झापा, ३० असार । तेजाब खन्याएर घाइते भएकी झापा विर्तामोडकी गोमा रिमालको मृत्यु भएपछि उनका तीन छोरी साहाराविहीन बनेका छन् । २०६९ फागुन २० गते घरमा सुतिरहेको अवस्थामा केही युवकले तेजाब खन्याउँदा उनीसहितसँगै सुतेकी सात वर्षीया कान्छी छोरीसमेत सख्त घाइते भएकी थिइन् ।
अनुहारलगायत शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी शनिश्चरे–६ की ३६ वर्षीया गोमादेवी रिमालको धरानस्थित विपी ममोरियल अस्पतालमा उपचार सम्भव नभएपछि दुई महिनाअघि घर फर्काइएको थियो । उनको शनिबार घरमै मृत्यु भएको हो । गोमाको निधन भएपछि १६ वर्षीया निशा, आठ वर्षीया नीता र सात वर्षीया उमा बेसहारा बनेका छन् । उमाको देब्रेहात तेजाबले जलेर नचल्ने अवस्थामा छ ।
सात वर्षअघि मोटरसाइकल दुर्घटनामा परी गोमाका पति सोमनाथको मृत्युभएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका सन्दीप पौडेल र दीप तामाङलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ ।
घाइते बालिकाको आर्थिक अभावका कारण उपचारसमेत हुन नसकेको छिमेकी रमेश गिरीले बताउनुभयो ।