जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल वंशावलीको भूमिका

रिमाल वंशावलीको भूमिका

(पहिलो प्रकाशित वंशावलीको भूमिकाबाट)

प्राचिन वंशावली अनुसन्धानको क्रममा पुर्खाहरूको खोजी गर्दै जाँदा पौराणिक कालमा विश्वमित्रजस्ता ऋषिहरू, ऐतिहासिक कालका आर्यहरूको अध्ययन गर्नुपर्ने हुन्छ । मानवशास्त्रीहरूले आर्य जातिलाई ककेस्वाड रेस (जाति) अन्तर्गत राखेका छन् । अग्लो शरीर, चुच्चे नाक भएको कालो कपाल र आँखा, गोरो रङ र शरीरमा प्रशस्तै रौं भएको जातिलाई आर्य भनिएको छ । आर्यजातिको पनि प्रमुखरूपमा तीन शाखामा वर्गीकरण गरिएको छ । भारतीय आर्य, इरानी आर्य र युरोपेली आर्य भारतीय आर्यहरूको प्राचीनता नै हाम्रो चासोको विषय हो । आर्यहरूको प्राचीन बासस्थलका सम्बन्धमा पूर्वीय र पाश्चात्य विद्वानहरूका बीच मतभेद रहे पनि भारतीय, इरानी, युरोपेली आर्यका पुर्खाहरू एकै ठाउँमा रहन्थे र आफूलाई आर्य वा ऐर्य भन्थे भन्ने कुरामा सहमति छ । वैदिक संस्कृतका शब्दहरू जस्ता पितर, मदर, ब्रदर, नोभेम्बर, डिसेम्बर भनिनु अनि फ्रान्सेली, स्पेनेली, इटालेली भाषाहरूमा पनि केही उच्चारण (भेदका साथ यिनै शब्द प्रयोग भएका कारणले पनि यी तीन शाखाका प्राचीन पुर्खा एकै थिए, एकै ठाउँमा रहन्थे र एकै भाषा बोल्दथे भन्ने अनुमान गर्न सकिन्छ । संस्कृतको फारसी, मिश्री, अरबी जापानी आदि भाषाका शब्द र अर्थमा समानता पाइन्छ ।

जर्मन विद्वान प्रा म्याक्समुलरको भारतीय, ग्रिक पार्सियन, रोमन, जर्मन र सेन्ट जातिका पुर्खाहरू एकै ठाउँमा बस्थे भन्ने भनाइ छ । आर्यहरूको मूल हाँगो उत्तर—पश्चिमतिर लाग्यो । युरोपका आर्यहरू क्यास्पियन सागरको पश्चिमी किनारबाट एसिया माइनर हँुदै ग्रिस र इटालीतर्फ गए । विद्वान ह्युगो विन्कलरले ई.सं. १९०७ मा एसिया माइनरमा ई.पू. चौंधौ शताब्दीको सुरुका हिजिल र मितन्नी दुई शासकका वीच बरुण, इन्द्र र नासत्यलाई साक्षी मानेर सन्धि गरिएको लिखत भेट्टाएका थिए । त्यसमा उल्लेखित देवताहरूको उपासना गर्ने मन्त्र ऋग्वेदमा रहेकाले त्यो क्षेत्र आर्यहरूको प्राचीन बसोबासको थलो हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।

अग्निलाई पूज्य देवता, गाईलाई पवित्र जानवर मान्ने, घोडा पाल्ने र घोडारथबाट आवत्जावत गर्ने राष्ट्रिय भावना भएको त्यो सभ्य तथा वीर जाति ई.पू. तीन हजारतिरको सिन्धुघाँटी सभ्यताका मानिसहरूलाई पराजित गरी त्यहाँबाट भारतको अन्य भूमिमा फैलिएको थियो । आर्य जाति आफूलाई किन आर्य कहलाउन गौरव मान्थे ? आर्यको अर्थ सभ्य, योग्य, आदरणीय, कुलिन हुन्छ । संस्कृत नाटकहरूमा सम्मान सूचक विशेषणका रूपमा आर्य शब्दको प्रयोग भएको पाइन्छ । आर्यहरूले आर्येतर जातिहरूमाथि विजय हासिल गरे । अनि उनीहरूसँग समन्वय, सामाञ्जस्य कायम गर्दै साम्राज्य फैलाएर आफ्नो साम्राज्यलाई आर्यावर्त नाउँ दिए । आर्यावर्त पूर्वी समुद्रदेखि पश्चिम समुद्रसम्म, उत्तरमा हिमालदेखि दक्षिणमा विन्ध्यापर्वतसम्म फैलिएको थियो । यिनीहरू बहुदेवादी थिए । उर्वर मस्तिष्कका धनी, सिर्जनशील आर्यहरूले वेद, उपनिषद्, महाभारत, रामायण आदि रचे । यिनीहरूको भाषा संस्कृत उन्नत थियो भन्ने कुरा तिनका श्रुति, स्मृति र साहित्यले प्रष्ट पार्दछ । संस्कृत काव्यको थालनी मानिएको वाल्मीकि रामायण हो ।

पश्चिमी विद्वानहरूले आर्यहरू सभ्य, सुसंस्कृत, वीर साधन सम्पन्न भएका कारण उनीहरूको राज्य विस्तार, राष्ट्र विस्तार पथमा उभिएका आर्येतर राज्यहरूलाई जित्दै आर्यावर्तको साम्राज्य फैलाए भन्ने कुरा बताएका छन् भने वैदिक वाङ्मयको गहन अध्ययन गरेका पूर्वेली विद्वानहरूले वेदहरूमा उल्लेख धर्म, कर्म, सभ्यता, संस्कृतिको आधारमा आर्यहरू आर्यावर्तकै मूल निवासी हुन् भन्ने निक्र्योल गरेका छन् । वेदव्यासले आफ्ना ग्रन्थहरूमा उल्लेख गरे झै आर्यहरूको मूल स्थान हिमालयको मेरू प्रदेश हो । ऋग्वेददेखि लिएर रामायण, महाभारत तथा पुराणकालसम्मका प्रमाणहरूले हाम्रा पुर्खाहरू बाहिरबाट उछिट्टिएर जम्बुद्वीप या भारतखण्डमा पुगेको ठहर्दैन । महाभारतमा आर्यहरूको जन्मथानको बारेमा प्रष्ट वर्णन पाईन्छ । संसारमा परम पवित्र हिमालय छ । त्यसमा एक योजनदेखि पाँच योजनसम्म घेरा भएको मेरू नाम गरेको पर्वत छ । मेरू पर्वतमा सबैभन्दा पहिले मानव उत्पत्ति भएको हो । यिनै पर्वतमालाहरूबाट ऐरावती, वितस्ता, विशाला, देवीका, कुहू आदि नदीहरू निस्केका थिए । यसैमा विप्रहरूको उत्पत्ति पनि भएको हो ।

आर्यहरू सभ्य र विकसित हँुदै गए । उनीहरूले अनेक प्रकारका अस्त्रशस्त्र आविष्कार गरे । उनीहरू ज्ञान र विज्ञानले सम्पन्न थिए, तन्त्रमन्त्र जान्दथे । स्वास्थ्यको क्षेत्रमा उनीहरूलाई सिद्धि प्राप्त थियो । कतिपय वेदान्ती थिए, संसारलाई स्वप्नवत् मान्ने । बुद्धि, सिद्धि र पराक्रमले सम्पन्न आर्यहरू भारत वर्षबाट फैलिँदै छिमेकमा, अनि टाढाका मुलुकहरूमा उनीहरू पुगे भन्ने कुरा पनि सम्भव छ ।

आर्यहरूको मूलथलो मध्यएसिया मान्ने विद्वानहरूका अनुसार आर्यहरू करिब ई पू ३००० मा अफगानिस्तान भएर सिन्धु नदीको मैदानी क्षेत्रमा प्रवेश गरे । उनीहरू तीन सय वर्ष जतिमा पञ्जाव, सिन्धुक्षेत्रमा त्यहाँका आदिवासीको सभ्यतासँग सम्पर्कमा आई फैलिँदै गएको भनिन्छ । पूर्व वैदिक सभ्यतासँग मुठभेड भई त्यहाँका पूर्वबासिन्दाहरूसँग हेलमेल भई नयाँ सभ्यताको उत्पत्ति त्यस क्षेत्रमा हुँदै गयो । यिनीहरूले नै सिन्धु र गंगानदी आसपासका उर्वरा क्षेत्रमा बसोबास र विकास गर्दै गए ।

त्यस्तै अर्को समूह केही समयको अन्तरालमा बसाइँसराईको क्रममा मध्यएसियाबाट पहाडी क्षेत्र हुँदै चित्राल, गिल्गिट र स्वाटतर्फबाट प्रवेश गरे । त्यसक्षेत्रमा यिनीहरूले सभ्यताको विकास गरेको मानिन्छ । यिनीहरूबाट ऋग्वेद संहितामा आधारित सभ्यतामा ठूलो योगदान रहेको विश्वास गरिन्छ । रावी, सतलज र यमुनाका आसपासमा आर्यहरूको राज्य रहेको थियो र यी राज्यहरूको आसपासमा लडाइँ भइरहने गर्दथ्यो । ई सं १२५० तिर हालको दिल्लीनिर यिनीहरूको बसोबास भइसकेको र यी उत्तर भारतमा कन्नौज र लखनउतिर बढेको बुझिन्छ ।

काश्मिरको स्वाट उपत्यकाका आर्यहरू बढी परिष्कृत थिए । आर्यका एकथरी शाखा त इरानतर्फ नै बसोबास गर्दै गयो । उत्तर काश्मिरतर्फ बसोबास गरेकाहरू चाहिँ फैलँदै हिमाञ्चल प्रदेश, कुमाउ, गडवालका पहाडी क्षेत्र हुदै पश्चिम नेपालसम्म बसोबास गर्दै अगाडि बढेको बताइन्छ । उनीहरू क्रमशः त्रिशूली गण्डकी क्षेत्रसम्म आउन थाले । ती आर्यहरू वेद आदि ग्रन्थमा आधारित धार्मिक प्रगति बढी भएपछि सांस्कृतिक क्षेत्रमा पनि विकास भएको हुँदा उनीहरूको प्रभाव धार्मिक क्षेत्रमा पनि बढ्नु स्वाभाविक नै छ ।

उनीहरूका बीच आपसमा सांस्कृतिक एवं धार्मिक आदानप्रदान पनि हुँदै गयो । पहाडी र मैदानी क्षेत्रमा पूर्वकालदेखि हालसम्म पनि बसाइँसराईको प्रवाह कायमै रहेको देखिन्छ । मैदानवासीहरू गंगा, सिन्धुक्षेत्रका साथै भारतका सबै राज्य, प्रान्तमा फैलिँदै गए । उनीहरू विभिन्न समयमा नेपालका हिमाली क्षेत्रमा पनि फैलिई त्यहाँका बासिन्दासँग घुलमिल भएर रहे । करिव ई.पू. १२०० मा भारतीय आर्यहरू पश्चिमबाट पूर्वतर्फ बढ्दै कोसी नदीको प्रवाहसँग फैलिसकेका पाइन्छन् । यिनीहरू हिमालपट्टि वर्तमान महोत्तरी र बुटवल क्षेत्रमा निकै उत्तरसम्म, महाभारत पर्वतको फेदीसम्म पुगेको देखिन्छ । यिनै आर्यहरूमध्यका एक समूह कौशिक गोत्रीय आर्य हुन् । यिनीहरूको नाता ब्रम्हाका मानसपुत्र अत्रि र उनका सन्तान विश्वामित्रसँग जोडिएको छ ।