Untitled Document
Untitled Document

छैटौँ दिन भिम्सिनको पराक्रम, मोहित धृष्टद्युम्न खोज्दै गएको
यिनको नदेखी युधिष्ठिरले खोज्न महाँरथीहरू पठाई ठूलो युद्ध

भीष्मैको मन खिन्न भै शिविरमा सुत्नूभयो दिक् परी ।
छैटौँ दीन प्रभात भो पुरबमा सारा उज्यालो गरी ।।
श्रीसूर्यै भगवान् उदाउनु भयो सब्ले शरण्मा परी ।
सन्ध्योपासन काम भोजन गरे ती सैन्य दूई थरी ।।१५०।।

जम्बा भो रणमा ति पाण्डव तरफ् सेना इकट्ट गरी ।
चक्रैव्यूह श्रिधृष्टद्युम्न विरले पारे तयारी गरी ।।
फेरी कौरव तर्फमा अति ठुलो श्रिभिष्मले दिल्धरी ।
क्रोञ्चै व्युह तयार् गरे फसउजले सङ्ग्राम् निमित्तक् बढी ।।१५१।।

सूर् भो भीमसिन ताकमा तहिँ थिए दुर्योधनादी पनि ।
एकट्टा जब आज मिल्छन यहाँ मार्छू म निश्चय् भनी ।।
भन्दै मनमनमा ति खोज गरदै एक्लै पुगे दूर् तहाँ ।
छोरा ती धृतराष्ट्रका पनि खडा थीए यकट्टामहाँ ।।१५२।।

टाढैदेखि ध्वजा चिन्हेर तिनिको भीम्सेनजीले तसै ।
साह्रै खूसि भई पुगी नगिचमा रथदेखि ओर्ली जसै ।।
आफ्ना सारथि जो विशोक कन ता रथ् राख याहीँ खडा ।
भन्ने आडर दी पसे फउजमा भीम्सेन लई गदा ।।१५३।।

व्यूहैका पनि द्वारका गज रथी घोडा पाईदलहरू ।
मार्दै पुग्न गए जहाँ सब थिए भाई सुयोधन् अरू ।।
आएका भिमसेनलाई सनमुख् देखेर कौरवहरू ।
बोले खूसि भएर मौसर मिल्यो चार्तर्फ घेरा गरूँ ।।१५४।।

जानैलाई नदीउँ दुष्ट यसको मारेर दुःखै हरू ।
भन्थे है तर भीमसेन बलिले ठूलो पराक्रम् धरूँ ।।
हेरुन् कौरवले भनेर नडरी घूमेर व्यूहैमहाँ ।
जो आयो नजिकै गरे ति तृणझैँ भीम्सेन चाँडै तहाँ ।।१५५।।

पूगे ती धृतराष्ट्रका पुतरको सम्मुख् नजीकै गइ ।
सिँहैको सरि गर्जना गरिगरी ठूलो फलामे लिइ ।।
हाने भीमसिनले गदा घुमिघुमी दुर्योधनैका तहाँ ।
मारे भाइहरू र देखि रिसले सेना लिई साथ्महाँ ।।१५६।।

दुर्योधन् नृपले ति भीमसिनको घेरेर चार् तर्फमा ।
चिल्लाए भिम घातिलाई अहिले पारेर लौ जालमा ।।
लौलौ मार भनी हुकुम् तहिँ दिए भीम्सेन झन् रीसले ।
कुद्दै लात्ति गदा चलाई कउरव् मारेर थर्थर् दले ।।१५७।।

धृष्टद्युम्न श्रिपाण्डवै तरफमा थीए ति सेनापती ।
भीम्सिन्को बलदेखि मोहित परी भक्तै थिए खुप् अती ।।
धेरै भीम्सेनको त खोज गरदै ती पाण्डवै फौजमा ।
भीम्सिन्लाइ नदेखि खूब तिनिले चिन्ता गरे दीलमा ।।१५८।।

खोज्दै आइ पुगे तहीँ रथ लिई वीशोकलाई खडा ।
देखे सोधि ति धृष्टद्युम्न त गए भीम्सेन धेर् भै पिडा ।।
रक्तैले मुछिई शरीरभरिमा बाण् लागि घऊ कडा ।
तै तीनी लडदै थिए अति अघोर् घूमाइ लीई गदा ।।१५९।।

भाई ती दुरजोधनादिहरुको मारीरहेका तहीँ ।
देखी खूस भएर सिंह सरिझैँ ती धृष्टद्युम्नै वहीँ ।।
गर्जी भीमसिनका नजिक् रथ लगी आफ्ना रथैमा तहाँ ।
राखे छाति मिलाई प्रेम् गरि अनी भीम्सेनजीले वहाँ ।।१६०।।

ठूलो एक् धनु धृष्टद्युम्नसँग ली फेर् मारथी दूइले ।
मीली कौरवलाई खूबसँग तहाँ वर्षा गरे बाणले ।।
युधिष्ठिर् महराजले पनि उता ती धृष्टद्युम्नै अनी ।
भीम्सेन्लाइ नदेखि सैन्यहरुमा व्याकूल साह्रै बनी ।।१६१।।

बाह्रौटा अभिमन्यु आदि विरको खोज् गर्नलाई भनी ।
सहायै निमती पठाउनुभयो दुर्योधनैले अनी ।।
धृष्टद्युम्न र भीमसेन् उपरमा रीस्ले अती चूर् भए ।
घेरा चार तरफ् गरेर सबले लौ मार हूकुम् दिए ।।१६२।।

सूनी हूकुम कौरवादिहरुले छूटेर बादल् झर्इँ ।
छोपे खूब् तर धृष्टद्युम्न विरले ठूलो चलाकी भई ।।
एक्लै ती सब शत्रुका सँग लडी तीत्नै कठीनै तहाँ ।
देखी मोहन अस्त्र हनि सबको पारे विचेतै महाँ ।।१६३।।

सारा कौरव सैन्य पत्थरसरी गीरे अचेतै परी ।
बाह्रौटा अभिमन्यु आदि विर फेर् साहाय तेसै घरी ।।
सेना पाण्डवका लिएर सँगमा आए उसै ठाम् हिँडी ।
द्रोणाचार्यजिले सुने खबर यो वीर् धृष्टद्युम्नै लडी ।।१६४।।

छोडी मोहन अस्त्र फौजहरुको पार्यो अचेतै भनी ।
आफैँ जल्दि गरेर आइ तहिँ फेर् प्रज्ञास्त्र छोडी अनी ।।
मूर्छाबाट सबै छुटाइ दिनु भो श्री द्रोण् गुरू क्रोध् गरी ।
धृष्टैद्युम्न उपर् अरू पनि अनेक् छोडे ति शर् खर्खरी ।।१६५।।

चाँडै नै धनु अश्व सारथि तहाँ काटीदिए तीनिको ।
धृष्टैद्युम्न गएर झट् अनि चढे रथमा अभीमन्युको ।।
आफ्नै रथ् भिम्सेन् चढे दगुरि झट् सङ्ग्राम् भयो घोरको ।
द्रोणाचार्यजिले रकम् रकमका हानेर धेर् शस्त्रको ।।१६६।।

सेना पाण्डवलाई पीडित गरे काँप्यो डरी थर्थरी ।
सेना कौरवका भने ति गदगद् हर्षै भए खूब् गरी ।।
सूयोधन् पनि ब्यूँझि त्यै बखतमा देखेर खुस् भै बढी ।
भाईहेरु लिएर भीमसिनसँगै लड्नै गए फेर् भिडी ।।१६७।।

थाकेका भिमसेन् थिए सबसँगै एक्लै बहूतै लडी ।
आएका दुरजोधनादिहरुको देखेर साह्रै चिढी ।।
बोले रे अब दुष्ट आ मसँग लौ आजै त यम्का पुरी ।
पूर्याई सुख पार्दछू श्रिकुनती माताजिको दुख् हरी ।।१६८।।

यो सारा पनि पापको मुल जरा तैं होस् लिईबञ्चरो ।
आजै काट्छु जरा पियार बुझिले रुन्छन् स्त्री तैँ ता नरो ।।
यत्रो यो कुरुकूललाई अहिले हा दैव कस्तो पर्यो ।
दुष्टै यो पनि नाश गर्न यकलै आगो अगाडी सर्यो ।।१६९।।

भन्दै भीमसिनले सुयोधनकनै तीखातिखा बाण् लिइ ।
खूब् जोर्ले तहिँ हानि देख्दइ ध्वजा छाता धनू काट्दिइ ।।
फेरी सारथि अश्वको छिनमहाँ मारी निभाई तहाँ ।
धेरै बाण लिएर दुर्जधनको हाने ति छातीमहाँ ।।१७०।।

सिंहैनाद गरे ति भीमसिनले दुर्योधनै क्रोध् गरी ।
घायल् धेर असक् खडा तहिं थिए पीडा भई अङ्भरी ।।
सूयोधन्कन आफना रथउपर् राखे कृपाचार्यले ।
ताहीँ दक्षिणतर्फ भीष्म अरजुन् लड्दै थिए जोरले ।।१७१।।

थीयो युद्ध अघोर् दुवै विर लडी आफ्ना विपक्षी अरी ।
दूवैले गरि नाश फौजहरुको थुप्रो भयो खूब् मरी ।।
साँझैको समयै भयो श्रि रविले अस्ताचलै पार् भइ ।
सेनाहरु पनि दुवै तरफका पूगे शिविर्मा गइ ।।१७२।।

 


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित