पृथ्वीनारायण शाह र कल्याण रिमाल
पृथ्वीनारायण शाहको शासनकाल : श्री ५ बडामहाराजा पृथ्वीनारायण शाह (वि.सं. १७७९— १८३१) उदय र उनको एकीकरण अभियानबाट नेपालमा आधुनिक युगको थालनी हुन्छ । विजित क्षेत्रका जनताको सुरक्षा एवं युद्धवीर भाइभारदारहरूको इज्जत, मानमर्यादा गर्नु उनको विशेषता हो । पृथ्वीनारायण शाहको एकीकरण अभियान सफल पार्नका लागि जनसाधारणले पनि ठूलो भूमिका खेलेका थिए । यसै क्रममा रिमाल वंशको योगदान पनि यहाँ उल्लेखनीय छ । श्री ५ बडामहाराजाले नुवाकोटमा चढाइँ गर्दा रिमालहरूले उनलाई ससल्लाह दिएका, साइत हेरिदिएका, त्रिशूली कसरी तर्ने भनेर बताइदिएका जस्ता कुराहरू ऐतिहासिक सत्य हुन् ।
गोरखा खिन्चेतका कल्याण रिमालले उनको सेनाको एक टुकडीलाई एक महिनासम्म रसदपानी खुवाएर राखेको र राजा खुसी भएर ‘तालिवर दोस्त’ भनी इज्जत गरेको कुरा प्रमाणिक रूपमा फेला परेको छ । इतिहासकार एवं विद्वान दिनेशराज पन्तका अनुसार पृथ्वीनारायण शाहको उपदेशमा (संकलक, लेखक नयराज पन्त, देवीप्रसाद भण्डारी, दिनेशराज पन्त र गौतमबज्र बज्राचार्य, प्रकाशन २०५५) गोरखा खिन्चेतका कल्याणपाध्या रिमालले पृथ्वीनारायण शाहलाई गुन लगाएकाले उनलाई ‘तालिवर’ (धनी मानिस) सम्बोधन गरी ‘तालिवर दोस्त राख्नुपर्छ’ लेखेको कुरा उल्लेख छ । यो घटना वि.सं. १८२२ तिरको हो ।
पृथ्वीनारायण शाहले वि.सं १८०१ मा तेस्रो पल्टको प्रयासबाट नुवाकोटमाथि विजय हासिल गरेका हुन् । रिमाल वंशले त्यसअघि नै अछामवाट पूर्वतर्फ बढ्दै नुवाकोट र काठमाडांैमा बसाइँसराइ गरिसकेका थिए । वंशावलीको पुस्ता ७ मा परेका पं. विश्वनाथ (कासामुषु नुवाकोटको फिर्केपमा बसाइँ सर्ने पहिलो व्यक्ति हुन् । उनी फिर्केपमा वि.सं. १५७५ तिर आएर बसोबास गरिसकेका थिए । पृथ्वीनारायण शाहले अनुकूल समय नभएको कारणले स्थानीय जनताको सलसल्लाह मानेर फर्केर गएको ठाउँ भएकोले फिर्केप नामकरण भएको बताइन्छ । नुवाकोटको नाम पनि त्यसै रहेकको नभई यस क्षेत्रका बेलकोट, धुपीकोट, सल्यानकोट आदिलाई संकेत गर्ने नौ ओटा कोट भन्दाभन्दै नुवाकोट भएको अनुमान गरिएको छ । बझाङमाथि सैपाल हिमाल मुन्तिर पनि फर्क्याप गाउँ रहेको छ । नुवाकोटको फर्केप र फिक्र्याप गाउँका वीच सामाञ्जस्य हुन सक्छ जुन खोजको विषय हो ।
आधुनिक कालको पछिल्लो भागलाई अत्याधुनिक काल मान्ने हो भने यस कालमा रिमाल वंश धादिङ, फिर्केप (नुवाकोट) मात्र सीमित भएर नबसी काठमाडौं उपत्यकामा धेरै संख्यामा फैलिन थालेको पाइन्छ । एकथरी रिमाल परिवार चोभारमा आई बसे भने अर्काथरी सीतापाइला, बालाजु हुँदै कान्तिपुर पसे र विभिन्न स्थानमा विस्तारित हुँदै गए । चोभारमा आएकामध्येका पृथ्वीनाथका जेठा छोरा दीनानाथ ज्योतिष शास्त्रका ज्ञाता एवं राज पण्डित थिए । पृथ्वीनाथका माहिला छोरा विश्वनाथ शास्त्री विद्वताको दृष्टिले बेजोड थिए । वि.सं. १९६२ श्रावण ११ र १२ गते श्री ३ चन्द्रशमशेरको अध्यक्षतामा भएको शास्त्रर्थमा आर्य समाजका प्रचारक माधवराज जोशीसँग सुरुमा शास्त्रार्थ गर्ने नम्बरी पण्डितको रूपमा उनी परिचित थिए । उनले माधवराजसँग वर्णाश्रम धर्म, वेदपठनका अधिकारी, मूर्तिपूजा र मृतक श्राद्धका सम्बन्धमा अनेकौं प्रश्नहरू गरेका थिए । (शुक्रराज शास्त्रीद्वारा लिखित ‘सहिद के कलम से’ शीर्षक माधवराजको जीवनीमा यो प्रसंग उल्लेखित छ । राजपुरोहित प्रयागराजले आर्य समाजी द्वय माधवराज र गुरुदयालसँग शास्त्रार्थमा आफूहरू पराजित हुन लागेकाले मूर्ति निन्दकलाई कुटपिट गर्न पाँउ भनेर ‘हार्नेको भाग्ने दाउ’ गरेपछि शास्त्रार्थ कुटपिटको तल्लो तहमा ओर्लेको थियो । विश्वनाथको विद्वता बनारसदेखि काठमाडौंसम्म फैलिएको बताइन्छ । यिनका छोरा शिवनाथ सरदार पदवीबाट विभूषित थिए र शाही कविराजका रूपमा यिनी प्रसिद्ध भए । यही ख्यातिले गर्दा डिल्लीबजारमा रिमालहरूको वैद्य पसल लामो समयदेखि चलेको छ ।
रिमाल वंशले हेडपण्डित, राजपण्डित र राज वैद्य मानपदवी मात्र पाएनन् । राजद्रोहीको मुद्दा पनि खेप्नु पर्यो । वि.सं १९९७ को विद्रोहमा भाग लिने मुकुन्दनाथ (डिल्लीबजार)लाई सर्वस्व भई कैद दण्ड मिल्यो । तर उनी भागेकाले कैदबाट बचे । पृथ्वीनाथका कान्छा छोरा ठाकुरनाथ ठूला पण्डित थिए । उनले भागवत सुनाउने गर्थे । वि.सं १९५० भन्दा अघि नै व्याकरण ज्ञान र राम्रो पढाइका कारणले रानीपोखरी संस्कृत प्रधान पाठशाला काठमाडौंमा हेडपण्डित विष्णुहरि प्रसिद्ध भएका थिए । स्रष्टा नरेन्द्रनाथले १८ पर्वसहितको महाभारत र ‘युरोपीय महाभारत’ वनारसबाट छपाएर आफ्नो साहित्यिक प्रतिभाको परिचय दिए । ती पुस्तकहरूका प्रतिहरू हाल दुर्लभ रहेकाले सुपुत्रद्वय शिवरत्न उपाध्याय र डा. रामरत्न उपाध्याय (रिमाल) ले पुनमुद्रण गराएर पितृप्रतिको कर्तव्य निर्वाह गरेका छन् ।
नेपाली साहित्यको इतिहासमा खासगरी नाट्य साहित्य र गद्य कविताको फाँटमा गोपालप्रसाद रिमालको योगदान अविस्मरणीय छ । उनी रिमाल वंशका कुलनन्दन हुन् । यसमा कुनै शंका छैन । राजनैतिक चेतना र प्रतिभाका धनी गोपालप्रसादले निरंकुश एकतन्त्रीय राणाशासन हटाउन योगदान त गरे नै कवितामा छन्दको बन्धनलाई तोडेर सुन्दर गद्य कविताहरू लेखेर सिर्जनात्मक प्रतिभा देखाए । अमेरिकी कवि वाल्ट ह्विटम्यानले वि.सं. १९१२ मा ‘घासका पातहरू’ शीर्षक कविता संग्रह छपाएर विश्वमै गद्य कविताको थालनी गरे भने गोपालप्रसाद रिमालले नेपाली भाषामा गद्य कविता थालनी गरी नेपालीमा छपाउन थाले । गोपालसिंह नेपालीको ‘भ्रान्ती’ रिमालको ‘प्रश्न’, ‘प्रति’ सुरुका गद्य कविता हुन् । यो वि.सं. १९९२ सालको कुरा हो । गोपालप्रसाद रिमाल आफ्नो साहित्यिक प्रतिभाको कारणले गर्दा त्रिभुवन पुरस्कार र मदन पुरस्कारद्वारा सम्मानित भएका थिए । गीति कविताको क्षेत्रमा भैरवनाथ रिमाल ‘कदम’ र गायन क्षेत्रमा कल्याण रिमाल उल्लेखनीय नाम हुन् । समालोचनामा, जीवनीको क्षेत्रमा वासु ‘यात्री’का पुस्तकहरू प्रकाशित छन् । साहित्यका अतिरिक्त रिमाल वंशले प्रशासन, डाक्टरी, इन्जिनियरिङ, आदि क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् । यी कुराहरू यसै पुस्तकमा छापिएका संक्षिप्त जीवनी तथा ‘रिमाल वंशमा पहिलो तथा उल्लेखनीय व्यक्तिहरू’ भन्ने पृष्ठबाट बुझ्न सकिन्छ ।
कल्याण रिमाल र त्रिलोचन रिमालबारे किंवदन्ती
कल्याण रिमालका बारेमा के पनि सुनिएको छ भने उनी छोराका लागि केटी हेर्न भनी टाढाको गाउँमा राति अबेर पुगेछन् । कन्या पट्टिकाले राम्ररी स्वागत गर्न नसकी भने ‘ढिलो आउनुभयो, दूध, दही भएन ।’ कल्याणले जवाफ दिएछन् – ‘भनेको बेलामा दूध नदिने गाईबस्तु किन पालेको त ?’ भोलिपल्ट केटी छिन्ने काम पूरा भयो । विवाहको तिथि तय भयो । यसैबीच केटी पक्षले झन्डै सय जना नातेदार र गाउँलेसमेत लिएर बिहेको कुनै विषयमा छलफल गर्ने निहुँमा कल्याण रिमाल कहाँ गए । टाढाबाट आउँदा राति अबेर भयो । कल्याण रिमालले भैंसीहरूलाई फुकाएर उखुबारीमा हुल्न लगाए । दूध प्रशस्तै भयो । केटी पक्षले पानी हालेको अन्न खाँदैनौ भनेर अप्ठ्यारो पार्न खोज्दा कल्याण रिमालले सिरौला ( खट्टे भुटेर दूधसँग खुवाउने प्रबन्ध मिलाए । फेरि अत्तो थापेर केटी पक्षले भने (‘धोती ल्याएनौ, धोती नलगाई खाना खाने गरेको छैन ।’ कल्याण रिमालले नैनसुतको थानबाट एकदुई मिटर कपडा च्यातेर बेर्न दिए । केटी पक्षले कल्याण रिमालको तेजोबध गर्नै सकेनन् । ज्योतिष त्रिलोचन रिमालले पृथ्वीनारायण शाहलाई खुसी पारेर ‘गोठ बनाउन सकिन, सरकारको सहयोग होस्’ भनेछन् । राजा र भाइभारदारहरू छक्क परेछन् । त्यत्रा प्रसिद्ध ज्योतिषले जाबो गोठका लागि सहयोग माग्दा राजाले ‘गोठ कत्रो चाहियो ?’ भनेर सोध्दा त्रिलोचनले ‘विशाल गोठ बनाउनका लागि नै राजासँग गुहार गर्नु परेको हुने’ भनेछन् । राजाले कति गाईबस्तु छन् ? भनेर सोध्दा उनले जवाफ दिएछन् ‘सरकार ! गाईबस्तु गनी साध्य छैन, म प्रत्येक दिन पहिलो बेत ब्याएको गाईको बिगौती खाएर घरबाट बाहिर निस्कन्छु ।’ यस उत्तरबाट उनको पशुधन निकै विशाल भएको बोध हुन्छ ।
— बासु रिमाल ‘यात्री’