, भ्यान गग, हुसेनबारेलगायत थुप्रै कला, साहित्य, सौन्दर्य, धर्मदर्शन, वेदान्त र सिद्धान्तका पुस्तक पढिरहने उनको स्वभाव छ ।

उनासी वर्षीय रिमाल शङ्करनाथ रिमाल एन्ड आर्किटेक्ट संस्थाका वर्तमान कार्यकारी प्रमुख त हुँदै हुन्, त्यस अलावा उनले नेपाल इन्जिनियर्स एसोसिएसन, बिपी कोइराला क्यान्सर अस्पताल चितवन, पशुपति क्षेत्र विकास कोष, नेपाल विश्वसम्बन्ध परिषद्, भारतीय भूप्रविधि समाज, नेपाल सांस्कृतिक सङ्घ, न्यु आर्ट सर्कल, नेपाल अग्निजलन समाज, नेपाल इन्जिनियरिङ परिषद्, मानवअधिकार पार्क र नेपाल इजरायल मैत्री समाजका कतै प्रमुख त कतै पदाधिकारी र कतै आजीवन सदस्य भएर योगदान पु¥याएका छन् । साथै शंकरनाथ रिमाल रिमाल समाजका संस्थापक सदस्य तथा हाल केन्द्रिय सदस्य पनि हुन् उनी व्यावसायिक मानिसहरुको भविष्य उज्ज्वल देख्छन् । नेपालको इन्जिनियरिङ अथवा आर्किटेक्चरमा अहिले त्यत्ति मौलिकता नभएकामा चिन्ता व्यक्त गर्दै नेपाली संरचना मौलिक प्रेरणादायी र प्रवर्तनकारी हुनुपर्ने बताउँछन् । पेगोडा र स्तूपजस्ता नेपाली आर्किटेक्चर प्रेरणादायी रहेको र नयाँ पुस्ताले विगतबाट प्रेरणा लिएर भविष्यमा आउँदा पुस्तालाई प्रेरणा दिन प्रवर्तन र सिर्जनात्मकतामा प्रवेश गर्नुपर्ने सुझाव उनी दिन्छन् ।

आफ्नै कर्ममा रमाउने, प्रचारमा आउन नचाहने, मिलनसार, सिर्जनशील, तर्कशील र अध्ययनशील रिमाललाई “मुलुकको यसभन्दा बढी खराब अवस्था अब कुन होला र ?” भन्ने लाग्छ । र,उनी भन्छन्– “एक न एक दिन त यहाँ गतिलो नेता अवश्य जन्मन्छ, किनकि यो मुलुक एउटा सिर्जनाभूमि हो, सल्लाह लिन नचाहनेहरुलाई म सल्लाह के दिन सक्छु र ?”

बुधबार साप्ताहिक भदौ १२