रिमाल वंशका कुल देवता र पूजा
कुल भनेको सगोत्री वंश हो र कुलायन कुलका उन्नायक देवता हुन् । कुलको उन्नतिका लागि कुलवासीहरूमा सदाचार, विनय, विद्या, प्रतिष्ठा, तीर्थ दर्शन, निष्ठा, वृत्ति, तप, दान समेत नौ लक्षण हुनु पर्दछ भनेर शास्त्रमा बताइएको छ :
आचारो विनयो विद्या प्रतिष्ठा दर्शन
निष्ठा वृत्ति स्तपो दानं नवधा कुल लक्षणम् ।
त्यसैगरी जाति, धर्म अनुरूप विवाह नगरिनु, सदाचार र सत्कर्म नगरिनु, पढाइ र खानपानादिमा बेपर्वाह हुनु जस्ता कुराहरूबाट कुल नास हुने तर्फ पनि शास्त्रले सतर्क एवम् सचेत गराएको छ । प्रत्येक रिमाल परिवारमा वेलुका साँझमा बत्ती वाल्ने चलन छ । यो बत्ती कुल र पाञ्चायनको स्मरणमा बाल्ने गरिएको हुन्छ । पुराना रिमाल बस्तीमा प्रत्येक घरको धूप बत्ती गर्ने वेग्लै स्थान बनाइएको देखिन्छ । साँझ बत्ती बाल्दा परिवारका कुनै सदस्यले बाल्ने गर्दछन् तर धूप हाल्ने स्थानमा पुरुष सदस्यले मात्र जाने प्रचलन छ । कुलदेवतालाई बत्ती बाल्न प्रयोग भएको दियो परिवारका पुरुष सदस्यले मात्र छुन हुन्छ । यस्तै पुराना बस्तीहरूमा मुल खाट वा मुल ओछ्यानको पनि प्रचलन छ । यो घरका मुलीको हुन्छ । बाहिरका कोही पाहुनालाई यहाँ राखिदैन ।
सगोत्री दाजु भाइहरू, बन्धुबान्धवहरू एकै ठाउँमा भेला भएर सामूहिक रूपमा कुलका देवता एवम् कुलदेवीको पूजा अर्चना गर्नु, पितृहरूप्रति श्रद्धा व्यक्त गर्नु, कुलका ऐतिहासिक व्यक्तिहरूको चर्चा, गुणानुवाद गर्नु कुलायन पूजा एवम् त्यस पूजाका समयमा हुने कुल भेलाको तात्पर्य हो । भाइबन्धुको परम्परा अनुसार कतिपय वंशमा वर्ष वर्षमा, कतै कतै दुई दुई वर्षमा र कतिपय वंशमा चार/पाँच वर्षमा र कसैको १२ वर्षमा पनि कुल पूजा हुने गरेको पाइन्छ । कुल र कुलायन पर्यायवाची शब्दका रुपमा प्रयोग भएको छ ।
रिमाल कुलमा प्रतिवर्ष कतै वैशाख पूर्णिमाका दिन कतै भाद्र शुक्ल चतुर्दशीको दिन र कतै धान्य पूर्णिमाका दिन कुलायन पूजाको परम्परा कायम रहेको पाइएको छ । कतै कतै भने वैशाख पूर्णिमाका दिन देवाली र धान्य पूर्णिमाका दिन कुल देवता पूजा गर्ने चलन चल्दै आएको पाइएको छ । स्थान अनुसार कतै कुलायन पूजाकै दिन वा ज्येष्ठ शुक्ल पञ्चमीका दिन वायुको पूजा गर्ने परम्परा पनि कायम छ । सबै कुलमा वायुको पूजा गर्ने चलन छैन । रिमाल कुलका कुनै कुनै स्थान विशेषमा भने मस्ठका रुपमा कुलायनको पूजा गर्ने गरेको पाइन्छ । मस्ठको पूजा गर्दा पनि कुलायका मूल कुल भने श्रीपाललाई नै पूजा गर्ने गरेको भेटिएको छ । भाइबन्धु भेला भएर कुलायन पूजा गर्ने अनुकुल नभएका वर्ष भने अनिवार्य रुपले घरमै भए पनि कुलको पूजा भने गर्ने प्रचलन विद्यमान् छ ।
ललितपुरका रिमालहरूले केही वर्षदेखि वज्रवाराहीको जङ्गलमा कुल देवताको पूजा गर्दै आएका छन् भने पृथ्वीनाथ, विश्वनाथका वंशजहरूले (डिल्लीबजार, कालिकास्थान, पुतलीसडकमा फैलिएका खलक) गौशालाको भण्डारखालमा कुलदेवता पूजा गर्दै आएका छन् । फिर्केपबाट काठमाडौं आई बसेका रिमाल परिवारहरूले भने अनुकूल अनुसार फिर्केपकै कुलदेवता पूजामा सम्मिलित हुने वा काठमाडौंमा नै हुने सो पूजामा समावेश हुने गरेको पाइन्छ । परम्परा अनुसार काठमाडौं र ललितपुरका रिमाल खलकले धान्य पूर्णिमामा कुलायन पूजा गर्दै आएका छन् ।
सो पूजामा बलीका सम्बन्धमा पनि केही विभेद देखिन्छ । कतै कतै ‘अहिंसा परमोधर्म’ भन्दै खीर, नरिबल चढाएर बोका बली हटाएको पनि पाइन्छ भने कतिपय रिमाल खलकहरूले कुलायन पूजामा बली प्रथा कायमै राखेका पनि छन् ।
विभिन्न स्थानमा बस्ने रिमालहरूले कुल देवताको स्थान वा कुल मन्दिरमा गरिने पूजाका विधिहरू
कौशिक गोत्रीय रिमालहरू मुल रुपमा ब्रह्माका मानस पुत्र आदिपुरुष अत्रि ऋषिबाट विश्वामित्र, शुनःसेफ (उनै पछि देवरात भए) हुँदै आएका ११३ औँ पुस्ताका जोगानन्द भट्ट हालको अछाम जिल्लाको गुयलापानीमा आइ बसे । यिनका सुपुत्र जयदेव (भोला) भट्ट गुयलापानीबाट रोल जोगीबाडा हुँदै सेरा गए र सेराबाट रिमा गइ बसोवास गर्न थाले । रिमामा बसोबास गरेका हुनाले उनका पुस्ताबाट रिमाल थर कायम भयो । जोगानन्दका खलक रिमामा आएर बस्न थालेपछि कौशिक गोत्रीय रिमाल वंशको प्रारम्भ भएको मानिएको छ । चौथो पुस्ताका सबै रिमाल वंशले कुलायनका रुपमा पूजा गर्ने श्रीपालभन्दा पहिलेका तीन पुस्ताको बसोवास अछामकै विभिन्न स्थानमा भएको छ । श्रीपालका दुई छोरामध्ये एकभाइ बोध भट्ट तत्कालिन दर्नाली राजाको पुरोहित भण्डारिया काम गर्दथे । यसै आधारमा बोधका खलक भण्डारी भए र उनीहरूले अहिले पनि भण्डारी नै लेख्ने गरेका छन् । अर्को भाइ विजयका सन्तानले भने रिमाल लेख्ने चलन चलाए । यस वंशावलीमा अछामको रिमामा बस्न थालेका जोगानन्दका खलकका जयदेवलाई (भोला) पहिलो रिमाल मानी त्यसपछिका खलकको विवरण र प्रचलनलाई समावेश गरिएको छ ।
अछामको रिमा, नुवाकोटको फिर्केप र धनकुटाको चानुवालाई रिमाल वंशको मुख्य बसोवासको थलो मानिन्छ । मुख्य रुपमा यी तीन स्थानबाट नै रिमालका संस्कृति एवम् परम्पराको थालनी र विकास भएको मानिएको छ । विजय भट्टका चार छोरामध्ये ऐतु र मुसुका सन्तान अछाम लगायत सुदूर पश्चिम प्रदेश, कर्णाली र ५ नं प्रदेशका बाँके तथा बर्दियामा बसोवास गर्दछन् । त्यस्तै गजधरका सबै सन्तान र कासामुसुका एउटा छोराका सन्तान नुवाकोटका विभिन्न स्थान, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, काभेप्र लाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, मकवानपुर, पर्सा, जनकपुर र जनकपुर पश्चिमका तराईका जिल्लाहरूमा बसोवास गर्दछन् ।
त्यस्तै कासामुषुका अर्का छोराका सन्तान धनकुटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ्, पाँचथर, इलाम, झापा, मोरङ, दार्जिलिङ र भारतको आसाममा बसोवास गर्दछन् । यस प्रकार रिमालहरूको मुल थलो अछाम, नुवाकोट र धनकुटाबाट अन्यत्र बसाइँसराइबाट भएको भेटिएको छ । नयाँ स्थानमा बसाइ सराइँ भएपछि कतिपय परम्पराहरू छाडिएका र कतिपय परम्पराहरू अन्य छिमेकीका परम्पराहरूको अनुसरण हुन गएको पाइन्छ । जयदेवका पनाती हरि भट्टका छोरा श्रीपालभट्टको जोगीसँग विवाद एवम् झगडाको व्रmममा तत्कालै मृत्यु भयो । श्रीपालका दुई छोरा बोध भट्ट र विजय भट्टले सालवसाली रुपमा पूजा गर्ने सहश्रलिङ्ग शिव र एकादश रुद्रसँगै कुलको रुपमा आफ्ना पिताजी श्रीपाललाई पूजा गर्ने प्रचलनको थालनी गरे । यसपछि रिमालका कुलका रुपमा पछिका पुस्ताले श्रीपाल बाजेलाई पूजा गर्न थालेको पाइएको छ । सहस्रशिवलिङ्ग, एकादश रुद्र र श्रीपाललाईसँगै पूजा गर्न थालेका कारण रिमाल वंशको कुल पूजा सात्विक रुपमा थालनी भएको थियो भन्ने देखिन्छ । विभिन्न क्षेत्रको बसाइँसराई र नयाँ प्रचलनको थालनीले सात्विक पूजामा पशुबलिको थालनी भएको हुनसक्ने देखिएको छ । रिमाल वंशका कुल पूजाका विधिहरू तल उल्लेख गरिएको छ ।
रिमाल थर र कुलपूजाको थालनी सम्बन्धी जानकारी
१. कुल पूजाको थालनी : आदिपुरुष अत्रि ऋषि श्रृष्टिकर्ता ब्रह्माका मानस पुत्र हुन् । अत्रिको आफ्नो गुणको कारण ब्रह्मा सरह मानिन्थ्यो । यिनै अत्रिका पुत्र हुन् चन्द्रमा । चन्द्रमालाई ब्राह्मण, औषधि र नक्षत्रका अधिपति मानिन्छ । यिनै चन्द्रमाका वंशलाई पछि गएर चन्द्रवंश भन्ने गरिएको छ । चन्द्रमाका छोरा बुध र बुधका छोरा भए पुरुरवा । पुरुरवाका छ छोरामध्ये विजय, विजयका भीम, भीमका छोरा काञ्चन, काञ्चनका होत्र र होत्रका छोरा जन्हु भए । जन्हुका पुरु, पुरुका अजक, अजकका कुश, कुशका कुशाम्बु, कुशाम्बुका गाधी र गाधीका विश्वामित्र छोरा भए । कौशिक गोत्रको नाता यहाँ आएर कुशका सन्तान विश्वामित्रसँग गाँसिएको छ । विश्वामित्रले आफ्नो तपोबलका कारण क्षत्रियत्व त्याग गरी ब्रह्मतेज प्राप्त गरेको कुरा श्रीमद्भागवत महापुराणमा वर्णित छ । विश्वामित्रले भृगुवंशी शुनःसेफलाई पुत्रका रुपमा स्वीकार गर्नु प¥यो । यिनै शुनःसेफ पछि देवरातका रुपमा रहे । कौशिक गोत्रीयहरू यिनै देवारातका सन्तान् हुन् । भागवत र विभिन्न धार्मिक इतिहासमा उल्लेख भए अनुसार भारतका र नेपालका विभिन्न स्थानहरूसँग नाता गाँस्दै बसाइँ सर्दै कौशिक गोत्रीय वंश परम्परा विकसित हुँदै आएको भेटिन्छ । यस व्रmममा आदिपुरुष अत्रि, चन्द्रमा, बुध, पुरुरवा, जन्हु, गाधी, विश्वामित्र र देवरात हुँदै ११३ औँ पुस्ताका जोगानन्द भट्ट हालको अछाम जिल्लाको गुयलापानीमा आइ बसे । यिनका पुत्र जयदेव (भोला) भट्ट गुयलापानीबाट रोल जोगिबाडा हुँदै सेरा गए । सेराबाट रिमा गइ बसोवास गरेका हुनाले उनका पुस्ताबाट रिमाल थर कायम भयो । जयदेवका पनाती हरि भट्टका छोरा श्रीपाल भट्ट अनन्त चतुर्दशीका दिन आफ्ना बुवाको श्राद्धका लागि टोलको लेक (भैसी गोठ) बाट दही दुध लिएर घर आइरहेका थिए । ढङ्नेटा नजिकै रहेको ऋषि नाउला (कुवा) मा स्नान गरी घर जाने उनको नियमित चलन थियो । सोही अनुसार उनले ल्याएका दुध दही नजिकै राखी स्नान गरी हिड्न लाग्दा एक जना हाण्डु नाम गरेको कञ्चिरा जोगी अगाडि आइ मलाई दही दुध खान देऊ भनेछ । मेरो घरमा श्राद्ध छ । श्राद्धमा नचढाइ दिन मिल्दैन भने पछि जोगीले जवर्जस्ती गर्न खोज्दा जोगीसँग लडाइ भइ प्रतिरक्षा गर्न नसक्ने अवस्था भए पछि आफ्नै हँसियाले आफ्नै मासु काटेर जोगीलाई खुवाउने क्रममा ढङ्नेटाको खाँद (भञ्ज्याङ) नजिक पुगेर श्रीपालको देहत्याग भयो । यसरी श्रीपालको अगतिमा प्राण विसर्जन भएपछि सोही ठाँउमा रहेको बाँझको रुखको फेदमा श्रीपालका भट्टका पुत्रद्वय बोध र विजय भट्टले इष्टदेव सहश्रलिङ्ग शिव र एकादश रुद्रसँगै श्रीपाललाई समेत कुल देवता मानी पूजा गर्न थाले । यिनै बोध र विजय भट्टका पालादेखि नै अनन्त चतुर्दशीका दिन इष्टदेवसँग श्रीपालको नाममा कुल पूजा गर्ने प्रचलन कायम भयो ।
रिमालहरूको गोत्र प्रवर शाखा : कौशिक गोत्र कौशिक देवरात विश्वामित्र त्रिप्रवर माध्यान्दिनीय शाखा शुक्लयजुर्वेदाध्यायी । प्रवर शब्दले माथिका तहका मुलीको सङ्केत गर्दछ ।
२. अछामको रिमामा कुलपूजा : अछामको रिमा र रिमाबाट बसाइँसराई भइ अन्यत्र गएका र सो क्षेत्रमा बसोबास गर्ने रिमाल तथा कौशिक गोत्रीय भण्डारीहरूले भाद्र शुक्ल चतुर्दशी वा अनन्त चतुर्दशीमा कुल पूजा गर्ने प्रचलन छ । यस दिन हरिहरको पवीत्र पूजनको शुभ दिन भएको र पितृ कुलको लागि शास्त्रीय रुपमा पनि उपयुक्त दिन भएकाले यो दिनको छनोट गरिएको छ । यस दिन पितृलाई नचढाइ कसैलाई केही खान नदिने र आफू पनि केही नखाने अठोटका साथ जोगीसँगको लडाइमा श्रीपाल भट्टको देहत्याग भएको दिनमा नै कुलपूजा गर्ने प्रचलन रहँदै आएको छ ।
(क) कुलपूजा सामाग्री : पञ्चगव्य, पञ्चकलश, पञ्चपल्लव, अघ्र्यपात्र, शङ्ख घण्टा, धान, चामल, पञ्चामृत, वस्त्र, ध्वजा, कुश जौ, तिल, चन्दन अक्षता, शौभाग्य द्रव्य (पार्वतीको लागि) वस्त्रः पहेलो, रातो, सेतो, कालो (भैरवको लागि) कपूर ।
(ख) हवन सामग्री : कांशपात्र, घिउ, हवन द्रव्य, जौ, तिल, आज्य थाली, चरु स्थाली (कांश पात्र) कपुर, प्रोक्षणिपात्र, प्रणिता ।
(ग) कुलपूजा प्रतिनिधि कर्ता : रिमालको ज्येष्ट परिवारको जेठो सन्तानलाई रजवार भनिन्छ । रजवार कुलपूजाका मुख्य कर्ता हुन्छन् । कुल पूजाका दिन व्रत बसेका अन्य व्यक्तिहरू रजवारसँगै पूजामा सहभागी हुन सक्दछन् ।
(ग) प्रसाद (पाक) निर्माण : घरघरबाट जम्मा गरेको दुध, घिउ र पिठोको उपयोग गरी खिर र पुरी पकाउने गरिन्छ । घरमा घिउ छैन भने तेल लैजाने प्रचलन रहेको छ ।
(घ) आत्मशुद्धि: कर्ता र पण्डित दुबै र अन्य ब्रतालु कर्ताले स्नान, शुद्ध कपडा, पवित्र धारण, शिखा बन्धन, सन्ध्या वन्धन, न्यास आदि गर्नुपर्छ ।
(ङ) पाठक पण्डित व्यवस्था : कर्मकाण्ड जान्ने कुल पुरोहितले मन्त्रोच्चारण गर्दछन् । पाठ र मन्त्रोच्चारण पुरोहितको आज्ञा लिएर जानेको रिमालले पनि गर्न सक्दछन् । यो प्रचलन स्थान अनुसार केही फरक पनि छ ।
(च) पूजाक्रम :
- कर्मपात्र निर्माण, जग्गेका लागि चामल तथा अन्य सामग्रीको व्यवस्था, प्रारम्भिक सङ्कल्प, षोडसोपचारका सामग्रीको व्यवस्थापन एवम् तयारी । शङ्ख, घण्ट पूजन र दिप, कलश, गणेश स्थापना एवम् दिप प्रज्वलन एवम् पूजन । दिप पूजनको साथमा कलश र गणेशको पूजन ।
- प्रायश्चित गोदान
- भूतोच्चाटनः मन्त्रको प्रयोग गरी सस्र्यौंले भूत प्रेतबाट यज्ञमा विघ्न वाधा नपरोस् भन्ने उद्देश्यले यज्ञस्थान पूजा गर्ने गरिन्छ ।
- स्वस्तिवाचन र विभिन्न देव देवी तथा पितृस्मरण
- प्रतिज्ञा सङ्कल्प
- मात्रिका, भैरव, पार्वती पूजन
- एकादश रुद्र स्थापना र पूजनः विभिन्न शास्त्र तथा ग्रन्थमा एकादश रुद्रका विभिन्न नाम भएता पनि लिङ्ग पुराणमा उल्लेख भएका निम्नानुसारका एकादश रुद्रलाई क्रमैसँग स्थापना गरी नाम र मन्त्रले पूजा गर्ने । एकादश रुदका नाम–१. शम्भु २. पिनाकी ३. गिरीश ४.स्थाणु ५. भर्ग ६. भव ७. भीम (सदाशिव) ८. शिव ९. हर १०. शर्व ११. कपाली
- सहश्रलिङ्ग शिवस्थापना र पूजन
- षोडशोपचार पूजा विधिः ध्यानम् आवाहनम्, आसनम्, पाद्यम्, अघ्र्यम्, आचमनियम्, स्नानम्, वस्त्रम्, यंगोपवितम्, चन्दनम्, पुष्पम्, धुपम् दिपम् नैवेद्यम् ताम्बुलम् दक्षिणाम्, पुष्पाञ्जलिम् । लिङ्गो चढाउने । हवन गर्ने ।
- बलि : मास भिजाएर त्यसमा रातो सिन्दुर, खिर र भेटी राखेर कर्ताले सङ्कल्प गरी पूर्वतर्फ दिक्पाल बलि दिने प्रचलन रहेको छ । बोका बलि दिने प्रचलन भएका स्थानमा हालसम्म शिलाको परिषरभन्दा वाहिर बोका बलि पनि दिने गरेको छ । यो प्रचलन विस्तारै कम हुँदै गएको छ । निकट भविष्यमा नयाँ कुलपूजा मन्दिर निर्माण गरी शिवलिङ्ग स्थापना पश्चात् श्रीमद्भागवत पारायण तर्पण, मार्जन आदि मुक्ति प्रदायक शान्ति स्वस्ति कार्य गरी सके पश्चात् बोका बलि दिने प्रचलन विस्थापित गरी वैदिक विधि अनुसार सात्विक बलिमात्र दिने प्रचलन बसाउने योजना रहेको छ ।
- पूर्णाहुति, अभिषेक र तिलक प्रसाद वितरण । (छ) जन सहभागिता : रिमालको कुल पूजाको दिन सबैले आ–आफ्नो घरमा भएको सबै गाई भैँसीको दुध, धुप (घिउ) र नेवज (चामल), भेटी, पिठो लिएर सबै परिवारका पुरुष सदस्यहरू कुल पूजा स्थलमा जम्मा हुन्छन् ।
- कुल पूजाको दिन घरमा भएको दुध अन्य प्रयोगमा लगाउन पाइदैन । कुनै घरमा पुरुष सदस्य नभएमा वा कुल पूजामा उपस्थित हुन नसकेमा परिवारभित्रको अर्को घर मार्फत पूजा सामग्री पठाउने गर्दछन् । कसैले कुनै कामनाको लागि भाकल गरिएको भए सोका लागि चाहिने ध्वजा, घण्ट र मूर्ति आदि पनि लगेर चढाउने प्रचलन छ । सबैले ल्याएको दुधबाट अलि अलि (करिव १ डाडु शिलाको लागि छुट्याउने । यसरी छुट्याएको दुधलाई अगल सार्ने भनिन्छ । बाँकि खिरको लागि राख्ने । घिउ हवनका लागि छुट्याइ बाँकी पुरी पकाउन प्रयोग गर्नेर चामल, भेटी पूजामा चढाउनु पर्दछ । शिलाका लागि छुट्याएको दुध (अगल) को धेरै भाग शिलामा ढोल्ने (एकैचोटी चढाउने र केही भाग सहश्रलिङ्गमा अभिषेक गर्ने । खिर पकाएर ११ ओटा आर (टपरीमा खिर) शिलाको वरिपरि चढाइन्छ । त्यसपछि एकादश रुद्रको क्रमैसँग नाम तथा मन्त्रले पूजा गरी शिव लिङ्गमा रुद्राभिषेक गरिन्छ । सामूहिक टाँगो (लिङ्गो पञ्चगव्यले सुद्धपारी जयकारका साथ वरिपरि परिक्रमा गराइ रुखको टुप्पोमा पुग्ने गरी फहराइन्छ । यसपछि हवनादी कार्य सम्पन्न गरी तिलक तयार गरिन्छ । अन्त्यमा सबैलाई तिलक लगाइ दिने र आरको (प्रसाद) पनि सबैले बाडेर खाने गरिन्छ । सबैले तिलक लगाइ सकेपछि नाता अनुसार ढोग भेट गरी छुट्टिने चलन छ । पूजाको तिलक सबैको घरमा लगिन्छ । अनुपस्थित परिवारमा पनि तिलक प्रसाद पठाइ दिने गरिन्छ । घरमा लगेर सबैको निधारमा तिलक लगाउने । सबै गाइबस्तुको निधारमा पनि तिलक लगाइ दिने प्रचलन छ ।
३. नुवाकोटको श्रीखाली, फिर्केपमा कुलपूजा
वैशाख शुक्ल पूर्णिमाका दिन बिहान कुल देवताको पूजाका लागि पूजा स्थानमा सरसफाइ र लिपपोत गरिन्छ । सबैभन्दा पहिले घरमा स्थापित गरेको वायुलाई (गत वर्ष पूजा गरेर पेरुंगामा थन्क्याएको झिकेर सरसफाइ गरी पूजा आजा गरी यस पाली पूजा गरेको फूलपाती, वस्त्र आदि त्यसैमा राखी कसैले नछुने गरी अगज ठाउँमा (घरको सिरानको तलामा) घरमै थन्क्याइन्छ । वायु पूजा गर्ने क्रम सँगसँगै रुद्री पाठ पनि गरिन्छ । यसपछि घर बाहिर कुल देवताको स्थानमा सबै दाजुभाइ जम्मा भएर पूजा सुरु गरिन्छ । पूजाका सामानहरूमा चन्दन, अक्षेता, धूप, दीप, नैवेद्य (सेल, पुरी, फलफूल नरिबल, मिश्री आदि र वस्त्र हुन् । पूजा विधि जान्ने जुनसुकै रिमाल ब्राह्मणले अग्नि स्थापना गरी र होम गर्न सक्दछन् । निजले नै पूजा पनि गर्दछन् । कुल देवता जम्मा १६ वटा छन् । त्यसमध्ये भोग नखाने आठ ओटा एक लहरमा अर्को लहरमा आठ ओटा भोग (बलि) खाने देवताहरू स्थापित गरिएका छन् । यी दुई थरी देवताहरूलाई सानो आटले (पर्खाल) बीचमा छुट्ट्याइएको हुन्छ । पूजा गर्दा पहिले भोग नखाने देवताको पूजा गरिन्छ । सो पूजा गर्दा पूजा सामानहरू त्यतैपट्टि छोडिन्छ । अनि अर्को पट्टि (भोग खाने देवता) त्यही राखेको भिन्नै पूजा सामानबाट पूजा गरिन्छ । कुल देवतालाई चाहिने नैवेद्य र प्रसादीका सामग्री त्यसै स्थानमा नै पकाइन्छ । त्यहाँ जम्मा भएका सबै दाजु भाइहरूले यसै क्रमले पूजा गर्दछन् ।
अर्कोतर्फ होम गर्नेले होम पनि गरी सकेका हुन्छन् । होम सकिएपछि बलि प्रदान गर्नेहरूबाट यसै बीचमा बलिको (बोका) सङ्कल्प गराइन्छ । अनि बलि प्रदान गरिन्छ । त्यसपछि सबैलाई टीका र तिलक लगाई, फूल प्रसाद र तोरण लगाइ दिन्छन् । बोका, प्रसाद र खीर झिकेर सबैलाई वितरण गरिन्छ । त्यसपछि बिदा हुने बेलामा सम्पूर्ण देवताहरूलाई भेटी चढाई ढोगेर बिदा मागिन्छ । कुल देवताको स्थानमा पकाइएको प्रसाद त्यहीं बसी रिमालहरूले मात्र खाई बुत्याउनु (सक्नु पर्छ । घर लैजान मिल्दैन । आइमाई र छोरीबेटीलाई प्रसाद दिने चलन छैन । त्यस दिन निम्ता गरिएका ज्वाईं, भानिज छोरीबेटी आदिलाई घरमा नै तयार पारेको पकवान्न मात्र दिइन्छ । कुल देवताको पूजाका बखतमा चढाइएका जिन्सी आदि पुरेतले (रिमाल) नै लिने गर्दछन् । नगद भेटी आदि चाहिँ सङ्कलन गरेर कुल देवताको स्थानको मर्मत आदिमा खर्च गरिन्छ ।
४. धनकुटाको चानुवामा कुलपूजा
धनकुटाको चानुवामा गरिने कुलायन पूजा सधैँ कुलका धामीको उपस्थितिमा हुने गरेको छ । यहाँ मङ्सिर शुक्ल पूर्णिमाका दिन कुलायन पूजा हुने मुख्य दिन हो । कुनै कारणबाट मङ्सिर शुक्ल पूर्णिमका दिन कुलायनको पूजा सम्भव भएन भने वैशाख शुक्ल पूर्णिमाका दिन हुने गरेको छ । यहाँ कुलायन पूजा गर्दा वायु, कुल र गोठधुप गरी बेग्ला बेग्लै तीन स्थान बनाएर पूजा गर्ने गरिन्छ ।
क) कुलायन र वायुपूजा सम्बन्धी मान्यताका आधार
विष्णुवल्लभ चानुवामा बस्न थालेपछि चानुवाको चौकिवारी मुनीको जङ्गलमा हरेक वर्ष कुल पूजा र वायुको पूजा हुने गर्दथ्यो । त्यस समयमा वारिएर सफा पारिएको मण्डपभित्र पूजाको अघिल्लो दिन बेलुका वायु र कुलका देवताका सामान भएको झोली राखिदिएपछि भोलिपल्ट पूजाका लागि चाहिने सबै सामान जस्तै खुकुरी, कट्टी, गाग्री, कराइ, खड्कुडा, साना ठूला दुबै खाले डाडु पन्यु र अन्य चाहिने सामान आफै देखा पर्दथे र काम सकिए पछि आफै अलप हुन्थे । पूजाकै क्रममा साना डाडु पन्यु हराए पछि अफै सामान आउने क्रम रोकिएको थियो । यस समयपछि पुरेतलाई पुजारी बनाउने प्रचलन हटेको भनाई छ । त्यस समयपछि कुल पूजाका लागि पहिलेको स्थान छाडेर अर्को स्थानको व्यवस्था गरिएको थियो । चानुवामा कुल पूजा गर्ने स्थान छ र सो स्थान अहिले पनि कुलदेवताको थानको नामले परिचित छ ।
हालको प्रचलित १५ औ पुस्ताका काशीनाथका सन्ततिका समयसम्म रिमालका वायु निकै कडा मानिन्थे । रिमाल वाहेक अरु कसैले विना अनुमति बारीका तुलफूल लगायत अरु सामान छोएमा त्यही टासिने हुन्थ्यो । रगत छाद्नेसम्म पनि हुन्थ्यो । यस्तो अवस्थामा घरको पाको व्यक्तिले सफाभइ धुप हालेपछि मात्र ती व्यक्तिले छुटकारा पाउथे । रिमाल परिवारका महिला सदस्यले समेत कुल एवम् वायु स्थान हेर्न र छुन हुँदैनथ्यो । यो प्रचलन अहिले पनि पूर्वमा प्रचलित छ । यस कारण अफ्ना वायु अति नै कडा भएको वहानामा १५ औ पुस्ताका काशीनाथका ८ भाइ छोरामध्ये १६ औं पुस्ताका हरिलालले वायु पूजाका लागि प्रयोग हुने सबै सामान सहितको वायुको झोलै लगेर अरुण बरुण नदीमा बगाए त्यसपछि उनी वेपत्ता भए भन्ने चानुवाका बुढापाकाबाट जानकारी प्राप्त भएको छ । त्यसपछि रिमाल परिवारमा क्षति हुन थाल्यो, दुःख र पीर देखिन थाल्यो । रिमाल समुदायमा अनिष्ट हुन थाल्यो । अनिष्ट भयो भन्ने लागे पछि उनका त्यहाँ वाँकी रहेका दाजुभाइको सल्लाहमा भाइ देवीचरणले वायु बगाएको स्थानमा गइ पुनःखोजेर पाइए जति ल्याएको र वंशको रक्षा गरेको जानकारी प्राप्त भएको छ । हालसम्म पनि चानुवाका रिमाल खलकहरूले डडी मरेका पूर्णानन्द थानी नामक वायुको पूजा गरिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन वायुको पूजा गर्ने गरिन्छ ।
ख) कुलायन पूजाका लागि मण्डप निर्माण
कुल पूजा र वायु पूजाका लागि अघिल्लो दिन तिन कोठा भएको मण्डप बनाइ वारिएको हुन्छ । वारिएका तीन कोठामध्ये पश्चिमतिरको कोठामा वायुको पूजा गर्ने र होम गर्ने गरिन्छ । बीचको कोठामा कुलको पूजा गर्ने र पूर्वतर्फको कोठामा गोष्ठादि महारुद्रको पूजा गर्ने गरिन्छ । मण्डप निर्माण गर्दा उपलव्ध स्थान र कुल पूजामा सम्लग्न बन्धुहरूको सङ्ख्यालाई ख्याल गरिएको हुन्छ । अघिल्लो दिन कुलायन पूजाको स्थल निर्माण एवम् सरसफाइ गर्ने र पूजाका लागि चाहिने सबै सामग्री मण्डपमा लगेर राखिन्छ । मण्डपमा उल्लिखित तीनओटा कोठामा के के हुन्छ र गरिन्छ ? तल बयान गरिएको छ ।
(१) पश्चिम कोठा : यो वायु पूजा गर्ने कोठा हो । यस कोठाको बीचमा अग्निस्थापना विधि अनुसार अष्टदल रेखी हाली सोही विधिका आधारमा दिप कलश र गणेश लगायतका देवताहरूको स्थापना गर्ने गरिन्छ । कोठाको उत्तर तर्फ बाँस वा सिमाली वा स्थान अनुसार उपलव्ध सामग्रीका आधारमा लिङ्गो स्थापना गरिन्छ । यस लिङ्गोका फेदमा ढुङ्गाको शिला स्थापना गरिन्छ । शिला र लिङ्गोसमेतलाई काँचो धागोले १७ फन्का वेर्ने गरिन्छ । यस शिलाको फेदमा वायुको दियो बाल्ने गरिन्छ । वायुको दियो वायु राख्ने झोलीमा हुन्छ । अग्निस्थापना विधिमा भने घरको दियो राख्ने गरिएको हुन्छ । लिङ्गोमा वायुको झोली झुण्ड्याउने गरिन्छ । अग्निस्थापनाको विधि अनुसार पूर्वाङ्ग कर्म सकेपछि वायुको पूजा गर्ने गरिन्छ । कोठाको उत्तर र दक्षिण दुबैतिर शिला राखी वायु पूज्न बनाएको पूजा स्थानमा वायुको पूजा गरिन्छ । पूजा गर्दा सबभन्दा तल पाती विछ्याउने अनि बाबर, खिर, नौनी घिउ राख्ने पूजा गर्ने । वायुको पूजा सात्विक हुन्छ । यहाँ कार्य गर्ने व्यक्तिले अर्को कोठामा जान हुँदैन ।
(२) बीचको कोठा : यो कोठामा कुलको पूजा हुन्छ । यस कोठाको अगाडिको भित्तामा कुलको दियो कलश राख्ने स्थान बनाइन्छ । दियो कलश राख्ने स्थानसँगै कुलको पूजा गर्न १८ह१८ का वर्गाकार कोठा भएको रेखी हाल्ने स्थान बनाउनु पर्दछ । यस्तै कोठाको रेखी दुईस्थानमा हालिन्छ । पहिलो स्थान दियो कलश राख्ने स्थानसँगै र दोस्रो अलि तल सम्म बनाएको स्थानमा । पहिलोमा रेखी हाल्नका लागि ढुङ्गा विच्छ्याइएको हुन्छ र दोस्रोमा सम्म पारेर लिपेको हुन्छ । दुवै स्थानमा १८ह१८ को वर्गाकार आकारको कोठा भएको रेखी हाल्ने गरिन्छ । दियो कलशको स्थापना पछि प्रत्येक कोठामा पहिले पाती विछ्याउने अनि बाबर, खिर, नौनी घिउ र पूजाको कार्य गर्ने गरिन्छ । यहाँ बालिने दियो र कलश कुल राख्ने झोलामा हुन्छन् । बलिको कार्य यस कोठामा मात्र हुन्छ । सात्विक वा बोका बलि दुबैमा बलिलाई पहिले तलका कोठामा चढाउने र माथिका कोठामा लगेर राख्ने गरिन्छ । बोका बलि भएका स्थानमा तल्लोमा रगत पारेर माथिल्लोमा लगेर टाउको राख्ने गरिन्छ । यहाँ पूजा गर्ने मानिसलाई अरु कोठामा जान निषेध गरिएको हुन्छ ।
(३) पूर्वी कोठा : यो कोठामा गोठ पूजा हुन्छ । यस कोठाको अगाडिको भित्तामा ११ ओटा लिङ्गो स्थापना गर्न सेउली, ११ ओटा ढुङ्गा र त्यति नै दियोको व्यवस्था गर्नु पर्दछ । यहाँ बालिने दियो पनि कुलको झोलीबाट नै ल्याइन्छ । त्यस दिनको कुल पूजामा ११ घरसम्म बन्धु रहेछन् भने तिनै स्याउलीले काम गर्न सकिन्छ तर सोभन्दा बढी बन्धु भएमा जति हुन्छन् घर गन्ती थप्ने गरिन्छ । यहाँ भने ५ प्रकारका रेखी हाल्ने व्यवस्था छ । दियो कलश राख्ने स्थानसँगै पहिलो रेखी ११ ह११ को वर्गाकार कोठा भएको रेखी हाल्ने । यहाँ गोष्ठादि महारुद्रको पूजा हुन्छ । त्यस्तै दोस्रो ९ह९ को यस्तै प्रकृतिको वर्गाकार रेखी हुन्छ । यहाँ नवग्रहको पूजा हुन्छ । त्यसैगरी तेस्रो ७ह७ को वर्गाकार रेखी हुन्छ र यहाँ गोष्ठादि महारुद्रका अगुवा पछुवाको पूजा हुने गर्दछ । चौथो ५ह५ को वर्गाकार रेखी हो । यहाँ भीमसेनको पूजा हुने गर्दछ । त्यसैगरी यहाँ ३ह३ को वर्गाकार कोठाको अर्को रेखी हुन्छ । यसमा विन्दवासिनी नाम गरेकी देवीको पूजा हुने गर्दछ ।
(४) पूजा विधि र कर्ता: माथि अछामको रिमामा कुलपूजाका लागि प्रयोग गर्न उल्लेखित सामग्रीहरू नै यहाँ पनि व्यवस्थापन गरिएको हुन्छ । पूजा गर्दा अग्निस्थापनाको विधिलाई आधार बनाएको हुन्छ । पूजा गर्न न्यूनत्तम तीनजना एक एक कोठाका लागि र प्रत्येक कोठामा थप व्यक्तिको समेत व्यवस्था हुन्छ । पूजा गर्ने कर्ताको आपूर्ति उपस्थित पुरुष रिमालबाट हुन्छ । कुलायन पूजाका दिन बिहान नुहाइ सकेपछि घरको कुल राख्ने स्थानमा गएर दियो कलश तयारी गरी दियो, कलश, गणेश गरेर घरबाट कुल र वायुको झोली सहित मण्डपतिर प्रस्थान गरिन्छ । अन्य पूजाका दिन लैजाने सामग्री सहित गरी पूजास्थल जाने प्रचलन छ । यस कार्यमा पुरुषहरुको मात्र सहभागिता रहन्छ । पूजास्थलमा कार्य विभाजन गरी पुरुष रिमाल मात्र पूजामा सम्लग्न हुन्छन् । तीन ओटै कोठामा सबै रेखी एकै पटक हाल्न थालिन्छ । केही मानिस पूजामा सम्लग्न भए पछि केही भने प्रसादी तयारीमा लाग्दछन् । अग्निस्थापना विधिबाट पूजा गरी पूर्वाङ्ग सकेपछि सबैतिर एकै पटक पूजा थालिन्छ । अग्निस्थापनाले भने अनुसारको विधिबाट र मन्त्रको सहयोगमा सबैतिर पूजा गर्ने गरिएको हुन्छ । लगभग एकै पटक सबैतिर पूजाको कार्य सम्पन्न हुन्छ । पहिले तयार भएको तिलक पाती चढाइन्छ अनि उपस्थित सबैले लगाउने
प्रचलन छ । त्यहाँ पाकेको प्रसाद सबै पुरुष भाइ बन्धुले त्यही खाने र तिलक मात्र प्रसादीका रुपमा घरघरमा लैजाने गरिन्छ । घरमा लगेको तिलक भने सबै मानिस र गाइगोठमा समेत लगाउने गरिन्छ । पूजा हेर्न आउने आफन्त र घरका महिलाहरूका लागि भने बाहिरै प्रसादी बनाइन्छ । पूजास्थलमा प्रसादी खान थालेपछि बाहिर बनाएको प्रसाद पनि खाने खुवाउने प्रचलन छ । पूजामा प्रयोग भएका ध्वजा लगायतका कपडा देउताका झोलिमा र पैसा जति भानिज वा चेलिवेटी जो उपलव्ध छन् तिनैलाई टिको लगाएर दिने प्रचलन छ । पूजामा आएका सबै पुरुष सदस्यले प्रसादी लिएपछि कुललाई धुप बात्ती गरी पुनः बिहानकै जस्तो दियो, कलश, गणेश सहित कुल र वायुका झोली सहित फेरी मूल घरमा जाने देवता थन्याउने अनि घर घर जाने प्रचलन छ ।
निष्कर्ष र अवको बाटो
माथिका विभिन्न प्रकरणहरूमा रिमाल वंशको उत्पत्ति, विकास र विभिन्न व्यक्तिका योगदानका विषयमा यथोचित चर्चा गरिसकिएको छ । रिमाल वंशको उत्पत्ति नै बलिको सट्टा वा बलि दिन कवूल गरिएका भगवान्को आराधानाले बलि टार्न सकिन्छ भन्ने उदाहरणबाट भएको हो । हाम्रै इतिहासले यो कुरा व्यक्त गरेको छ । यसका मुख्य उदाहरणहरूमा राजा हरिश्चन्द्रको यज्ञ पशुका रुपमा किनेर ल्याइएका ब्रह्मण पुत्र शुनःशेपलाई विश्वामित्रले बलिका लागि अर्पण गरिएका देवता बरुणको आराधाना गर्न मन्त्र दान गरे यसै मन्त्रको प्रभावका कारण शुनःशेपले बरुणबाट जीवन दान पाएका थिए । पछि तिनै शुनःशेप देवताले बचाएका हुनाले देवरातका नामले परिचित भए । कौशिक गोत्रीय रिमाल, रेग्मी, ढुङ्गाना र फुँयाल लगायतका १७ थरका हामीहरू उनै देवरातका सन्तान हौं । यस उदाहरणले ऋषियुगमा रगतमा जात छैन कर्ममा जात छ भन्ने प्रचलित धारणालाई देवरातको कथाले प्रमाणित गरेको छ । यदि रगतका आधारमा जात र गोत्रको किटानी हुने भएको भए हामी कौशिक नभएर उनै शुनःशेपका पिता अजिगर्तको गोत्रमा हुने थियौं । त्यस्तै अर्को उदाहरण हाम्रा कुलका रुपमा पुजन गरिएका श्रीपालको नाम लिउँ । उनलाई सम्पूर्ण रिमाल परिवारले कुल र पितृ दुबै रुपमा पुज्ने गर्दछन् ।
हिन्दु परम्परा अनुसार पितृलाई बलि दिंइदैन । एकादश रुद्रसँगै उनको पुजन गरिन्छ । एकादश रुद्रलाई पनि बलि दिन हुँदैन । यसै आधारमा पनि बलि वर्जित छ भन्ने देखिन आएको छ । वेदका विभिन्न सन्दर्भमा बलिको चर्चा छ । सत्य, त्रेता र द्वापर युगमा पशुबलिका रुपमा मानवलाई प्रयोग गरेका उदाहरण भेटिए पनि कलियुगमा बलि वर्जित गर्नु पर्दछ भन्ने मत रहेको छ । जीव अधिकारका दृष्टिले हेर्दा पनि पशुबलि ग्राह्य छैन । मुख्य रुपमा बलिको प्रचलन तत्कालिन समुदायमा धामीको प्रचलन तथा कारणले भएको हो । अब नेपाली समाजमा धामीको प्रचलन सून्य प्रायः छ । रिमालहरूका विभिन्न स्थानका कुल पूजामा सात्विक बलिको थालनी भैसकेको छ । यस्तो अवस्थामा अब हामी कौशिक गोत्रीय रिमालहरूले पनि माथिका तथ्यको मनन गरी पशु बलिको त्याग गरी र सात्विक बलिको थालनी गरौं भन्ने आह्वान गर्दछौं ।