Untitled Document
Untitled Document

तेर्हौँ दिन दुर्योधनले छेडी द्रोणले माहारथि मार्ने प्रतिज्ञा, ठूलो चक्रव्यूह,
अभिमन्युले घुसी शल्ल्यका भाइ पुत्र र लक्ष्मण बाह्रले घेर्नु, बृहद्वलवध, अभिमन्युको शिर जयद्रथले काटनु, अर्जुनको प्रतिज्ञा सबको शोक

तेर्हौँ दीन बिहान भो सब मिली फेरी रणस्थल्महाँ ।
पूगे ती नृप दूरजोधन पनि श्रीद्रोणका पास् तहाँ ।।
सारा मारथिका त सम्मुख अती छेडेर तिन्ले कहे ।
हुन्थ्यो बाँध्नु हजूरले यदि हिजो इच्छा मनैमा रहे ।।१०१।।

पक्रीलीनु हुने थियो सहजले छोडी युधिष्ठिर् गए ।
यो हेतू त हजूर शत्रुहरुका हीतू हऊ निश्चये ।।
एही बात बुझिन्छ हामिहरुका शत्रू सबैको पनि ।
कल्याण् खोजनु हुन्छ के भनुँ भने सूने ति द्रोण्ले अनि ।।१०२।।

साह्रै लज्जितमा परी भननुभो हे नृप अर्जुन्कन ।
रक्षा गर्छन कृष्ण फेर् धरमका साक्षात छोरा झन ।।
यूधिष्ठिरजिको समर्थ सहजै बाँध्नेछ कस्को भन ।
जो भो भो अब आज केहि रितले लैजाउ अर्जुनकन ।।१०३।।

पुर्याऊ दुर आज निश्चय म ता गर्छू प्रतिज्ञा सुन ।
कोही माँरथि मार्छु पाण्डव तरफ् यो बात साँचो गुन ।।
यस्तो बात सुनेर हूकुम दिए दुर्योधनैले अनि ।
आएका फउजै त्रिगर्त नृपले लीए ति आफ्ना पनि ।।१०४।।

हूकुम्ले अनि फेर् चढेर रथमा सूशर्म सेनापति ।
दूवैले गइ साथ अर्जुनजिको हाँकै दिए खूब् अति ।।
सूनी हाँक तहाँ ति अर्जुनजिले श्रीकृष्णसङ्गमा हँसी ।
जाऊँ बाँकि त्रिगर्त मार्न अब ता काम् छैन याहाँ बसी ।।१०५।।

भन्ने बात गरेर कृष्ण प्रभुले रथको तयारी कसी ।
खुसीराजिसँगै ति बात गरदै रथमा दुवैले बसी ।।
लड्नैलाई हिँडे त्रिगर्तसँगमा येता ति अर्जुन्कनै ।
त्रीगर्तैहरुसङ् गए भनि सुनी खूब् गर्न लागे रणै ।।१०६।।

जान्ने वीर पुरूष द्रोणगुरुले आफ्ना फउज्को तहाँ ।
यौटा व्यूह तयार् गरे अति ठुलो जस्को त भेदै वहाँ ।।
अर्जुनको विनु पाण्डवै तरफमा जान्दैनथ्यो क्वै बडा ।
चक्रैव्यूह उ देखि पाण्डवमहाँ डर् भै भयो कान् खडा ।।१०७।।

घब्डाये नृपती युधिष्ठिरहरू जोजो थिए वीर् सुरा ।
सूनेको पनि थेन फेर अरु ता सामान्यको के कुरा ।।
भीम्सेन्लाइ अगाडिलाई नृपती राजा युधिष्ठिर् भए ।
द्रूपद् सात्यकि चेकितान नकुल र नकुल् शीखण्डि वीराट् गए ।।१०८।।

धृष्टैद्युम्न सहित् भएर सहदेव् माहारीहरुले ।
साम्ने व्यूहमहाँ पुगे तर तहाँ के गर्नु पूगाइले ।।
जानेको त थिएन भित्र पसनै बाहीरमा आउनै ।
ढोकामा बसि बाण द्रोण विरले लागे ति वर्साउनै ।।१०९।।

विक्राल् देखिलिएर रूप तिनिको क्वैको पनि द्वार्महाँ ।
पस्नैलाई भएन हिम्मत रती चिन्ता युधिष्ठिर् तहाँ ।।
लागे गर्न कसोरि व्यूह मइँले फोरूँ अहीले भनी ।
जान्दैनन् अरु तोड्न के गरुँ यहाँ छैनन् ति अर्जुन् पनि ।।११०।।

निन्दा ती गरछन् फिरेर गरुँ के भन्दै त चिन्तित् अति ।
देखी जेष्ठपिताजिका चरणमा श्रीउत्तराका पति ।।
ताहाँ विन्ति गरे नशोच् गरनुहोस् ऐल्हे मईँले गई ।
त्यो व्यूहैकन भेदछू तर पिताजीले हुकूमै भई ।।१११।।

जानालाई म जान्दछू फिरनको बक्सेन शिक्षा दिई ।
भान्ने ती अभिमन्युको सुनि वचन् भीम् आदि खूसी भई ।।
बोले व्यूह उ भेदि जाउ तिमरो पीछे सबैले बसी ।
जान्छौँ भीतर तोडि आउन सहज् सक्छौँ सबैले पसी ।।११२।।

यो बात् सूनि सकी युधिष्ठिरजिले हे पुत्र तिम्रो गति ।
ठूलो देख्छु समर्थ व्यूह सहजै तोड्छौ भनूँ धेर् कति ।।
ईश्वर् कृष्णजि फेरि अर्जुनसरी वीर्छौ तिमी ता अति ।
जान्ने खूब धनूरवेद तिमिझैँ छैनन् यहाँ भूपति ।।११३।।

कोहीको पनि देखदीन मइँले यो व्यूह तोड्ने यहाँ ।
यो हुकुम् अभिमन्युले जब सुने ढोगी चरण्मा तहाँ ।।
बोले आज म शत्रुलाई रणमा मारेर खूसी ठुलो ।
पीतृमातरिकूल दुःख हरछू छोड्दीन शत्रू मुलो ।।११४।।

खायाको दुद काखमा बसिबसी माता सुभद्राजिको ।
कोखैको म बयान् गराउँछु यहाँ मुख्बाट यी शत्रुको ।।
भन्दै पूज्य युधिष्ठिरादिहरुको आशीरवादै लिई ।
लागे श्रीअभिमन्यु हीँडन जसै रथ् हाँक्न आज्ञा दिई ।।११५।।

बोले सारथि हात जोडि मधुरो कोईलिझैँ सोरले ।
हे शत्रूहरुको विनाश गरने हे नाथ पीताजिले ।।
शिक्षा भारि दिए उही परि यहाँ देख्छू पराक्रम् पनि ।
तै आफ्नू त विचारि काम् गरनुहोस् खूब् शस्त्र जान्छन् तिनी ।।११६।।

द्रोणाचार्य न थाकछन् रणमहाँ उस्तै हजूरै पनि ।
हूनूहुन्छ तथापि बालख अती गाथै छ नम्रै भनी ।।
सूनी बात् अभिमन्यु हाँसि मुखले बोले मधुरै गरी ।
हे सूत् कत्ति नमानि डर्भर यहाँ लौ हाँक हावासरी ।।११७।।

पूर्याऊ रथ द्रोणका समिपमा तीनी ठुला हुन् बडा ।
सूकूमार कुमारको बल तहीँ देख्लौ तिमी झन् कडा ।।
भाग्ला कौरव सैन्यहरु छिनमा मेरा त बाण्ले मरी ।
सुत्नेछन् पृथिवी शयन् गरिगरी ढाकी रणस्थल्भरी ।।११८।।

भन्ने वीर वचन् सुनी खुसि भई रथ् हाँकि जल्दी चली ।
व्यूहैको तहिँ द्वारामा पनि लगे सेना सबै फेर् मिली ।।
हीँडे त्यो रथको पछीपछि गई कम्बर् सकेभर् कसी ।
द्रोणाचार्य पनि लि माँरथिहरू रोके ति जोर्ले बसी ।।११९।।

दूवैतर्फ फऊजको रण भयो घम्सान बाण्ले भरी ।
वर्षाए अभिमन्युले चउतरफ् धारा मुसल्कै सरी ।।
वीर् बालख् अभिमन्युका त करको बाण् वज्रझैँ ता गडी ।
भागूँभागुँ भने झईँ सब भयो सामर्थ टुट्दै लडी ।।१२०।।

एक्लै फेर् तिनि तोडि बालख घुसे त्यो व्यूहमाहाँ पसी ।
बाटो ऊहि लिएर गो तर फउज् राजा जयदद्रथ् कसी ।।
ठूलो वीर थिए धनुर्धर अती ताहीँ सबैको बसी ।
रोके द्वारमहाँ ति सिन्धु नृपले तन्मन् दि घूँडा धसी ।।१२१।।

सेना पाण्डवतर्फका विरहरूबालख् अभीमन्युसङ् ।
जानालाई उ व्यूहमा पछिपछी कोसिस् ठुलो हेर जङ् ।।
पस्नै घोर लडे चलेन रति जोर् राजा जयद्रथ्जिसङ्
बाहीरै बसि मात्र वीरहरुले लड्दै रह्यो रङ्विरङ् ।।१२२।।

एक्लै कोमल बालकै पसि गए त्यो व्यूहभित्रै पनि ।
दुःशासन् कृपवर्म फेर् करण द्रोण् श्रीअस्वथामा अनि ।।
राजा भूरिश्रवा यि माँरथि अरू दुर्योधनैको दल ।
घेरी श्रीअभिमन्युलाई शरले हाने सकेभर् बल ।।१२३।।

बालक्ले चउतर्फ वीर सबले हान्दा पनि निश्चल ।
कत्ती केहि नमानि हेर घबराट् तिन्को मुखै मण्डल ।।
देखिन्थ्यो झलझल् लिएर अनि बाण् बालक् अभीमन्युले ।
शल्यैको तहीँ ताति ताकि तिन बाण् हाने ति खूब् जोरले ।।१२४।।

लाग्यो बज्र झईँ र कम्प गरदै खम्बा ध्वजाको धरी ।
मूर्छा तीनि भए र सारथि तहाँ रथ् हाँकि जल्दी गरी ।।
पुर्यायो रणको त बाहिर अनी देखेर मूर्छामहाँ ।
ठूलो क्रोध गरी गए दिलभरी दौडेर भाई तहाँ ।।१२५।।

चाँडै तीनि पुगे रणस्थलमहाँ लौलौ खडा हो खडा ।
लल्कार्दै अभिमन्युलाई तिनिले भन्दै त वाक्शर् कडा ।।
पूगे लौ तर बाण हानिकन एक् ती वीर् अभीमन्युले ।
शल्ल्येका पनि भाइको शिर तहाँ काटे अती तोडले ।।१२६।।

गीर्यो सिन्धु फऊज शल्यसहितै डर्ले अभीमन्युसङ् ।
भाग्यो सम्मुख टिक्नलाई नसकी पाएर चोट् पारि तङ् ।।
अर्जुन् कृष्णसँगै त हेर तिनिले शस्त्रास्त्र सीके जति ।
लागे त्यो पनि सब् दिखाउन तहाँ बाँकी नराखी कति ।।१२७।।

नाराच् भल्ल र अर्धचन्द्र तविपाट् फेर् क्षुप्र अस्त्रै अनि ।
वत्सैदन्त र अञ्जलीक प्रभृती तिन्ले चलाई पनि ।।
पैदल् धेर रथी सवारहरुको मारे ति बीनीबिनी ।
लागी बाण् गज अश्व पीडित भई मल्मूत्र छोड्दै पनि ।।१२८।।

भाग्यो फौज् अभिमन्युका त शरले घायल् बहूतै भई ।
जस्तो वायु बही भएर टुकडा बादल् दुरैमा गई ।।
पुग्छन् स्वैरित फौज प्राण् लिइलिई रण्देखि पीठै दिई ।
भागे ती अभिमन्युले जसबखत् हात्बाट अस्त्रै लिई ।।१२९।।

हान्थे फुर्ति गरी सफाइ करको देखेर श्रीद्रोणले ।
साह्रै दीलमहाँ प्रसन्न भई फेर् बोले अती हर्षले ।।
छोरा अर्जुनका धनुर्धर यि हुन् सारा फउज् एकले ।
सक्छन् नाशन तृणकोसरि गरी हाम्रो पनि यीनले ।।१३०।।

दुर्योधन् नृपले सुनी वचन यो अत्यन्त धेर् क्रोधले ।
बोले यो अभिमन्युलाई सहजै दीलै दिए द्रोणले ।।
सक्छन् जित्न परन्तु शिष्य पुतरै समझेर रक्षा अति ।
गर्छन् राजन हो लडूँ सब गई हामीहरू छौँ जति ।।१३१।।

उन्मत्तै अभिमन्युको वध गरूँ प्राणै विसर्जन् गरी ।
यस्तो प्रश्न सुनी दुशासन भन्यो ऐल्है म प्राणै हरी ।।
भेज्छू त्यो अभिमन्युलाई यमलोक् यो हेतु व्याकुल् परी ।
अर्जुन् कृष्णसमेत शोक गरदै जान्छन् अवश्यै मरी ।।१३२।।

सम्पूर्णै अनि शत्रु नाश हुनछन् भन्दै ति दुःशासन ।
जल्दी फेर् अभिमन्युका सँग महाँ खूब् गर्न लागे रण ।।
बोले श्रीअभिमन्यु पाण्डवसँगै ठूलो व्यभीचार् गरिस् ।
मेरा आज सफल् सुभाग्य हुन गै सम्मूख पापी परिस् ।।१३३।।

लौ आ आज खडा भएर सब भोग् जेजे पहीले गरिस् ।
हान्छु बाण तिखो अवश्य बुझिले मूर्छा परी गिर्दछस् ।।
यस्तो बात कहेर बाण तिनले छोडे तुरन्तै गरी ।
बाण् लागीकन काँपि त्यो गिरिगयो खम्बा रथैको धरी ।।१३४।।

मूर्छा भो रथलाई सारथि लिई बाहीर गैगो तहाँ ।
यो देखी अभिमन्यु हाँसि मुखले बोले अहीले यहाँ ।।
मार्थैँ छोडिदिए तँलाई भिमले मार्ने प्रतिज्ञा गरी ।
राखेको छ बचिस् भनी चुप रहे हीँड्यो दुशासन् डरी ।।१३५।।

कर्णै फेर् अभिमन्युलाई शरले मार्छू म भन्दै अरी ।
आए सामुमहाँ लडाइँ गरनै वर्षा शरैको गरी ।।
लागे हान्न तहाँ परन्तु छिनमा वीर् बालकैले लडी ।
मारे छातिमहाँ तिखा शर घुस्यो टिक्नै नसक्ने गडी ।।१३६।।

दौडाई हयको पवन्सरि गरी भागे ति कर्णै चली ।
फूके फेर् अभिमन्यु शङ्ख जयको र्बार् ति माहाँबली ।।
घुम्दै राजन फौज् अनेक वध गरे शल्ल्ये नृपैका अनि ।
छोरालाई त बाण हानि चलिगो संसार देखी पनि ।।१३७।।

गर्दीए तिनिले बिदा रिस उठी दुर्योधनैका जसै ।
छोरा फेर् अभिमन्युका सँगमहाँ लक्ष्मण् भिडे गै तसै ।।
धेरै बेरतलक् लडे दुइ जना एक् बाण आखिर् धरे ।
हाने ती अभिमन्युले सहजमा रण् आहुति भै मरे ।।१३८।।

गीरे लक्ष्मण सामु झल्झल सरूप् देखी हहाकार् गरे ।
शोक्ले कौरव सब् भयो खलबली दुर्योधानै मुर्मुरे ।।
बोले माँरथिहरुसङ् अब यहाँ यो दुष्टलाई धरी ।
संहार् पार र मारमार जलदी लौ हेर साम्ने सरी ।।१३९।।

एक्लै बालखले विनाश् अति गर्यो मारेर सेनाहरू ।
लज्जा क्यै तिमिहरुलाई रतिभर् लाग्दैन हा के गरूँ ।।
यस्तो बात सुनेर द्रोण करणै श्री अस्वथामा अनि ।
बृहद्वल् कृतवर्म कृप्हरु पुगे बार्है महारथ् पनि ।।१४०।।

घेरे ती अभिमन्युलाई हुनगो सङ्ग्राम् भयङ्कर् गरी ।
छोडी बाण ति कौरवादिहरुले छोपीदिए जाल्सरी ।।
हाने फेर् अभिमन्युले रिस चढी बृहद्वलै गो मरी ।
खल्बल् भो अभिमन्युले अनि अरू वीर्वीर घायल् गरी ।।१४१।।

कर्णैलाई तहाँ भगाइ त दिए श्रीअस्वथामा अनि ।
लीए झट् धनु त्यो पनि सहजले काटे जमिन्मा पनि ।।
गिर्यो ती अभिमन्युका त शरले घायेल तीनी भई ।
द्रोणाचार्य सँगै भने अनि तहाँ ती वीर कर्णै गई ।।१४२।।

हिक्मत् कत्ति छईन के गरुँ यहाँ लाज्ले न भाग्नै भई ।
केही छैन उपाय बालक जित्यो नाक्दम् तुल्याई दिई ।।
यस्तो प्रश्न सुनेर द्रोण गुरुले हे कर्ण सुन्यौ भनी ।
बोले यी अभिमन्युको रणमहाँ देख्छू सफाई पनि ।।१४३।।

आनन्दै खुब लाग्छ अर्जुनसरी यी बालकै छन् यहाँ ।
मैले अर्जुनलाई धारण पनि गर्ने कवच्को जहाँ ।।
देथेँ तालिम त्यो पनि सिकिलिए यिन्ले पिता साथ्महाँ ।
तेसैले यिनको कवच् छ बलियो छेडिन्छ ऊसै कहाँ ।।१४४।।

हातमा यी विरको धनू रहिरही को जित्न सक्ला यसै ।
ऊपाये अब एक् छ लौ बुझि तिमी ताँदो धनूको कसै ।।
काट्दामा यिनलाई सम्भव पनि हूनेछ मार्नै ठुलो ।
नाहीँ ता विर कोहिको गति कुनै चल्दैन गर्नै धुलो ।।१४५।।

यस्तो श्रीगुरुद्रोणको सुनि वचन् लल्कारि फेर् कर्णले ।
घम्सान् युद्ध गरे घुमीघुमि दुई आएर खूब् रीसले ।।
आखिर्मा धनु कानसम्म खइँची हानेर बाण् तोडले ।
काट्दीए अभिमन्युका त धनुको ताँदो तहीँ कर्णले ।।१४६।।

घोडा सारथि फेरि जल्दि कृपले मारेर पारे धुलो ।
एक्ला बालकको त मारथि सबै मीली अघोर् मूसलो ।।
बर्साए शर चौतरफ् धनुरहित्लाई निठूरी बनी ।
बेचारा अभिमन्यु ढाल तरवार् लीएर कूदे अनि ।।१४७।।

रथदेखी भइँमा रणस्थलमहाँ घूमे ति काल्कै सरी ।
द्रोणाचार्यजिले तुरुन्त तरवार् काटे नमाया धरी ।।
गीर्यो फेर् अभिमन्युले त रणको पाङ्रा रथैको अनि ।
ऊठाई विर कौरवादिहरुको हाने ति बीनीबिनी ।।१४८।।

लागे मार्न जसै उसै बखतमा श्रीअस्वथामा तसै ।
साम्ने भैकन पाङ्गरा त रथको काटी गिराए जसै ।।
फेरी ती अभिमन्युले करमहाँ आर्को लिई नै गदा ।।
सूयोधन् नृपको गएर तिनिले झम्टे बहूतै कडा ।।१४९।।

आयो बीचमहाँ दुशासन कुमार् छोरा तुरन्तै बढी ।
तेस्को सारथि अश्वको सहजमा हाने मरीगो लडी ।।
छोरा बाबु दुशासनै अनि दुई रथदेखि भैँमा झरी ।
झम्टी बालक साथ् लडे अति अघोर् हातमा गदाको धरी ।।१५०।।

एकै साथ प्रहार् गरे तिनिहरू चोट् लागि मूर्छा भई ।
गीरे पृथ्विमहाँ जयद्रथ अनी साम्ने सबैका गई ।।
हान्यो त्यो धरमै नराखिकन ख्याल् उन्मत्त पापी भिड्यो ।
मुर्छित् ती अभिमन्युको शिर कठै तर्वारले ता गिँड्यो ।।१५१।।

फूके शङ्ख तहाँ ति कौरवहरू खूसी बहूतै परी ।
ढोकामा बसि जो लडाइँ गरने पाण्डव् तरफ्का थरी ।।
थीए जो विरहरु त्यो समयमा सम्चार बज्रै झईँ ।
सूने ती अभिमन्युको वध तहाँ ऊदास साह्रै भई ।।१५२।।

आँसू भल्भल नेत्रमा गरिगरी लागे रुनै खूब् गरी ।
सन्ध्या भो रणको खतम् हुन गयो धेरै थकाई परी ।
तेस् दिन्को रण घोर ता मनमनै तस्बीर जस्तै खिची ।।
हीँडे शीविरतर्फ रोइ दिक भै मूटू सबैले थिची ।।१५३।।

वीर् बालख् अभिमन्युलाई अरजुन् श्रीकृष्णले रण् जति ।
थीयो अस्त्र र शस्त्र युद्धहरु चाल् सीकाइदेको अति ।।
पैदल् हात्ति र रथ् धनुष तलवार् घूमाइ फेरी गदा ।
लड्थे ती अभिमन्यु सब् तरहले थीए लडाका कडा ।।१५४।।

आचार् फेर विचारमा निपुण ती सोभाव राम्रो मति ।
हाँसीहाँसि ति बोलथे मधुरपन् मान्यै थिए जो जति ।।
गर्थे आदर ढोगि खूब् तरहले छोरा सुभद्राजिका ।
एकै यी पनि हुन् विराट नृपका जो उत्तर छोरिका ।।१५५।।

स्वामी हून जबै यि मारिन गए त्यो ता बखत्मा यिनी ।
चढ्दो यौवनका थिए गरुँ कसो अन्यायि सब्ले बनी ।।
हीँडे स्वर्ग यि आज ता अघिअघी कोहि दिनैमा पनि ।
हारेको त थिएन हेर रणमा फिर्थे भई साँझ् यिनी ।।१५६।।

हुन्थ्यो बन्द लडाइँ आइ जलदी माता सुभद्रा अनि ।
अर्जुन् खुस् तहिँ पर्दथे फउजले स्याबास वीर् हुन् भनी ।।
गर्थे ताडिफ सूनि ली सब कुरा फेर् उत्तराको पनि ।
हर्षाश्रू खुप आउँथ्यो नजरमा आनन्द साह्रै बनी ।।१५७।।

नीयम् यो अभिमन्युको पनि थियो सब् दीन युद्धै गरी ।
आई अर्जुन कृष्ण मान्यहरुको ढोगेर नम्रै परी ।।
वार्तालाप ति हाँसिहाँसि मुखले गर्थे सबै ताप् हरी ।
मारी आज त्रिगर्तलाई अरजुन् आए ति उक्एक् गरी ।।१५८।।

फीरे बाँकि नराखि साँझ परदा शिवीर तर्फै बढी ।
मीलेनन् अभिमन्यु आज किन हो बाजाहरूको चढी ।।
उत्राऊ सुनिइन्न मानिसहरू नीचा मुखैको गरी ।
हिँड्छन् आज मलाई देखि किन हो बोले मनैमन् हरि ।।१५९।।

भन्दै सोच गरीगरी ति चलथे क्वै भाइ या ती मरी ।
पूगे स्वर्गमहाँ कि कोहि दुरघट् भैगो अवश्यै परी ।।
भन्ने तर्क गरी युधिष्ठिरजिको शीवीर तर्फै गए ।
वीर् बालक् अभिमन्युका मरणको सम्चार सुन्दा भए ।।१६०।।

रोएको सबलाई देखि अरजुन् मूर्छा तुरुन्तै भई ।
काटेको कदली झईँ भुमिमहाँ दाँत् बाँधि गीरे गई ।।
आयो होस् जब हातमा लि तरवार्लाई गलामा पनि ।
काट्नै ठीक् भइ लौ गइस् अब कहे आऊँछु ताहीँ भनी ।।१६१।।

लागे तीनि विलाप गर्न बहुतै गाण्डीवधारी जाउन् ।
अर्जुनको रणमा त पुत्र मरिगो यस्देखि लज्जा कउन् ।।
पीर् भो आज ठुलो मलाई अहिले बाँच्दीन जो जे हउन् ।
बोले लौ अब बाँचि के छ मइँले शत्रू दिलैको भरुन् ।।१६२।।

यस्तो अर्जुनको वचन् सुनि तहाँ श्रीकृष्ण सम्झाउँदै ।
भन्नूभो पछि फेर् युधिष्ठिर गई बोले बहूतै रुँदै ।।
हे अर्जून मलाई मार अब ता यो पाप मूल् मै भएँ ।
बेहक्मा किन मर्दछौ तिमि यहाँ हूकूम मैले दिएँ ।।१६६।।

झट्टै वीर् अभिमन्यु फारि सहजै त्यो चक्रव्यूहै पसी ।
धेर् वीर् मारि विरत्वमै चलिगयो मै पापि ह्यैँ छू बसी ।।
मेरो कण्ठ उडाउ अर्जुन यहाँ हानेर तर्वार् कसी ।
प्रायश्चित गरेर मर्छु बरु मै ऐल्हे यहाँ भै खुसी ।।१६४।।

यस्तो श्रीमहराज् युधिष्ठिरजिको वीलाप भारी तहाँ ।
सूनी कौरव फेर् जयद्रथ उपर् क्रोधै ठुलो झन् वहाँ ।।
ऊठी गाण्डिव हातमा लि अरजुन् यस्तो प्रतिज्ञा गरे ।
आफैँ मर्छु म त्यो जयद्रथ पनि साँझ्तक् न भोली मरे ।।१६५।।

मैले गण्डिव धार्नु व्यर्थ छ अहो बालेर आगो पसी ।
मर्छू निश्चयले सबै बुझ यहाँ बाँच्दीन मैले बसी ।।
यस्तो अर्जुनको सुनी वचन त्यो श्रीकृष्णजीले हँसी ।
आज्ञाभो भुलले गर्यौ वचन यो तिम्ले प्रतिज्ञा कसी ।।१६६।।

भोली द्रोण र कर्ण कृपहरु सब् माहारथीले लडी ।
राजा तीनि जयद्रथैकन पनि रक्षा गरे दील दी ।।
पुग्दैनौ तिमि साँझसम्म उसठाम् राख्लान् जयद्रथ् जहाँ ।
यस्तो बात सुनेर कृष्ण प्रभुको बोले ति अर्जुन् तहाँ ।।१६७।।

हे नाथ् भोलि नजर् गरी लिनु वहाँ मेरो पराक्रम् जति ।
सारा माँरथिहरु सामु उसको जानेछ शीरै कटी ।।
राख्ने छैन म ता जयद्रथकनै भोली बिहानै अति ।
चाँडै नै रथको तयार गरनोस् बाँधेर खूब् मज्बुती ।।१६८।।

घोडालाई पनि लगाउनु कवच् हेनाथ राम्रो रची ।
भोली युद्ध गरेर वीर् काट्नेछु धेर् कच्कची ।।
यस्तो विन्ति गरेर भित्र नगई अर्जुन तेस् रातमा ।
सूते बाहिर तर्फ कृष्ण प्रभु फेर् पस्नूभयो खोपिमा ।।१६९।।

देखी कृष्ण रुँदै लडीबुडि गरी मूर्छा सुभद्रा भइन् ।
धेर्बेर्मा तहिँ होस आइ तिनिले मानी रणैको चइन् ।।
फीरेनौ किन बाबु काख तिमिले मेरो गरी आज हीन् ।
मेरो के छ कसूर बेकसुरमा छोड्छौ गरी दुःखि दीन् ।।१७०।।

हे बाबू कि त आइ मुख् गर नही लैजाउ लौ येहि छिन् ।
एक् छोरा कसरी त्यजी बसुँ भनी फेर् मूर्छितै ती परिन् ।।
यस्तै चाल अलाप्विलाप् गरि अनी श्रीद्रौपदिनै लडिन् ।
ताहीं हेर श्रि उत्तरा कदलि बोट् काटे झईँ फेर् गिरिन् ।।१७१।।

धेर्बेर्मा अनि पानि छर्कि मुखमा आएर होसै भनिन् ।
हे स्वामी नवयौवना मकन यो छोडी कसूर् भो कउन् ।।
बालक्मै किन त्याग्नु भो सँग नली थीएन नीठूर मन् ।
छोड्नू भो किन पापिका सँग लडी छोडेर सारा चमन् ।।१७२।।

हे स्वामी प्रभुको विना शितल यी श्रीचन्द्रको तेज् जली ।
पोल्यो कुन् रित हुन्छ फेर् शितल प्राण् सङ्मा सतीले छली ।।
वीर् भार्या विर क्षत्रि प्राणसँग मै मीलाई छोड्छू म तन् ।
भन्दै एक्छिनमा ति पत्थर सरी दाँत् बाँधि वीचेत् भईन् ।।१७३।।

क्यै बेर्मा अनि होस आइ सबको देखाइ ओरीपरी ।
बूझाईकन आइ बाहिर तहाँ विश्राम् लिनूभो हरि ।।
गुप्तीचर्मुखबाट अर्जुनजिको ऊता प्रतिज्ञा सुनी ।
घब्डाईकन ती जयद्रथ भए घर् जान ठीकै पनि ।।१७४।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित