सङ्ग्रामको जस युधिष्ठिरले त वाहाँ ।
श्रीकृष्णको गरनुभो सब बात माहाँ ।।
भाईहरू नबुझि दिल् मुखबाट भारी ।
आफ्नै बडाइँ गरथे तरवार मारी ।।२९।।
जीतेउँ भारत रणै भनि मुख् प्रहारी ।
सुन्नूभयो वचन त्यो प्रभु गीरधारी ।।
आज्ञा भयो नृप युधिष्ठिरलाई वाहाँ ।
सबको बडाइँ गरनोस् भनि फेर ताहाँ ।।३०।।
युधिष्ठिरै मन कती नबुझेर बात ।
विन्ती गरे नृपतिले तहिँ कृष्ण साथ ।।
हे कृष्ण ताडिफ गरूँ कुनकूनलाई ।
देख्ने भया भनदथ्यो उ सबै बुझाई ।।३१।।
यस्तो सुनेर विनती बरबेक शीर ।
साँचे उ भन्छन भने प्रभु कृष्ण वीर ।।
हीँडे सबै उहिघडी कुरुक्षेत्रतीर ।
रणबीच ठुलो रुख थियो झुनड्याइ शीर ।।३२।।
सोधे कह्यो उ शिरले रणको तमासा ।
पूर्णै हरी गरनुभो नृपको त आसा ।।
चक्रै सुदर्शन उडीउडि एकनास ।
काट्थ्यो मनुष्य वीर शिर् भइ कालपाश ।।३३।।
खप्पर् लि योगिनिरुपै द्रुपदी ति हेर ।
पीउँदथिन् रगत सब् विरको त फेर ।।
सुन्थेँ म गान्डिव धनुष् कहिँ ट्याङ्गटुङ्ग ।
च्यापेर हात्ति चिरिइ गिरिझैँ त तुङ्ग ।।३४।।
भग्दत्तनृप् खुब लडे विर बेस रङ्ग ।
पर्वतसरी लडि मरे अरजून सङ्ग ।।
यो बात् सुनेर सबको भइगो तमास ।
आस्मानदेखि सब देव्हरुले त खास ।।३५।।
वर्षा गरे श्रिहरिमा फुल खुस्वि वास ।
मागे क्षमा सकलले प्रभुको त पास ।।
त्यो शिर् खसाउनुभयो शर हानि हात ।
मुखबाट ता झिकनुभो तरु कल्प पात ।।३६।।
मृत्यू भए अनिपछी अगनी जलाई ।
काज्काम गर्दिनुभयो विधि मन् लगाई ।।
सोधे युधिष्ठिरजिले प्रभु कृष्णसङ्ग ।
ती नृपको त इतिहास् खुब होइ दङ्ग ।।३७।।
आज्ञा भयो सुनन यी नृप हून वङ्ग ।
यिनको करामत सुनी मन भो भरङ्ग ।।
देखेर ब्राम्हण बनेँ गइ यीनि सङ्ग ।
सोधें भएर रसिलो गरि खूब रङ्ग ।।३८।।
तिन्ले कहे मसँग फेर् सुननोस ऐल्हे ।
आएँ विचार् गरि यहाँ रण हेर्न मैले ।।
तीन् बाण थोर् फउज ली रण गर्न रङ्ग ।
आएँ म निर्बलिसँगै मिलि गर्न तरङ्ग ।।३९।।
जित्छू म दूइ शरले सब मारि जङ्ग ।
यस्तो भनेर तिनिले मन भो भरङ्ग ।।
फेरी पुछेँ जितछऊ कुन रीत सङ्ग ।
भन्दा भए मसँग ती खुब पारि दङ्ग ।।४०।।
|
सुन्नोस बाण मइँले यक प्राण् निशान ।
लाएर हान्छु दुसरा उहिँ लाग्छ बाण ।।
लाखौँ करोड् विर हउन् गरछू म घान ।
तेश्रा शरै छइन काम् तइ राख्छु जान ।।४१।।
यस्तो मलाई वरदान् प्रभुको छ खास ।
राख्छू नछोडि यिनि अस्त्र लिएर पास ।।
उत्तर् गरेर यसतो गरनै परीक्षा ।
देखाउनोस् अनि भने तिनी मंत्री दीक्षा ।।४२।।
लीई सिँधूर शरमा यकको लगाए ।
हाने निशान् गरदछू भनि छक् तुल्याए ।।
हेरेँ म आफनू सबै पनि गाथ ताहाँ ।
देखें अङ्गुष्ठ चिनु दाहिनु पाउमाहाँ ।।४३।।
सार्है चकित् हुनगएँ विरलाई धेर ।
नास्छन् सुयोधन मिले भनि दील फेर ।।
बोलेँ ति राजनसँगै प्रभु इन्द्रदेखि ।
ठूलो म बुझ्दछु यहाँ मद तोड्न सेखी ।।४४।।
दानी पनि विरसमान् नृप हूनुहोला ।
भन्ने त लाग्छ दिलमा खुब धर्म चोला ।।
यस्तो कहेर मईँले अनि नृप भोला ।
बोले पुर्याउँछु मनैभरिको त झोला ।।४५।।
आज्तक् फिराइन कुनै नदिएर भिक्षा ।
मन्को मुताबिक दिने प्रभुको छ शिक्षा ।।
उत्तर् सुनेर तिनको नृप दानवान ।
बोले म माग्दछु दिनोस् अब राखि मान ।।४६।।
लौ माग दिन्छु म भने सुनि सत्य बात ।
मागेँ म शीर तिनिले नलि बीसमात ।।
तत्पर् भए शिर दिनै नगरेर पीर ।
उल्टन्न बात बरु हुन् सुरजै त थीर ।।४७।।
हा शोक यो हुनगयो अति आज धोका ।
यो हेर्न रण् रहिगयो मन बाँधि पोका ।।
के गर्नु शिर् लिनुहवोस् चुकि बातमाहाँ ।
नाम् भन्नुहोस् भनि पुछे तिनि फेर ताहाँ ।।४८।।
कृष्णै म हूँ भनि कहेँ ति भएर खूश ।
विन्ती गरे चिनिन चूक् पनि माफ होस ।।
ठूलो भएर भगती प्रभु आज माथ ।
दीनै मिल्यो भनि कहे तिनि ढोगि नाथ ।।४९।।
चक्रै सुदर्शन चलाई नपारि भुक्ति ।
लीनोस शिर् पनि भने अब पारि मुक्ति ।।
देखाउँछू मइँ कहेँ रणलाई साँचो ।
चक्रै चलाई शिर काट्दिइ हुन्न खाँचो ।।५०।।
बोलेर काटि शिर त्यो उहि तीन तीर ।
राखेँ म घोचि रुखमा पनि बाँधि शीर ।।
पात् कल्पवृक्ष मुखभित्र दिएँ सजीव ।
हेरे रणस्थलमहाँ भइ पात् प्रभाव ।।५१।।
झीकेर होस उडिगो भइ नीरजीव ।
मैमा मिले शिर दिई यिनि भक्तिभाव ।।
आश्चर्य भन्नु भइ बात् सुनि देखि ताहाँ ।
दिल् बूझि फेर् भन्नुभो प्रभुकृष्ण वाहाँ ।।५२।।
|