जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

गोमा रिमाल र उमा जीवनमरणको दोसाँधमा

Posted on:  February 10, 2015

छिमेकी युवाको तेजाब आक्रमणबाट गम्भीर घाइते भएका झापा शनिश्चरे ७ का आमाछोरी उपचार नपाएर मृत्यु शय्यामा छट्पटाइरहेका छन् । छिमेकी दीप तामाङ र सन्दीप पौडेलको तेजाब प्रहारबाट गम्भीर घाइते ३० वर्षीया गोमा रिमाल र ७ वर्षीया छोरी उमा जीवनमरणको दोसाँधमा छन् । उनीहरूको अवस्था दिनप्रतिदिन विग्रँदै गएको छ ।

तामाङ र पौडेलले फागुन १० गते मध्यरातिमा सँगै सुतिरहेका आमाछोरीलाई शरीरमा तेजाबले आक्रमण गरेका थिए । आक्रमणबाट गोमाको शरीरमाथिको सम्पूर्ण भाग र उमाको दायाँ हात पूर्ण रूपमा जलेको छ । ‘सुतिरहेका बेला अचानक आक्रमण भयो,’ गोमाले कान्तिपुरसँग रुँदै भनिन्, ‘सँगै सुतेकी छोरीमाथि पनि आक्रमण भयो ।’

प्रहरीका अनुसार तामाङ र पौडेलले गोमालाई हत्या गर्ने नियतका साथ तेजाब आक्रमण गरेका थिए । कोठाको पूर्वपट्टकिो झ्याल नजिकै सुतेका आमाछोरीलाई बाँसको कापे बनाएर सोझै अनुहारमा तेजाब आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आक्रमण गर्नुअघि अभियुक्तद्वयले बाहिर भाग्न नपाओस् भनेर घरको ढोकामा तालाबन्दी गरेका थिए । गोमाकै घरमा डेरा गरी बस्ने अमन तामाङले आक्रमण लगत्तै गोमा रुँदै चिच्याएपछि प्रहरीलाई खबर गरेको बताए । ‘निस्किने ठाउँ कतै थिएन,’ उनले भने, ‘सबै ढोका बन्द गरिदिएका थिए ।’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका आमाछोरीलाई आर्थिक अभावका कारण अस्पतालले आधा उपचार गरेर दुई दिनअघि ‘डिस्चार्ज’ गरेको थियो । उपचार क्रममा करिब एक लाख रुपैयाँभन्दा बढी खर्च भएको गोमाकी आमा दिलकुमारी सेलवालले जानकारी दिइन् । ‘लागेको खर्च तिर्न नसकेपछि अस्पतालले घरै लगेर उपचार गर, हामी सक्दैनौं भन्यो,’ अस्पतालका चिकित्सकको भनाइ उद्धृत गर्दै दिलकुमारीले बिलौना गरिन्, ‘होटलमा खाना खाएको पैसा तिर्न भाँडा माझ्नुपर्यो ।’ दिलकुमारीले आक्रमणमा संलग्नका परिवारले सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाए पनि एक सुको नबेहोरेको गुनासो गरिन् । उनले भनिन्, ‘गाउँमा सबै खर्च बेहोरेको हल्ला पिटेछन् तर केही गरेका छैनन् ।’ झापाका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले आक्रमणकारी तामाङ र पौडेललाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको र हाल पुर्पक्षका लागि थुनामा रहेको बताए ।
कान्तिपुर प्रकाशित मिति: २०७० वैशाख ३ ०९:३३