Untitled Document
Untitled Document

चौथा दिन भीमको उत्पात, सांयमनि पुत्र र मगधनृप क्वै कौरव
मृत्यु, घटोत्न्कचका गजले भगदत्तका गजको दन्त उखाडेको

चौथा दीन भयो हिँड्यो फउज फेर् रथमा चढी वीर् अरू ।
निस्के शीविरदेखि बाहिर तहाँ हल्लाइ धोजाहरू ।।
शोभा धेर् जडि रङ्विरङ् मणि थियो वर्णन् कती त्यो गरूँ ।
भीडीयो दुइ फौज द्वन्द रण भो सेना त पाण्डवहरू ।।११४।।

लागे काँपन त्यो बखत् भिषमको देखेर रूपै डरी ।
भिष्मैका सनमूख जल्दि रथ फेर् लैजानु भो श्रीमरि ।।
दूवैले घमसानको रण गरे श्रीभीष्म अर्जुन् लडी ।
दुर्योधन् अनि माँरथी लिइ ठुला भीष्मैजिको त्यो घडी ।।११५।।

साहायै गरनै पुगे तर वहाँ अर्जुन् अकेला थिए ।
देखी झट् अभिमन्युले तहिँ बुबा दीनै सहायै गए ।।
बुबा पुत्र दुवै समान विर ती मीलेर खूबै गरी ।
वसाईकन बाण कौरवमहाँ पीडा गरे बेसरी ।।११६।।

बोलाई तहिँ धेर सैन्य अरु झट् दुर्योधनैले अनी ।
घेरे ती अभिमन्यु अर्जुनकनै चार्तर्फ शत्रू पनि ।।
त्यो देखी झट धृष्टद्युम्न विरले सेना बहूतै लिइ ।
पूगी जोर् गरि आक्रमण् तहिँ गरे श्रीधृष्टद्युम्नै गइ ।।११७।।

घेरा कौरव फौजको पिसिपिसी तोडेर तीनी घुसी ।
पूगे अर्जुनको नजीक तिनिले रक्षा गरे खूब् बसी ।।
राजा सांयमनी त पुत्र लडनै घृष्टैद्युमन्सङ् कसी ।
आए ती वीर धृष्टद्युम्न रिसले काटे धनू गो खसी ।।११८।।

अर्को लीइ धनू तयार भइ गै तेही बखत्मा अनी ।
घोडा सारथि धृष्टद्युम्न विरले जम्लोक भेजे पनि ।।
फेरी सांयमनीय पुत्र रिसले लाग्ने लि तर्वार् तसै ।
रथदेखी कुदि धृष्टद्युम्न विरको झम्टेर पूगे जसै ।।११९।।

तिन्को साहस वेग देखि सबले सम्झे अवश्यै यिनी ।
वीर् हे्रछन् अब धृष्टद्युम्न दुइ टुक् पार्छन् कि निश्चय् भनी ।।
हेर्थे सब् तर धृष्टद्युम्न विरले साह्रै चलाकी भइ ।
आएको तरवार वार् शिरमहाँ चम्की नछोड्दै गइ ।।१२०।।

धृष्टद्युम्न गदा लि वज्र सरि झट् तिन्को प्रहारै गरी ।
पारे शिर् चुरचूर सांयमनिसुत् स्वर्गै पुगे नाम्धरी ।।
गर्जे पाण्डव सैन्य सांयमनि ता हा पुत्रशोक्ले जरी ।
क्रोधैले तिनि धृष्टद्युम्न उपरै वर्षा गरे बाण् झरी ।।१२१।।

तिन्को मद्दत माँरथि अरु थिए फेर् शल्ल्य गै जोर् गरी ।
हाने शर् तहिँ धृष्टद्युम्न यकला लड्थे नि चारौँवरीं ।।
देखी श्री अभिमन्युले उहिबखत् साहाय दीनै गए ।
हाने बाण् लिइ शल्यलाई तिनिले पीडित पारीदिए ।।१२२।।

दुर्योधन्नृप माँरथी दश लिई जल्दी अनी फेर् गई ।
पौँची तहिँ ति शल्यलाई सब्ले रक्षा गरे दिल् दिइ ।।
पाण्डव्तर्फ ति धृष्टद्युम्नकन ता भिम्सेन् नकुल् वीरले ।
पुत्रै पाँच् द्रुपदीजिका र सहदेव् फेरी अभीमन्युले ।।१२३।।

जम्बा भै रथ धृष्टद्यम्न विरको रक्षा दिलोज्यानले ।
तीनीले गरि घोर युद्ध रणमा शत्रू हजारौँ दले ।।
जङ् गर्दागरदै नजिक् भिडिगए भिम्सेन् थिए क्रोध नै ।।१२४।।

देखी झट्ट तहाँ ति दुर्जधनको रीस्ले भई चूर नै ।
रथदेखी उतरेर झम्टन पुगे ठूलो गदा लीकनै ।।
आएका विकराल मूर्ति भिमसेन् देर दुर्योधनै ।
खस्के भाइ समेत् हुकुम् लडन दी राजा मगध्लाइ नै ।।१२५।।

हात्तीको दि फऊज दूर्जधनले भीम्सेन साम्ने अनी ।
भेजे लीइ गदा ति भीमसिनले हात्तीहरूको पनि ।।
मस्तक् चूर्ण गरे घुमीघुमि अनी फेर् धृष्टद्युम्नै तहाँ ।
बालख् वीर् अभिमन्यु माँरथि अरू अक्षा त गर्ने वहाँ ।।१२६।।

पूगी भीमसिनको पछीपछि हिँडे राजा मगध्ले उही ।
आफ्नू गज् अभिमन्युको तरफमा पूगे बढाई तहीँ ।।
तीनी वीर् अभिमन्युले गजकनै एक् बाण हानी जसै ।
मारे फेरि लिएर बाण दुसरा ती राजनैको तसै ।।१२७।।

काटे शीर यता वृकोदर उता गज्को फउज्मा पसी ।
हाहाकार् प्रलयै गदा लिइ गरे बज्रै परेझैँ खसी ।।
पाहाड् गिर्छ जसै उसै गरिर गिरे हात्ती गदा चोट् परी ।
भागे ज्यान बचाइ बाँकि गजले कूँ कूँ कराई डरी ।।१२८।।

बोसो रक्त मांसमा लपटिई डर्लागदो रूप् धरी ।
लागे घूमन भीमसेन रणमा भागे गजै चौवरी ।।
छीतीर्वीतिर कौरवै फउज भो देखेर रीस्ले जरी ।
दुर्योधन् नृपले कहे फउजको भीम्सिन् पकड्नू धरी ।।१२९।।

जल्दी मार भनी हुकुम् तहिँ दिएर छोड्यो फउज् वेग् गरी ।।
भीमसेनको उ बखत् पराक्रम थियो ठीक हेर्न लायक् सरी ।।
तीनी एकलई गदा लिइ घुमी र घोडाहरू ।
ऊठाई भिमसेनले त दुरदूर् फ्याँक्थे रथी वीर् अरू ।।१३०।।

मारे सारथिको बिगारि रथको गर्दै चले चूर्चुरी ।
यो रीत् भीमसिनको गदा उसबखत् सातो लि सब्को हरी ।।
बोसो रक्त मुछीयको तहिँ गदा डन्डा यमैको सरी ।
देखे क्यैपछि बेरमा ति भिमसेन् माझ् भाग नाशै गरी ।।१३१।।

कालैको सरि भै गए श्रिभिमसिन् भाग्यो फउज् ज्यान् लिइ ।
भीष्मैलाई खबर् गयो तर तिनी आए बिचैमा गइ ।।
रोकी सात्यकिले लडाइँ गरनै लागेर दुर्योधनै ।
भाई मारथि लीइ भीमसिनको घेरे चऊतर्फ नै ।।१३२।।

देखी भाइसमेत दुर्जनको उफ्री गदा लीकनै ।
घूसी जो रित भेडिया बकरिको मार्छन् फउज्लाइ नै ।।
ती दुर्योधनका त भाइ उहि रीत् मारे ति भीम्सेनले ।
चिल्लाईकन बाँकि जीवित अरू भागे ठुलो बेगले ।।१३३।।

देखी त्यो रितको दशा भिषमले बोलाई माहारथी ।
भन्नूभो विर हो रणस्थलमहाँ लौ हेर क्रोधले अती ।।
मारे कौरवलाई भीमसिनले जाऊ सबै भूपति ।
रक्षा लौ गर भन्नु भो जलदिले लीई बतासझैँ गति ।।१३४।।

भीम्सेन्लाइ गएर दौडि सबले छोपे उसैबीच् तहाँ ।
चीन् देश्का भगदत्त राजन चढी आई ठुलो गज्महाँ ।।
छोडे शर् भिमसेनका उपरमा सङ्ग्राम् पर्यो खूब् वहाँ ।
थाकेका भिमसेन् थिए शरिरभर् लागेर घाऊ जहाँ ।।१३५।।

साहायै गरने पनि उस बखत् पाण्डव्तरफ्का कती ।
थएनन् तर कोहि भीमसिनले एक्लै नली डर् रती ।।
हात्तीको सनमूख लीकन गदा थीए खडा ती जसै ।
आए तेहि बखत् श्रिभीमसिनका छोरा घटोत्कच् तसै ।।१३६।।

सेना राक्षसको लिईकन ठुलो हात्तीमहाँ ती चढी ।
आए भीमसिनको सहाय गरनै तिन्को गजैले बढी ।।
राजा श्रीभगदत्तका त गजको पक्रेर दन्तै जरा ।
तोड्दीयो भगदत्तको गज अनी कूँ कूँ करायो बरा ।।१३७।।

भाग्यो त्यो रणदेखि कूच भइ फेर् पश्चीम दीशामहाँ ।
डूब्नू भो प्रभु सूर्य साँझ परिगो दुवै तरफ्का तहाँ ।।
सेना बन्द गरी लडाइँ चलिगो विश्राम ठाम्मा हिँडी ।
जीतै पाण्डवको भयो उ पनि दिन् घायल् भई धेर् लडी ।।१३८।।

चोट् पर्ने भिमसेनको अरु सबै हिँड्दै प्रशंसा गरी ।
आफ्नू ती पुगे शिविरमा जोजो थिए चोट् परी ।।
तिन्को वैद्य लगाइ पट्टि मलहम् गर्दा भए राम्ररी ।
मर्ने भाइ ति सम्झि दूर्जधनले काटे उ रात् शोक् गरी ।।१३९।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित