पच्चीस वर्षदेखि रंगकर्म गरिरहेका रंगकर्मी राजेन्द्र रिमालले उनको संस्था अनामबाट राजिनामा गरेका छन्।
अत्यन्तै कडा अनुशासनका पक्षपाती रिमालले संस्थामा धेरै काम गर्ने घोषणा गरेको भए पनि अहिले राजिनामा गर्नुलाई अर्थपूर्ण मानिएको छ। विगत लामो समय महासचिव हुंदै अध्यक्ष समेत रहिसकेका रिमाल हाल कार्यकारी निर्देशक थिए।
रिमालको नेतृत्वमा अनामले राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवहरुमा सहभागिता तथा पुरस्कृत समेत भएको थियो। उनको कार्यकालमा नै अनामले महानन्द पुरस्कार पाएको थियो भने कोरिया, हंगकंग, चीन जस्ता देशहरुमा धेरैपटक पुग्न पनि सफल भएको थियो। उनकै कार्यकालको सक्रियताको कारणले अनाम नेपालकै सर्वोच्च पाँच भित्र रहन सफल भएको थियो। सफलताको उत्कर्षमा पुग्दा पुग्दै संस्था विभाजनको अवस्थासम्म पुगेको भए पनि २ वर्षअघि उनैको सक्रियतामा संस्थालाई एकीकरण समेत गराउन सफल भएका थिए। उनी ईन्टरनेशनल थिएटर ईन्स्टिच्युट नेपाल च्याप्टरका संस्थापक सदस्य पनि हुन्।
रिमाललाई एउटा कुशल व्यवस्थापक तथा परिकल्पनाकारको रुपमा चिनिन्छ। उनी आफै नाटक निर्देशन तथा अभिनय पनि गर्छन्। कार्यक्रमहरु परिकल्पना गर्ने र देशी विदेशी दातृसंस्थाहरुबाट स्रोत खोजेर ल्याउने गरेका उनले पछिल्लो पटक संस्थामा आर्थिक नियमावली कडाईका साथ लागु गरी आर्थिक अनुशासन कायम गर्ने, लैंगिक तथा सामाजिक समावेशीकरण लागु गर्नु पर्ने, आचार संहिता लागु गर्ने र संस्थालाई लोकतान्त्रिक बनाउने जस्ता कार्य गर्न खोजेको भए पनि त्यसमा असफल भएकोले नै राजिनामा गरेको बुझिएको छ।
यद्यपि, उनले राजिनामा पत्रमा भने यो कुरा खुलाएका छैनन्। रिमालसंग भएको सम्पर्कमा उनले आफू २५ वर्ष देखि निरन्तर काम गरिरहेकोले केही समयको लागि ब्रेक लिन मात्र राजिनामा गरेको बताएका छन्। भन्छन्, फेरि आफू भन्दा सिनियर व्यक्तिले नेतृत्वको जिम्मेवारी लिनुभएको छ। त्यही भएर ढुक्कका साथ केहीसमय विदा लिन लागेको हुं।
उनले सिमा बाहिर, कलियुगको रामायण जस्ता नाटकको निर्देशन गरेका छन् भने उसको कवितामा अब को रुंदैन, मुक्ति, यात्रा जारी छ, नाटकहरुको नाटक आदि नाटकमा अभिनय पनि गरेका छन्। पुस्कर शम्सेरको कथा परिबन्दको नाट्य रुपान्तर, हिन्दी नाटक अन्धोंका हाथी को नेपाली रुपान्तर उनले गरेका हुन्। देशी विदेशी नाट्यकर्मीहरुबाट प्रशिक्षित रिमाल पूर्वमा नाटकको तालिम संचालन गर्ने प्रशिक्षक समेत हुन्। धरानको विकास निर्माणको क्षेत्रमा पनि सक्रिय रहने रंगकर्मी रिमालले नै धरान महोत्सव ०५५ को परिकल्पना गरेका थिए।
सौरभश्रेष्ठ / एचकेनेपालडटकम – धरान, २२ फागुन।