Untitled Document
Untitled Document

सच्चा मित्रको वर्णन, गौतम ब्राम्हण राजधरमा बकुलाको कथा

सच्चा म मित्र वरणन् सुन गर्छु बोली ।
आज्ञा भयो भिषमले तहिँ बात खोली ।।
हे नृप भारतमहाँ पनि मध्य देश ।
प्रख्यात हो अति युधिष्ठिर खूब बेस ।।११८।।

बाहून गौतम थिए एक खूब् गरीब ।
मागेर खाइ हिँडथे तहिँ पालि जीव ।।
भिक्षा मिलेन यक दिन् घुमि घूमि दुःखी ।
चाण्डालका घर पुगे गलि भोक रूखी ।।११९।।

मान्थ्यो उ दस्यु पनि ब्राम्हण गाइ बेस ।
आदर् गर्यो बहुत बाहुन जानि भेष ।।
भोजन् गरायर दियो घर एक् तयारी ।
दीयो टहल् निमति सुन्दरि दासि प्यारी ।।१२०।।

उस्सङ् फसीकन गर्यो उसले विहार ।
धेर् दिन् बित्यो सुखशयल् गरि खूब् पियार ।।
आयो उ गूण पनि व्याधसरि प्रहारी ।
लाग्यो उ नाश्न वन गै जिव काटि मारी ।।१२१।।

खाँदो भयो रकसि मांस नमानि लाज ।
हूँदोभयो पतित ब्राम्हण छोडि काज ।।
एक् दीन ब्राम्हण कुनै घुमिघूमि देश ।
उस्कै त देशि तहिँ आइपुगे ति बेस ।।१२२।।

गौतम् घरै उहि घडी वनदेखि आयो ।
काँध्मा चराहरु धरी खुप मारि ल्यायो ।।
आश्चर्य देखि तिनि ब्राम्हण ताहिँ बोले ।
हे भाइ यो कुन करम् भनि बात् ठटोले ।।१२३।।

हा व्याधको सँगि बनिस् गरि पाप बेसी ।
वेद्पाठि उच्च कुलको पनि मध्यदेशी ।।
धिक्कार होस् तँ कुलको खुब नाम फालिस् ।
क्या प्राण् नफलि तइँले बरु पेट पालिस् ।।१२४।।

यो काम छाडि कुलको अब ले त धर्म ।
भन्दाभए चूप रह्यो परि लाज मर्म ।।
नम्रै भई घरमाहाँ उ लग्यो र भित्र ।
गर्नोस भोजन भन्यो कर जोरि मित्र ।।१२५।।

छोडे उ भोजन क्षुधा भइ खूब धीर ।
मुस्कील रात् बिति हिँडे तिनि गृह तीर ।।
गौतम् अधम् पनि बिहान भयो र फेरि ।
शीकार खेलन गयो वनतर्फ हेरी ।।१२६।।

यत्नै गर्यो अनि चरा तहिँ मार्नलाई ।
क्यै सिप् चलेन अनि फेर थकाइ आई ।।
शब्दै सुन्यो अति मिठो उ चराहरूको ।
फेद्मा बस्यो उस घडी तहिँ फेर् तरुको ।।१२७।।

सूगन्ध शीतल बतास् बहि नीद आयो ।
सुत्तोभयो मगनले तहिँ दिन् गुमायो ।।
ब्रम्हाजि प्यार तहिँ कश्यप पुत्र हेर ।
देख्यो उ भूषण सजी बकुलो उठेर ।।१२८।।

राज्धर्म नाम बगुला तिनि बुद्धिवान ।
उज्ज्वल् भयो मति कहे करुणानिधान ।।
भाग्यै भयो अतिथि ब्राम्हण आज मीली ।
सत्कार गर्दछु भने खुब दील खोली ।।१२९।।

पूजा गरे बहुत बेस्सित नम्र बोली ।
नाम्गोत्र नै तिनि पुछे उसले टटोली ।।
और कुरातिर लग्यो छलि बात् लुकाई ।
भोजन् दिए तइपनी मन खुस् गराई ।।१३०।।

वस्त्रै नरम् तहिँ दिए अति सुत्नलाई ।
बिहान भो उठिजसै तहिं रात् बिताई ।।
बोले ति फेर बकुला तिमिलाई दुःखी ।
बुझ्छू म ब्राम्हण सुन्यौ अब होउ सुख्खी ।।१३१।।

श्रीवीरुपाक्ष छन दक्षिण्तिर याहाँ ।
जाऊ हुनेछ सुखदुख् अनि बस्छु काहाँ ।।
दानी उ छन् भनि सुनेर बुझेर चित्त ।
निर्धन् उ ब्राम्हण गयो लिनलाई वित्त ।।१३२।।

विस्तार् गर्यो दुख कुरा सुनि वीरुपाक्ष ।
सत्कार् गरे अति ठुलो तिनि दानि दक्ष ।।
कात्र्तिक् थियो पुरणिमा दुसरै त दीन ।
डाके सहस्र तिनि ब्राम्हण खानपीन ।।१३३।।

खाँदो भयो उ पनि गौतम मीलि साथ ।
मिष्टान्न धेर् रकमका पुरिपूरि आँत ।।
श्रीवीरुपाक्ष नृप फेर् सबलाई मान ।
बीदा गरे धन दि खूस घरै त जान ।।१३४।।

गौतम्कनै नदि बिदा पनि ऊसदीन ।
मित्रै मनुष्य बुझि राख्लिइ पाँच दीन ।।
बीदा दिए सुन अनी दिइ धेर रत्न ।
जाँदो भयो उ धनको गरि खूब यत्न ।।१३५।।

श्रीसत्यधर्म बगुला उ गुँडै त पास ।
पुग्दोभयो हिँडिहिँडी बसनै त बास ।।
ताडिफ् गर्यो भइ कृपा धन खूब पाएँ ।
हेर्नोस धन् भनि कह्यो अति धेर ल्याएँ ।।१३६।।

खूसी भए ति बगुला गरि धेर हीत ।
छोडेन तै अधमिले पनि दुष्ट रीत ।।
मीठो हुनेछ यसको भनि मासु ताहाँ ।
चिन्ता उ पातकि गर्यो तहिँ मार्नमाहाँ ।।१३७।।

राती सुत्यो उ बकुलो अधमी उ ऊठ्यो ।
मार्यो उ साँच्चइ गरी पनि पाप लूट्यो ।।
पोलेर मांस तहिँ स्वाद् लिइ राखि बाँकी ।
बीहान घर्तिर हिँड्यो खुप डाकिडाकी ।।१३८।।

ती सत्यधर्म बगुला खुब हेर मित्र ।
श्रीवीरुपाक्ष दिलमा उ थिए त भित्र ।।
मिल्थे उ दिन्दिन गई बिति केहि दीन ।
तीनी नआइ मनमा दिकभो मलीन ।।१३९।।

वीचार् गरे मन उ ब्राम्हण दुष्ट जस्तो ।
थीयो बिगार् पनि गर्यो कि भनेर यस्तो ।।
आफ्नू कुमारसित बात बुझाइ खोले ।
श्रीसत्यधर्मकन खोज् गरनै त बोले ।।१४०।।

भेजे कुमार नृपले ति हिँडेर फेरी ।
खोजे नपाइ दिकभो सब थाकि हेरि ।।
घुम्दै अचानक पुगे उहि गूँडनीर ।
देखे सफेद भुतला मन भो अधीर ।।१४१।।

खोज्दै गए उहि दिशातिर फेर ताकी ।
ठूलो पवन्सरि गए खुब राँकि झाँकी ।।
देखे उ ब्राम्हण अधम् उनमत्त पापी ।
पक्रे अनी अधमिको तिनि बाँधि च्यापी ।।१४२।।

खोले तहाँ गठरि मासु मिल्यो र कूटी ।
ल्याए विश्वास परिगो खुब चूटिचूटी ।।
श्रीवीरूपाक्ष सँगमा पुगि ठोकि लाठी ।
कायेल भो अधमि फेर विश्वासघाती ।।१४३।।

विस्तार् गरे सब कुरा नृपका कुमार ।
श्रीवीरुपाक्ष सुनि मृत्यु अकाल् अपार ।।
काँपेर शोक् अति गरे सब बेसुमार ।
काटे अधर्मि शिर खड्ग गरी प्रहार ।।१४४।।

राक्षेसको हुकुम भो सब खाउ मासु ।
विन्ती गरे तहिँ ति राक्षस झारि आँसू ।।
खान्छौँ मनुष्यहरुको तर मांस नाथ ।
खान्नौ अधर्मि पनि मांस विश्वासघात ।।१४५।।

राक्षेसको धरममा सब मांस यस्तो ।
खानै विरुद्ध छ प्रभो गरुँ बात कस्तो ।।
दिन्छौँ बनाइ टुकरा सब गिद्ध काग ।
खाओस मासु यसको गरि आज खाग ।।१४६।।

माफ् होस यो भनि कहे सबले त वाहाँ ।
कस्तो रहेछ पनि राक्षसधर्म माहाँ ।।
हे भाइ पाण्डव बुझे तिमि मित्रद्रोही ।
जो छोड्छ आफ्नु करमै उहि गर्छ सोही ।।१४७।।

तेस्ता पुरूष कुलको त लगाइ बट्टा ।
विश्वासघाति नरकै घुमि पाक्छ भट्टा ।।
छोड्ने करम् उसँग बच्नु भनेर खास ।
आज्ञा भयो भिषमले अरु ईतिहास ।।१४८।।

फेर् यत्न शोक् त्यजि गरे सुन वीरुपाक्ष ।
जम्बा उ मांस बकुलो गरि ज्ञानि दक्ष ।।
राखे उ मासु टुकरा धरि वेदिमाहाँ ।
छर्के सुगन्ध जसले गरि मन्त्र ताहाँ ।।१४९।।

आवाहनै अनि गरे तिनि कामधेनू ।
आकाशमा बजिगयो त मधूर वेणू ।।
काम्धेनुको दुध प्रकट् भइ पञ्चरत्न ।
छर्के उठे ति बगुला गरि खूब यत्न ।।१५०।।

बाजा सुने गगनमा सब खूसि रन्न ।
लेकीन तीनि बकुला गरि ध्यान मग्न ।।
श्रीइन्द्रको स्तुति गरे तिनि लीइ ताप ।
थीयो भने मकन ब्रम्हजिको त श्राप ।।१५१।।

श्रीब्रम्हलोक् नगइ मै प्रभुले रिसाई ।
श्रीप् दीनुभो तँकन मार्दछ कोहि आई ।।
दीनेछ तै कुनइँ मित्र त प्राण् बचाई ।
भन्ने हुकुम् ठिक भयो पनि आज हाइ ।।१५२।।

मै निम्ति गौतम भए यिनि प्राणघाती ।
श्रीवीरुपाक्षजि गरे जिवदान जाती ।।
भन्दै गरे स्तुति अनेक् कर जोरि बात ।
श्रीइन्द्र आउनुभयो ति नुहेर माथ ।।१५३।।

ढोगी भने चरणमा प्रभु इन्द्र राजन् ।
मेरो निमित्त वध भो पनि आज ब्राम्हण् ।।
बोले जियाइदिनुहोस् बकुला महातमा ।
श्रीइन्द्र अम्मृत छरे उठिगो उ आत्मा ।।१५४।।

देखी क्षमा अचरजै लिइ रामनाम ।
मङ्गल् भयो सब गए अनि आफ्नु ठाम ।।
हीँड्यो उ गौतम पनि धन दीइ फेर ।
छूटेन तै अधमपन् उसको त हेर ।।१५५।।

दुष्टैपना नत्यजि गो उहि मध्यदेश ।
स्त्री दासिनै उहि गर्यो मिलि एक भेस ।।
सन्तान धेर जनमे उनमत्तमाहाँ ।
ब्राम्हणहरू अधम चाल् खुब देखि ताहाँ ।।१५६।।

कुक्कुर् भएस् भनि सराप परी मरी गो ।
दासी कुकुर्नि कुकुरै उ जनम् भइगो ।।
हा क्या क्षमा उ बकुला मिलि ब्रम्हज्ञान ।
क्या दुष्ट गौतम पर्यो अनि फेर घान ।।१५७।।

भोग्दो भयो भइ कुकुर् सब पाप खानी ।
श्री ब्रम्हलोक्तिर गए बकुला उ ज्ञानी ।।
श्रीब्रम्हकोसँग पुगी अब छोडदीन ।
भोगेँ सराप् भनि कहे बकुला प्रवीण ।।१५८।।

ब्रम्हाजि खुस् हुनुभयो बकुला कथाहा ।
सूनाइ फेर् तहिँ रहे खुब मग्नमाहाँ ।।
हे पाण्डववादि सुन जो छन मित्रद्रोही ।
गड्छन् उ गौतमसरी अघमा त कोही ।।१५९।।

जो गर्दछन् हित सबैकन धर्मवान ।
तर्छन् उ धर्मि बकुलासरि पाइ मान ।।
रोमाञ्च यो पनि हुने इतिहास सारा ।
आज्ञा भयो भिषमले भनि धर्म धारा ।।१६०।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित