Untitled Document
Untitled Document

चौधौँ दिन्का रातको दुर्योधनले द्रोणलाई वाक्शरले घोची पाञ्चाल
वीर धेर राजन कलिङ्ग कुमार वध, सात्यकिको पराक्रम, दुर्योधन दिक, कर्णको डिङ् कृपसँग झगडा, माफ मागी कर्णले सहदेव पक्री छोड्नु, घटोत्कचले अलम्बुष अलायुध वध, घटोत्कच वध

मीली सात्यिकि भीम कृष्ण अरजुन् सङ्मा त मग्नै भई ।
आफ्नू तेज् दिइ बत्तिमा रवि डुबे अस्ताचलैमा गई ।।
विश्राम् गर्न फउज् गयो तर तहाँ रात्मा लडे फेर् वहाँ ।
चार् जाना खसले चढी रथमहाँ पौँचे युधिष्ठिर्कहाँ ।।४०३।।

सूनी त्यो समचार् जयद्रथ मरे भन्ने पनि हर्षले ।
युधिष्ठिर् महराजले दगुरि गै आनन्द भै मग्नले ।।
मीलाए प्रभु कृष्ण अर्जुनसँगै आफ्ना गलाको धरी ।
बार्बार् ताडिफ कृष्णको त गरनै लागे प्रशंसा गरी ।।४०४।।

फेरी रक्त मुछेर घाउ अँगभर् थीए नखाली कहीँ ।
तेस्ता भीमसिन सात्यिकीकन पनि छाती मिलाए तहीँ ।।
मारीए जब ती जयद्रथ वहाँ रीस्ले उदास् धेर् भई ।
दुर्योधन्नृप द्रोणका नगिचमा यो बात बोले गई ।।४०५।।

हे गूरू तनमन् दि पाण्डवतरफ् याहाँ त कप्टै गरी ।।
मुख्ले मात्र भनेर हामिहरुको अन्तस्करण् दिल् धरी ।।
हामीतर्फ छईन पाण्डवकनै खोज्छौ त कल्याण् गरी ।।
तूल्याएँ गरुँ के बडो चुक भई सेनापती भूल् परी ।।४०६।।

रक्षाको पनि भार् जयद्रथकनै गर्नै त कम्बर् कसी ।
हीजो अम्बल पो लियौ सरम भो प्राण् गो जयद्रथ् बसी ।।
मारे भाइ असावधान तिमिले गर्दा घुँडा फेर् धसी ।
हा बित्यो दुरबुद्धि लीइ मइँले तिम्रै भरोसा फसी ।।४०७।।

मार्यो भीमसिनले त मूर्ख मइँ हूँ विश्वास् नबूझी यहाँ ।
पैल्हे काम् गरने नबिग्रि मुढ ता बिग्रन्छ आर्को कहाँ ।।
सेनाको पति कर्णलाई मइँले पैल्हे गरेको भए ।
राजा भूरिश्रवा जयद्रथ पनि मर्दैनथे हा गए ।।४०८।।

हे आचार्य म मार्दछू कि त लडी मेरा पियारा पनि ।
जाहाँ पूगिगए म जान्छु उहि ठाम् छोड्दीन कस्तै भनी ।।
दुर्योधन्नृप आँसु काढि बरबर् लागे ति रूनै अति ।।
द्रोणाचार्य अनी तहाँ भननु भो घोच्छौ मलाई कति ।।४०९।।

बज्रैको सरि वाक्यले गरि प्रहार् बोल्छौ यि तिम्रा जति ।
सेनामा विर छन् ति अर्जुनसँगै चल्दैन क्वैको गति ।।
पैले ता अघि जोर खूब् पनि गरेँ राम्रो नलीई मति ।
सन्धीको हित बात हेर तिमिले ख्यालै लिएनौ रती ।।४१०।।

के गर्नू रुनु धूरुधुर् परि गयो पैल्हे नजान्दामहाँ ।
के रून्छौ अब जाउँ हींड रणमा भन्दीन रातै यहाँ ।।
मैले लड्छु भनेर क्रोधित ठुलो श्वास् फेरि साँपझैँ बढी ।
सेना पाण्डवमाथि आक्रमण फेर् द्रोण्ले गरे रीस् चढी ।।४११।।

दुर्योधन्नृपले अनी करणको साथमा लि हीँडीहिँडी ।
बोले माँरथिहरु तीमि सनमुख् मारे जयद्रथ् गिँडी ।।
द्रोणाचार्य बहूत नै हृदयले कल्याण पाण्डव्महाँ ।
गर्छन् अर्जुन्लाइ प्यार अति झन् यो बूझ निश्चय यहाँ ।।४१२।।

ठूला वीर पराकमी नृप लडी पूगे जयद्रथ्कहाँ ।
हाम्रै निम्ति त्यजेर प्राण् पृथिविमा सूते अहीले यहाँ ।।
धेरै वीर मरे श्रिद्रोण गुरुले ख्यालै नली मन्महाँ ।
जीत्यो अर्जुन व्यूह तोड्न नहिँ ता सक्थ्यो उ जानै कहाँ ।।४२३।।

मैले मूर्ख भई ति द्रोण छलिको विश्वास् नबूझी गरेँ ।
त्यो हेतू बिचारा जयद्रथ यहाँ घर् जान रोक्दा मरे ।।
भन्ने बात् दुरजोधानै नृपतिको ती कर्ण वीर्ले सुनी ।
दीए उत्तर लड्नु भो श्रिगुरुले उत्साहपूर्वक् पनि ।।४१४।।

बूढो भै खुब् लड्नु भो तइ यहाँ को जित्छ त्रीलोक् पति ।
जस्को सारथि छन् ति अर्जुनकनै कस्को छ जित्ने गति ।।
हे राजन् बुझनोस् यथार्थ अघि है अन्न्याय हाम्ले गरी ।
हेर्नोस् भोग्छउँ दुःख हामि रणमा सुम्पेर तन्मन् धरी ।।४१५।।

लड्छौँ तैपनि जीत हुन्छ कहिले दुर्भाग्य हाम्रो परी ।
ईश्वर् वीमुखमा बुझिन्छ अहिले के लड्नु जित्छन् अरि ।
यस्तो बात् गरदै रणस्थलमहाँ सम्मूख पूगे दुई ।।
रात्रीको समयै थियो अति अघोर् खूब् अन्धकारै भई ।।४१६।।

निस्पट्टै तहिँ ढाकि आफनु अरू चिन्दैनथे क्वै गई ।
दूवै थर् मिलि फौजहरु जुटि यो रण्मा अघोर् स्वर् भई ।।
रथको गड्गडगड् र अश्वहरुको हीँहीँ हिनावट् भरी ।
चिङ्घाड् शब्द त फेरि हात्तिहरुको हुङ्कार वीर्ले गरी ।।४१७।।

दीशा ढाकि वीरहरुले आस् छोडि प्राणको लडी ।
ठूलो युद्ध गरे ति कौरवतरफ् दुर्योधनै रीस् चढी ।।
थीए क्रुद्ध ति पाण्डवादिहरुको त्यस् कारणैले गरी ।
श्रावण्को झरिझैँ लि बाण् अति तिखा छोडे पराक्रम् भरी ।।४१८।।

गाली चोट तिखा ति बाणहरुले पीडा बहूतै परे ।
सेना पाण्डवका अनाथसरि भै भागेर दूर्दुर् सरे ।।
रीस्ले फेर तहाँ युधिष्ठिरजिले दौडेर सम्मुख् बढे ।
दुर्योधन्सँगमा पुगे अति अघोर् तीनी दुवैले लडे ।।४१९।।

धेरैबेर तलक् भयो रण अनी दुर्योधनै रीस् चढी ।
यूधिष्ठीरजिको ध्वजा धनुसहित् काटेर बाण्ले जडी ।।
रथ् फेर् तोडिदिएर सारथि तहाँ घोडा त घायल् गरे ।
रीस्ले क्रोध भई युधिष्ठिर अनी अर्को धनूषै धरे ।।४२०।।

तेजीलो तहिँ बाण् चढाइ उसमा मर्छस् अवश्यै भनी ।
छोडे छातिमहाँ गई खुब घुस्यो मूर्छा तुरुन्तै बनी ।।
दुर्योधननृपती गिरे रथमहाँ श्रीद्रोण साम्ने गई ।
रक्षा गर्न पुगे अनी रण भयो डर्लागदो फेर् भई ।।४२१।।

पाञ्चाल् देश निवासि मारि विर धेर् छोराहरू ता जति ।
थीए वध् गरि धृष्टद्युम्न विरको पारे निसन्तान ती ।।
द्रोणैले खुब मार्नुभो नृपहरू बाँकी रहे थोर् जति ।
मारे भीमसिनले अघी रणमहाँ ठूलो कलिङ्गै पति ।।४२२।।

तेसैको उहि ईविले तिनजना राजाकुमार्हेरुले ।
घेरे फौज लिएर भीमसिनको मार्नै भनी हेतुले ।।
खूबै जोड गरी लडे तिनिहरू मीलेर तीन् भाइले ।
काट्दीए भिमसेनको धनु गरे क्रोध् फेर भीम्सेनल ।।४२३।।

टुटेको धनु फ्याँकि खालि करले छोडे ति रथ् रीस् बढी ।
दौडी एक कुमार् कलिङ्गनृपका रथमा तुरुन्तै चढी ।।
हाने मुड्कि जमाइ तेस् मुडकिले छाती चिरी गो मरी ।
अर्को फेर् रथमा गई वध गरे कामै तमामै गरी ।।४२४।।

मार्दीए तिसरा पनि उहि सरी सम्पूर्ण छक्कै परे ।
भीमसेनको बलदेखि पाण्डव फउज् सिंहै झईँ स्वर् गरे ।।
मारी तीन कुमार राजनहरू आफ्ना रथैमा जसै ।
फर्केथे विनु अस्त्रको ति भिमसेन् देखेर दौडे तसै ।।४२५।।

घेरे भाइहरू गई चउतरफ् दुर्योधनका जसै ।
भीमसेनले सबलाई हानि मुडकी बाँकी नराखी कसै ।।
संसार्देखि बिदा तुल्याइ कतिको फेरी रथैमा चढे ।
भीमसेनको सब भाइले तब अनी गर्दै प्रशंसा बढे ।।४२६।।

खूसी भै तिनिलाई हिर्दयमहाँ यूधिष्ठिरैले धरे ।
चारौँतर्फ फऊजले खुस भई ताडीफ बार्बार् गरे ।।
ठूलो क्रोध भएर द्रोणगुरु फेर् अर्जून साम्ने गए ।
सारा पाण्डवको भगाइ फउजै रण् घोर गर्दा भए ।।४२७।।

यो देखीकन धृष्टद्युम्न भिमसेन् सात्यीकि आगे सरे ।
सम्मुख्मा बढि कौरवादिहरुको सातोपुतो नै हरे ।।
सात्यीकी विरले पराक्रम अती ऊसै बखत्मा गरे ।
त्राहित्राहि भएर कौरव फउज् भागेर प्राणै धरे ।।४२८।।

कर्णैलाई बहुत् अचेत गरिदी भूरिश्रवाको पनि ।
बाँकी भाइहरू निभाइ तिनिले बाण्को प्रभाव्ले अनि ।।
कौरवका चतुरङ्गिणी फउजको मारेर थुप्रो ठुलो ।
देखीयो चउतर्फ दुर्गति तहाँ आफ्ना फउज्को धुलो ।।४२९।।

ब्यूँझे कर्ण र दूरजोधन अनी तिन्का सँगैमा गए ।।
बोले दिक्क भई ति कर्ण विर हे मित्रै तिमी ता भए ।
आयो औसर यो दिखाउन सके मेरा यि माहारथी ।।
घेरीए बिच पाण्डवादिहरुको बोलूँ अरू के कथी ।।४३०।।

उद्धार् गर्न सके विपत्ति यिनको छूटाउ कूरा मथी ।
के गर्नू भनि बात् सुनी करण ती उन्मत्त भै माँरथी ।।
बोले हे नृप दूरजोधन यहाँ हेर्नोस् खडा भै बसी ।
ऐल्हे अर्जुन पाण्डवादिहरुको मार्छू तिरैले कसी ।।४३१।।

यस्तो बात सुनेर दुर्जधन क्यै हूँदा भए फेर् खुसी ।
आनन्दै त भयो परन्तु कृपले बोले जसो धान् भुसी ।।
काम् लाग्दैन उसै पराक्रम पनि देखिन्न काम्को कबै ।
तीमी अर्जुनको सुनी गरजना जान्छौ गलित् भै तबै ।।४३२।।

यस्तै बात गरेर कर्ण तिमिले दुर्योधनादी सबै ।
उक्सायौ बहकाक्ष् घोर् रण भयो संहारकारी अबै ।।
हूकुम्मा चलने श्रिकृष्णप्रभुका ती पार्थ नै देखि ता ।
तुच्छै छौ भनि बात् सुनी अनि कहे कीटेर दाह्रा तिता ।।४३३।।

बोले ब्राम्हण हे स्वभाव तिमरो डर्पोक नै छौ यहाँ ।
बूढा छौ असमर्थ यो रण गरी सक्छौ तिमीले कहाँ ।।
फेरि प्रीति छ पाण्डवै तरफमा बक्छौ त बक्बक्महाँ ।
बोल्छौ माफ दिएँ खराब् वचन यो सूनेपछी फेर् यहाँ ।।४३४।।

छोड्ने छैन म ता नकाटि जिउरो यो बात् लिए मन्महाँ ।
सङ्ग्रा्म्मा अब देखलौ पनि ठुलो मेरो पराक्रम् यहाँ ।।
कस्तै पाण्डवतर्फमा अब मिली पक्षै जउन् गर्दछन् ।
कृष्णै रक्षित आज अर्जुनहरू मार्छू सबै गिर्दछन् ।।४३५।।

साम्राज्यै पृथिवीभरी सकलको दुर्योधनै भोग्दछन् ।
दिन्छू निश्चय जीति तीनि बउरा मैलाई के जीतछन् ।।
कर्णैको अभिमानले सदभरी सूनेर यस्तो वचन् ।
मामाको अपमान् सुनेर रिसले द्रोण्पुत्र भो क्रोध मन् ।।४३६।।

ठूलो ली तरवार झम्टन पुगे बोल्दै ननीको वचन् ।
हे नीच् कर्ण त जान्दछस् बल यहाँ अरजूनको बात कुन् ।।
मामाले ठिक भान्नुभो सब कुरा उन्को पराक्रम् यहाँ ।
गाण्डीव्ले जब ती जयद्रथ अघी मार्दा गईथिस् कहाँ ।।४३७।।

रे रे पापि तहीँ खडा रह खडा तेरो अभीमान् कसै ।
चूर्णै पारि म दिन्छु है भनि बढे ती अस्वथामा जसै ।।
दुर्योधन् कृपले पसेर बिचमा रोकीदिए झट्ट गै ।
बोले श्रीनृपदूरजोधन अनी श्री अस्वथामासँगै ।।४३८।।

हे मान्येवर हेर यो समयमा अपूस हाम्ले फुटी ।
हुने छैन असल् अवश्य बुझनोस् मार्छन् यि शत्रू लुटी ।।
कृपाचार्य सँगै कसुर करणको ऐल्हे भएको जति ।
माफी मागि म दिन्छु लौ भनि कहे कृप्का सँगैमा उठी ।।४३९।।

हे आचार्य हजूरको त अपमान् जो जो गरे कर्णले ।
क्षेमा त्यो अपराध बक्सनुहवोस् राखी दया चर्णले ।।
कृपाचार्यजिले सुनी वचन यो भन्नूभयो है अनि ।
कर्णैको अपराध माफ् गरिदिएँ जाऊँ रणैमा भनी ।।४४०।।

हीँडे वीर्हरु कर्णले अनि तहाँ क्रोध् भै रथैमा चढी ।
सेना पाण्डवलाई ती झमटदै पूगेर सेना बढी ।।
रे रे कर्ण खडा रहीकन यहाँ मेरा सँगैमा लडी ।
हे खल् दुष्ट भनेर पाण्डवहरू चार्तर्फ देखे चढी ।।४४१।।

कर्णैलाई घिरा गरे तर तहाँ जान्ने धनूर्वेद असल् ।
कर्णैले पनि बाण हानि रणमा पारे तहाँ झीलमिल् ।
छिन्मा पाण्डव सैन्यलाई तिनिले तुल्याइदीए विकल् ।।
देखाए तहिँ हातको फुरति एक् बित्नै नपाई विपल् ।।४४२।।

हज्जारौँ पनि बाण छोडि तिनिले आफ्नू दिखाएर बल् ।
हाने अस्त्र बहूत पाण्डगव फउज् भाग्यो भई छीलबिल् ।।
वीना सारथिको रथै हुन गई घिस्स्याइ घोडा कति ।
भागे हात्ति फऊज कुल्चि पइदल् मारे रणस्थल् जति ।।४४३।।

ढाकीयो सबको भगाइ खुसले शङ्खै बजाए तहाँ ।
लागे घूमन कर्णले वरिपरी देखेर त्यो हाल् वहाँ ।।
लाग्यो चोट् अरजूनको मनमहाँ बज्रै समानै गडी ।
कर्णैको सनमूख झट् अनि गए हावासरी नै बढी ।।४४४।।

दूवै ती विरको भयानक भयो सङ्ग्राम खूबै गरी ।
अर्जुनले अनि काट्दिए धनु तहाँ गिर्यो भुईँमा झरी ।।
मारे सारथि अश्वलाई अनि फेर् वर्षा सरी बाण् छरी ।
भागी गैकन कृपका रथमहाँ कर्णै चढे प्राण् धरी ।।४४५।।

साम्ने अर्जुनको त कौरव फउज् भागे सबै ज्यान् लिई ।
ठूलो स्वर् गरि दूरजोधन अनी बोले ति धीरज् दिई ।।
भाई हो किन भाग्दछौ नि यसरी सम्मूख तिम्रै मरी ।
गिर्छन् पाण्डव ता नमारि मइँले छोड्दीन कस्तै गरी ।।४४६।।

यस्तो बात् कहि दूरजोधन तहाँ रथको अगाडी लिई ।
लागे बढ्न जसै उसै बखतमा श्री अस्वथामा गई ।।
बोले राजन बस्नुहोस् किनभने हामी छँदै रणमहाँ ।
अर्जुन्का सँगमा लडाइँ गरनू ठीक् छैन ऐल्हे यहाँ ।।४४७।।

यस्तो प्रश्न तहाँ सुनेर शिरको हल्लाइ तिन्ले वचन् ।
बोले पाण्डवतर्फ भै कृप तिमी लिन्छौ सदा पक्षपन् ।।
देख्यौ अर्जुनको सँगै डरि फउज् भाग्यो भई यो कठिन् ।
आचार्यै त खडा रहीकन अहो हेर्छन् तमास् दीनदिन् ।।४४८।।

क्षण्भर्मा तिमिहरु पाण्डवकनै नाश् गर्न लीए त मन् ।
सक्छौ नाश्न भनी सुनेर यि कुरा द्रोण्पुत्र नम्रित् वचन् ।।
बोले हे नृपते लडाइँ गरदा कस्ले पियार् गर्दछन् ।
सुम्पी प्राण् दिइ लड्दछौँ तइपनी गर्नूभयो यो वचन् ।।४४९।।

हाम्रैझैँ पनि पाण्डवादिहरु ता तन्मन् दिई लड्दछन् ।
बुझ्नूहोस सहज् कसोरि अहिले तीनीहरू मर्दछन् ।।
अच्छा हेर्नुहवोस तै पनि यहाँ मेरो पराक्रम् भनि ।
छोपे क्रोध् गरि सैन्य पाण्डवकनै ती अस्वथामा पनि ।।४५०।।

वर्षाझैँ शर छोडि अर्जुनजिकै गई धेर् वहाँ ।
तिन्ले पाण्डव फौज नाश् गरिदिए रोक्नै भनी फेर् तहाँ ।।
धृष्टद्युम्नसमेत वीर सब गै ती अश्वथामाकनै ।
भर्मग्दूर गरे तथापि तिनले सक्थे कहाँ रोकनै ।।४५१।।

आफैँ झन् तिनको सही नसकि चोट् भागे तिखा शर् गडी ।
सेना पाण्डव तिन्नभिन्न गरदै ती अश्वथामा बढी ।।
मारी वीर बजाइ शङ्खध्वनिको घूमेर रण्मा हिंडे ।
जीत् देखीकन पुत्रको उसबखत् जोस् आइ द्रोण्ले भिडे ।।४५२।।

पाञ्चाल्सैन्यहरू विनाश गरनै लागे तिनी सुर् चढी ।
अर्जुन् भीमसिन आदि वीरहरु ता द्रोण्पुत्र साथ् ऊ घडी ।।
लागे लड्न उता त द्रोणगुरुले पाई मऊसर् भिडी ।।४५३।।

यो बात् देखि अनी युधिष्ठिर बहुत् दिक्दार सारै परी ।
द्रोण्का साथ भिडेर बाण तिनिको हाने परेझैँ झरी ।।
द्रोण्ले रीस् गरि काट्दिए धनु अनी गिर्यो उ टुक्रा परी ।
आर्को फेरि धनू युधिष्ठिरजिले हात् लिनूभो धरी ।।४५४।।

तीखा बाण चढाइ छाति बिचमा हाने प्रहारै गरी ।
लागी चोट ति द्रोणको शरिर ता काँप्यो बहुत् थर्थरी ।।
खम्बा पक्रि थचक्क ती रथमहाँ बस्दा भए है तहाँ ।
शङ्खैलाई फुके युधिष्ठिर घुमी सेना भए खुस्महाँ ।।४५५।।

लागे ताडिफ गर्न फौजहरु फेर् यूधिष्ठिरैको गई ।
दिव्यै अस्त्रहरू चलाउन तिनी लागे परस्पर्महाँ ।।
दूवैले अति लोमहर्षण हुने लागे ति लड्नै तहाँ ।।४५६।।

यस्तो देखिलिई युधिष्ठिरकनै श्रीकृष्णजीले अनि ।
हूकुम् भो किन यो अनूचित गरी यी द्रोणका साथ् पनि ।।
लड्नुहुन्छ तपाइँ राजनहरू छोडी अरू साथ्महाँ ।
दुर्योधननृपका सँगै लडनुहोस् खोज्छन् यि मौसर् यहाँ ।।४५७।।

पाए औसर द्रोणले नृप कहीँ छोड्छन् हजुर्को कहाँ ।
यो हेतू भिमसेनको यि सँगमा लड्नै दिनूहोस् यहाँ ।।
यस्तो प्रश्न सुनी ति भीमसिनकोलाई अगाडी अनि ।
पृष्टै रक्षक भै युधिष्ठिर हिँडे क्यै पाइ औसर् पनि ।।४५८।।

धेरै सैन्य ति द्रोणले वध गरे ठीक् कालरात्री सरी ।
बीत्यो रात पनि अघोर हुन गो खूब् अन्धकारै परी ।।
फेरी अस्त्र र शस्त्रको शब्दले आकाश ताहाँ भरी ।
सिंहैनाद गरे ति वीरहरुको चीत्कार शब्दै गरी ।।४५९।।

राक्षस् प्रेत् घुमि मांसहारि जिव छन् स्याल् कूकुरै बेसरी ।
मानिस्को थुपरो भयानक मरी काँप्थ्यो मुटू थर्थरी ।।
बाच्नेहरु डराउँथे रणमहाँ अत्यन्त रातै गयो ।
शत्रूलाई चिनेर मार्न उ बखत् मुस्कील ताहाँ भयो ।।४६०।।

बाली फेरि चिराख रथ् उपरमा हात्तीहरूमा दिए ।
रीसाला पइदल् अरू पनि तहाँ चीराख् समाई लिए ।।
सूर्यैका सरि तेज भो रणभरी झल्मल् उज्यालो गरी ।
प्रारम्भै अनि मारकाट सुरु भो बाण् घोर वर्षा सरी ।।४६१।।

चम्की बीजुलि बाण बज्र विरकै फोरी कलेजा तर ।
ठूलो शब्द गड्याङ्गुडुङ् गरि गरी स्वर्गै गए धेर् मरी ।।
त्यो रात्री झइँ भारतै रणभरी सङ्ग्राम भयानक् भई ।
कोही दीन परेन फेर् रणमहाँ भीम्सेन आगे गई ।।४६२।।

द्रोण्का ती नजिकै पुगेर भिमसेन् दुर्योधनै फौज् लिई ।
राके भीमसिनलाई फेरि दुइको धेर् बेर युद्धै भई ।।
क्रोधले ती दुइले परस्पर अनी मार्नै इरादामहाँ ।
लड्थे वीर दुवै थियो अधिक द्वेष् पैल्हे बितेको जहाँ ।।४६३।।

दुर्योधन्नृपले धनू ति भिमको काटेर आर्को लिए ।
तेस्लाई पन दूरजोधनजिले जल्दी तहाँ काट्दिए ।।४६४।।

गीर्यो एहि प्रकार पाँच पटकै हातमा धनूको धरे ।
काटे ती नृपले र कौरवहरू ताडिफ् गरी खुस् परे ।।
ऊठ्यो क्रोध ठुलो र भीमसिन अनी एक् शक्ति हातमा धरी ।
छोड्दीए नृप दूरजोधन तरफ् तिन्ले निशाना गरी ।।४६५।।

हाने बाण् तर आसमान बिचमै काटे र दिक्कै परे ।
कट्कट्कट् गरि दाँत भीमसिनले ठूलो गदा फेर् धरे ।।
हाने ती दुरजोधनै नृपतिको घोडा समेत् चोट् भई ।
मार्दो भो तहिँ सारथी रथ टुट्यो दुर्योधनै झट् गई ।।४६६।।

दुःशासन् पनि भाइका रथ चढी बाँची गयो त्यो घडी ।
भीमसेनले त मर्यो बुझी स्वर गरी नाचे तिनी गद्गदी ।।
गर्जेको सुनि सैन्य कौरवहरू हाकार ठूलो गरे ।
सेना पाण्डवका त कौरवतरफ् सम्मुख् सबै फेर् सरे ।।४६७।।

छोपे सात्यकिले लडे उसबखत् आगो झईँ खूब् जली ।
मारे बाबु भुरिश्रवा नृपतिको सोम्दत्तलाई दली ।।
साम्नेमा सहदेवले अनि लडे कौरव् सँगैमा भिडी ।
हाँस्दै ती अभिमानि कर्ण वीरले काटे धनू झट् गिडी ।।४६८।।

लीए फेर् सहदेवले अरु धनू हातमा उसै साथ्महाँ ।
काटे त्यो पनि सारथीसहित झट् मारे ति घोडा तहाँ ।।
रथलाई चुरचूर कर्ण वीरले पारे पिठोझैँ धुलो ।
फेरी एक गदा लिएर सहदेव् हाने उठाई ठुलो ।।४६९।।

काट्दीए उ पनि ति कर्ण विरले लाचार् भए ती वहाँ ।
पाङ्ग्रा एक् रथको समाति सहदेव् हाने उठाई तहाँ ।
तेस्लाई पनि टूकटुक् करणले बाण् छाडि पारे जसै ।
भागे ती सहदेव कर्ण सनमुख् टिक्नै सकेनन् तसै ।।४७०।।

दौडी गैकन पक्रि हाँसि मुखले बोले ति कर्णै वहाँ ।
कैल्है हे सहदेवजी छ बलवान् साम्ने नआए यहाँ ।।
लड्नू भीडि गएर जोडिसँग यो मूख्र्यैँ नली मन्महाँ ।
बच्चा छौ तब छोड्छु ज्यान विरले छोड्थे अरूले कहाँ ।।४७१।।

जाऊ ज्यान लिई भने उसबखत् छोडेर बाँचे तिनी ।
हीँडे कर्ण त्यजेर कुन्तिसँगको सम्झी प्रतिज्ञा पनि ।।
लज्जित् भै सहदेव् पनि तहिँ चले साह्रै मनै खिन्न ली ।
आर्को ठाम् रथमा गएर सहदेव् लागे ति लड्नै जली ।।४७२।।

अर्जुन् भीमसिन दूसरा जगहमा लड्दै थिए बेसरी ।
देखी मौसर कर्ण द्रोण् दुरजधन् आदी त सल्ल्हा गरी ।।
घेरे सात्यिकि धृष्टद्युम्न विरको मार्नै इरादा लिई ।
तिन्का रक्षक सैन्य बाघ मृगको पारे लगारे झईँ ।।४७३।।

भर्काई दुरदूर् गरे तर तहाँ विच्लित् भएनन् कति ।
धृष्टद्युम्न ति भीमसेन वीरले लेनन् डरै एक् रति ।।
लागे ती रण गर्न सैन्यहरु जो भाग्ने फिर् ता जुटे ।
लौटी कौरव सैन्यमा फउजले सिंहैझईँ फेर् छुटे ।।४७४।।

झम्टे बाज समान त्यै बखतमा अर्जून कृष्णैहरी ।
आए ताहिँ दुवै उसै थलमहाँ गड्गड् रथैको गरी ।।
नाशे कौरवको मनोरथ अनी अर्जून भीम्ले दली ।
मन्को वीफल भो सबै ति कउरव् बस्दा भए खूब् जली ।।४७५।।

धृष्टद्युम्न र सात्यकी दुइ जना मीली सहायै बली ।
घेरादेखि छुटेर स्वर् अति गरे शत्रू गए फेर् गली ।।
अर्जुन् भीमसिनका तिखा शर गडी मारे कऊरव् चली ।
हाहाहा गरि पाखुरा निमठदै हीँडे ति हातै माली ।।४७६।।

देखी झट् दुरजोधनै नृपतिले दौडे रथैमा चली ।
कर्णै द्रोण समीप् पुगेर कहनै लागे उदास् भै जली ।।
हेरीलेउ नजर् उघारि अहिले नाश्ने प्रतिज्ञा धरी ।
नाश् गर्नू त दुरै गयो अब कहाँ बस्छौ नरक्षा गरी ।।४७७।।

सेना नाशिन गो धिकार छ यहाँ लाज् छैन रत्तीभरी ।
मोहोमत् गरि पाण्डवादिहरुसङ् बस्छौ अनाहक् डरी ।।
भन्ने बात् दुरयोधनै नृपतिको सूनेर क्रोध् ली बढे ।
टङ्कार् धेर् धनुको गरी करणले पाण्डव् तरफ्मा चढे ।।४७८।।

अर्जुन् भीमसिन सामु पाण्डव फउज् मारे मुसाझैँ तहाँ ।
भागे वीर्हरु लासले पृथिविमा ढाक्यो बहूतै वहाँ ।।
कर्णैले जुन तर्फमा मुख गरी हेर्थे सबै ती डरी ।
लागे भाग्न विना चलाइकन बाण् सेना रणस्थल्भरी ।।४७९।।

यस्तो देखिलिएर अर्जुन तहाँ लाल्लाल आँखा गरी ।
बोले हे प्रभुकृष्ण जल्दि रथको हाँक्नोस् तयारी पारी ।।
कर्णैको सनमूखमा त हिँडनोस् भन्ने तहाँ बात् सुनी ।
आज्ञा भो उससङ् अमोघ पनि एक् अस्त्रै छ ठूलो पनि ।।४८०।।

लीएको छ उ शक्ति ता जसउपर् हान्यो सहज् मर्दछ ।।
तस्मात् जानुहुँदैन त्यो छ गुपतै लूकाइ प्राण् हर्दछ ।।
राखेको छ उ शक्ति मारन भनी तिम्लाइ त्यस्ले यहाँ ।
जाहाँ सम्म छ शक्तिलाई उसले हान्दैन आर्कोमहाँ ।।४८१।।

ताहाँतक् रण गर्न कार्णसँगमा हूँदैन तिम्ले कसै ।
यस्तो बात कही बुलाउनुभयो राक्षस् घटोत्कच् तसै ।।
भन्नू भो अनि तीनिलाई प्रभुले देख्यौ घटोत्कच् यहाँ ।
कर्णैले यस रीतले फउजको मारे यि बाँच्लान् कहाँ ।।४८२।।

नाश्देला त बिहानसम्म फउजै बाँकी नराखी कति ।
यो हेतू लिइ राक्षसै लड तिमी लौ पार उस्को खती ।।
कर्णैको गर मान मर्दन यहाँ राक्षस् लिई छन् जति ।
रात्मा लड्न कुशल् यिनी बहुत छन् हे भीम छोरा अति ।।४८३।।

पीताझैँ बलवान छौ भनुँ कती केही छईनौ कमी ।
रक्षा रात्भरि फौजको गर सबै रण्मा तिमीले जमी ।।
अर्जुनले पछि फेर् भने श्रिभिमसेन् यी सात्यकीले पनि ।
पृष्ठै रक्षक हे घटोत्कच गरी बस्छन् यि तिम्रो भनी ।।४८४।।

यस्तो प्रश्न सुनी शिरोपर धरी ढोगी घटोत्कच् अनि ।
रथमा जल्दि चढी निशाचरकनै हूकुम् दिए झट् पनि ।।
हे वीर् आक्रमणै गरी करणको बोले नराखे खुनी ।
राक्षस्हेरु अनी कराइ बहुतै हीँडे वचन् यो सुनी ।।४८५।।

छोपे कौरव सैन्यलाई तिनिले मूसल् परीघै लिई ।
त्रीशूल् लट्टि घुमाइ पत्थर तहाँ हाने ति बाण् दुख् दिई ।।
मारे त्यो रणमा घुमी सलहझैँ यो देखि दिक्कै परी ।
दुर्योधन् नृपले अलम्बुषकनै भेजे तयारी गरी ।।४८६।।

हात्तीझैँ गरि शब्द राक्षसपती सम्मुख् अलम्बुष् सर्यो ।
लाग्यो लड्न तहाँ घटोत्कचसँगै खूब् घोर घम्सान् पर्यो ।।
दुवैले रणमा लडे बहुत बेर् हात्ती र रथमा चढे ।
कैल्हे पैदल अश्वमा त कहिले हातमा धनू ली लडे ।।४८७।।

सङ्ग्राम् भो कहिले लिएर तरवार् घूमेर वोरीपरी ।
मल्लै युद्ध गरे अलम्बुष अनी थाक्यो बहुत् जोर् गरी ।।
ऊठाई भुमिमा समाति पटके तर्वार् घटोत्कच् तरी ।
काटी शिर् तहिँ काख् सुयोधनजिका फाले ति पर्ने गरी ।।४८८।।

फेरी ती रथमा घटोत्कच बसी बोले ति वाक्शर् गडी ।
हे दुर्योधन हेर्न मित्रशिरको काख्मा पियारो लडी ।।
तैँले हेरि रहेस् खडा यहि प्रकार् ल्याएर फेर् शिर् धरी ।
कर्णैको पनि दिन्छु हे भनिभनी बोले अधिक् नाश् गरी ।।४८९।।

देखी कौरवहरु काँपि सबले नाश्यो भनी खूब् डरी ।
आफ्नू बात पुर्याउला कि यसले भन्दै भए थर्थरी ।।
हाहाकार गर्यो सबै फउजले ताहाँ घटोत्कच् अनि ।
ठाडा रौँ गरि कर्णको तिर गए बाण्को समानै पनि ।।४९०।।

दौडे कोइ फऊज बोलन तहाँ लागे यि कर्णै मरे ।
बाँच्नै मुस्किल भो भने तर छली सङ्ग्राम कर्णै गरे ।।
धेरै बेरतलक् लडे अति ठुलो आफ्नो पराक्रम् जति ।
देखाए विर कर्णले त फुरती हेर्थे घटोत्कच् कति ।।४९१।।

खोज्थे औसर कर्ण मार्दछु भनी मीलेन औसर् रती ।
आयो तेहि बखत् अलायुध ठुलो रूपको भयङ्कर् अति ।।
लीई राक्षस दूरयोधनसँगै देखाइ दाह्र  हँसी ।
बोल्यो राजन यीनि पाण्डवमहाँ भीम्सेन् छ उन्माद् कसी ।।४९२।।

मेरा मित्रहरू क्रिमीर बकको मार्यो उसैले डसी ।
त्यै दिन्देखि म लीनलाई बदला खोज्दैछु उस्को बसी ।।
मिल्यो औसर होस् हुकूम भिमसेन् मार्छू म ज्यानै धसी ।
मित्रैदेखि उरीण बन्दछु भन्यो दुर्योधनै भो खुसी ।।४९३।।

आफ्ना सैन्यसमेत् अलायुधकनै सुम्पेर हूकुम् वहाँ ।
दिए भीमसिनलाई मारन भनी हीँडे कराई तहाँ ।।
सेनाको लिइ झुन्ड त्यो रणमहाँ दौडेर पूग्यो र गै ।
देख्यो नाकदमै गरी करणले लड्थे घटोत्कच्सँगै ।।४९४।।

काम् बित्ला भनि त्यो अलायुध तसै छोडेर भीम्सेन् पनि ।
कर्णै तर्फ गई घटोत्कच उपर् झम्ट्यो उ बाघझैँ अनि ।।
आफ्नू पुत्रकनै अलायुध तसै झम्ट्यो र माया गरी ।
पुत्रस्नेह भयो र भीमसिन गई रोके बिचैमा परी ।।४९५।।

खोज्थ्यो मीम्सिनलाई पाइ खुसले साम्ने लड्यो खूब् गरी ।
मार्नै भीमसिनले गरे बहुत जोर् लागेन केही परी ।।
लड्थ्यो हाँक दिँदै अलायुध अनी फेरी घटोत्कच्सँगै ।
झम्ट्यो खूब लडे निशाचर दुई माया गरी रङ्रगै ।।४९६।।

तेस्को टाङ् पकडे घटोत्कच तहाँ पाएर मौसर् अनि ।
घूमाई पटके रणस्थलमहाँ मर्यो अलायुध् पनि ।।
चक्नाचूर् उसको गरेर अनि फेर् तहाँ घटोत्कच् बढी ।
कर्णैलाई गएर आक्रमण ती गर्दा भए रीस् चढी ।।४९७।।

थेनन् कम् तिनि प्राण जान्छ कि भनी लड्थे श्रि कर्णै डरी ।
सेना राक्षसले त कौरव फउज् मारे बहूतै गरी ।।
झम्टे ताक गरी घटोत्कच तहाँ ठूलो गदा एक् धरी ।
मारे सारथि अश्व कर्णविरको गीरे जमीन्मा झरी ।।४९८।।

हातमा फेर् धनु लीइ कर्णविरसङ् लड्दा भए खूब् बढी ।
वर्षा बाण गरे भयङ्कर भयो सङ्ग्राम् दुवैले लडी ।।
ठूलो घोर ति कालझैँ रुप धरे ताहाँ घटोत्कच् कडा ।
शस्त्रै अस्त्रहरू प्रहार् गरि बढे भन्दै खडा हो खडा ।।४९९।।

कर्णैतर्फमहाँ गए बहुत वेग् पक्षी झईँ नै उडी ।
देखी कौरव फौज् भई गडबडी हीँडे ति आँखा मुडी ।।
दुर्योधन्नृपले हपारि अनि फेर् हे कर्ण तिम्ले लडी ।
साद्धे छैन अमोघशक्ति ति कहे लौ हान येसै घडी ।।५००।।

याहाँ राक्षसि पुत्र मारि अहिले रक्षा सबैको गर ।
नाहीँ ता यसले अवश्य बुझ लौ मार्ला विपत्ती हर ।।
तीमीहरु सबै बितीसकि म ता के गर्छु सम्मुख् परी ।
यस्तै रीत गरे बिहान तक ता मार्नेछ सब् नाश् गरी ।।५०१।।

नाशी सैन्य जसै छ शक्ति कुन काम् हूनेछ भूसै सरी ।
आग् लागी झुपडी भए पछि कुवा खन्नू झईँ नै गरी ।।
व्यर्थै हुन्छ अवश्य सो बुझ तिमी भन्ने तहाँ बात् सुनी ।
ठण्डा श्वास गरेर कर्ण विरले लीए उ शक्ती अनि ।।५०२।।

लूकाई जुन शक्ति अर्जुनकनै मार्नै धरेथे पनि ।
के गर्नू विवसै भए करणले दुःखी बहूतै बनी ।।
हाने शक्ति अनी घटोत्कचकनै सङ्ग्राममा ती मरे ।
सारा पाण्डवहरुले दिल दुखी अत्यन्त शोकै गरे ।।५०३।।

कृष्णैले झन खूसि भै किरिटिको छती मिलाई धरे ।
ठोके तालि पनि अचम्म हुन गै अर्जून विन्ती गरे ।।
हे नाथ् आज यहाँ घटोत्कच मरी हाहा उदासी परी ।
दुःखी छौँ खुसि हूनुभो किन कहे हेनाथ् घटोत्कच् मरी ।।५०४।।

ताहाँ अर्जुनले भने यिनि कुरा अत्यन्त शोकै गडी ।
आज्ञा भो प्रभु कृष्णले सुन यहाँ बाँच्यौ तिमी यो घडी ।।
मैले ता तिमिलाई आजतक ता प्राणै गएको सरी ।
मानेको पनि ता थिएँ अब यहाँ बाँची गयौ राम्ररी ।।५०५।।

येसैले म खुसी भएँ करणले एक् शक्ति संहार्करी ।
राखेको त थियो अमोघ् तिमिकनै मार्ने इरादा धरी ।।
सो शक्ती अहिले घटोत्कचउपर् हानेर पश्चात् गरी ।
नागैको मणि ता गए झइँ भयो कर्णै भुतुक्कै परी ।।५०६।।

कत्ती डर् अब छैन मार्न उसको नाहीँ त पैल्हे गई ।
तीम्ले गाण्डिव फेर् सुदर्शन प्रहार् गर्नै म सम्मुख् भई ।।
सारै मुस्किल बात् थियो उस घडी सक्दैनथ्यो क्यै गरी ।
सूनी उत्तर छक्क पाण्डव भए सारा अरू रण् भरी ।।५०७।।

ताहाँ फौज् बिचरा लडी लडि अती सास् मात्र बाँकी धरी ।
थाके सब् निदका परेर वश क्वै गीरे जमीन्मा झरी ।।
सेनाको पनि पाउमा कुलचिनै लागे बराबर् तहाँ ।
ऊँचा सोर गरेर अर्जुन अनी बोले रणस्थल्महाँ ।।५०८।।

हे भाई दुइ सैन्यका विरहरू रात्मा अहीले लडी ।
थाक्यो लौ गर येस निम्ति सबले विश्राम थोरै घडी ।।
भन्ने बात् सुनि मानि अर्जुनकनै सब्ले दिए स्याबसी ।
लागे ताडिफ गर्न छोडि रणको मारे थकाई बसी ।।५०९।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित