Untitled Document
Untitled Document

पैल्हा दिनको युद्ध, कौरवादिको जीत झैँ हुनु, पाण्डवको ताप

बाजा सूर धेर् तहिँ बज्यो श्रीभीष्म रथमा चढी ।
अर्जुनको पनि सामु आउनु भयो घन्घोर वर्षा सरी ।।
लाग्यो बाण् तब चल्न वीरहरुले हुङ्कार शब्दै गरी ।
हाहाकार भयो कराइकन झन् घायल् र कातर् डरी ।।२३।।

आकाश् ढाकिदियो श्रिभिम्सिन अनी सूयोधनैको गई ।
झम्टे वीर दुवै थिए शर अनेक् हाने शरीर् ढाक्दिई ।।
यूधिष्ठिर्महराज शल्ल्य भिडि फेर् आपूसमा बर्बरी ।
लागे बाण चलाउनै अनि नकुल् दुशासनै साथ् भिडी ।।२४।।

लागे लड्न जसै ति शल्ल्य विरले एक् बाण कर्मा धरी ।
यूधिष्ठिर्महराजको धनु सहज् काटे भुमीमा झरी ।।
गिर्यो फेर् महराजले धनु तहाँ दोश्रो करैमा लिई ।
क्रोधले शर् पनि हानि घायल गरे फेर् धृष्टद्युम्नै गई ।।२५।।

द्रोणाचार्यसँगै लडे अनि तहाँ एक् बाण द्रोण्ले लिई ।
काटी दी धनु फेरि घायल गरे झम्टेर सर्पै झईँ ।।
धृष्टैद्युम्न रिसाइ चौध झट बाण् हातमा तिनीले धरे ।
द्रोणाचार्यजिलाई ताकिकन त्यो छोडेर घायल् गरे ।।२६।।

यस्तै रीत् सित वीरवीर्हरु तहाँ खोजेर आफ्नै सरी ।
दौँतर् चूनिचुनी लडे सब जना रथमा रथी नै भिडी ।।
घोडा जो चढने त घोड्चढि सँगै गजका सँगै गज चढी ।
तेसबेला मितसङ् मितै अनि लडे दाजू र भाई भिडी ।।२७।।

बाजे सँग नातिले रण गरे शिष्यै गुरू साथ्महाँ ।
पैदल्ले पाइदल्सँगै रण गर्यो यस्तै हिसाब्ले वहाँ ।।
आफ्नू मानिसको गरेन पनि ख्याल् माया र प्रम् त्याग्दिई ।
मार्नैलाई फगत् ति कोसिस गरी लड्थे विचारै लिई ।।२८।।

कोही ता गजको परी पयरमा पीठो भए चूर् भई ।
कोही कोहि गदा र फेर तरवार् लागेर प्राणै गई ।।
चक्नाचूर भए चऊतरफमा मुर्दा भयो धेर् गिरी ।
कोही ता ललकारछन् कहिँ भने हुङ्कार शब्दै गरी ।।२९।।

कोही कोहि कराउँछन् वरिपरी लागेर चोट् दुख् भई ।
दुर्मूखै कृतवम्र्म शल्ल्य कृपजी वीवींशती दिल् दिई ।।
रख्वाली पनि गर्दथे भिषमको चार् तर्फ दृष्टी धरी ।
आफ्ना रक्षक सब् लिए भिषमजी पाण्डव् फउज् तृण् गरी ।।३०।।

सेनाको बिच घुस्न गै घुमन भो ठीक् काल् घुमेकै झईँ ।
सारा पाण्डव सैन्यले अति गरे हल्ला ठुलो डर् भई ।।
पूगे फेर् अभिमन्न्यु भीष्मजिसँग लड्ने इरादा धरी ।
तीखा बाण लिएर दूरमुखको हाने प्रहारै गरी ।।३१।।

ध्वोजा काटिदिएर सारथि पनि मारेर फेरी तहाँ ।
एक् बाण् बल्लभ नामको लिइ अनी हानेर जोर्ले वहाँ ।।
कृपाचार्यजिको धनू सहजले काटे भुमीमा झरी ।
गिर्यो फेर् कृतवर्मको त यक शर् पाँच् शल्ल्यलाई धरी ।।३२।।

हाने भीष्म समेतलाई नउ बाण् झट्टै निशाना गरी ।
देखि ती अभिमन्न्यूको भिषमले स्याबास् दिए खुस् परी ।।
चाँडै भीष्मजिले लगेर रथ फेर् तिन्को त सामू भई ।
लागे क्रोध गरेर लड्न ति दुवै श्री भीष्मजीले गई ।।३३।।

ध्वोजा ती अभिमन्युका त रथको काटी गिराए वहाँ ।
तिन्ले फेर् उहि छीनमा भिषमको काटै ध्वजा तहाँ ।।
देखी ती अभिमन्युको सबजना हात्को सफाई जसै ।
धन्यै धन्य कहे ति भीष्मविरका रक्षक्हरूले तसै ।।३४।।

घेरे ती अभिमन्युको चुहुँदिशा किञ्चित् नमानी वहा ।
एक्लै श्रीअभिमन्युले लडिरहे सब्का त सामूमहाँ ।।
धृष्टैद्युम्न विराट सात्यकि तहाँ आए ति मद्दत् अनी ।
दूवै तर्फमहाँ भयङ्कर अती युद्धै भईगो पनि ।।३५।।

हात्तीमा चढि शल्ल्यका नजिकमा उत्तर्कुमार्ले बढी ।
लागे जान ति शल्ल्यले गजकनै ऊपाय रोक्ने कडी ।।
धेरै जुक्ति गरे चलेन सिप क्यै ती शल्ल्यका रथ् मुनी ।
पौँचे अश्वकनै समाइ सुँडले मार्यो गजैले अनी ।।३६।।

साह्रै क्रोध भएर शल्ल्य नृपले एक् शक्ति हातमा धरी ।
उत्तर्को तहिँ छातिमा सहजले हाने निशाना गरी ।।
लाग्यो उत्तर ती पुगे यमपुरी झट् शल्ल्य तर्वार् लिइ।
काटे त्यो गजको तहाँ सुँड अनी गीर्यो जमिन्मा गई ।।३७।।

जल्दी फेर् कृतवर्मको रथमहाँ झम्टेर लीए चढी ।
आए उत्तरका त भाइ रिसले शङ्खै अती क्रोध् बढी ।।
शल्ल्यैलाई म मार्दछु भनि तहाँ झम्टे ठूलो वेग् गरी ।
तेस्तो देखि पुगे लि रक्षकसहित् श्रीभीष्म हिंहैसरी ।।३८।।

जानूभो तर शङ्खलाई पुगि झट् अर्जून आगे बसी ।
रक्षा गर्नु भयो श्रिसूर्य उ बखत् अस्ताचलैमा पसी ।।
जाने वख्त थियो तथापि उस दिन् ठूलो लडाईँ भई ।
भीष्मैले अति खुप् भयानक सरुप् धर्नूभयो काल् झईँ ।।३९।।

हाहाकार अधीक पाण्डवहरू सेन्यैमहाँ बेसरी ।
पार्नूभो तहिँ भीष्मले पिडित खूब् बाण् लागि पीडा परी ।।
भाग्यो फौज सबै अनाथसरि भै ततिीरवीतीर् भई ।
ब्रह्मैचारि प्रचण्डको रुप धरे श्रीभीष्मले क्रोध् लिई ।।४०।।

नाम् लीली रथिको पुकारनु भयो भागे सबै प्राण् धरी ।
कोही वीर टिकेन त्यो बखतमा खूब् आर्तनादै गरी ।।
भाग्यो पाण्डव सैन्य सब् डरिडरी श्रीसूर्य अस्तै परे ।
अँध्यारो हुन गो नदेखिन गई बन्दै लडाईँ गरे ।।४१।।

विश्राम् गर्न शिवीरमा फउज गो त्यो दीन दूइ थरी ।
यस्तो रीत्सित त्यो प्रथम् दिनमहाँ जीत् कौरवैको परी ।।
दुर्योधन् खुब मग्नमा हुनगई उत्साह मन्मा भए ।
दौडीदौडि ति आफनू फउजमा हीँडेर खुस् भै गए ।।४२।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित