जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

गणतन्त्रमा गुमनाम गोपालप्रसाद

Posted on:  February 25, 2015

–श्याम रिमाल
गाऊ न गाऊ बहुला दाजै मनको सङ्गीत
नबुझे पनि सुन्न त देऊ अनौठो त्यो गीत(‘बौलाहासँग’, गोपालप्रसाद रिमाल)
गणतन्त्रको पहिलो बिहानी चारसालदेखि नै देखेका गोपालप्रसाद रिमाल(१९७५–२०३०)लाई गणतन्त्रको यो उत्सवमा कसैले सम्झन सकेनन् वा  बिर्सिए । उनका गीत र कविता सात सालमा गाइयो, छत्तीसमा गाइयो, छयालीस र बैसठ्ठी–त्रिसठ्ठीमा पनि । …..

कवि र नाटककार दुवै दृष्टिले नेपाली साहित्यमा रिमालको विशिष्ट स्थान छ । कवितामा उनी नेपालका वाल्टह्विटम्यान(अमेरिकी) र नाटकमा उनी इब्सेन(नर्वे)हुन् । उनमा सुरुदेखि नै विद्रोहीभाव र युगान्तकारी आमन्त्रण देखिन्छ । स्वप्नद्रष्टा र आकाङ्क्षामा मात्र मनोरम संसारमा विस्मृत कवि उनी होइनन् । मानवको उध्र्वगामी शक्तिप्रतिको अमोघ आस्था, अपार देशभक्ति, अदम्य राष्ट्रिय स्वाभिमान, अपूर्व त्याग र असामान्य साहित्यिक योगदानका कारण रिमाल श्रद्धेय छन्, स्मरणीय छन् र सम्माननीय छन् र उनलाई साहित्यकार मात्र मानेर राजनीतिक स्वतन्त्रता र राष्ट्रियताका विषयमा दिएको योगदान बिर्सनु भयङ्कर भुल हुने छ ।

राष्ट्रियता र प्रजातन्त्रका अनन्यतम उपासक तथा क्रान्ति र स्वतन्त्रताका प्रेमी रिमालको जन्म गणतन्त्र दिवसको तीन दिनपछि  जेठ १८ गते भयो । त्यही दिन अहिले मातृभाषीहरुले ‘भाषिक कालो दिवस’मनाउँछन्, जुन दिन विसं २०५६ मा सर्वोच्व अदालतले स्थानीय निकायका कामकारबाहीमा  मातृभाषामा बन्देज लगाएको थियो ।  प्रसङ्ग रिमालकै हो, उनको राजनीतिक जीवन जत्तिको क्रान्तिकारी थियो, साहित्यिक जीवन त्यस्तै विद्रोही थियो ।  राजनीतिक अवस्था देखेर २००६ देखि क्रोधले पागल भएका भनिएका रिमाल खुकुरी पनि भिर्थे र देखेकालाई ‘काट्छु’ भन्थे (एकताका  रिमालज्यूले खुकुरी भिरेर हिँड्न थाल्नुभएको थियो । एकदिन मैले “यो किन भिरेको दाजु ?”भनेर सोद्धा उहाँले “तँलाई काट्न !”भन्ने जवाफ दिनुभयो । उहाँको त्यस्तो अप्रत्याशित जवाफ सुनेपछि मैले भनेँ–हाम्रो  समाजमा काट्न माफिकका तत्व अरु कोही  देख्नुभएन र तपाईँले मलाई काट्छु भन्नुभएको ?”“तँ पनि पैसा खान  पाएदेखि अर्काले जे–जे भन्यो त्यही–त्यही लेखेर हिँड्दोरहेछस् नि”–यो थियो मलाई जवाफ ।– श्यामप्रसाद शर्मा,‘बौलाहा रिमाल’बाट)।  देशभित्रको बिग्रँदो सामाजिक तथा राजनीतिक अवस्थाप्रति चिन्तित रिमालमा बिस्तारै असन्तुष्टि पैदा हुन थालेको थियो । त्यो असन्तुष्टि नै उनको कवितामा व्यक्त भएको थियो । उत्साह, जोश, आत्मगौरव र आनन्दको अनुभव गराउने “रातो र चन्द्र सुर्जे जङ्गी निशान हाम्रा” उनले २००३मै गाइसकेका थिए भने “एक जुगमा एक दिन एकचोटि आउँछ” चारसालमा नै ।  आमाको सपना प्रकाशन गरी क्रान्तिको सपना देख्न लागिसकेका रिमालले  क्रान्तिपुरुषको जन्म त दुई हजार सालमै  आमाको सपनामा देखिसकेका थिए–
आमा, त्यो आउँछ र ?
हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यभै उज्यालो छर्दै आउँछ ।

निर्भीक व्यक्तित्व, क्रान्तिकारी विचारधारा र राष्ट्रवादी व्यक्तित्वमा त उनमा छँदैथियो, राजनीतिक नेता, शिक्षक, अभिनेता, सामाजिक परिवर्तनकारी तथा साहित्यिक व्यक्तित्व बोकेका रिमालको साहित्यिक जीवन नै वर्तमान पुस्ताले बढी मात्रामा सम्झेको देखिन्छ । उनका रचनामा युगको आकाङ्क्षा र भविष्यप्रतिको दरो विश्वाससमेत प्रकट भएको पाइन्छ । उनी समाजलाई प्रगतितर्फ प्रेरित गर्ने र उज्यालो भविष्यको सङ्केत गर्ने कवि हुन् ।

देशभक्तिको भावनाले ओतप्रोत देवी वा शिवभक्तिगीत,  प्रार्थनागीत गाउँदागाउँदै  उनी राजनीतिमा हाम्फाले र साहित्य र राजनीतिलाई एकाकार गरे । साहित्यलाई राजनीतिबाट अलग्याउनुपर्छ वा साहित्यकारले राजनीतिमा भाग लिनुहुँदैन भन्नेलाई उनको व्यक्तित्व स्वयं ढोँगीहरुलाई झापड हो ।

नेपाली कवितामा नवीन गद्यशैलीको  प्रारम्भ गर्दै विद्रोहको स्वर दिने र चेतनाको दीप बाल्ने रिमालले नाटकका क्षेत्रमा पनि नौलोपन दिएर नारीचेतना ल्याए र यथार्थवादी दृष्टिकोण भित्र्याए । नेपाली गद्यकविताका प्रवत्र्तक मानिएका रिमालको काव्यात्मक  भावजगत्मा प्रकृति, नारी, देश र क्रान्ति नै मूलतत्व छन् भने अभिव्यक्तिमा नवीन उद्भावना र शैलीमा नवीन भङ्गिमा थियो । स्वच्छन्दतावाद र छायावादसँगै प्रयोगवाद र  प्रगतिवादको मनग्यै प्रभाव उनका कवितामा पाइन्छ । स्वच्छन्दतावादमा क्रान्तिकारी भाव उनको कविताको विशेषता हो । साहनुभूति र संवेदनशीलता भरिभराउ भएका रिमालका कवितामा सामूहिक क्रान्तिचेत  पाउन सकिन्छ । स्वतन्त्रता, प्रजातन्त्रको चाहना र क्रान्तिभावनाको आकर्षण तिनमा छ । तिनमा भावुक प्रेम र सस्तो नाराबाजी तिनमा पाइन्न ।

रिमाल आधुनिक समस्यामूलक नेपाली नाटकका जनक हुन् । ‘मसान’ र  ‘यो प्रेम’ पूर्णाङ्की तथा ‘माया’ एकाङ्की नाटक नारीसमस्यामा केन्द्रित भएकाले उनी नारीवादी नाटककार पनि मानिन्छन् । मासुको थुप्रो मन पराउने पुरुषको पुरातन सोचाइविरुद्ध नारीले पनि उपार्जनमा सहभागी हुनुपर्ने मागका पक्षमा  र अविकसित जङ्गलीप्रेमको  विरोधमा मसान र यो यो प्रेम नाटक छन् भने नारी असन्तोष व्यक्तिएको ‘माया’ र  अन्य विषयमा लेखिएको ‘नेपाली संस्कृति र खुकुरी’ एकाङ्की पनि रहेको बुझिन्छ । ‘शारदा’ र ‘दर्पण’मा उनले राजनीतिक स्वतन्त्रताका साथै आर्थिक स्वतन्त्रता,  औद्योगीकीकरण, आर्थिक समृद्धि र आत्मनिर्भरताका पक्षमा लेखेको सम्पादकीय पनि विशेष महत्वपूर्ण छन् ।

बुद्ध र लेनिन जन्माउनुपर्ने उद्घोष गरेर उनले उहिल्यै शान्ति र क्रान्तिलाई आमन्त्रण गरिसकेका थिए । उनको पदचिह्न पछ्याउँदै थुप्रै नेपाली कविले छत्तीस र बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा योगदान पु¥याएका थिए । सातसालको क्रान्तिपछि पनि जनताका  आशा पुरा नभएकामा “मैले त क्रान्तिलाई सलामी दिइसकेँ,क्रान्तिले मर्द भएर सलामी फर्काउन बाँकी नै छ,क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ, क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ”भनेर गएका थिए उनी । गणतन्त्रपछि पनि भोक, हिँसा, अशान्ति, विकृति, ढिलासुस्ती र अस्तव्यस्तता तथा अन्योल र दिशाहीनतामै हामीले कति दिन ब्यहोरिरहनुपर्ने हो  ? आफ्नो ‘बौलाहा रिमाल’ लेखमा श्यामप्रसाद शर्मा लेख्नुहुन्छ–सानासाना भए तापनि न्यायोचित कुरामा बौलाहा रिमालले झैँ अड्न नसक्ता हामी सद्दे भइखाएकाले निकै ठुल्ठूला हकहरुसमेत गुमाइसकेका छौँ, गुमाइरहेका छौँ र यस्तै चाला हो भने अझ पनि गुमाइने रहनै छौँ ।सोही लेखमा शर्मा लेख्नुहुन्छ–२००७सालअघिको नेपाली साहित्य र राजनीतिमा चाख लिइसकेकाहरुलाई गोपालप्रसाद रिमालको परिचय दिइरहनुपर्ने आवश्यकता छैन । नेपालमा गद्य–कविताको विकासमा जुन भूमिका रहेको छ, हाम्रो नाट्यसाहित्यमा उहाँको ‘मसान’को जुन उत्कृष्ट ठाउँ छ, नेसनल लिग र प्रजा पञ्चायत आदिको गठन र तीद्वारा भएका सामाजिक–राजनीतिक आन्दोलनहरुमा उहाँको जुन देन रहेको छ ,ती कुराको आज वास्ता नभइरहेको भए तापनि हाम्रो राष्ट्रिय जीवनको इतिहासमा तिनको निकै महत्वपूर्ण स्थान छ ।

रिमाल जस्ता साहित्यकारले देखाएको बाटामा नहिँड्दा स्वयं स्रष्टाहरु त बौलाहा वा पागल त भए भए, मुलुक र मुलुकवासीलाई नै पागलखानामा लैजान उद्दत दल र तिनका नेताहरुले रिमालजयन्तीमा एक पटक उनको कविता पढिदिए मुलुकको गन्तव्य चाहिँ सोझिन्थ्यो कि ?
“आऊ म तिम्रो गर्भपात गर्छु !
जन्माइसकेँ मैले लेनिन र बुद्धहरु,
तिनको आवश्यकता रहेन छ हामीलाई—
त्यसकारण मेरी प्रिया,
तिमीले धारण गरेको गर्भ
मैले पात  गर्ने पर्छ !
आऊ म तिम्रो पात गर्छु !”(शङ्कर लामिछाने)