Untitled Document
Untitled Document

व्यासले रोमाञ्च हुने कथा भन्नु

दिक्दार पाण्डव थिए मनभित्र गूनी ।
श्रीव्यासको गमन भो सब बात सूनी ।।
पूजा गरे र तहिँ ऋषि धिराजमाहाँ ।
विन्ती गरे नृपति पार् पनि जान ताहाँ ।। १ ।।

हे व्यासजी भन्नुहोस मलाई ऐल्हे ।
यो गोत्रघात् छुटि म पार् पनि पुग्छु कैल्हे ।।
यस्तो सुनेर विनती ऋषिराज ताहाँ ।
आज्ञाभयो सुनन पार् अब जान याहाँ ।। २ ।।

छोयो युधिष्ठिर सुन्यौ कलि ता अघोड ।
जाऊ हिमालय सबै अब देह छोड ।।
गर्छन् कुरा बिहक सत्य विचार छोडी ।
चढ्छन् बढत्व गरि धेर् ममताकि घोडी ।। ३ ।।

त्यो हेतु जाउ हिमवान् पथ माह पन्थ ।
केदार बद्रि दरशन् गरि होउ सन्त ।।
पाप् छूटि पार् तरदछौ सब छोडि जाल ।
ठूलो महात्म्य बुझ लौ तिमिले हिमाल ।। ४ ।।

माहात्म्य सून भनछू भनि वेदव्यास ।
अममृत्सरी कहनुभो यक ईतिहास ।।
एक् नृपलाई यक ब्राम्हण ता पुराण ।
सूनाउँथे दिनदिनै दिइ खूब ज्ञान ।। ५ ।।

सब्दिन मिलेर दछिना खुब मोजमा ती ।
फिर्थे लिएर नयवेद् पनि जाति जाती ।।
एक्दीन भेट् हुनगए यक नागराज ।
बात् भै कथा म पनि सुन्छु भने ति आज ।। ६ ।।

बात् सूनी ब्राम्हणजिले त पुराण् सुनाए ।
चाख् लागि एक् असरफी दक्षिणा चढाए ।।
बोले ति नाग सबदिन् अब पाल्नुहोस ।
पुराण् सुनाइ अनि ब्राम्हण जानुहोस ।। ७ ।।

भन्दा उसैरित गरे नृपको सुनाई ।
फिर्थे ति नाग्कन कहेर असर्फि ल्याई ।।
यै रीतले सुनि कथा दिन केहि बित्यो ।
नाग्ले भने हृदयमा भरि ज्ञान जित्यो ।। ८ ।।

हे देव ब्राम्हण म माग्दछु बात एक ।
मान्ने भया भनदछु प्रभु राख टेक ।।
बाचा म माग्दछु गरेँ भनि ब्राम्हणैले ।
कर्जोरि नाग् अनि कहे सुननोस पैले ।। ९ ।।

धेर् छन् असर्फि लगनोस् घरमा उठाई ।
राखेर जल्दि फिरनोस् घर जाइ आई ।।
राम्राम् जपीजपि हिँडूँ यहि माग्छु काम ।
पाल्नोस जाउँ दुइले अब बद्रिधाम ।। १० ।।

भन्दा उसै पनि गरे ति भएर ठीक ।
पुग्दा भए चलिचली बदरी नजिक ।।
केदारमा अघि गरे प्रभुको त दर्शन् ।
चढ्दै गए बदरिनाथ् खुसि पारि स्पर्शन् ।। ११ ।।

श्रीनाग उत्तर बढे ति हिमाल ठाम ।
बोले ति ब्राम्हणसँगै कहि रामराम ।।
फल्नोस् मलाई हिममा बल खूब पारी ।
आऊनुहोस् पछिपछी नबसेर वारी ।। १२ ।।

जाऊँ दुवै स्वरगपार् भनि विन्ति लाए ।
फलेर द्विज् घर तरफ् मुखनै लगाए ।।
हीमालबाट नजरै परि नाग हाँसे ।
ब्रम्हण् सुने मुख फिरायर द्रव्य आसे ।। १३ ।।

पूछे उ कारण पनि किन नाग हाँसी ।
हेर्नूभयो भन्नु होस् न मलाई डासी ।।
नाग्राज उत्तर दिए यसको त भेद ।
इच्छा भए बुझनुहोस् नगरेर खेद ।। १४ ।।

जानूहवोस् शिवपुरी द्विज काशि धाम ।
सज्जन् तहाँ नृपति छन् अनि पुग्छ काम ।।
हाँसो वहीँ पुछनुहोस् अरु ठाम् नजाई ।
जानेछ खेद मनको तहिँ छेद् बिलाई ।। १५ ।।

ब्राम्हण् हिँडे सुनि वचन् अनि काशि धाई ।
देख्दा भए शिव मनोहर पूर आइ ।।
गङ्गाजि नवाहि तिनिलेप्रभु विशवनाथ ।
दर्शन् गरे जल चढायर बिल्वपात ।। १६ ।।

प्रदक्षिणा गरि चले नृपराज काहाँ ।
नाग्को कुरा गइ कहे द्विज सामुमाहाँ ।।
हे नृपते भन्नुहोस् किन नाग हाँसे ।
अर्थै वहाँ नकहि याहिँ पठाइ टाँसे ।। १७ ।।

सूनेर बात् भन्नुभो नृपले कथाहा ।
हे द्वीज वैष्णवहरू गुणि खूब् अथाहा ।।
थीए जना तिनवटा गरि खूब प्रेम ।
पृथ्वी प्रदक्षिण हिँडे गरि बेस नेमा ।। १८ ।।

घुम्दै पुगे तिनि नदी यक आश्रमैमा ।
भोजन् तयार् पनि गरे नदिका तिरैमा ।।
ईश्वर्महाँ अरिपि भोजन गर्न लागे ।
आयो उसै बखत कुक्र एक डाँगे ।। १९ ।।

दीई कुकुर्कन पनि सब खाइ हीँडे ।
लाग्यो पछीपछि कुकर् लिइ पुछ« लीँडे ।।
देखेर वैष्णव भने न घरै छ हाम्रो ।
क्यै छैन स्थीति बुझ कुक्र खान राम्रो ।। २० ।।

जम्मैभुमी न त्याज आफनु हुन्न बेस ।
बात् सूनि कुक्कुर कह्यो गरि बात पेस ।।
भर्छू उदर् जुन मिल्यो म हजूर ठाम ।
तेही असल् छ मकनै बइकुण्ठधाम ।। २१ ।।

हे नाथ सङ्गत मिल्यो जुन मिल्छ खान ।
तेही असल् बुझदछू गरि शीव गान ।।
यस्तो भनीकन कुकूर हिँड्यो पछाडि ।
पृथ्वी घुमे वन पहाड् सब देश झाडी ।। २२ ।।

पूगे अनी तिनिहरू बदरी हिमाल ।
दर्शन् गरे श्रिप्रभुको सब तोडि जाल ।।
आयो उसै बखत सुन्दर फेर् विमान ।
साधू गए स्वरग पार् तिन धर्मवान ।। २३ ।।

कुकूरको पनि हिमाल् पुगि पाप टूट्यो ।
आएर काल् कुकुरको तान हेर छूट्यो ।।
किर्ना थियो कुकुरको दुइकानभित्र ।
हीमालको सुन महात्म्य भयो विचित्र ।। २४ ।।

किर्ना उ एक जगनाथ् पुरिमा त जन्मे ।
राजा ति छन् यस बखत् धरमी अगम्ये ।।
दोश्रो उ बूझ किरना पनि वङ्ग देस ।
ढाकामहाँ जनमि छन् खुब ज्ञानि बेस ।। २५ ।।

हे द्विज् कुकूर उहि हूँ नृपती म खास ।
जन्मेँ उही धरमले अब काशिवास ।।
हे द्विज् मुफत् फिरनुभो धन लीइ लाल्चा ।
हाँसे ति नाग् बुझनुहोस् परि विप्र ताल्चा ।। २६ ।।

विज्ञानि भै नत्यजि प्राण बसी हिमाल ।
फिर्नूभयो पढिपढी नबुझेर चाल ।।
हे द्विज् भनी नृपति काशि ति भेद खोले ।
मनमा बहूत द्विजले पनि बात खेले ।। २७ ।।

हूँदैन ज्ञान पढदै बुझि बात पैले ।
यो बात अद्भुत कथा भनि व्यास बोले ।।
ज्ञान् पाइ पाण्डवहरू वन जान वाहाँ ।
तत्पर् भए ऋषि हिँडे असथानमाहाँ ।। २८ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित