Untitled Document
Untitled Document

डिल्ली गै राज्याभिशेष, उत्सवको आदर, धृतराष्ट्रलाई मान्नु भन्ने
हुकुम, ऋषिको सत्कार्ले विदाइ, राज्यको वन्दोवस्त, कृष्णको हुकुम्ले भिष्मपितामहकहाँ गई उपदेश सुन्नु

हे नृपती हजुरका सब भाइ आज ।
सेवामहाँ रहि खडा गरछन् यि काज ।।
राज्याभिषेक् हजुरको पनि हेर्नलाई ।
उत्साह छन् सब प्रजा ऋषिमूनि आई ।।५३।।

साम्वेद मङ्गल सबक् गरि गान गाई ।
आशीरवाद दिइ फेर हजूरलाई ।।
याहाँ खडा छन सबै जन साधु भाइ ।
बन्धू कुटुम्ब द्रुपदीहरु छन् यि आई ।।५४।।

गर्नोस राज्यअभिषेक् सब खुस् गराई ।
मान्नोस बात पनि यो यश खूब् बढाई ।।
यो कार्य झट् गरि गई श्रि पितामहैको ।
लीनोस् हजूर उपदेश रकम्–रकम्को ।।५५।।

यो लोक फेर परलोक् परिपूर्ण काम्को ।
हूनेछ मङ्गल बहूत पनि हजुर्को ।।
श्रीकृष्णको वचनले परिताप् बिलाई ।
ऊठे युधिष्ठिर तहाँ मन खुस् गराई ।।५६।।

श्रकृष्ण व्यासऋषि भीमसिनलाई फेरी ।
अर्जुन् र सज्जन अरूहरुलाई हेरी ।।
सम्बोधनै गरिगरी मिठिबात धेर ।
सत्कार् गरी भन्नुभो नगरेर देर ।।५७।।

चाँडो तयार् हुन हुकुम् सबलाई दीई ।
यूधिष्ठिरै नृपतिले धृतराष्ट्र लीई ।।
आगे लगाइ ऋषि ब्राम्हणहरु भाइ ।
हीँडे सबै डिहलितर्फ कमद् बढाई ।।५८।।

पूगे सहर् नजिकमा रथदेखि ताहाँ ।
ओल्र्ही युधिष्ठिरजिले खुब वेदमाहाँ ।।
नीपूण ब्राम्हण अगाडि तहीँ बुलाए ।
पूजा गरेर धन दी मन खुस् तुल्याए ।।५९।।

सुन्दर् तयार अनि फेर् रथमा बिराज ।
बस्दाभए सब जना नृपती धिराज ।।
जो ठाम सारथि पनि बस्छन् उ ठाम्मा ।
हाँके बसेर रथ भीमसिन खूस दिल्मा ।।६०।।

राजन् युधिष्ठिरजिका पछिबाट ताहीँ ।
छाता लिई उठिरहे अरजून वाहीँ ।।
दायाँ र बाउँ लि नकुल् सहदेव फेरि ।
हाँके चमर् लियर व्यञ्जन और धेरी ।।६१।।

रथमा हिराहरु जडित् झिलिमीलिमाहाँ ।
शोभा थियो दरशनीय अपूर्व वाहाँ ।।
गान्धारि आदि महिषीहरु पाल्किमाहाँ ।
थीए सबै सजिधजी विर खूस ताहाँ ।।६२।।

आगे अरू बिच युधिष्ठिर नृप फेर ।
कुन्ती र द्रौपदि अनी कउरव् स्त्री धेर ।।
रानी चले विदुरसङ् पछिबाट साथमा ।
थीए युयूत्सु अरु सात्यकि कृष्ण रथमा ।।६३।।

आफ्ना चढेर रथमा सब वीर फेरि ।
हीँडे सुशोभित गरीगरि खूब घेरी ।।
माघद् बहूत रसिलो तहिँ तान भर्दै ।
हीँडे ति पाण्डवजिको यश कीर्ति गर्दै ।।६४।।

गाएर ताडिफ खुरूखुरु गर्न वाहाँ ।
थीयो फऊज अघि फेर् जन हेर्न ताहाँ ।।
थीए ठसाठस बहुत् सब मार्ग ढाकी ।
हेर्थे युधिष्ठिरजिको चउतर्फ झाँकी ।।६५।।

नरनारी आइ दुरका नगरेर देरी ।।
भन्थे जयै जय हवोस् सब हेरिहेरी ।।
बाँकी ति डिल्लिपुरिका नरनारि भारी ।
आयो सवारि भनि फेर भए तयारी ।।६६।।

बाटो थियो जल सुगन्धि छिटी तयार ।
माला र फूल जरि तोरण झल्किदार ।।
मग्मग् पनि धुप सुगन्ध जलेर ताहाँ ।
झल्झल् गरे बहुत दीप जलाई वाहाँ ।।६७।।

झ्यालबाट रमणी त गुलाबि गाला ।
देखाइ अत्तर अबीर् लिइ फूलमाला ।।
लावा मिसेर तिनिले भरिलीइ डाला ।
वर्षा गरे नृपतिका शिरमा ति बाला ।।६८।।

लूटाउँदै बहुत दौलथहरु भारी ।
दर्बारमा पुगिगयो नृपको सवारी ।।
रथ् छोडि उत्रन भयो दरबार् तयारी ।
इन्द्रैभवन् सरि थियो खुब ठाँट पारी ।।६९।।

भित्रै युधिष्ठिर पसे जयजेयकारी ।
शब्दै भयो भितर बाहिर वारिपारी ।।
बाजा बज्यो थरिथरी मन हर्ष धेर ।
खुस् भै प्रजा सब पुगे तहिँ भाइ फेर ।।७०।।

विद्वान ब्राम्हण बसे चउतर्फ छाई ।
सिंहासनै मणि जडित् उसमा त जाई ।।
राज्भो युधिष्ठिर प्रजा लिइलीइ भेटी ।
गर्दा भए तहिं सलाम बहूत केटी ।।७१।।

गाए ति मागल अनी धन वस्त्र दीई ।
ब्राम्हण् र नौकर प्रजा सब लीइ लई ।।
माग्नै गए खुस हुँदै गुन गाइ गाई ।
विन्ती गरे उठि प्रजा नृप राजलाई ।।७२।।

दाहीनु ईश्वर बनेर लडेर राज ।
जीत्भो यहाँ खुसि भयौँ पनि हामि आज ।।
कल्ल्याण् भयो अब प्रभो धरमै फिँजाई ।
पालन् प्रजा गरनुहोस् खुब प्रेमलाई ।।७३।।

भोग्नू हवोस् हरष छौँ अब राज् बढाई ।
सारा प्रजा हजुरले पनि राज पाई ।
आनन्द छन् भनि कहे तिनि सामु जाई ।
गादी बसे तब युधिष्ठिर खूब् सजाई ।।७४।।

चौकी तयार सुनको दुइ तेहि ठाऊँ ।
साम्ने थियो उस घडी मणिले जडाऊ ।।
एक्मा युधिष्ठिर विराज् भइ सामुमाहाँ ।
राज्भो श्रिकृष्ण अनि सात्यकि फेर ताहाँ ।।७५।।

बस्दाभए किरीटि भीमसिन खूसि मनमा ।
दायाँ र बाँउ सुनका तहिँ आसनीमा ।।
कुन्तीजिले नकुल फेर् सहदेवको नै ।
काखमा लि हात्तिहरुका पनि दन्तले नै ।।७६।।

आसन् तयारि अइनासरि रत्न टाँसी ।
तेस्मा बसिन् खुस भई मुसुमूसु हाँसी ।।
धृतराष्ट्र राजन विदुर् अरु नृप ताहाँ ।
पुह्रेत धौम्यजि बसे त सुधर्म वाहाँ ।।७७।।

आसन् थियो नगरि फर्क पनि क्रमैमा ।
धौम्ये गरे हवन खूब विधीसितैमा ।।
सम्पूर्ण भो तब उठी प्रभुकृष्ण वाहाँ ।
शङ्खै लि जल् दिनुभयो अभिशेष ताहाँ ।।७८।।

यूधिष्ठिरै नृपतिका पछि शीरनीर ।
गर्नूभयो त अभिशेष् धृतराष्ट्र वीर ।।
फेरि प्रजाहरु गरे अभिशेष तन्त्र ।
मङ्गल् थियो चउतरफ् पढि वेदमन्त्र ।।७९।।

बाजा बजी रङ्विरङ् तहिँ सोरमाहाँ ।
आनन्दको लहर लीइ समुन्द्र वाहाँ ।।
उर्ले झईँ हुन गए सब मोजमाहाँ ।
राजा युधिष्ठिर गरे खुब दान ताहाँ ।।८०।।

ब्राम्हण् र याचककनै दि कडोर नै धन् ।
खूसी गराउनुभयो सबको तहीँ मन् ।।
भन्नूभयो नृपति फेर् सब सामु जाई ।
आनन्द भै ऋषिहरु खुस भो मलाई ।।८१।।

हामी त पाण्डुसुतको शुभकामनैले ।
उत्साह् प्रकट् गरनुभो पनि खुस् दिलैले ।।
यो हेतुले खुब भएँ म कृपाभिलाष ।
ऋषे हजूरहरुको हुँ सदा म दास ।।८२।।

रोमाञ्च भो सुनि मुनी सब मित्र दासी ।
सबको फुलेसरि कमल् मुखदेखि हाँसी ।।
फेर् भन्नुभो विनति गर्छु म हेर भाई ।
मानुन् सबै पितरि जो धृतराष्ट्रलाई ।।८३।।

द्यौतासमान गर मान खुसी बनाई ।
पारी कुटुम्ब सबकोय निरमूल हाई ।।
हामी छऊँ जिवित केवल यीनलाई ।
सेवा निमित्तक बच्यौँ यमपुर् नजाई ।।८४।।

यो निम्ति हामिहरुले प्रिति धेर् बढाऊँ ।
पैल्हे झईँ नृपतिको अब खुस् गराऊँ ।।
कम्ती नगर्नु पनि मान हुकुम् बजाई ।
सूने वचन् नृपतिको खुब सभ्यताई ।।८५।।

थीए ति सज्जन जती व्यवहारलाई ।
ताडीफ् युधिष्ठिरजिको तहिँ धन्य गाई ।।
गर्दाभए सकल फेर् धृतराष्ट्रलाई ।
मनमा भयो अतिखुसी दुख दर्द जाई ।।८६।।

राम्रो युधिष्ठिरजिले अनि फेर् बिदाइ ।
राजाप्रजा सकल ब्राम्हण खुस् गराई ।।
बीदा दि राज् गरनुभो खुब ध्यान् लगाई ।
भार् बोक्नुभो श्रिभिमसेन् युवराज् बनाई ।।८७।।

वीदूरलाई तहिँ मन्त्रिप्रधान् गराए ।
साहाय मन्त्रि अनि सञ्यको तुल्याए ।।
भंडारि फेरि धनको त नकुल् गराए ।
सेनापती श्रिअरजूनजिको बनाए ।।८८।।

पंडीत ज्ञानि नितिवान् सहदेवलाई ।
राख्नूभयो सँगमहाँ हजुरे गराई ।।
धार्मीक काम जति प्रोहित धौम्यलाई ।
दीनूभयो त अफिसर् अरु योग्यलाई ।।८९।।

यै रीत बाँडि दिनुभो सब काम् खटाई ।
सुख्का निमित्त नृपले अनि फेर् तुल्याई ।।
ठाम्ठाममा खनि तलाउ कुवा बनाए ।
दूर्दूर् सडक् खनि बगल् पलरूख् लगाए ।।९०।।

छायाँ हुने त हिँडदा फलफूल खाई ।
आराम् प्रजाकन हुने तहिँ रातलाई ।।
पौवा थिए दिप जली झिलमिल् गराई ।
खेती निमित्तक थियो त कुलो खनाई ।।९१।।

हाङ्हुङ् गरेर घुमथे दिल खूस पारी ।
आराम् प्रजाकन हुने सब बात् तयारी ।।
ठीक् गर्नु भो मुलुकभर् अनि रण् परेर ।
स्वामी मरी जुन थिए विधवा भएर ।।९२।।

तेस्ता सबै ति अबलाहरु स्वास्निलाई ।
बस्दा भए दिइ त पिन्सिन खाइखाई ।।
खानू र लाउनु जनम् भरिलाई मस्त ।
नाऊ दरज् गरनुभो नदिएर कष्ट ।।९३।।

बालक् अनाथ् पढि बसे भइ बन्दवस्त ।
सक्दैन कोहि वरणन् गरि ता समस्त ।।
जन्मै र मर्ण व्रतबन्ध विवाह फेरि ।
दिन्थे खरच् गरिबको तहिँ काम हेरी ।।९४।।

रोगी लुला दुखि सबै बिनिबीनि काना ।
ठाम्ठाममा गरि तयार् महताजखाना ।।
छोरा समान् सुख दिई फउदारि ठाना ।
जिल्ला जिला बनिगयो त दिवानखाना ।।९५।।

अड्डा छुटेन कहिँ फेर् खुब बीनिबीनी ।
हाकीम राख्दिनुभयो बुधिमान चीन्ही ।।
निष्पक्ष भै नलिइ घुस् झगरा ति छीनी ।
ठीक् सत्य न्याय गरथे मनभित्र गूनी ।।९६।।

लूटहा दुष्ट बदमास् पनि चोरलाई ।
चेताइ डढड गरथे पति होस आइ ।।
छोड्थे उ काम बदमास् अतिचोट खाई ।
यस्तो गरे धरमपूर्वक राज् चलार्ई ।।९७।।

स्वर्गैसरी सुख मिल्यो सब प्राणिलाई ।
सङ्ग्राम् जितेर तब पाण्डव दाइभाई ।।
सुत्दा भए निडर भै अनि कृष्ण ताहाँ ।
क्यै दीन राज् भइगयो तहिँ डिल्लिमाहाँ ।।९८।।

सत्कार् गरे प्रभुजिको यकदीन वाहाँ ।
आज्ञा भयो नृप युधिष्ठिरलाई ताहाँ ।।
फिर्ने बखत् भइगयो रवि उत्तरैमा ।
श्रीमीष्म जानु पनि हुन्छ त सोरगैमा ।।९९।।

यो निम्ति भन्छु बुझनोस हजूर याहाँ ।
ज्ञान्वान भीष्मसरि वेद निपूण काहाँ ।।
पाइन्छ फेरि उ गए पछि पृथ्विमाहाँ ।
यो हेतु जाउँ उपदेश् अब सुन्न वाहाँ ।।१००।।

कल्ल्याण बन्दछ सबै भनि हामिलाई ।
यो बात मानि प्रभुको गुण गाइगाई ।।
दोश्रा दिनै भइ तयार् नृपले त वाहाँ ।
श्रीकृष्णसाथ् लिनुभयो सब भाइ ताहाँ ।।१०१।।

सञ्जय् ठुला कृप विदुरलहरुलाई फेरि ।
लीएर भीष्मजिकहाँ पुगि बेरिबेरी ।।
ढोगी बसे सकलले चउतर्फ घेरी ।
सोध्नूभयो तब मधूर श्रिकृष्ण हेरी ।।१०२।।

हे देव भीष्म नितिवान् खुब ज्ञान ढेरी ।
छैनन् हजूरसरि क्वै जगमा त फेरी ।।
देख्छू मुहार बिजुलीसरिको छ वीर ।
गाथ्मा अगन्ति घुसी बाण् छ म देख्छु धीर ।।१०३।।

पीडा छईन वरणन् म गरूँ कसोरि ।
काँढा बिझेर पनि रुन्छन क्वै मरोरी ।।
बेचैन बन्छन सबै यसदेखि काहाँ ।
आश्चयै देखन अरु मिलनेछ याहाँ ।।१०४।।

निश्चय गर्यो दिलमहाँ अरु छैन धन्य ।
आधार् रहेछ धरमै सबथोक बन्न ।।
रण्वासमा युवति सुन्दर धेर कन्या ।
तिन्का रहेर बिचमा मनलाई थाम्न्या ।।१०५।।

देखिन्न क्वै हजुरको सरि उध्र्वरेता ।
गर्नूभयो व्रत कठोर हजूरले ता ।।
पीडा सही बसनुभो त समर्थ जो ता ।
हा ब्रह्मचर्य व्रतकै छै प्रभाव यो ता ।।१०६।।

मृत्यु छ नोकरसरी जिति आधिनै ता ।
ऐल्हे हजूर झइँ वेद निपूण क्वै ता ।।
छैनन् पवित्र दिलका जिति इन्द्रियै ता ।
मिल्दैन लोक्भरि हजुर्सरि खोजिनै ता ।।१०७।।

यो निम्तिले यिनि युधिष्ठिर हामिलाई ।
उद्धार गर्नु पनि होस् अब दिल् लगाई ।।
दीएर आज उपदेश् सब शोक् उडाई ।
दीनूहवोस भनने सुनि बातलाई ।।१०८।।

भन्नूभयो भिषमले अति नम्र होई ।
हे कृष्णजी प्रभुकनै पनि बात कोई ।।
छीपेर छैन हजुरै सरि सङ्ग होई ।
जान्ने भएँ विनति के गरुँ धेर खोइ ।।१०९।।

आफैँ प्रभो हजुरले नृपराजलाई ।
उपदेश बक्सन भई सब शोक् उडाई ।।
फेर् मोह खैँचन बुझायर बात चूनी ।
आफैँ यहाँ सकनुहुन्छ भनेर सूनी ।।११०।।

उत्तर् श्रिकृष्ण दिनुभो खुब नम्र गूनी ।
हे भीष्मजी हजुरका सरि कोइ मूनि ।।
मिल्दैन पृथ्वितलमा घुमि धेर जूनी ।
हूनेछ देश अब बुझ्दछु अङ्ग खूनी ।।१११।।

विद्या बिलाइकन दब्दछ भारतैमा ।
लुप्तै हुनेछ पनि जीवन हामरैमा ।।
तिस् दिन् छ छाड्न तबतक् गरि दृष्टि याहाँ ।
उपदेश अम्मृत हवोस् सब हामिमाहाँ ।।११२।।

अम्मृत् वचन् त्यजित्यजी दुर जाउँ काहाँ ।
यस्तो सुनी वचन भीष्मजि हाँसि ताहाँ ।।
त्यो बात मञ्जुर भयाचे अनि डिल्लिमाहाँ ।
फिर्दा भए दिन बिती उस दीन वाहाँ ।।११३।।

फेर् आरको दिन गए ठिक ट्याम पारी ।
विद्वान धार्मिक श्रिभीष्मजिले तयारी ।।
श्रोताहरू वरिपरी तहिँ सामु हेरी ।
जोजो छ चर्वरणको अनि काम फेरि ।।११४।।

व्याख्यान खूब् गरनुभो सब चित्त भर्ने ।
अध्याय राजनिति जो सब छक्क पर्ने ।।
यूधिष्ठिरै नृपति फेर् अरुलाई कर्मै ।
उपदेश बक्सनुभयो तहिँ राजधर्मै ।।११५।।

सेवक् प्रजाहरुमहाँ गरने त काम ।
नम्राइँ सज्जनसँगै व्यवहार् तमाम ।।
चोर् दुष्ट जौन गरछन् पनि ता कुकर्मै ।
आज्ञा भयो सब कुरा तहिँ दण्डमर्मै ।।११६।।

अन्याय न्यायहरूको विषयै अधर्मै ।
धर्मै बयान गरि शत्रु निभाइ सर्मै ।।
गर्ने कुरा र अनि आफनु राज्य देश ।
रक्षा बयान् गरनुभो अनि बात बेस ।।११७।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित