Untitled Document
Untitled Document

तेस्रादिन भिष्मसङ्ग अर्जुन सिथिल भै कृष्णले हतियार लिन्न
भनेको चत्र लिनु भएको

दूवै फौज पुगी बस्यो रण हुने मैदानमाहाँ भिडि ।
दोस्रा दीन हिजो त कौरव तरफ् हारै हुनाले लडी ।।
साह्रै क्रोध थिए श्रिभीष्म विरले उत्साह दोबर् गरी ।
सेना पाण्डवका विनाश गरनै थाले चलेझैँ हुरी ।।८९।।

हावाले रुखपात डालिहरु जो सानातिना चौवरी ।
हल्लीहल्लि यताउता ति फिरछन् उस्तै हिसाब्ले गरी ।।
भीष्मैको तहिँ बाण लागि फउजै येता उता नै भई ।
लाग्यो भाग्न ति चल्दथे पनि जता श्रीभीष्म ऊतै गई ।।९०।।

हाहाकार् गरि पाण्डवादिहरुको मारे फउज् दिक् दिई ।
यस्तो त्यो रितको दशा पनि तहाँ आफ्ना फउज्को भई ।।
देखी अर्जुनले श्रिकृष्णसँगमा विन्ती गरे हे हरी ।
मेरो रथ् अब जल्दि भीष्म सनमुख् लैजानुहोस् जोर् गरी ।।९१।।

गर्छू भीष्मसँगै लडाइँ मइले भन्ने वचन् यो सुनी ।
तूरुन्तै प्रभुले त हाँकि रथ त्यो पौँचाउनू भो पनि ।।
भागेका सब सैन्य अर्जुनकनै देखे साहस् भइ ।
फिर्ता आई गएर घोरघमसान् सङ्ग्राम् गर्ययो जान् दिइ ।।९२।

पुग्ने वित्तिक भीष्मको धनु तहाँ अर्जूनले काट्दिए ।
फेरी झट्ट अनी श्रिभीष्म विरले आर्को धनूषै लिए ।।
ताक्नैलाई नपाउँदै त तिन टुक् अर्जूनले पार्दिए ।
नीशना अरजूनको अचुक त्यो देखेर सब् छक् भए ।।९३।।

भीष्मले तिमि धन्न्य छौ भनुँ कती यो कूरु कुल्को भरी ।
शिर्को ताज छऊ यहाँ तिमिविना मेरा धानू येसरी ।।
सक्ने थीयन काट्नलाई अरुले यो बत भन्नू भइ ।
तेस्रो फेरि धनू लिएर करमा ताके निशाना लिई ।।९४।।

भीष्मैको तर दीलदेखि अरजुन् सम्मान गर्थे अती ।
पाण्डव्का यिनि शत्रुकै तरफमा थीए तथापी रती ।।
अर्जुनले तिनिको शरीर भरिमा बाणै कहीले कती ।
हानेनन् पछि बाहिकै तर तहाँ गर्थे अरू थोक् खती ।।९५।।

मारी सारथिको विकल् ति गरथे श्रीभीष्मजीको तहाँ ।
आई अर्जुन आज रण् गरनको खातीर साम्नेमहाँ ।।
बूढा भीष्मजिको प्रचण्ड बलको देखी पराक्रम् डरी ।
आनाकानि गरे झईँ यि यि गरछन् श्रीभीष्मले बाण् धरी ।।९६।।

अर्जुन् पाण्डव सैन्यको तइ पनि हान्दै गए शर् तहीँ ।
सारा वीकल पार्दिए श्रिहरि फेर् अर्जून साम्ने रही ।।
त्राहित्राहि भयो अनाथसरि फउज् श्रीकृष्णजीले कही ।
बारम्बार् पनि सावधान् गरनु भो अर्जूनलाई तहीँ ।।९७।।

आज्ञा भो तिमिले यि फौजहरुको रक्षा गरी एक् रती ।।
लड्देनौ लड भन्नुभो तइपनी ख्यालै गरेनन् कती ।
कृष्णैलाई समेत भीष्म विरले घायल् तुल्याई दिइ ।
ढाके अर्जुनलाई बाणहरुले श्रीकृष्णले दिक् भइ ।।९८।।

फेर् सम्झाउनु भो तथापि तिनको शीथिल्पना क्यै गरी ।
अर्जुनको त छुटेन धेर फउजै मारेर प्राणै हरी ।।
भीष्मैले रथको खडा गरनु भो श्री कृष्णजीले अनी ।
भन्नूभो तहिँ सात्यकीसित सुन्यौ क्यै छैन भर्सा पनि ।।९९।।

अर्जुनको भर छैन चक्र मइँले लीएर साम्ने सरी ।
साँचै मार्दछु द्रोण भीष्म दुरजोधन्लाइ संहार् गरी ।।
यूधिष्ठिरमहराजलाई अहिले गद्दीमहाँ नै धरी ।
राख्छू भन्नुभयो कुदी उहिबखत् रथदेखि भैँमा झरी ।।१००।।

लाल्लाल् नेत्र गरेर पूगनु भयो सारा रहे चुप् भई ।
झम्टी बक्सनु भो ति भीष्म विरको देखी दगुर्दै गई ।।
पौँची अर्जुनले समाइ करको बोले प्रभू रीस् लिई ।
यस्तो गर्न उचीत छैन अब ता लड्छू म दीलै दिई ।।१०१।।

हेरी बक्सनुहोस् पराक्रम यहा भन्दा लछार्दै पनि ।
आगे नै बढि बक्सियो झन तहाँ धर्छू म भीष्मै भनी ।।
पाऊ पक्रि लि जल्दि अर्जुनजिले विन्ती गरे फेर् तहाँ ।
हे ईश्वर् कमनै क्षमा गरनु होस् खूब् सावधानीमहाँ ।।१०२।।

लड्छू लाज मलाई राखनु हवोस् यो दुर्दिनैको भनी ।
येता यो रितभो उता भिषमले आफ्नै ति साम्ने पनि ।।
छूटेका हरिलाई देखि झटपट् छोडी धनूको तबै ।
हात् जोरी विनती गरे प्रभु भयो मेरो प्रतिज्ञा अबै ।।१०३।।

पूरा गर्दिनु भो म लिन्न हतियार् भन्ने बरू बात् त्याजी ।
भक्तैवत्सल नाम तब् हजुरको भन्छन् सबैले भजी ।।
शस्त्रै लीन अवश्य लाउँछु प्रभो मैले हजुर्को पनि ।
बोलेथेँ उ परा भयो अब यहाँ स्वागत् म गर्छू भनी ।।१०४।।

स्वागत् खूब् तहिँ गर्नुभो श्रिहरिझैँ पण्डित् विरै क्वै वहाँ ।
थीएनन् यस पृथ्विमा उस घडी श्रीभीष्मले प्रेम्महाँ ।।
गथे हिर्दयदेखि आदर अती ईश्वर समानै गुनी ।
यो रीत् भै प्रभु फिर्नु भो रथमहाँ वीन्ती दुईको सुनी ।।१०५।।

शङ्खै वीजयनाम् बजाउनु भयो श्रीभीष्मजिले अनी ।
लीए अर्जुनले तहाँ रथमहाँ गण्डीव् धनुको पनि ।।
दिव्यै अस्त्र चलाई कोप् गरि तहाँ भूकम्प जाँदा झईँ ।
सारा कौरव सैन्यको ति अरजुन् डग्मग् तुल्याए गइ ।।१०६।।

भीष्मै शल्ल्य भुरिश्रवा लिइ अनी साम्ने सुयोधन् भइ ।
लीए तोमर दूरजोधन तहाँ शल्ल्यै गदा नै लिइ ।।
शक्ती भीष्मजिले र सात तहिँ बाण् भूरिश्रवाले धरी ।
हाने अर्जुनलाई एक बखतै किञ्चित् नटेरै गरी ।।१०७।।

काट्दीए अरजूनले तिनि सबै शङ्खै बजाए हरी ।
भाग्ने पाण्डवका त कातर फउज् सूनेर आयो फिरी ।।
माराकाट ठुलो भयो चउदिशा बाणै ति सर्पै सरी ।
देखिन्थ्यो अरजूनको सब तहाँ ऊडेर आस्मान् भरी ।।१०८।।

रक्तैको रणभूमिमा नदि बह्यो क्वै वीरको शिर् झरी ।
कोहीको कर छैन कोहि पगका वीहीन भैँमा परी ।।
मुर्दा पेर् हतियार्हरू गिरिगिरी ढाक्यो जमीनै भरी ।
देखीन्थ्यो गजको शिरै रगतको तेही नदीमा परी ।।१०९।।

उत्रेको पनि नाउ ऊलटि सरी लाग्ने नजर्मा गडी ।
फेरी अर्जुनले भयानक अती दिव्यै अमोघ् त्यै घडी ।।
गाण्डीव्मा धरि बाण् चलायर तहाँ ताकेर राम्रो गरी ।
हाने चोट् अति लागि कौरव भगे सेना बहूतै मरी ।।११०।।

घायल् भै मइँदान छोडि फउजै भाग्यो तुरन्तै अनी ।
भीष्मै द्रोण भुरिश्रवा कृपजि फेर् राजा जयद्रथ् पनि ।।
शल्ल्यै आदि तहाँ सबै विर मिली छोपे यकै साथ् भइ ।
अर्जुनले तर आक्रमण् विफल त्यो पारे गरी भुस्झर्इँ ।।१११।।

सारा माँरथि कौरवादि छकभै नाकोदमै भै गयो ।
कृष्णैले त झलक्क बीजुलि सरी रथ् फुर्ति हाँक्नूभयो ।।
शत्रूको रति बाण अर्जुनकनै लागेन निस्फल् गयो ।
श्रीसूर्यै अनि पश्चिमै दिशि डुबे कौरव् फउज खुस्भयो ।।११२।।

चाँडै साँझ परोस् भनेर दिक भै पर्खीरहेका थिए ।
बन्दै भो तहिँ युद्ध कृष्णप्रभु फेर् अर्जून शङ्खै लिए ।।
आफ्नू जीत भयो भनेर खुसले शङ्खै बजाए तहाँ ।
दूवै तर्फ फउज् चलीकन गयो आफ्ना शिवीरैमहाँ ।।११३।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित