Untitled Document
Untitled Document

तलाउमा भेट, अस्वस्थामा प्रतिज्ञामा प्रतिज्ञा, विनासैन्यको सेनापति, रातमा
लाटाकोसेराको कामझैँ गर्ने अठोट सम्झाउँदा नमानी पाण्डव शिविर तर्फ जानू, शिव खुस भै अश्वस्थामाले धृष्टद्युम्न पञ्चकुमार युधामन्यु शिखण्डी सबको वध, दुर्योधनको हर्ष विस्माद भै मृत्यु, दुवैतर्फ शोके

महारारज् जुर्योधन् समिप गइ सञ्जय् पनि तहाँ ।
पुगेथे रातैमा उस समय दुर्योधनमहाँ ।।
बितेको दुख् देखी हृदय करुणाले भरि वहाँ ।
ति सञ्जयले रोए गरिगरि विलापै अति तहाँ ।।१।।

नजर्ले त्यो देखी नृपति दुजोधन उस घडी ।
मुटूलाई चिर्ने सुनि विरह लाग्ने दिल गडी ।।
कहे रुन्छौ कैले क्वइ समयमा ता खुब बडा ।
थियो ग्यारै अक्षौहिनि हुकुममा नै भइ खडा ।।२।।

कृपाचार्यै भीष्मै करण शकुनी शल्य प्रभृति ।
ठुला थिए माहाँरथिहरु त साथमा बुझ अति ।।
थिए मालिक् तिनको तर यस बखत्मा कहुँ कति ।
दशा यस्तो भैगो बुझ अहह काल्को पनि गति ।।३।।

विचित्रै गत् काल्को गलिगलि त सारा मुख पर्यो ।
भने हे सञ्जय् भिमसिन अधर्मै अति गर्यो ।।
मलाई शिर्माहाँ पयर पनि राख्यो पनमरी ।
सबै निन्दित् गर्लान् धरमिहरुले ता अघि सरी ।।४।।

पछीतक् भीमसेनको अधमि भनलान् पृथिवि भरी ।
सुन्यौ सञ्जय् तिम्ले गइकन मुमा पुज्य पितरी ।।
हजुर्मा बिन्ती यो गरि पनि दिए शोक नगरी ।
बसीबक्स्योस् क्वैको उनि नभइ दास् जीवनभरी ।।५।।

गए स्वर्गै भन्नू विरगति सुयोधन् अघि सरी ।
भने फेर् हे सञ्जय् कृतवरम कृप्सङ् दिल धरी ।।
बसुन् पाण्डवको ती नगरिकन विश्वास् यक रती ।
अनी सम्झे प्यारी लछमन गयो सोरग गति ।।६।।

कसोरी बाच्छ्यौ है भनि नृपति रोई दिक गरे ।
अलाप् वीलाप् सूनी हृदय चिरि सञ्जय् पिर परे ।।
अर्हाए दूत्को फेर् तिमिहरु गई सब् वरिपरि ।
ढुँडे अस्वत्थामा विरहरु तुरुन्तै पनि गरी ।।७।।

सुचन् देऊ राजन् विरगति हुनूभो भनि वहाँ ।
सुनी बात् चार्तर्फै दुतहरु हिँडे जोर्सित ताहाँ ।।
चले खोज्दैखोज्दै पर बररुखैका मुनिमहाँ ।
सुतेका तीन् जाना मिलि खबर दीए सब ताहाँ ।।८।।

गदारणमा सूते नृपति दुरजाधन् विर गति ।
गरे यो बात् सूनी तहिँ तिन जना शोक् पनि अति ।।
बहुत् रोए ताहीँ समझि समझी खूब् धुरुधुरू ।
भए तीनैजना उहि घडि अचेतै खुरुखुरू ।।९।।

भई होस् जल्दी फेर् रथ पनि तयारै गरिगरी ।
तलाऊ द्वैपायन्तिर तिनि चले है खरबखरी ।।
पुगे दुर्योधनको समिप रगतै गाथ् पनि भरी ।
लडेका ती थीए तडफि तडफी दिक् परिपरी ।।१०।।

थिए मांसाहारी जिव लुछुँलुछूँ झैँ नजिकमा ।
घुमाईघूमाई तहिँ गरि गदाले त दुरमा ।।
बसेको देखी ती पृथिवि तलमा मूर्छित भए ।
बिहोस् भै फेरी ती उठिउठि नजीकै पनि गए ।।११।।

रुँदैरूँदै हाम्रो करम नृप फुट्यो भनि तहाँ ।
विलाप् अस्वस्थामा गरिगरि ति बोले अनि तहाँ ।।
हजुर्को माहाराज् विपति भइ यो दुर्दिन परी ।
नजर्ले देखी क्यै छइन बुझछू काल् झइँ सरी ।।१२।।

अहो चार् दिन् पैल्हे पृथिवि वन पर्वत् जति तहाँ ।
नदी खोला नाला समथर र सागरतक महाँ ।।
थियौ स्वामी ऐल्हे लडि धुलमहाँ छौ दिक हरे ।
सनी बात् दुर्योधन् गहभरि नजर् अश्रु त भरे ।।१३।।

खस्यो आँसू बर्बर् तिनि तिनकनै प्रेम् खुब गरे ।
कहे हाम्रा तर्फै तिमिहरु त आई अस परेँ ।।
जिवित् देखी हर्षै मन हुन गयो है खुब अति ।
यहाँ कल्याणै हौ तिमिहरु त भन्छू कहुँ कति ।।१४।।

सकेभर् लड्नूभो हुनगइ विधाता ति उलटी ।
कउन् सक्थ्यो भोग् यो बलवति त टार्नै पनि रुठी ।।
तपाइँहेरूले अब मरदछू शोक् त्यजिदिए ।
गरी बात्चित् यस्तो नजरभरि आँसू गरिलिए ।।१५।।

रह्यो वाक्यै कण्ठै रुकिरुकि नृपैको पनि तहाँ ।
हवाल् त्यस्तो देखी मुरमुरि बहूतै रिसमहाँ ।।
तहाँ अश्वस्थामा भनन पनि लागे खुब रुठी ।
ति पाञ्चाल्ले मारे वध गरि पिताको सब उठी ।।१६।।

दुखी ऊ बेलामा थिइन हजुरैको दुख अति ।
गड्यो राजन् दुर्योधन नृपति सुन्नोस् अब यति ।।
ति शत्रूको कृष्णै नजर पनि साम्ने दुरगति ।
नपारे द्रोण्पुत्रै अब भनन छोड्छू कहुँ कति ।।१७।।

प्रतिज्ञा सूनि यो खुस अति भए तीनि नृपति ।
नजिक् अश्वस्थामाकन अनि बुलाई कुरुपति ।।
रगत्को कीचड्ले विनुफउजको अन्तिम पति ।
दिए माथमा टीका मगन भइ दुर्योधन अति ।।१८।।

बिदा भै दक्षिण्कै तरफ अनि शोक्ले तिनि जली ।
गए जाँदाजाँदा कुछ दुर पुगे खूब् गलिगली ।।
थियो घाऊ अङ्भर् झन अनि नभै अश्व फुरती ।
थकित् भै पीडाले तिनिहरु बसे लीन सुसती ।।१९।।

बसेथे छायाको मुनि उहि बखत् भो पटपटी ।
सुनीयो पाण्डवको फउजहरुकै शब्द त अति ।।
ति आए तेस्तर्फै कउन बुझथ्यो ईश्वर गति ।
हिँडे झट्टै चुप्चुप् पुरब तिर खेखूँ दुख कति ।।२०।।

ति जाँदैजाँदै फेर् दुर पुगि गए घोर् वनमहाँ ।
तहीँ खोले घोडा बहुत पनि प्यासा भइ वहाँ ।।
थियो तालाब् घोडा सहित जल पीए तिनि तहाँ ।।
थियो खूबै सुन्दर् वनचर जिवात्ले भरि वहाँ ।।२१।।

लता वृक्षैहेरू ढकमक सुशोभित् वनभरी ।
थिए हाँसेझैँ पो कमल फुलि झूली वरिपरि ।।
अती राम्रा पक्षी चुहुँचुहुँ त गर्थे मन हरी ।
लतावृक्षै फूलमा भ्रमरहरु झुल्थे भुँभुँ गरी ।।२२।।

थियो बर्को वृक्षै नजिक मुनि उस्मा रथ धरे ।
अनी खोली घोडा तहिँ तिनिहरू सुस्थिर गरे ।।
बसे पृथ्वीमाहाँ अचल गरि आसन् निद वहाँ ।
नपाई धेर् दिनका थकित खुब थीए पिरमहाँ ।।२३।।

थियो घाऊ अङ्भर् कृतवरम कृपको शरिरमा ।
पर्यो निन्द्रा लेट्दै तिनिहरु सुते मोज निदमा ।।
बसे अश्वस्थामा तर निद नभै फिक्रि दिलमा ।
गरे क्रोध् श्वास् फेर्दै रँगविरँग काल्कै अधिनमा ।।२४।।

लडाइँको आदी पछितक विचारे मनमनै ।
ति हेरे क्यै बेर्मा चहुवर घुमाई नजर नै ।।
तहाँ दृष्टीमाथी तिनि बर रुखैमा पनि दिए ।
तुल्याई गुँड् धेरै उस रुखमहाँ काग्हरु थिए ।।२५।।

अचेत् थीए निद्मा उहि घडि कुहाङ्हाङ् स्वर गरी ।
उ आयो नङ् भारी शरिर पनि डर्ने भय परी ।।
घुसेको कूवाझैँ नजर डर लाग्ने भनुँ कति ।
उ लाटोकोसेरो चरिकन दिने दुख् बुझ अति ।।२६।।

उ आई झट् भित्रै पसिपसि ति काग्को बिनिबिनी ।
सखाप् पार्यो कौवा उस उलुकले शिर् छिनिछिनी ।।
पखेटा कूनैको चिरिचिरि भुँडी फारि उसले ।
टुटाई गीरायो पयर तहिँ क्वैको निठुरले ।।२७।।

तुल्याई बेकम्बा गरिगरि खसाल्यो रुखमनि ।
मरेका कौवाले तहिँ भुमि भर्यो थुप्रइ बनी ।।
ति अश्वस्थामाले नजरभर देखी सब कुरा ।
दियो यस् उल्लूले मकन उपदेश् भो अब पुरा ।।२८।।

म मार्छू यस्तै रीत् गरिगरि ति पाण्डव् चुरचुरा ।
तुल्याऊँछु धूलो अधरम त हो के गरुँ बुरा ।।
ति पाण्डव् छन् शूरा तर नितिमहाँ छल्बल गरी ।
जितीलीनू शत्रू छइन यकलै पाप् अघि सरी ।।२९।।

यही रीतले मार्छू न तर सकछू क्या यस घडी ।
निभाएथे दुर्योधनकन ति पाप्ले पनि लडी ।।
विचार् यस्तो मन्मा गरिगरि ति द्रोण्सुत् खुस भए ।
कृपाचार्यै फेरी कृतवरमको सम्मुख गए ।।३०।।

जगाई सारा बात् तहिँ भनि सुनाये त तिनिले ।
परन्तु त्यो बात्मा सहमत भएनन् ति दुइले ।।
ति अश्वस्थामाको तिनि दुइ बुझाए खुब गरी ।
भने पाण्डवका सङ् अब छइन ठीक हूनु बइनी ।।३१।।

उ सूयोधन् आफ्नै करमगतिले भो दुरगति ।
नमान्दा हित्को बात् चलि पनि गयो त्यो दुरमति ।।
मर्यो फल् सो भोगी अब तिमि नलेऊ रिस कति ।
भई शान्ती विश्राम् गरन ठिक हो ऊचित अति ।।३२।।

तिमीलाई हामी मदद दिउँला निश्चय लडी ।
जितौला पाञ्चल्को पछि सुत थकित् छौ यस घडी ।।
सुनी अश्वस्थामा उस वचनलाई पनि तहाँ ।
नमानी क्रोधले ती हृदय जलि बोले खुब वहाँ ।।३३।।

म भन्छू है मामा सुन्नु पनि होस् यो समयमा ।
ति पाञ्चाल्को डेरा बिच बजछ बाजा मगनमा ।।
मलाई पीताको वध समझि भो दिक् दिल यहाँ ।
म साध्छू बाफ्वैरी बदलि तिनि पापी सँगमहाँ ।।३४।।

नमारी उस्लाई कसरी जिउँ मैले पृथिविमा ।
अधम् धृष्टद्युम्नै वध गरि शिरै आज भइँमा ।।
गिराई दम् मार्छू अनि मँ बसुँला है चइनमा ।
टुटाई तिघ्राको कसरी दुख दीए नृपतिमा ।।३५।।

सबै पाप् देख्नूभो स्मरण उहि गर्नोस् हृदयमा ।
नछाडूँ शत्रूको वध गरि सुतूँला हरषमा ।।
सुनी कृपाचार्यै तहिँ भन्नुभो भानिज यहाँ ।
अधम् बक्बक् गर्छौ निद परि ति छन् बेसुधमहाँ ।।३६।।

सुतेका प्राणीको वधसरि छ के पाप् बुझिसुझी ।
तिमी यस्तो गर्छौ पढि लियर शास्त्रै सुझिसुझी ।।
अहो उल्टो बुद्धि त्यसरि किन गर्छौ भइ कमी ।
ति द्रोण्सुत् फेर् बोले सुनन पनि होस् हुन् ति अधमी ।।३७।।

ति पाण्डव् पाञ्चाल्को नगरिकन निन्दा हजुरले ।
फगत् मेरो निन्दा गरनु पनि भो जो मुरखले ।।
गरी जाल् अन्याले करण नृपलाई त छलले ।
पिता मारे मेरो अजयकन धोका दि जसले ।।३८।।

छ मालुम् क्षेमा लौ कसरी गरुँ भन्नोस मइँले ।
बरू गूकै कीरा अरु जनममा हुन्छु अहिले ।।
अवश्यै पाञ्चाल्को वध नगरि छोड्छू म कहिले ।
नरोक्नोस् हे मामा हजुर पनि जो होस अहिले ।।३९।।

थकाई मार्नूहोस् सुतिसुति तपाईँहरु यहाँ ।
ति पापी मार्नै लौ म त हिँडन लागेँ भनि तहाँ ।।
श्रीअश्वस्थामाले झटपट सजाए रथ वहाँ ।
ति एक्लै पाण्डवको शिविरतिर हीँडे पनि तहाँ ।।४०।।

अनी माया लागी कृप कृतवरम्ले झट गरी ।
तिनी एक्लै देखी उठिउठि बुलाए अघि सरी ।।
कहे रोकी तिनको सुन सुनन भानिज् यस घडी ।
कहाँ जान्छौ ऐल्हे तिमि सब चलूँला दिन चढी ।।४१।।

सकेभर् दूवैले मदद दिउँला सङ् गइगई ।
परन्तू बोले झन् सुनिकन तिनी क्रोध् भइभई ।।
त्यजेको शस्त्रै जो पितरिकन धृष्टैद्युमनले ।
गरेको वध् सम्झी सहन पनि सक्दैन मनले ।।४२।।

पशूझैँ तेस्लाई निमठिकन मार्छू म अहिले ।
म जल्दी फिर्नेछू हजुरहरु बस्नोस खुसिले ।।
भनी अश्वस्थामा रथ पनि त वायू कि गतिले ।
चलाई एक्लै ती जब हिँडिगए देखि दुइले ।।४३।।

चढी आफ्ना रथमा पछिपछि गए वेग बलले ।
पुगे शीविर्माहाँ झट ति उतरे सब् यतनले ।।
ति भित्रै पालैमा पसन पनि खोजे गण तहीं ।
सदाशिव् राज् थीयो गरि विनति श्रीकृष्णजि कही ।।४४।।

प्रभू ईश्वर् रक्षक् हुनु पनि भई घोर रुपले ।
थिए रोके देखी डरिडरि गए द्रोण सुतले ।।
लडे पैल्हे सक्भर् नचलिकन जोर् फेर् दिक परी ।
नमान्ने ठूलाको वचन दुख भोग्छन् मइँसरी ।।४५।।

बडो कष्टै भोग्लान् सहि नसकनू खूब तिनिले ।
भनी ईश्वर्को फेर् स्तुति पनि गरे दृढमनले ।।
प्रभो ईश्वर् हे नाथ् शिवशिव जगत् गरी ।
हरीहर् नाम्धारी शकति छन प्यारी हर घरी ।।५६।।

प्रभो शत्रू मार्नै भरसक गरेँ कोसिस हरि ।
नसक्दा शर्णै छू भनि तप गरे झल्झल परी ।।
तहाँ निस्क्यो देवल् अगनिबिच दिव्यै रुप धरी ।
भए आश्चर्यै ती अगनि रुप दशैन् गरिगरी ।।४७।।

न मेरो केही जोड् चलछ अब भन्दै अघिसरे ।
प्रभूका पाऊमा शरिर पनि होम्नै ठिक गरे ।।
कसे कम्बर् ताहाँ अगनि रुप मन्दिर् झरझरी ।
खडा भैगो बल्दै शिवजि बिचमा राज् पनि गरी ।।४८।।

जता हेर्यो ऊता शिव अति भयङ्कर् रुप धरी ।
भयै दीँदै निस्के तइपनि ति द्रोण् सुत् त नडरी ।।
उ बल्दो आगोमा तहिँ तिनि पसे मन् थिर गरी ।
सदाशिव्ले देखी अति खुस भए त्यो पनि घरी ।।४९।।

दिनूभो ईश्वर्ले खडग पनि जित्ने सब अरि ।
दिई दर्शन् त्यो रूप् अनि विलिन भो बीजुलिसरी ।।
ति द्रोण्सुत्ले फेरी कृतवरम कृप्सङ् खुस भई ।
अवश्यै मार्छू सब् तहिँ तिनि कहे सस्तइ गई ।।५०।।

पसी सारालाई घुमिघुमि ति कालै पनि सरी ।
विनाश् पार्नै लागे फगत निहुँ द्रोण्सुत् तहिँ धरी ।।
प्रभूको इच्छा हो धुम अति भयो रात् पनि भरी ।
दिखाए दूर्बाटै अरजुनजिको ईश्वर हरि ।।५१।।

प्रभूले सोध्नूभो लडन तिमि सक्छौ भनि तहाँ ।
गयो सातोपुत्लो अरजुनजिको लड्नु त कहाँ ।।
उता द्वार्मा राखी कृतवरम कृप् द्रोणसुतले ।
म मार्छु डेरामा पसि घुमिघुमी काल सरिले ।।५२।।

विनाश् पार्छू याहाँहरु यहिँ बसी खूब् यतनले ।
नभागोस् क्वै याहाँ भनि तिनि घुसे धेर् हरषले ।।
पसे बीरालोझैँ शिविरतिर धृष्टैद्युमनको ।
थिए डेरामाहाँ उस समयमा मस्त निदको ।।५३।।

अरू सारा क्षत्रीहरु रण जिती खूब् अभयमा ।
ति घाऊले व्याकुल् अति थकित बेहोस निदमा ।।
तहाँ धृष्टद्युम्नै निडर भइ फूल्को शयनमा ।
थिए अत्तर्लाई शरिरभर गम् गम् चयनमा ।।५४।।

उठाई जोर्ले द्रोण्सुत गइ दिए लात् हृदयमा ।
नजिक् बल्थ्यो बत्ती धिपिधिपि गरी नै मलिनमा ।।
तिनी अश्वस्थामा नजर परि सामू तहिँ खडा ।
गरे सक्भर् तिन्ले उठन कोसिस् खूब्सित बडा ।।५५।।

धरे शीखामाहाँ झट पकडि झम्टे तिनि जुधा ।
गिराए छातीमा पलङमुनि टेके तिनि घुँडा ।।
भए धृष्टद्युम्नै निद नचलि सख् व्याकुल कडा ।
अनी अश्वस्थामा भनन पनि लागे सुन गधा ।।५६।।

अधम् भन्दै आर्को कनठ बिच टेके तहिँ घुँडा ।
तिनी मार्नै लागे मुठि कसि तुल्याईकन मुढा ।।
ति धृष्टद्युम्नैले सकभरि चिरे नङ् धरिधरी ।
नचल्दा जोड् केही दिकदिक भयो मन् चिरिचिरी ।।५७।।

तिनी घाँटी थीची तुतलिकन बोले पनि तहाँ ।
मलाई के गर्छौ गुरुपुतर तीमी सुन यहाँ ।।
लिई झट् शस्त्रैले वध गरि विरैको पनि मति ।
दिए उत्तर् द्रोण्सुत् किन तँ अब खोज्छस् विरगती ।।५८।।

तँलाई हे पापी गुरुवध गरिस् उत्तम कहाँ ।
कही मर्मस्थानमा द्रुपदसुतको लात् खुब वहाँ ।।
ति मार्दै धिसार्दै पशुसरि गरे वध् पनि तसै ।
ति धृष्टद्युम्नैको मरण भइगो घोर्सित जसै ।।५९।।

भयो शब्दै त्यस्ले नजिक सुतने स्त्रीहरु जति ।
उठे डर्को मारे चुपसित नबोली जन अति ।।
तहाँ धृष्टद्युम्नै वध गरि ति द्रोण्सुत् अनि अरू ।
युधामन्यू पाञ्चाल् गिनिगिनि त मारे विरहरू ।।६०।।

तिनीले मारे सब् पशुपशु झईँ नै गरि तहाँ ।
भयो सङ्ग्राम् रात्मा कउन पनि सक्थ्यो तिनिमहाँ ।।
ति धृष्टद्युम्नैको मरण जब देखे स्त्रीइहरू ।
कराए कोलाहल् गरिगरि सुने क्षत्रिय अरू ।।६१।।
उठे झट्पट् कम्बर् कसिकसि भए सब् तहिँ तयार् ।
गरे घेरा द्रोणका सुत तर लिए दिव्य हतियार् ।।
बिताए साराको द्रुपदिसुत पाँच् मस्त निदमा ।।६२।।

खडा मजबुत देखे उसघडि उठी कृत्वरम फेर् ।
कृपाचार्यैमाथी शरहरु त केही नगरि बेर् ।।
गरे वर्षा तिन्ले कृपहरु रिसाएर अनि धेर् ।
लडे खूब् सिंहै झैँ शब्द सुनि द्रोण्सुत् नगरि देर् ।।६३।।

पुगी खड्गै ली पाँच् द्रुपदि सुतको काटिकन शिर् ।
तहाँ रीस्ले चूर्चूर् भइ भइ शिखण्डीतिर ति वीर् ।।
पुगी जल्दी झम्टी दुइ टुक चिरे फेर् चरचरी ।
गिराए डेरामा डरि जन रहे चुप् परिपरी ।।६४।।

बसे नोकर्चाकर् चुप रहिरही जोर नगरी ।
ति अश्वस्थामाले द्रुपद नृप वीराट् कुलभरी ।।
रिसाई नाश् पारे निहुँ भइ निठूरी झइँ तहाँ ।
सबै क्षत्री मारे कउन बल इच्छा प्रभुमहाँ ।।६५।।

यताऊता काहीँ उठि निदमहाँ हेरि बसेथे ।
लुके कोहीकोही जिउ दिनुहवोस् दान भनथे ।।
परन्तु छोडेनन् उठि कुनकुनै आपुस लडी ।
मरे सारा कोही अति दुखि थिए चोट् पनि गडी ।।६६।।

डराई भाग्थे क्वै विकल भइ प्राणै धरिधरी ।
पुगी द्वार्मा मर्थे कृतवरम कृप्ले वध गरी ।।
सबै डेरामाहाँ भरिभरि भए क्षत्रिय मरी ।
भयानक् भो रात्मा अति सब डराए थरथरी ।।६७।।

पिता भाई छोराहरु सब पुकारा गरिगरी ।
रुँदै बोलाऊँथे झन गइ ति द्रोण्सुत् अघि सरी ।।
उसैलाई मार्थे झट तहिँ बिदा यम्पुर गरी ।
कृपाचार्यै फेरी कृतवरमले ता चउवरी ।।६८।।

सबैका डेरामा अगनि पनि लाए खरखरी ।
उज्यालो भै द्रोण्सुत् बिनिबिनि विनासे वरिपरी ।।
सबै क्षत्री तिन्ले गजतुरग मारे ढुँडिढुँडी ।
थिए अश्वस्थामा उस समय घोर् रूप् खुँदिखुँदी ।।६९।।

अती लोहू लोहान् शरिर तिनि तरवार मुठि गडी ।
रगत्ले टाँसीई झिकन मुसकिल् भो उस घडी ।।
भयो ढाक्यो कालो निशि बितन पूर्वै दिशिमहाँ ।
गए फेरि द्रोण्सुत् कृतवरम कृपको सँग तहाँ ।।७०।।

मिले अश्वस्थामाकन विर दुवै ताडिफ गरे ।
लगाई कण्ठैमा तिनिहरु तहाँ खुस् अति परे ।।
अनी अश्वस्थामा पनि तहिँ भने शोक् यस घडी ।
बुबाज्यूको ताप् गो अब नृपतिसङ् जाउँ जलदी ।।७१।।

वहाँ सम्चार् दीऊँ यदि जिवित भै तीनि नमरी ।
भए सम्चार् सुन्दै तिनि पनि त मर्लान् खुस परी ।।
गरी सल्ल्हा यस्तो तिनिहरु हिँडे रथ् चढिचढी ।
पुगे दुर्योधनको समिप पनि रात्मै बढिबढी ।।७२।।

उ बेलामा राजा मरन अति दुःखै तहिँ सही ।
तयार् थीए मुख्मा रगत खुब धारा बहिबही ।।
चहूँवर् भेडीया कुकुरहरु घेरीकन तहाँ ।
लडी थीए भैँमा बहुत कठिनैले पिरमाहाँ ।।७३।।

गदा लीई रोक्थे अह अहह सम्राट् भुमिभरी ।
थिए मालिक् हीजो यसबखत काल्ले पनि गरी ।।
भए यस्तो भन्दै तिनि तिनजना हिर्दय जरी ।
बहुत् रोए गिर्दै अनि पछि उठे धीरज धरी ।।७४।।

कृपाचार्यैजीले नृप रगत मुख्को वरिपरी ।
बगेको साफ् पारे नरम रितले प्रेम् गरिगरी ।।
गयो भाग्ये हाम्रो हजुरसँग तै खोइन गई ।
निठुर्भै बाँच्दैछौँ भनिभनि ति रोए दिक भई ।।७५।।

अनी अश्वस्थामा खबर पनि रात्को अघि सरे ।
भने राजन् पाण्डव् कुल सकल पाञ्चाल् क्षय गरेँ ।।
यहाँ आएँ भन्दा नृपति दुरजोधन् खुस  भए ।
गर्यौ ठूलो काम् यो भिषम करणै प्राण् त्यजिगए ।।७६।।

जउन् काम् गर्नाको नसकि स्वरगै भो पनि गति ।
ठुलो काम् यो तिम्ले गरिकन लियौ छन् अब कति ।।
भनी सोद्धा ल्याएँ शिर पनि यय पाण्डव् कहि तहाँ ।
दिए खुस् भै हेर्छू भनि नृप गरे छामछुम वहाँ ।।७७।।

बहुत नर्मै लागी भनन कसको हो शिर यहाँ ।
यि बालख्को शिर्भैm बुझछु कहु कस्को भनि तहाँ ।।
दिए उत्तर द्रोण्सुत् यस वखत उन्को पनि थरी ।
ति पाण्डव् सात्यीकीसहित छलि छन् कृष्ण नमरी ।।७८।।

यहाँ हामीहेरू यसतरफ ईश्वर् खुस भई ।
तिनैजाना हामी नमरिकन छौँ दिक् हुनगई ।।
हजुर्का सामूमा छ उ बखत काल्ले पनि गरी ।
गए पाँचै बालख् सहित अरि तर्फै सब मरी ।।७९।।

तहाँ सारा हाल् यो जब कहिसके खुस् अघि भए ।
पछी सोची हाहा कुरुकुल सक्यौ बालख गए ।।
अहो दीने र्हैनन् तरपन पछी हात् जलधरी ।
भने मन्मा पैल्हे हरषि पछी विष्माद् गरिगरी ।।८०।।

ति दुर्योधनको गाथ् अति मलिन सुस्ती तहिँ भयो ।
उही बेला हंसै उडि शरिर निर्जीव् हुनगयो ।।
उदाए श्रीसूर्यै चलअचल सारा खुस भए ।
तिनै जाना रूँदै नगरतिर दिक्दार् चलिगए ।।८१।।

सबै सम्चार् एक्एक् नृपति धृतराष्ट्रैसँग तहाँ ।
कहे सञ्जयले त्यो सुनि जननि गान्धारि त वहाँ ।।
महाराज् स्त्रीहेरू सकल रनिवासै भरि अनि ।
गिरे है काटेको कदलि सरि मूटू थिचि पनि ।।८२।।

तिनी रूनै लागे पुतर दुरजोधान् समझि धेर् ।
कहाँ हिँड्यौ छोरा भनि भनि परे मूर्छित ति फेर् ।।
बिहोस् भै वर्षाझैँ उस समयमा पृथिविभरी ।
भिजाए सारा ठाम् रुदन गरि आँसू वरिपरी ।।८३।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित