जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजका अध्यक्षको मन्तव्य

रिमाल समाजका अध्यक्ष डा. डिल्लीराम रिमाल

कुल, वंश, प्राचीनता वा कसैको हागो मानिसको पहिचानको आधार हो । पूर्वीय आर्य समाजको हाँगो ऋषिसँग गएर जोडिन्छ । पूर्वीय संस्कृतिमा ऋषिहरू नै हुन् जसले समाज बसाए, जीवन निर्वाहका आधार तय गरे, कला संस्कृति र धर्म स्थापना गरे । मानव समुदायका जीवन पद्धतिका आधारहरू बनाए । कठोर परिश्रम र मेहनतबाट नै सिद्धि प्राप्त गर्न सिकाए । यस्ता पूर्वीय समुदायस्थापनाका आदि स्रोत हुन् ऋषि । यिनै ऋषिहरूका आदि स्रोत भनेका ब्रह्मा हुन् ।

नेपाल तथा भारतका जात भनेका तिनै ब्रह्माका सन्तान हुन् । मेरो जात हो ब्राह्मण वा क्षेत्रीय वा अरु कुनै तर यसको स्रोत पनि ऋषि नै हो । प्राचीन कालदेखि नै यस क्षेत्रमा जाति प्रथा छ । ऋषिका वाणी सुन्दा कर्मले नै मानिसको जाति निश्चित हुन्छ । अब थरको कुरा गर्दा एउटै ऋषिका पनि विभिन्न गोत्र बनेका छन् । रिमाल थरको मूल हाँगो अत्रि ऋषिसँग जोडिएको छ । अत्रि ऋषि मूल भएर कति गोत्र बनेका होलान् ? अत्रि, कौशिक, घृतकौशिक, विश्वामित्र आदि आदि ऋषिसँग गएर जोडिन्छ । यसैगरी नेपाल भारतका मानिसका थरको ऐतिहासिक पहिचान गोत्र हो ।

म यहाँ कौशिक गोत्रको चिनारीको कुरा अघि बढाउन खोजिरहेको छु । कौशिक गोत्रको आदि स्रोत ऋषि अत्रि हुन् । यस आधारमा यसको मूल अत्रिमा गएर जोडिएको छ । त्रिदेवमध्येका एक प्रमुख देवता ब्रह्मा हुन् । पृथ्वी सञ्चालनमा त्रिदेवको कार्य विभाजन छ । ब्रह्मा निर्माण वा सिर्जना गर्दछन् ।

उनी सृष्टिका आदि रुप हुन् । उनको चाहनामा पृथ्वीको सृष्टि भएको छ । पालन गर्ने जिम्मा विष्णुलाई छ । संहारका देवता महादेव हुन् । यिनै ब्रह्माका एक मानस पुत्र अत्रि हुन् । अत्रिबाट थुप्रै कुल तथा गोत्र परम्पराको थालनी भएको छ । अत्रिका तीन छोरामध्येका एक चन्द्रमा हुन् । चन्द्रमालाई जगत् सञ्चालनको अधिकार दिइएको थियो । यिनका छोरा बुध जन्मदा बृहस्पतिसँग ठूलै झगडा भएको थियो । यस विषयलाई लिएर देवासुर सङ्ग्राममा पनि भएको थियो । यिनै चन्द्र वंशी प्रतापी राजा विश्वरथ र पछि विश्वामित्र भएको वर्णन गरिएको छ । विश्वामित्र क्षेत्रीय भए पनि कठोर तपका कारण राजाबाट राजर्षि, राजर्षिबाट महर्षि र महर्षिबाट ब्रह्मर्षि भएको कुरा उक्त पुराणमा उल्लेख छ । विश्वामित्रका आफ्ना सय भाइ छोरा हुँदा हुँदै पनि आफ्नो मन्त्रबाट जीवन प्राप्त देवरातलाई उनी छोराका रुपमा स्वीकार गर्न पुग्छन् । ब्रह्मर्षि विश्वामित्रले यज्ञ पशुका रुपमा ल्याइएका ब्राह्मण पुत्र शुन:शेफलाई मन्त्रदान गरी बचाइएका वा देवताद्वारा बचाइएका देवरातलाई (शुन:शेफ) अगुवा छोरा बनाएर वंश वृद्धिको आदेश प्राप्त हुन्छ । कौशिक राजाका सन्तान विश्वामित्र र ब्रह्मर्षि विश्वामित्रका सन्तान देवरातले वंश वृद्धि प्रारम्भ गरे । ऋषि अत्रिदेखि विश्वामित्र देवरात हुँदै विभिन्न स्थानमा बस्दै विभिन्न भूमिका निर्वाह गर्दै हालको सुदूर पश्चिम नेपालको बझाङमा बसोबास गर्दै गरेका ११३ औं पुस्तका जोगानन्दका सन्तान रिमाल हुन् भन्ने विषय यस वंशावलीमा यत्र तत्र उल्लेख गरिएको छ । अछामको गुयलापानीका जोगानन्दका खलक रिमामा आइ बसोबास गरे पछिका जयदेव वा भोलाको पालादेखि रिमाल लेख्न थालिएको थियो । पुराणमा वर्णन गरिएका विषय वाहेकका देवरातपछिका अन्य खलकका विषयमा यस संस्करणमा थप अध्ययन तथा अनुसन्धान सम्भव भएन । यो काम पहिलो संस्करणमा जति गरिएको थियो यस संस्करणमा त्यसैमा चित्त बुझाउन पर्ने भएको छ । पहिलेका कतिपय विवरणको थप प्रमाणीकरण जरुरी थियो होला तर पछिका इच्छुक अध्येताका लागि थाती नै राखिएको छ ।

रिमापछि थालनी भएको पहिलो पुस्तादेखि अहिलेसम्म २६ पुस्ताका रिमालहरू भेटिएका छन् । पछिल्लो तथ्याङ्कको विश्लेषण गर्दा १८ पुस्तादेखि २६ पुस्तासम्मका बन्धुहरू भेटिएको स्मरण गराउन चाहन्छु । रिमाल वंशावलीको प्रस्तुत दोस्रो संस्करणमा सकेसम्म सबैलाई समेट्ने उद्देश्यले रिमाल समाज गठन गरी सो अन्तर्गत निर्माण गरिएको सञ्जाल मार्फत छुटेका र नजोडिएका बन्धुहरूलाई जोड्न प्रयत्न गरिएको थियो । यस क्रममा रिमालहरूको बसोबास भएका विभिन्न क्षेत्रमा रिमाल समाजका शाखाहरू खुलेका छन् । जस्तै पूर्वदेखि क्रमश पाँचथर, झापा, मोरङ, मकवानपुर, दोलखा, नुवाकोट, चितवन, लमजुङ, दैलेख, कैलाली र अछाममा समाजका शाखा मार्फत बन्धु पहिचानको कार्य गरिएका छन् । यस सञ्जालले समाजलाई अत्यन्त धेरै फाइदा पुर्‍याएको छ । यसै सञ्जालको सहयोग र समन्वयमा पहिलो संस्करणमा नाम मात्र समावेश भएका र वंश नजोडिएका पुस्ताहरू जोड्ने काम सम्पन्न गरिएको छ । पुस्ता जोड्ने क्रममा रिमाल बन्धुहरूको पुस्ताको खोजी गरी प्राप्त तथ्य तथा प्रमाणका आधारमा उपयुक्त स्थानमा जोड्ने काम भएको छ । रिमालहरूका कुल पूजाका प्रचलनको ोजी गरी कहाँ कहाँ कस्तो प्रचलन रहेछ ? भन्ने जानकारी दिन सफल भएको छ । सबै शाखाहरूको पहलमा कुल देवताका मन्दिरहरू बनेका छन् । रिमाल समाजको सञ्जालले रिमालहरूको बसोबासको मूल थलो, बसाई सराई, पेशा व्यावसाय, संस्कृति र परम्परा चिनाउन सहयोग पुगेको छ । कतिपय शाखाहरूले रिमालका सन्ततिहरूलाई प्रोत्साहनका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमको थालनी गरेका छन् । केन्द्रीय समितिले ज्येष्ठ बन्धुहरूको सम्मानार्थ सम्मान पत्र र निर्मल निरा फाउण्डेशनले अध्ययनको उत्कृष्ठताका आधारमा सम्मान तथा प्रोत्साहन प्रदान गर्दै आएको छ । यस्तै दूर दराजमा रहेका आर्थिक अभाव भइ अध्ययन गर्न नसकेका भाइ बहिनीका लागि दिवाकर रिमाल शैक्षिक कोष खडा गरी छात्रवृत्ति प्रदान गरिदै आएको छ । यी कार्यका लागि सबै शाखाका पदाधिकारी कोष स्थापना गर्ने दाता तथा सदस्य बन्धुहरूलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

पहिलो संस्करण तयारका क्रममा पण्डित छविरमणले छोडेर जानुभएका कतिपय अपूरा कामहरूलाई यस संस्करणमा पूरा गर्नु पर्ने थियो । ती सबै अधुरा काम अझै पनि पूरा गर्न सकिएन । अझ पनि कतिपय वंशलाई समेट्न सकिएको छैन । कुनै स्थानमा बसोबास भएको भेटिए पनि तिनीहरूको पुर्ख्यौली हाँगो पत्ता लगाएर मूल हाँगोमा जोड्नु यसको यसको मुख्य चुनौती बनेको छ । यो चुनौती समाधान गर्न सञ्जाल सफल भएन । अझ पनि छविरमणले अधुरो छोड्नु भएको जुम्ला, हुम्ला, डोल्पा, मुगु, सिन्धुली र जनकपुर क्षेत्रमा रहेका बन्धुहरूको खोजी तथा वंशावलीमा समावेश गर्न यो समिति निरन्तर प्रयास गरिरहेको छ । विदेशमा रहेका रिमाल बन्धुहरूको जति तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको थियो त्यति प्राप्त गर्न सकिएन । त्यसैगरी भारतको आसाम, बर्मा, भुटान र पश्चिमी देशहरूमा रहेका केही रिमालहरूलाई समेट्न सकियो भने अझै केही बाँकी रहेका छन । वंशावलीको पहिलो संस्करणमा रेग्मीसँगको सामिप्यताको चर्चा गरिएको थियो । यस संस्करणमा रिमालहरूको सगोत्रीय निकटताको आधारमा ढुङ्गाना, लुइटेल, फुयाल, चन्द लगायतका अन्य कौशिक गोत्रीय निकटताको अझ स्पष्टता आवश्यक ठानिएको थियो यसमा पनि हाम्रा प्रयत्न अधुरा बन्न गएका छन् । यसमा समाजको अध्यक्षका तर्फबाट सम्पूर्ण बन्धुहरूमा म क्षमा याचना गर्न चाहन्छु ।

रिमाल वंशावलीको दोस्रो संस्करण प्रकाशन गर्न सहयोग तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । हामीलाई यहाँसम्म आइपुग्न हाम्रा अग्रज सदस्यहरूको अत्यन्त ठूलो योगदान छ । उहाँहरूको मार्ग निर्देशन विना हामी यो काम यस रुपमा सम्पन्न गर्न सक्षम हुने थिएनौं । यसर्थ रिमाल समाजका संरक्षक, शुभ चिन्तक, अन्वेषक र अग्रज मार्गदर्शहरूमा तथा रिमाल समुदायका ज्येष्ठ सदस्यहरूप्रति म समितिको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु । आगामी दिनमा समाजले यस्तैगरी सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छौं । अन्त्यमा वंशावली प्रकाशनको प्राविधिक काममा सहयोग गर्ने प्राविधिकहरू, व्यवस्थापक, वंश जोड्न अथक मेहनत गर्ने समितिका बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, कोषाध्यक्ष र अन्य पदाधिकारी सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो पटक पनि यस्तै भयो बाँकी काम पछि गर्ने बाचा बन्धन गर्दै यस प्रकाशनलाई आर्थिक सहयोग उपलव्ध गराउने महानुभावहरू र प्रकाशनलाई शुभकामना व्यक्त गर्ने विभिन्न समाजका महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

डा. डिल्लीराम रिमाल
अध्यक्ष
रिमाल समाज केन्द्रीय कार्य समिति
२०७९