Untitled Document
Untitled Document

जबमुद्वीप आदि अरू द्वीपको वर्णन

उल्काको बात् धृतराष्ट्रै सुनेर ।
सञ्जय्सङ्मा ती पुछे खुख् भएर ।।
उत्साहा धेर् देख्दछू पाण्डवैको ।
तेस् कारण् यो बुझ्दछू नाश् सबैको ।। ३२ ।।

जित्नू हार्नू ईश्वरै अख्तियार ।
अम्मृत् बात्ले दीलको शान्त पार ।।
यस्तो प्रश्नै सञ्जयैले सुनेर ।
पैल्हे सृष्टी वर्णनै खूब् गरेर ।। ३३ ।।

माहात्म्यै ती जबमुद्वीपको बताए ।
सुक्ष्मै वीराट् ईश्वरैको बुझाए ।।
भारत्माहाँ कर्मले भर् लि डोका ।
भोग्नै जान्छन् और द्वीप् फोइ पोका ।। ३४ ।।

वर्णन् फेरि द्वीपद्वीपको ति भन्न ।
लागे ताहाँ मन् हुने खूब् प्रसन्न ।।
राजन् द्वीपको सुन्नुहोस् बात प्रीती ।
घृत् आदी छन् सागरै राखि कीर्ति ।। ३५ ।।

राम्रो मीठो सागरै छन् दहीको ।
तेस्को पारी जान्नुहोस् फेर् सुराको ।
सुख्खा दूवेस् ऊस पार् जल् छ धार ।
राम्रो बग्ने गम्भिरै फेर् अपार ।। ३६ ।।

द्वीपको पर्वत् सागरै दीइ घेरा ।
दोबर्दोबर् तीनि छन्लाई फेरा ।।
तेस्को बीच्मा वर्तमान् जो छ द्वीप ।
राम्रो खूबै सक्छ को बुझ्न सीप ।। ३७ ।।

ठूला साना धेर रम्यै नदी छन् ।
फल्ले ढाकी रूख् फुली वास् भरी छन् ।।
माभ्mको पाहाड् श्वेतपत्थर् जडाव ।
तेस्को पार्छन् कृष्ण पाहाड् चढाव ।। ३८ ।।

ताहाँ केशव् रत्नसिंहासनेमा ।
राज्भै पालन् गर्दछन् सब् जगत्मा ।।
फेरी कुश्को द्वीप नै कूशतम्भ ।
चारौँतर्फै देश छन् बेस खम्भ ।। ३९ ।।

तेस्को आगे साल्मली द्वीप् छ ताहाँ ।
सेवा गर्छन् साल्मली वृक्षमाहाँ ।।
फेरि राम्रो क्रौञ्च नाम्को छ द्वीप ।
पाहाडै छन् रत्नका बूझ सीप ।।
नानाजातीका मनुष्यै खुसीले ।
पुज्छन् ईश्वर्भक्ति खूब् प्रेम् मतीले ।। ४० ।।

हे राजन् त्यो द्वीपमा बेस फेरि ।
गोमत् नाम्को एक् छ पाहाड घेरी ।।
धातू सब् जात् तेसमा खूब नै छन् ।
ठाम्ठाम्मा ती बूझ भण्डारझैं छन् ।। ४१ ।।

तेस्को उपर् शीखरैमा छ बास ।
सोयम् लक्ष्मीकान्तले दी प्रकाश ।।
भक्तै तार्छन् पापको पारि नाश ।
एक् पर्वत् फेर् औषधीको छ खास ।। ४२ ।।

औषध् जम्मा सञ्जिवीनीहरू छन् ।।
रोग्व्याद्ले दुख् हुन्न क्वै सब् सुखी छन् ।
आनन्दै साथ् बस्छ ईश्वोर दास ।
कृपा गर्छन् भक्तको हुन्न त्रास ।। ४३ ।।

छ हेम्वत् आर्को फेर् कुमुद दुतिमान् पुष्प गिरिनाम् ।
कुशेश् पाँचौँ छैटौँ हरिगिरि छ नामझैँ छ पनि काम् ।।
यि षट् बेस् छन् पर्वत् यिनि बिच भुमीखण्ड यक हुन् ।
छ पैल्हा खण्डै बेस् अनि छ दुसरा वेणु रुप जुन् ।। ४४ ।।

छ तेस्राको आकार् रथसरि भई बेस अति गुण् ।
अनी फेरी चौथा असल रुप कम्बल् बुझन ऊन् ।।
धृतीमतखण्डै पाँच् उस पर प्रभाकर् छ पनि षट् ।
छ कापील् खण्डै सात् असल गरछन् सात परवत् ।। ४५ ।।

श्रिद्यौता गन्धर्वै मनुज पशु ती खण्ड भरि छन् ।
मनुष्यै आनन्दैसित रहि ननाशीइ बसछन् ।।
अधमम्लेक्षै जाती छइन उस खण्डैभरिमहाँ ।
सबै गोरा वर्णै कमलसरि सुन्दर् छन वहाँ ।। ४६ ।।

अरू द्वीपको वर्णन् सुननु अब होस् राजन भनी ।
कहे क्रौंचै द्वीप्मा परवत छ नाम् क्रोंच उ पनि ।।
छ द्वीप् घेरी पर्वत् उस पर छ वामन् अरु वहाँ ।
अनी अन्धैकारक् परवत छ मैनाक् पर जहाँ ।। ४७ ।।

छ गोविन्दै नाम्को परवत दिने उत्तम गति ।
यिनीको विस्तार् ता बढिबढि दुगुन् छन् पर जति ।।
यि पर्वत्का देशै अब सुननुहोस् क्रोंचद्विप देश् ।
कुशल् नाम् वामन्को गमन गरि पारी गरम देश् ।। ४८ ।।

उसैपार् प्राव्र् देश मनहरण गर्नेछ पनि बेस् ।
अनी अन्धैकारक् पर मुनि छ फेर् दूनभि छ शेष् ।।
क्रमेले हे राजन् बुझन पनि होस् यी द्विपमहाँ ।
सबै गोरा वर्णै मनुजहरु सिद्धै छन जहाँ ।। ४९ ।।

श्रिपुष्कर्द्वीप् पुष्कर् परवत छ फेर् सुन्दर अति ।
मणीरत्नैहेरू भरपुर रही खिच्दछ मति ।।
तहाँ चार्मुख् ब्रम्हा ऋषिमुनि श्रिदेव् राज गरछन् ।
सबै ब्रम्हालाई पुजन गरि मग्नै बसदछन् ।। ५० ।।

ठुलो शुभ् जबूद्वीप् बिच करम जो गर्छन मरी ।
मणीको मार्लाई सुख मनुज भोग्छन् तहिँ तरी ।।
तहाँका जीव्हरू निरमल ति छन् रोग नभई ।
दया ब्रम्हैचर्ये सत रहि ति गर्छन् मन दिई ।। ५१ ।।

कहेका षट्द्वीप् यी शुभ धरम हुन् भोग भरने ।
श्रिजबूद्वीप् नै हो शुभअशुभ भोग् कर्म गरने ।।
भरी सातू सामल् अरु द्विप गई भोग्छन वहाँ ।
यहाँ चूकीदीए मिलछ पछि खोजीकन कहाँ ।। ५२ ।।

यसै रीत् हे राजन् धरमपुरवक् दण्ड गरनू ।
उनै द्वीप्मा भोग्ने फलकरम सत् राखि भरनू ।।
कहेका यी बात् जो जुन नृप विचाछन् मन धरी ।
उहीधीराज् जान्छन् शिवरुपविधाता भइ तरी ।। ५३ ।।

उनै जीव्धारी जड् चलअचल रक्षा गरछन् ।
तिनै सोयम् सिद्धै भइ फल पनि खाइ बसछन् ।।
कमलझैँ चार् कोण्को रमणि युजनै तेतिस हजार् ।
आईरावत् आदी गज छन चतुष्कोण बसि चार् ।। ५४ ।।

तहीँदेखी वायू चलछ सब दीशाभरि तसै ।
उठाई सूँड्माथी गजहरु ति श्वास् फेर्छन जसै ।।
उ वायू नै आई जिवन पनि कारण् छन यहाँ ।
अगर् वायू रोकोस् उहि बखत सब् बाँच्छन कहाँ ।। ५५ ।।

भुतूभुतू होई मरछ जिधारी सब जगै ।
सुनी धृतराष्ट्रैले यिनि वचन फेर् सञ्जयसँगै ।।
अकाश्को बात सोधे ग्रहहरु नियम् वर्णन गरी ।
म भनछू सुन्नूहोस् भनिकन कहे खूब् मन धरी ।। ५६ ।।

राहू गोलाकार छन् व्यास तिन्को ।
पण्डित् भन्छन् बाह्र नै फेर् हजार्को ।।
छत्तीस् हज्जार् योजनै मण्डलै छन् ।
मोटाई ता षट् हजार् ज्ञानि भन्छन् ।। ५७ ।।

श्रचन्द्रैको व्यास् छ ग्यारै हजार ।
तेत्तीस् हज्जार् मण्डलै छन् अपार ।।
बाक्लो तीनी छन् त्रिसट्टी हजार ।
योजन् सब्मा बूझनू बारबार ।। ५८ ।।

श्रीसूर्यैको दश् हजार् जान्नु व्यास ।
मोटाई ता तेह्र सौ बुझ्नु खास ।।
मण्डल् तिन्को एकतिस् फेर् हजार ।
तीन् सौ योजन् शीघ्र हिँड्छन् उदार ।। ५९ ।।

बिस्तार् ठूलो राहुको भै प्रकाश ।
विस्तारै जब् मिल्छ मौका ति खास ।।
सूर्ये चन्द्रै विम्बको ढाक्छ छायाँ ।
राहू ग्रस्तै तेहि हो दैवि माया ।। ६० ।।

आकाश्चारी नौ ग्रहै छन् ति सारा ।
काम् तिन्को नै व्योमलोक् घुम्न भारा ।।
सारा गर्छन् ती प्रकाश् तीन भूवन् ।
औरै शास्त्रै बुझ्नुहोस् धेर् छ वर्णन् ।। ६१ ।।

संक्षेप्ले यो शास्त्र दृष्टी अथाहा ।
मैले बोलेँ धेर् छ यो ता कथाहा ।।
हे राजन् यो सुन्छ जो भूमि पर्व ।
सुख् भोग् मीली पितृ खुस् तार्छ सर्व ।। ६२ ।।

बढ्दै गो सुनि फेर ताप मनमा धृतराष्ट्रलाई अति ।
ऊता ता रणमा श्रिभीष्म विरले नाना रकम्का कति ।।
जो छन् व्यूह तहाँ तयार् गरनुभो देखेर अर्जुन् उठी ।
फेरी व्यूह तयार आफनु पनि गर्दा भए छन् जति ।। ६३ ।।

दुर्योधन् अनि आफनू फउज धेर् देखेर आकाश्महाँ ।
पूगेझैँ ति घमण्डले पृथिविमा थीएन खुट्टा तहाँ ।।
त्यै बेला अनि शङ्ख भीष्म विरले फूकेर खूब् जोर् गरी ।
जम्बा फौज गरे तहीँ सब फउज् जम्बा भयो सुर् चढी ।। ६४ ।।

रण् तर्फै यहि हाल् थियो डिहलिमा श्री सञ्जयै साथ्महाँ ।
राजा श्रीधृतराष्ट्रले पुछनु भो सम्चार रण्को वहाँ ।।
बोले सञ्जयले दुवै तरफका सेना तयारी भई ।
हे राजन् अब लड्नलाई छ तयार् हात् छोड्न इच्छा लिई ।। ६५ ।।

सामूमा भइगो दुवै तरफका सेना रणस्थल् भरी ।
सेनानायक ब्रम्हचारि भिषमै आगे रथैमा चढी ।।
छन् वीर्हेरु पनि अनेक तिनिको रक्षा त गर्नै बसी ।
चारैतर्फमहाँ ति छन् अघिपछी दायाँ र बायाँ कसी ।। ६६ ।।

चक्रैव्यूह श्रिभीष्मको पनि तयार् किल्ला छ राजन् तहाँ ।
उस्मा शत्रु घुसी लडाइँ गरनै ठूलो छ मुस्किल्महाँ ।।
त्यस्तो कौरवको युधिष्ठिरजिले देखेर व्यूहै वहाँ ।
बोलाई अरजूनको तहिँ भने हे भाइ देख्यौ यहाँ ।। ६७ ।।

हाम्रो मानय पितामहै भिषमले जो ढङ्गले नै खडा ।
गर्नूभो यह व्यूह हामिहरुले तोड्नै नसक्ने कडा ।।
त्यस्तोमा गइ हेर कौन रितले हामीहरूले बढी ।
जित्नालाई सहज् त छैन उसमा जित्नू ठुलै हो लडी ।। ६८ ।।

यस्तो बात सुनेर अर्जुनजिले हाँसेर विन्ती गरी ।
बोले हे महराज् हजूर अहिले चिन्ता नलीनोस् डरी ।।
यस्तो व्यूह बनाइ लड्न मकनै धेरै छ यादै पनि ।
हेर्नुहोस सुची म व्यूह अहिले गर्छू तयारी भनी ।। ६९ ।।

सीयोझैँ अरजूनले तहिँ तयार् किल्ला बनाई लिई ।
राखे अर्जुनले खडा फउजको सीयो समानै भई ।।
टुप्पातर्फ खडा श्रिभीमसिन रहे श्रीभीष्म द्रोण्ले पनि ।
तेस्तो अर्जुनको त व्यूह रचनै देखेर साह्रै अनि ।। ७० ।।

धेरै खूसि भए यहाँ कुहुँ कती दिल्मा बडाईँ गरी ।
रक्षा भीमसिनलाई गर्न पइदल् सेना रिसाला भरी ।।
धेरै हात्तिहरू छ लाम् पनि तयार् भीम्सेन सिंहै सरी ।
गर्जन्छन् अरजून छन् पनि खडा रक्षा सबैको गरी ।। ७१ ।।

हे रान् अब छन् फउज् उठि सबै साम्ने दुवैका थरी ।
सेनाका पतिको ति लड्न निमती हूकुम् मुखामुख् गरी ।।
सुन्नालाई ति खोजथे किरिटिले हात् जोरि तेसै घडी ।
विन्ती कृष्णजिसङ् पनि तहिँ गरे सब्लाइ देख्ने गरी ।। ७२ ।।

त्यो ठाम्मा भगवान हाँकि रथ यो पुर्याइदीनोस् पनि ।
आएका कुनकून छन् नजरले हेर्नेछ इच्छा भनी ।।
रथमा अर्जुनले बसेर हरिले हाँकेर त्यो रथ् तसै ।
सारा कौरव सैन्यका बिचमहाँ पूगीगयो रथ् जसै ।। ७३ ।।

हेरे अर्जुनले तहाँ सबइको चार्तीर आँखा गरी ।
देखे पुत्र र मित्रहेरु तिनिले बन्धू र बान्धव् भरी ।।
आफ्ना मान्य गुरूजि द्रोण कृप फेर् बाजे श्रिभीष्मै वहाँ ।
मामा शल्य कका र भाइ भतिजा दुर्योधनादी जहाँ ।। ७४ ।।

साला साढु ज्यठान फेर ससुरा फूपाजु भानिज् तहाँ ।
दाई ज्वाइँ भदा त आफनु सबै राज्लोभे रण्महाँ ।।
आएका तहिँ प्राण छोडिकन आस् देखेर ब्याकुल् परी ।
पट्की दी धनुलाई ती रथमुनी ओर्ले जमिन्मा झरी ।। ७५ ।।

बोले अर्जुनले श्रिकृष्ण प्रभुसङ् हेनाथ कुन् रीतले ।
कूटुम्बै प्रिय मित्र मान्य लिइ प्राण् हानू म यो बाणले ।।
मारी यी सबलाई भोग् पृथिविको होला सुखै पो कहाँ ।
रोमाञ्चै भइ जल्छ यो शरिर भर् यो हेतु मैले यहाँ ।। ७६ ।।

तीन् लोक् मिल्छ भने पनि म अहिले लड्दीन कस्तै गरी ।
यो काम् पाप म देखछू अति ठुलो हे कृष्ण धेरै मरी ।।
स्त्री होलान् विधुवा ति बिग्रि हिँडछन् पाप् भोग्नु काहाँ गइ ।
वर्णैशङ्कर जन्मि फेरि कुलको गाड्छन् ति पिण्डै दिइ ।। ७७ ।।

भिक्षा माग्न निको म देखछु बरू निर्वाह जीवन्भरी ।
राज्यैको गरि लोभ कूल अरुको नाश्दीन शस्त्रै धरी ।।
भन्ने कायरपन् ति अर्जुनजिको देखेर कर्मै प्रधान् ।
आज्ञा भो प्रभुले नहोउ डरपोक् क्षत्री धरम् हो कउन् ।। ७८ ।।

बूझी कत्ति नलेउ यो हृदयमा दुर्बल् त्यजी खूब् जगी ।
शोभा वीर पुरूषको खिचि लिई त्यो गाड्छ ऊँधो लगी ।।
आज्ञा यो भगवानको पनि तहाँ अर्जून सूनी लिई ।
विन्ती कृष्णजिको चरण् कमलमा गर्दा भए दुख् भई ।। ७९ ।।

के यी सब् परिवारलाई मइँले मारेर सुख्खै लिई ।
बस्ने मन् रतिभर् छईन प्रभुनाथ् हित्बात आज्ञा दिई ।।
उद्धार गर्नुहवोस् म छू वश्महाँ तन्मन् हजुर्मा गरी ।
यस्तो बात सुनी छ यो भननु भो संसार् असार्ले भरी ।। ८० ।।

ढाकेको छ भनी करम् धरम फेर् योग् मार्ग प्रेम्ले गरी ।
व्याख्यान् गर्नुभयो गिता पनि उ हो प्रख्यात् छ लोकैभरी ।।
धार्मिक् ग्रन्थ गितासमान अरको क्यै छैन दोस्रे यहाँ ।
मान्छन् हिन्दु विदेशिले पनि वचन् आदर् गरी मन्महाँ ।। ८१ ।।

हिन्दूको यहि प्राणधार् छ सजिलो पार् तार्न नाऊ सरी ।
भाषा शलोक सबै महात्म्यसहितै ईश्वर् कृपाले गरी ।।
गीता श्लोक तयार् छ सब् लिनुहवोस् वाणी छ अम्मृत् झईँ ।
त्यो पूरा अनुवाद मन्सुब गरी हेर्नोस् सबै दिल् दिई ।। ८२ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित