जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

रिमाल समाजका उल्लेखनीय ब्याक्तीहरु

रिमाल वंशमा उल्लेखनीय व्यक्तिहरू

क्र.म.

विवरण

नाम

पहिलो पंण्डितराज पं श्री सुदामा (पं सहस्रशिवानन्द)
पहिलो महामहोपाध्या पं श्री रामदत्त
पहिलो लप्टन श्री कुलदीप (१८८५–१९२५)
पहिलो हेडपण्डित श्री विष्णुहरि (आठौं पाणिनी उपाधि प्राप्त)
पहिलो बीए पास गर्ने श्री देवीप्रसाद (सन् १९२१)
पहिलो अग्रेजी शिक्षक श्री३ देवीप्रसाद (सन् १९२२)
पहिलो अग्रेजी शिक्षक श्री देवीप्रसाद (सन् १९२२)
पहिलो शाही कविराज श्री शिवनाथ
पहिलो सरदार श्री शिवनाथ
१० पहिलो मीरसुब्बा श्री लक्ष्मीनाथ
११ पहिलो बडाहाकिम श्री लक्ष्मीनाथ
१२ पहिलो नेपाली नागरिकको रूपमा कुटनीतिक पासपोर्ट लिने व्यक्ति श्री कृष्ण उपाध्याय (सन् १९३४)
१३ पहिलो प्राध्यापक श्री देवीप्रसाद (सन् १९५७)
१४ पहिलो इन्जिनियर श्री शंकरनाथ (सन् १९५७)
१५ पहिलो डाक्टर डा. श्री धनञ्जय (सन् १९५८)
१६ पहिलो पीएचडी गर्ने डा. श्री दुर्गानाथ (सन् १९६१)
१७ पहिलो एमए गर्ने श्री लक्ष्मणप्रसाद (वि.सं. २००९)
१८ लगातार तीन पुस्ताले एकै विद्यालयमा पढाउने अध्यापक पं पं श्री विष्णुहरि (वि.सं. १९३४) सेकेन्ड पं श्री नारायणप्रसाद (वि.सं. १९६४) मा श्री केदारनाथ (वि.सं. २०१०)
१९ पहिलो षडशास्त्री पं श्री विश्वनाथ (छैटौं पाणिनी उपाधि प्राप्त)
२० अठाह्रै पर्व महाभारत तथा युरोपीय महाभारतका रचयिता पं श्री नरेन्द्रनाथ
२१ पहिलो जगत्गुरु पं श्री कमल नयनाचार्य
२२ पहिलो चिफ जियोलजिस्ट डा. श्री चन्द्रकान्त शर्मा (सन् १९६८)
२३ पहिलो चिफ इन्जिनियर श्री गौरीनाथ (वि.सं २०२७)
२४ पहिलो सचिव श्री लक्ष्मणप्रसाद (वि.सं. २०२४)
२५ पहिलो मुख्यसचिव श्री भोगेन्द्रनाथ (वि.सं. २०३८)
२६ पहिलो राजदूत श्री विश्वेश्वरप्रसाद
२७ पहिलो एसएलसी परीक्षामा सर्वप्रथम बोर्ड फस्ट हुने श्री गोपालप्रसाद (वि.सं. १९९३)
२८ पहिलो ब्रिगेडियर जनरल श्री कुमुद
२९ पहिलो महानिर्देशक अतिथि सत्कार विभाग श्री रामप्रसाद
३० पहिलो कामु महानिर्देशक स्वस्थ्य सेवा विभाग डा. श्री रामरत्न
३१ पहिलो परीक्षा नियन्त्रक श्री डिल्लीराम
३२ पहिलो इन्जिनियरिङ तथा मेडिकल कलेजका संस्थापक डा. श्री रामरत्न
३३ पहिलो एप्लाइड सोसियोलजिष्ट श्री शिवरत्न
३४ रिमाल वंशमा पीएचडी गर्नेहरू डा. श्री दुर्गानाथ (सन् १९६१)
डा. श्री चन्द्रकान्त शर्मा (सन् १९६२)
डा श्री महेशराज (सन् १९९२)डा श्री राजीवनाथ (सन् १९९५)डा श्री सुरेन्द्र शर्मा (सन् १९९७)डा श्री अरविन्दप्रसाद (सन् १९९८)डा. डिल्लीराम (सन् २०१४)डा. मदनकुमार (सन् २०१४)

डा. दिपक (सन् २०१४)

डा. नरेश (सन् २०१४)

१ पं वाणवल : यिनका पिता विलम्वण तथा माता भानुमति हुन् । यिनी ज्योतिष शास्त्रका ठूला विद्वान थिए । पछिसम्म पनि सन्तान नहुँदा आफ्नी श्रीमती शोभनालाई साथ लिई तीर्थाटन गर्दै जाँदा जगन्नाथपुरी पुग्दा त्यहाँ एक खापरेश्वर नामका बालक देखा परे । शोभनाले प्रेमवश ती बालकलाई काखमा लिँदा बालक त्यही नै शिला भए तीर्थाटन गरिसकेर ती शिलालाई साथै ल्याएर खापरेश्वर जगन्नाथ स्थापना गरे । त्यसपछि ती सम्पूर्ण खप्तडवासीका आराध्यदेव भए ।

२ शोभाकर (चिमा) : पं वाणवलले खापरेश्वर जगन्नाथ स्थापना गरेर आराधना गरेपछि कालान्तरमा उनलाई तीन पुत्र लाभ भए । निमा, चिमा र चिन्तु । यिनै चिमा नै शोभाकर नामले प्रख्यात भए । त्यसैताक राजस्थानवाट आएका राजा हरिसिंह रानाले सेतीगंगा साक्षी राखी यिनलाई गुरु थापे । दक्षिणाबापत चिणनु लगाउने ठाउँ मागी जहाँसम्म लहरा पुग्दछ, सो ठाउँसम्म पाउँ भनी बिर्ता पाएँ ।

३ धर्मदास जोशी (रेग्मी) : पं वाणवलका पनाति धर्मदास जोशी (रेग्मी) हुन् । यिनले साके संवत् १२०१ मा ढोटी नरेश रिपुमल्लबाट ‘रेगम’ गाउँ कुशबिर्ता भएकाले प्रत्येक वर्ष कुशेऔंसीका दिन सात भारी कुश दरबारमा पुर्याउनु पर्दथ्यो ।

४ जयदेव (भोला) :  पं वाणवलका सन्ततिको चौधौ पुस्तामा जयदेव (भोला) भए । यिनी पहिले रोल, जोगीवाडामा बस्दथे । त्यहाँबाट शेरा हुँदै रिमामा गएर बसोबास गर्न थाले, त्यहाँदेखि रिमाल कहलिन थाले । यिनकै पालादेखि रिमाल थर कायम भयो ।

५ श्रीपाल :  यिनी जयदेव (भोलाका) पनाति हुन् । यिनका पिताको नाम हरि भट्ट हो । अनन्त चतुर्दशीको दिन आफ्नो पिताको श्राद्धको लागि भनेर लिएर आएको दही नजिकै राखी आफू पँधेरामा स्नान गर्न लाग्दा एउटा जोगीले आई दही झिकेर खाएछ । किन खाइस् ? भनेर वादविवाद हुँदा त्यस जोगीले श्रीपाललाई मरणासन्न गरी पिटेर त्यही मारी दिएछ । यसरी अगति परेर मरेको हुनाले त्यहाँदेखि कुलपूजामा पहिले सहस्रलिङलाई पूजा गरेपछि श्रीपाललाई भोग दिई पूजा गर्ने चलन चल्यो । अहिले पनि श्रीपाललाई मारेको ठाउँमा रिमालका रिमालहरूको कुलस्थान (मन्दिर) छ ।

६ पं विश्वनाथ (काशामुषु : यिनी श्रीपालका पनाति हुन् । यिनी जयदेव (भोला) का सातौं पुस्तामा पर्दछन् । अछाम जिल्ला ढकारी गाविसको रिमामा यिनको बसोबास थियो । यिनका ६ भाइ छोराहरू थिए । तर ती ६ भाइहरूमध्ये चार भाइहरू सानैमा देहावसान भएकाले, विरक्तिएर दुई भाइ छोराहरूलाई साथ लिएर पूर्वतिर बसाइँ सर्ने क्रममा त्रिशूली, फिर्केप आई बसे । यिनका जेठा छोरा सुदामा पं सहस्रशिवानन्दलाई फिर्केपमै छाडी कान्छो छोरो विष्णुवल्लभलाई साथ लिई पूर्वधनकुटा चानुवामा गई, त्यही वसोबास गरिबसे । धनकुटामै यिनको देहान्त भयो । कान्छा छोरा विष्णुवल्लभ चाहिँ धनकुटामै बसोबास गरिबसे ।

७ सुदामा (पं सहस्रशिवानन्द) : यिनी विश्वनाथका (काशामुषु जेठा छोरा हुन् । वि.सं. १६०० मा यिनले इंचगुनारायणको मूर्ति पुनस्र्थापना गरे । यिनीले त्यहाँ श्री महालक्ष्मी र सहस्रलिङ्ग श्रीपालको मूर्ति पनि स्थापना गरी आफैं पुजारी भए । विसं १६१७ मा राजा महेन्द्र मल्लले हनुमानढोकाको उत्तरमा महेन्द्रेश्वरको मूर्ति (हाल मखनटोलको श्री पशुपतिनाथ) को प्रतिस्थापन पनि यिनै पण्डितद्वारा गराए । राजा महेन्द्र मल्लले वि.सं. १६२१ माघमा यिनै पं सहस्र शिवानन्दलाई आचार्य गराई कोटीहोम गरे । राजाले यिनलाई इन्द्रचोकमा ठूलो घर बनाई दान दिए । त्यहाँदेखि यिनका सन्तति त्यहीं बसोबास गर्दै आएका छन् ।

८ पं भगीरथं तुलारामकल्याण रिमाल : राधुका पाध्याका खलकमा ऋषिका छोरा भगीरथ र तुलाराम ज्योतिष विद्याका ज्ञाता हुनाले श्री ५ पृथ्वीनारायण शाहले नुवाकोट हान्ने समयमा राम्रो साइत हेरिदिनु पर्यो भन्दा यिनीहरूले राम्रो साइत हेरिदिएर सोही साइतमा नुवाकोट माथि आक्रमण गर्दा श्री ५ पृथ्वीनारायण शाहको विजय भयो । अर्को कथनअनुसार यसैको सिलसिलामा आफ्नो सैनिकहरूलाई रासनपानीको कमी भएकोले मेरो फौजलाई सात दिन कसले पाल्न सक्छ ? भनी सोधनी गर्दा तुलारामको माहिला छोरा कल्याण रिमालले ‘म सात दिन होइन, सात महिना पाल्न सक्छु’ भनेर फौज पाल्न सहयोग गरे श्री ५ पृथ्वीनारायण शाहले यिनलाई २१०० रोपनी जग्गा बिर्ता दिएका थिए ।

९ पं भाष्कर : कल्याण रिमाललाई दरबारबाट काठमाडौं झिकाउँदा घरायसी कारणले आफूलाई आउन नसक्ने हुनाले आफ्ना भाइ भाष्कर रिमाललाई पठाए । भाष्कर लालमोहर सुनाउने अड्डामा मेम्बर भई काम गर्न थाले । लालमोहर सुनाउने दिनमा एक थान असर्फी पारिश्रमिक पाउँथे । उसबेला दरबारमा हुने समारोहमा उपस्थितभै त्यस किसिमको निमन्त्रणा पाई कुर्सीको आसन पाउनु ठूलो सम्मान संझिन्थ्यो ।

१० पं श्री रामदत्त शर्मा : यिनी पं श्री निधिका दुई छोराहरूमध्ये कान्छा हुन् । यिनको जन्म वि.सं. १८७६ मा भएको हो । यिनको पठनपाठन काशीमा भयो । यिनी षठ्शास्त्री भए । धर्मशास्त्र र न्यायशास्त्रमा यिनी पारंगत थिए । राजकीय संस्कृत महाविद्यालय, काशीमा प्राचार्य भए । उतै वि.सं. १९५६ मा यिनको देहान्त भयो ।

११ श्री ब्रह्मा जोशी : यिनी सुकुदेउका दुई भाइ छोराहरूमध्ये जेठा हुन् । यिनलाई वि.सं. १८९९ मा चौतरिया बबरजंग शाहले अछाम जिल्लाबाट टाडा गाउँको बिर्ता ‘उपरान्त भेरी पश्चिमको छापामाना चामल हलबन्दीको बञ्चापञ्जा तिमीले गर्नू’ भनी जिम्मेवाली पदवी दिएका थिए । यिनी अछाम जिल्लाको रिमामा नै बसे । यिनका सन्ततिहरू हाल अछाम जिल्लाको रिमा लमशिल्लामा बसोबास गर्दछन् ।

१२ हे पं विष्णुहरि : श्री मुरलीधरका ६ भाइ छोराहरूमध्ये यिनी कान्छा हुन् । यिनको जन्म वि.सं. १९०१ मा फिर्केपमा भयो । यिनको प्रारम्भिक शिक्षा गाउँमै भयो । पछि काशी गएर यिनले गुरु बालशास्त्रीसँग विद्या आर्जन गरे । काठमाडौं आई राजराजेश्वरीको पाठशालामा पढाउन थाले । पछि विसं १९३४ मा रानीपोखरी संस्कृत प्रधान पाठशाला स्थापना भएपछि सोही पाठशालाको पहिलो हेडपण्डित भई आजीवन अध्यापन गरे । व्याकरणका प्रकाण्ड विद्वान भएकोले यिनलाई ‘आठौं पाणिनी’ भनिन्थ्यो । वि.सं. १९७१ माघमा देवीघाट त्रिशूलीमा यिनको देहावसान भयो । यिनलाई श्री ३ वीरले रु. १० हजार दान दिएका थिए । यिनले सो रुपैयाँ फिर्केपमा आफ्ना दाजुभाइहरूको ऋण तिर्ने काममा प्रयोग गरे । प्रत्येक वर्ष मीन पचासमा फिर्केप गई ऋण तिरिदिने काम गर्दथे । यसरी उक्त रकम समाप्त हुन तीन वर्ष लाग्यो । यिनका चेलाहरूमध्ये (१) पण्डित सोमनाथ सिग्देल, (२) कविशिरोमणि लेखनाथ पौड्याल, (३) इतिहास शिरोमणि बाबुराम  आचार्य, (४) पं टेकनाथ पौडेल, (५) प्राचार्य पदमप्रसाद भट्टराई, (६) पं पीताम्वर वाग्ले (७) पं कृष्णदत्त पन्त प्रमुख हुन् ।

१३ पं इन्द्रनाथ : सुवे गुणाकरका तीन भाइ छोराहरूमध्ये यिनी कान्छा छोरा हुन् । यिनको जन्म वि.सं. १९०३ मा भयो । सुरुमा उनी मिलसियामा लप्टन भए । राणाका १७ भाइ खलकका प्रियपात्र भएकाले बरोबर कलकत्ता गई त्यहाँको गतिविधि श्री ३ मा जाहेर गर्नु पर्दथ्यो । श्री ३ रणोद्दीपको हत्यापछि श्री ३ वीरले राज्यारोहण गरेपछि कप्तान दर्जा दिई पटना अलैँची कोठीको हाकिम पदमा नियुक्त गरे । पटनामा रहँदा प्रत्येक महिना कलकत्ता गई भाइ सरायलाई भेटी सोबारे श्री ३ कहाँ जाहेरी गर्नु पर्दथ्यो ।

१४ पं रंगनाथ : यिनी सूर्यनारायणका पाँच भाइ छोराहरूमध्ये जेठा हुन् । यिनले विष्णु पुराणअन्तर्गत ३९ श्लोक भएको यम–गीताको नेपालीमा अनुवाद गरी वि.सं. १९४८ मा प्रकाशित गरे । यो पुस्तक मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ । यिनका सन्तती वीरगन्जमा बसोबास गर्दछन् ।

१५ पं विश्वनाथ : यिनी श्री पृथ्वीनाथका तीन छोराहरूमध्ये माहिला हुन् । यिनको जन्म वि.सं. १९१३ मा भयो । यिनको शिक्षादीक्षा काशीमा भयो र उतै अध्यापन गर्दै रहे । यिनी व्याकरणका प्रकाण्ड विद्वान भएकोले यिनलाई ‘पाणिनी’को उपाधि प्राप्त भयो । श्री ३ वीरको पालामा यिनलाई काशीबाट नेपाल झिकाइयो । एकपटक श्री ३ वीरले दरबारमा ठूलो सभा आयोजना गरी पं गंगादत्त र पं विश्वनाथको शास्त्रार्थ गराए व्याकरणमा दुबै जनाको विद्वत्ता बराबर ठहरियो । यिनी रानीपोखरी संस्कृत प्रधान पाठशालाका पण्डित थिए । काशीमा रहँदा त्यहाँका विद्वत्वर्गमा यिनको ठूलो सम्मान थियो । वि.सं. १९७५ मा यिनको देहावसान भयो ।

१६ जगत्गुरु कमलनयनाचार्य : यिनी विष्णुवल्लभका सन्तति योतिखरका चार छोराहरूमध्ये साहिला छोरा हुन् । यिनको जन्म वि.सं. १९२५ मा भाद्रकृष्ण दशमीका दिन नामसालिङ, ताप्लेजुङमा भएको हो । प्रारम्भिक शिक्षा दिङला र पछि जगन्नाथपुरीमा भयो । यिनले गुरु परम्परामा रही व्याकरण, अष्टाङ्ग योग र वेदान्त अध्ययन गरे । भारत, नेपाल र भुटानका धेरै स्थानमा श्री वैष्णव र हिन्दु परम्पराको प्रचार प्रसारमा संलग्न रहे । यिनका एक लाख ५० हजार शिष्यहरू छन् । यिनी विष्णुकाञ्चिका जगत्गुरु अनन्ताचार्यबाट अष्टाङ्ग योगमा दीक्षित भएका थिए । श्री बद्रीनारायणको आश्रममा श्री रघुनाथाचार्यबाट चौरासी आसनमा दीक्षित भएका थिए । ४० वर्षको उमेरदेखि केवल दुध मात्र आहार गर्ने हुनाले दुग्धहारीका नामले चिनिन्छन् । वि.सं. २०३३ सालदेखि जीवनको अन्तिम समयसम्म झापा जिल्लामा बसोबास गर्दै आएका थिए । यिनले कालीगण्डकीको किनार पूर्तिघाटमा, झापाको गाईघाट र भुटानको सूर्यलाखमा श्री लक्ष्मीनारायणको मन्दिर निर्माण गरेका छन् । विसं २०४० सालको गैंडाकोटको महायज्ञमा उपस्थित विद्वानहरूबाट जगत्गुरुको उपाधिबाट सम्मानित भएका थिए । वि.सं. २०४२ सालमा सूर्यलाख भुटानमा यिनको देहावसान भयो र तत्कालै समाधिस्थ गरियो । तर भारतका विद्वानहरूको परामर्शमा एक महिना पछि समाधिबाट झिकी सनातन परम्पराअनुसार दाहसंस्कार सम्पन्न भयो । एक महिनासम्म पनि उनको शवमा कुनै विकृति आएको थिएन । जस्ताको तस्तै थियो ।

१७ कवि पं नरेन्द्रनाथ : यिनी श्री दीनानाथका दुई भाइ छोराहरूमध्ये जेठा हुन् । यिनको जन्म विसं १९३७ मा कठेरी, त्रिशूलीमा भयो । पं हरिलालका पालादेखि नै काशी आवत्जावत सुरु भएकोले यिनको शिक्षादीक्षा पनि काशीमा नै भयो । वि.सं. १९६८ मा निजामती चार पास गरी तौलिहवामा मुखिया पदमा जागिर खाए । त्यसैताका औलोले आक्रमण ग¥यो र औषोधपचारको लागि काशी गएका बखत श्री ३ चन्द्रशमशेरले बरुणपुल टोलमा किनेको दरबारमा नै जागिर पाए । पछि त्यो दरबार फिल्डमार्सल केशरशमशेरको भागमा परेपछि नयाँ मालिकले भनेछन् ‘तिमी काठमाडौं हिँड, खरदार दर्जा पाउँछौ’ तर उनले भनेछन् ‘सरकार ! भिक्षुकले काशीमै बसेर सेवा गर्न पाए अहोभाग्य ठान्थें’ । खरदारभै चाँदतोडा लगाउने इच्छा छोडी आजीवन मुखिया पदमा रहन रुचाएर काशीमा बसी अध्ययन, लेखन तथा पुस्तक प्रकाशनमा दत्तचित्त रहे । यिनी नेपाली साहित्यको माध्यमिक कालका ठूला कवि हुन् । १८ पर्व महाभारतको सर्वप्रथम नेपाली भाषामा छन्दबद्ध गरी वि.सं. १९८१ मा आफंैले छपाए । सो पुस्तकको एक प्रति ब्रिटिस लाइब्रेरी, लन्डन र अर्कोप्रति मदन पुरस्कार पुस्तकालय, पाटनढोकामा सुरक्षित छ । वि.सं. १९७७ मा यिनले युरोपियन महाभारत पनि आफैंले प्रकाशित गराए । गीताको श्लोकबद्ध टीका गरी वि.सं. १९७७ मा प्रकाशित गर्दा श्री ३ चन्द्रशमशेरलाई समर्पण गरेका थिए । उक्त पुस्तकमा यिनले ‘देश विदेशमा मातृभाषाको माध्यमले ठूलठूला पदमा पुगेकाले, हाम्रो मातृभाषा पनि उन्नतिको शिखरमा पुग्नेछ’ भन्ने अभिव्यक्तिले नेपाली भाषाको उन्नतिमा यिनी आशावादी देखिन्छन् । यिनका एक छोरी श्रीमती विजयालक्ष्मी पौडेल तथा दुई पुत्रहरू प्रा शिवरत्न र डा. रामरत्न छन् । वि.सं. २००८ सालमा काशीमा यिनको देहावसान भयो । यिनका दुई कृति अठाह्र पर्व महाभारत र युरोपीय महाभारत वि.सं २०५८ सालमा पुनः प्रकाशन भएको छ ।

१८ सरदार कविराज शिवनाथ : पं विश्वनाथका आठ छोराहरूमध्ये यिनी ज्येष्ठपुत्र हुन् । यिनको जन्म वि.सं. १९४४ मा भयो । यिनले आयुर्वेद चिकित्सा प्रणालीको प्रवद्र्धन गरे । यिनले विभिन्न औषधिहरू पनि निर्माण गरे । यिनी श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रका शाही कविराज भई चिकित्सामा संलग्न रहे । श्री ३ भीम र श्री ३ जुद्धको स्वास्थ्योपचारमा पनि संलग्न रहे । श्री ३ जुद्धसँग भारतमा रहँदा भारतीय नेताहरूको पनि स्वास्थ्योपचारमा संलग्न रहे । वि.सं. २०२१ मा यिनको निधन भयो ।

१९ मिसु लक्ष्मीनाथ : पं विश्वनाथका आठ छोराहरूमध्ये यिनी माहिला छोरा हुन् । यिनको जन्म वि.सं. १९४६ मा भयो । तत्कालीन राणाशासनमा लामो समयसम्म प्रशासन र न्यायसेवामा संलग्न रहे । श्री ३ जुद्धको पालामा यिनी पाल्ही माझखण्ड गोश्वाराका वडाहाकिम भएका थिए । वि.सं. २०११ मा यिनको निधन भयो ।

२० कृष्ण उपाध्याय : यिनको चलनचल्तीको नाम देवीप्रसाद थियो । यिनी आठौं पुस्ताका सहस्रशिवानन्दका सन्तान एघारौं पुस्ताका ऋषि र उनका छोरा भगीरथका सन्तान हुन् । यिनी कोटेश्वर निवासी चेतनाथ र पदमकुमारीका छोरा हुन् । यिनको जन्म विक्रम सम्बत् १९५१ साल हो । सन् १९३४ सालमा बेलायतमा नेपालबाट राहदानी लिएर जाने पहिलो टोलीमा समावेश थिए । उक्त भ्रमणको नाम ‘ओजस्वी राजन्न मिसन’ थियो । बेलायतका लागि नियुक्त राजदूत बहादुर शमशेरको टोलीमा जाने सर्वसाधारण नेपालीको रुपमा यिनी रहेका थिए । यिनी राहदानी लिने पहिला रिमाल हुन् । उनको राहदानी तत्कालीन राहदानी विभागका महानिर्देशक केशर शमशेरबाट हस्ताक्षरित कुटनीतिक १० नं को राहदानी थियो । यिनले यसै राहदानीबाट बेलायत, फ्रान्स र इजिप्ट लगायतका युरोपीय देशको भ्रमण गरेको देखिन्छ । उहाँको राहदानी राहदानी संग्रहालय त्रिपुरेश्वरमा राखिएको छ ।

२१ प्रा देवीप्रसाद : यिनी पं देवीरमण र श्रीमती खेमकुमारीका ज्येष्ठ सुपुत्र हुन् । यिनको जन्म वि.सं. १९५३ मा काठमाडौंमा भयो । यिनले प्रारम्भिक शिक्षा दरबार स्कुलबाट गरेर सन् १९१७ मा कलकत्ता विश्वविद्यालयबाट म्याट्रिकुलेसन, सन् १९१९ मा आईए र सन् १९२१ मा बीए पास गरे । अंग्रेजीको साथसाथै संस्कृतको अध्ययन पनि कायम राखेका थिए । सन् १९२२ मा एमए दर्शनशास्त्र विषयमा अध्ययन गरे । काठमाडौंैं आई श्री ३ चन्द्रका हुकुम बमोजिम दरबार स्कुलमा शिक्षक भई सरकारी सेवामा प्रवेश गरे । यिनले दरबार स्कुलको साथै त्रिचन्द्र कलेजमा पनि अंग्रेजी विषय पढाउने गर्दथे । श्री ३ जुद्धका छोराहरूमध्ये धेरैजसोलाई र फिल्ड मार्सल रुद्रशम्शेरका दरबारमा उनका छोरा नातिहरूलाई पनि पढाउने गर्दथे । पछि यिनी पद्मकन्या कलेजका प्रथम प्रिन्सिपल भए । यिनका प्रमुख विद्यार्थीहरूमा सरदार यदुनाथ खनाल, प्रेमनाथसिंह प्रधान, रामप्रसाद जोशी, केशरबहादुर केसी, राजा तारकबहादुर शाह आदि हुन् । सरकारी सेवाबाट निवृत्त भएपछि विसं २०१२ देखि उनको जीवन तपस्वी जस्तै रह्यो, सधैं आध्यात्मिक चिन्तनमै रहन्थे । यिनले ‘नेपोलियन बोनापार्टको जीवनी’ र ‘वटुवाहरूको गन्थन’ भन्ने कृति लेखेका छन् । संस्कृतमा ‘गीता र गोपीका स्तुति’ पनि यिनका रचना हुन् । वि.सं. २०४४ भदौमा एउटा तपस्वीको जस्तो गरी पशुपति आर्यघाटमा यिनको निधन भयो ।

२२ कविराज नरेन्द्रनाथ : पं विश्वनाथका आठ भाइ छोराहरूमध्ये यिनी पाँचौं छोरा हुन् । यिनको जन्म वि.सं. १९५७ मा भयो । आयुर्वेद चिकित्सा सेवामा यिनले आफ्नो जीवन न्यौछावर गरे । औषधि निर्माणको निम्ति यिनले आरोग्य भवन स्थापना र संवद्र्धन गरे । वि.सं. १९४० मा ८३ वर्षको उमेरमा यिनको निधन भयो ।

२३ श्री कृष्णप्रसाद : वि.सं. २००७ साल अगाडि राणा विरोधी आन्दोलनको क्रममा काठमाडौंका धार्मिक स्थलहरूमा हुने प्रवचनको सिलसिलामा राजनैतिक चेतना जगाउने खालको भजन तथा प्रवचन मार्फत जनचेतना जगाउने कार्य गर्दथे । तात्कालीन नेपाल राष्ट्रिय कांग्रेसका सचिव, नेपाल भारत मैत्री संघको ३० वर्षसम्म अध्यक्ष भई कार्य गरेका थिए ।

२४ कवि गोपालप्रसाद : ‘एक जुगमा एक दिन एक चोटी आउँछ ।’ यिनी श्री उमाकान्त (नानीप्रसाद) र श्रीमती आदित्य कुमारीका चार छोराहरूमध्ये जेठा हुन् । यिनको जन्म वि.सं. १९७५ मा काठमाडौंको लगन टोलमा भयो । यिनी दरबार हाइस्कुलको अध्ययनकालमा प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिएका थिए । विलक्षण प्रतिभाका प्रतिमूर्ति गोपाललाई वि.सं. १९९३ को एसएलसी परीक्षामा प्रथम श्रेणीमा प्रथम (बोर्ड फस्ट) भएका थिए । त्रिचन्द्र कलेजमा आईए पढ्दापढ्दै छोडेर जुद्धोदय हाइस्कुलको शिक्षक र पछि बर्दियामा अमिनीको लप्टन भए । शोभा भगवतीमा गरिने भजन कीर्तन मार्फत राजनैतिक चेतना फैलाउने काम पनि गर्दथे । वि.सं. १९९७ सालको सहिद काण्डले उनी मर्माहत भएर भारततर्फ लागे । यिनकी पत्नीको अकालमा नै मृत्यु भएकोले, मायाको अभावले नै उनको मृत्यु भएको महसुस गरेर त्यसै संवेदनशील घटनालाई आधारमानी वि.सं. २०१० सालतिर ‘यो प्रेम’ नाटक लेखेका हुन् भनिन्छ । एक पटक बालकृष्ण समले नर्वेका यथार्थवादी नाटककार हेनरी ईब्सनको ‘पुतलीको घर’ यिनलाई पढ्न दिएछन् । त्यसपछि उनले नारी समस्यालाई मूल विषयवस्तु बनाई ‘मसान’ नाटक वि.सं. २००३ सालमा लेखेका हुन् । उनको ‘माया’ एकांकी वि.सं. २०१० सालतिर र ‘यो प्रेम’ विसं २०१६ सालमा प्रकाशित भएका छन् । वि.सं. २००७ सालको क्रान्तिपछि प्रजातन्त्रको स्थापना पश्चात यिनले ‘आमाको सपना’ कविता लेखेका थिए । उनी देशका लागि केही गरेर मर्ने भावनाका राष्ट्रवादी कवि थिए । यिनी वि.सं. २०१९ सालमा मदन पुरस्कार र वि.सं. २०३० सालमा त्रिभुवन पुरस्कारबाट सम्मानित भएका थिए । उनले वि.सं. २०२१ सालसम्म कविता लेखे । उनको अन्तिम कविता ‘एउटा टिपोट’ हो । त्यसपछि उनको सिर्जना शक्ति शिथिल हुँदै गयो । वि.सं. २०३० साल कात्तिक ८ गते ५५ वर्षको उमेरमा उनको देहावसान भयो ।

२५ मिसु भोगेन्द्रनाथ : यिनी श्री होमनाथ र श्रीमती उमादेबीका पाँच भाइ छोराहरूमध्ये माहिला छोरा हुन् । यिनको जन्म १९७९ मा भयो । यिनको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा भई त्रिचन्द्र कलेजबाट वि.सं. २००६ मा बीए पास गरे । वि.सं. २००८ सालमा श्री ५ को सरकारको सेवामा प्रवेश गरी वि.सं. २०३१ सालमा सचिव र वि.सं. २०३८ सालमा मुख्यसचिव (श्री ५ को सरकारको निजामती सेवाको सर्बोच्च पद) भए । वि.सं. २०४३ सालमा तात्कालीन श्री ५ महाराजाधिराजवाट मीरसुब्बा मान प्राप्त गरे । यिनी वि.सं. २०४४ सालमा अरब गणतन्त्र इजिप्टको लागि शाही नेपाली राजदूत नियुक्त भए । यिनी प्रबल गोरखा दक्षिण बाहू (दोस्रा) र सुविख्यात त्रिशक्तिपट्ट (दोस्रा) बाट विभूषित भएका छन् ।

२६ लक्ष्मणप्रसाद : यिनी प्रा देवीप्रसाद रिमाल र नीरमञ्जरीका पाँच छोराहरूमध्ये माहिला छोरा हुन् । यिनको जन्म वि.सं. १९८१ सालमा काठमाडौंैमा भयो । यिनको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलबाट एसएलसी १९९९ साल र त्रिचन्द्र कलेज, पटना विश्वविद्यालयवाट वि.सं. २००३ सालमा बी ए (B.A. Distinsion) सहित पास गरे । वि.सं. २००९ सालमा डीपीए (Dip-in-Adm) प्रथम श्रेणीमा प्रथम तथा वि.सं. २०१० सालमा एम.ए. (M.A. English Lit) गरे । यिनी रिमाल वंशमा एमए गर्ने पहिलो व्यक्ति हुन् । यिनले वि.सं. २००२ सालमा श्री ३ मोहनशमशेर आफैंद्वारा सञ्चालित परीक्षा छना्ेट भई श्री ३ कै कार्यालयमा खरिदारको पदमा सेवा आरम्भ गरेका थिए । पछि २००८ सालमा उक्त पदबाट राजीनामा गरे । २०१० सालमा एमए गरेपछि केही अवधि यिनले पाटन कलेज, पद्मकन्या कलेज र त्रिचन्द्र कलेजमा अध्यापन गरे । वि.सं. २०१५ सालमा गृह मन्त्रालयमा उपसचिव, वि.सं. २०१८ सालमा विकास मन्त्रालयमा सहसचिव, गृह, शिक्षा, विकास रा नि मन्त्रालय आदिमा सचिव, २०२३ सालमा जलस्रोत मन्त्रालयमा सचिव, लोकसेवा आयोगमा सचिव, वि.सं. २०२६ सालमा जलस्रोत मन्त्रालयमा पुनः सचिव, २०२८ सालमा निर्वाचन आयोगमा सचिव र २०३० सालमा सचिव पदवाट सेवा निवृत्त भए । यिनी सु.प्र. गोरखा दक्षिणबाहूबाट विभूषित भएका छन् । यिनले जापान, थाइल्यान्डको साथै वेलायत, अमेरिकाको पनि भ्रमण गरेका थिए । यिनको कृतिहरूमध्ये (Administration of Nepal During the Rana Resigm) प्रमुख छन् ।

२७ कलाकार हरिप्रसाद : यिनी घनश्यामका चारभाइ छोराहरूमध्ये साहिला छोरा हुन् । यिनको जन्म वि.सं. १९८२ मा भएको थियो । यिनले बालकृष्ण समको प्रल्हाद नाटकबाट वि.सं. १९९६ मा नाटक अभियानमा भाग लिएदेखि हालसम्म चार सयभन्दा बढी श्रव्य र पचासौं दृश्य नाटकहरूमा निर्देशन गरिसकेका छन् । यिनले तीन सयभन्दा बढी गीत गाइसकेका छन् । रेडियो नेपालको स्थापना हुँदा पहिलो ‘रेडियो स्वर’ यिनकै कण्ठबाट प्रस्फुटित भएको थियो । वि.सं. २०४२ को इन्द्रराज्य लक्ष्मी पुरस्कारबाट सम्मानित यिनले वि.सं. २०२३ सालमा श्री ५ मुमा बडामहारानीको शुभजन्मोत्सवमा उत्कृष्ट अभिनय गरेबापत ‘स्वर्णपदक’ प्राप्त गरेका थिए । वि.सं. २०३४ सालदेखि यिनी सांस्कृतिक संस्थानमा नाटक निर्देशनमा संलग्न थिए ।

२८ विश्वेश्वरप्रसाद : यिनी पण्डित जीवेश्वरका नाति र ईश्वरीप्रसादका कान्छा छोरा हुन् । यिनको जन्म विक्रम सम्वत् १९८६ साल ज्येष्ठ महिनामा भएको हो । यिनले सन् १९४९ मा कलकत्ता विश्वविद्यालयबाट बि.एस्सी. र सन् १९५४ मा सार्वजनिक अन्तराष्ट्रिय कानुनमा बि.एल. गरेका थिए । यिनले सन् १९५६ देखि नेपालको कुटनीतिक सेवामा काम गर्न थालेका थिए । सर्वप्रथम सन् १९५६ मा यिनले संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कमा नेपालको स्थायी मिसनमा काम गरे । सन् १९६० देखि निजामति सेवामा प्रवेश गरी नेपाल अधिराज्यको परराष्ट्र सेवामा काम गरेका हुन् । यिनले करिव २९ वर्षसम्म श्री ५ को सरकारको परारष्ट्र सेवा अन्तर्गत विभिन्न पदमा रहेर काम गरेका थिए । सन् १९८१ देखि ८३ सम्म इरान र सन् १९८५ देखि ८९ सम्म सोभियत संघमा नेपाली राजदूत भइ काम गरेका थिए । यिनले अन्तराष्ट्रिय स्तरका विभिन्न कुटनैतिक मिसन र विभिन्न सम्मेलनहरूमा भाग लिइ सरकारको प्रतिनिधित्व गरेका थिए । यिनले काम गर्दा जर्मनीबाट Officers Cross I Class, लाओसबाट दुई पटक National Order of Thousand Elephants and White Parasol Officer Ús Class, त्रिशक्तिपट्ट चौथो, राज्यभिषेक पदक, जनपद सेवा पदक र गोरखा दक्षिणबाहू तेस्रो पदकबाट विभूषित भएका थिए । सन् २००७ मा यिनको देहावसान भएको थियो ।

२९ रामहरि बाजे : नुवाकोटको भैरव माविको ४२ रोपनी पर्ती जग्गा, काठमाडौं त्रिशूली सडकको किनारा र त्रिशूली बजारभित्र हजारौ बिरुवा रोपेका छन् । उनले वि.सं. २०३३ सालदेखि आफ्नो काठ उद्योगले पु¥याएको क्षतिपूर्तिका साथै राजनीतिमा देखिएका विकृतिका विरुद्ध बिरुवा रोप्दै आएका छन् । वि.सं. २०५४ मा सुविधाभोगी नेताहरूको विरोधमा, वि.सं. २०५५ मा भ्रष्टाचारी नेताहरूको विरोधमा र वि.सं. २०५६ मा असक्षम आयोगका विरुद्धमा रूख रोपौं र संरक्षण गरौं भन्ने नाराका साथ उनले शमी, वर, पीपल लगाए । वि.सं. २०५६ मा जनसंख्या तथा वातावरण मन्त्रालयले उनलाई कदरपत्र र नगद पुरस्कारले सम्मान गरेको थियो ।

३० डा. धनञ्जयप्रसाद : यिनी प्रा. देवीप्रसाद र श्रीमती नीर कुमारीका पाँच छोराहरूमध्ये साहिला छोरा हुन् । यिनको जन्म वि.सं. १९८३ मा भयो । यिनको प्रारम्भिक शिक्षा दरबार स्कुल र आईएस्सी त्रिचन्द्र कलेजबाट सन् १९४७ मा उत्तीर्ण गरी कलकत्ता विश्वविद्यालयबाट सन् १९५८ मा एमबीबीएस उत्तीर्ण गरे । यिनी रिमाल वंशका पहिला डाक्टर (चिकित्सक) हुन् । तालिमः (१) सन् १९६२ देखि सन १९६३ सम्म बेलायतमा ब्लड बैंैकसम्बन्धी तालिम हासिल (२) सन् १९७७ मा विन, जर्मनीमा हेमो डाइलोसिस (Haemodialysis) सम्बन्धी तालिम हासिल ।

नियुक्ति र पदावधि :  (१) सन् १९५९ मा दाङ अस्पतालको मे अ (२) सन् १९६१ मा वीर अस्पतालमा मे अ (३) सन् १९६८ मा वीर अस्पतालमा सि मे अ (४) सन् १९७० मा वीर अस्पतालमा ब्लड बैंक विभाग प्रमुख (५) सन् १९६६—१९८० सम्म नेपाल रेडक्रस, ब्लड बंैकको प्रमुख । २०५८ सालमा यिनको निधन भयो ।

३१ श्री कर्णबहादुर क्षेत्री : यिनी श्री बहादुर क्षेत्रीका छोरा हुन् । यिनको जन्म वि.सं. १९८३ मा आर्थर डाँडाखर्क, पर्वतमा भयो । यिनले आर्थरमा रिमाल दाजुभाइहरूको समेत सहयोग लिई कुलदेवताको मन्दिर निर्माण गरेका छन् । वि.सं. २०४५ मा यिनी बसाई सरेर शिवपुर, कपिलवस्तुमा बस्दै आएका छन् । बुटवलबाट ६७ किलोमिटर पश्चिममा राजमार्गस्थित उक्त गाउँमा यिनले एउटा यात्रु विश्रामस्थल र धर्मशाला पनि निर्माण गरेका थिए ।

३२ प्रा. शिवप्रसाद : यिनको जन्म १९८७ मा टक्सार, सामरीमा भयो । परिश्रमी र लगनशील व्यक्तिलाई उमेरले कुनै बाधा पुर्याउँदैन भन्ने प्रमाण २५ वर्षको उमेरदेखि स्कुलको शिक्षा सुरु गरी ६५ वर्षको उमेरमा एमए पास गरे । ‘अजरामरवत प्राज्ञ विद्यां अर्थ च चिनन्तयेत’ भन्ने उक्तिलाई चरितार्थ गरेका छन् । गोरखाका उनका गुरुसँग पढाइ आरम्भ गर्दा उनको उमेर २५ वर्षको थियो र वाक्य बन्द थियो । गुरुसँग उनको शिक्षा प्राप्तिको क्रम चालू रहँदा ‘आफूमा आत्मशक्ति प्राप्त भएको र आफू बोल्न सक्ने भएको’ संस्मरण बडो भावुकता पूर्वक सुनाउँदछन् । ३० वर्षको अध्यापनपछि विद्यालयबाट निवृत्तपश्चात् हाल यिनी ‘बट्टार आदर्श क्याम्पस’ मा नेपाली विषयको प्राध्यापकको रूपमा कार्यरत छन् ।

३३ डा. चन्द्रकान्त शर्मा : श्री दीनानाथ र श्रीमती रुकमिणीदेवीका पाँच भाइ छोराहरूमध्ये जेठा छोरा हुन् । यिनको जन्म वि.सं. १९९० भएको हो । यिनले Indian School of Mines, Dhanabad बाट सन् १९५८ मा A.I.S.M. र विहार विश्वविद्यालयवाट B.Sc. -Hons_ र M.Sc गरे । सन् १९६२ मा अलिगढ मुस्लिम युनिभरसिटीबाट विद्यावारिधि गरे । सन् १९६२ मा सरकारी सेवा प्रारम्भ गरी सन् १९९२ मा जलशक्ति आयोगको कार्यकारी सचिव भए । यिनी नेपालको चिफ जियोलस्ष्टि हुन् । उनका भूगर्भसम्बन्धी १४ ओटा पुस्तकहरू प्रकाशित भएका छन् । उनी महेन्द्र विद्याभूषण तथा गोदवा तेस्रोबाट विभूषित भएका छन् उनले संसारका सबैजसो देशहरूको भ्रमण गरिसकेका छन् ।

३४ प्रा शिवरत्न : यिनी कवि पं नरेन्द्रनाथका जेठा छोरा हुन् । यिनको जन्म वि.सं. १९९० मा रामनगरमा भयो । यिनको प्रारम्भिक शिक्षादीक्षा काशीमा नै भयो । यिनले काशी विद्यापीठबाट सन् १९६० मा समाजशास्त्रमा एम.ए.एस. (Master Applied Sociology) गरे । यसरी एम.ए.एस. गर्ने पहिला रिमाल हुन् । तालिम तथा शैक्षिक भ्रमण : डेनमार्क, यूके तथा रोप र एसियाका केही मुलुकहरू । पदक : श्री ५ वीरेन्द्र शुभ राज्याभिषेक पदक, श्री ५ महेन्द्ररत्न पदक, राष्ट्रिय शिक्षा पदक । विभिन्न सामाजिक संघसंस्थाहरूको संस्थापक सदस्य : बाल संगठन, नेपाल अन्धा अपांग संघ, एसएलसी बोर्डको र जिल्ला शिक्षा छनोट समिति सदस्य भई काम गरेको । पूर्वप्राचार्य ऐश्वर्य विद्या निकेतन उच्च माध्यमिक विद्यालय, धनगढी । हाल जिल्ला विकास समिति कैलालीबाट कर्मचारी छनोट समितिको अध्यक्ष संस्थापक तथा संरक्षक नरेन्द्र वाङ्मय निधि यिनको बसोबास क्याम्पस रोड, धनगढीमा छ ।

३५ ई शंकरनाथ : श्री देवेन्द्रनाथ र श्रीमती सीतादेवीका तीन छोराहरूमध्ये यिनी ज्येष्ठ पुत्र हुन् । यिनको जन्म वि.सं. १९९१ मा टंगालमा भयो । प्रारम्भिक शिक्षा दरबार स्कुल र त्रिचन्द्र कलेजबाट गरी यिनले सन् १९५७ मा कलकत्ता विश्वविद्यालयवाट बीई पास गरे । वि.सं. २०१४ मा श्री ५ को सरकारको सेवामा प्रवेश गरे । यिनले जर्मनीमा विशेष तालिम पनि प्राप्त गरेका छन् । यिनी रिमाल वंशका पहिला इन्जिनियर हुन् । यिनी वरिष्ठ वास्तुकलाविद्, चित्रकलाकार, बहुआयामिक व्यक्तित्व भएका विस्तृत योजनाकार (Designer) पनि हुन् । टुँडिखेलको बीचमा रहेको सहिदगेट, पशुपतिको पुनर्निर्मित भैरव मन्दिर, प्रज्ञा प्रतिष्ठान, सोल्टी होटेल, तारागाउँ, एभरेस्ट होटेल र लुम्बिनीका विभिन्न स्मारक भवनहरूको अवलोकन गर्नेमध्ये थोरैलाई मात्र थाहा हुन सक्छ, यी स्मारक र भवनहरूका परिकल्पना र रचना कसले ग¥यो भन्ने (यी स्मारकहरूका परिकल्पनाकार हुन्– वरिष्ठ इन्जिनियर शंकरनाथ । श्री ५ महेन्द्रबाट ‘नेपाल स्मारक द्वार’ बनाउने काम दिए । उक्त द्वार (सहिदगेट) को डिजाइन यिनले गरे र उनका भाइ इन्जिनियर गौरीनाथले बनाएका हुन् । २०१७ सालदेखि नारायणहिटी राजदरबारको नयाँ निर्माण काममा संलग्न रहे । नारायणहिटीको मंगल सदन, नानीगञ्ज र दरबार परिसरको डिजाइन यिनैको हो । यिनी राष्ट्रिय योजना आयोगका सदस्य पनि भएका थिए । यिनी विभिन्न प्राविधिक संस्थाहरूको सदस्य पनि छन् ।

३६ ई. गौरीनाथ : श्री देवेन्द्रनाथ र श्रीमती सीतादेवीका तीन छोराहरूमध्ये यिनी माहिला पुत्र हुन् । यिनको जन्म वि.सं. १९९२ मा भयो । यिनले प्रारम्भिक शिक्षा दरबार स्कुल र त्रिचन्द्र कलेजबाट गरी यिनले सन् १९५७ मा कलकत्ता विश्वविद्यालयवाट बीई पास गरे । यिनले विसं २०१४ मा श्री ५ को सरकारको सेवामा प्रवेश गरे । वि.सं. २०३३ सालमा इन्जिनियरिङ संस्थानको डिन भए । वि.सं. २०३६ सालमा यिनी शाही नेपाल बायुसेवा निगमको अध्यक्ष भए । वि.सं. २०४७ सालमा जलस्रोत मन्त्रालयको सचिव भए । विश्व प्रदर्शनी सन् १९८५ मा जापानमा विश्व प्रदर्शनी र सन् १९८८ मा अस्ट्रेलियाको विश्व प्रदर्शनीमा यिनी C. General भएका थिए । साथै पछि लुम्बिनी विकास समितिको पहिलो सदस्यसचिव भएका थिए । यिनी गोदवा दोस्रो तथा त्रिशक्तिपट्ट तेस्रोबाट विभूषित भएका छन् ।

३७  डा. दुर्गानाथ :श्री देवेन्द्रनाथ र श्रीमती सीतादेवीका तीन छोराहरूमध्ये यिनी कान्छा पुत्र हुन् । यिनको जन्म वि.सं. १९९३ मा भएको थियो । प्रारम्भिक शिक्षा दरबार स्कुल र त्रिचन्द्र कलेजबाट गरी यिनले Indian School of Mines, Dhanbad बाट सन् १९५८ A.I.S.M. र बिहार विश्वविद्यालयबाट B.Sc. -Hons_ र M.Sc. मा प्रथम श्रेणीमा प्रथम भई स्वर्ण पदक प्राप्त गरे । यिनले २०१४ सालमा श्री ५ को सरकारको सेवामा प्रवेश गरे । यिनले सन् १९६१ मा University of New Mexico, U.S.A. बाट विद्यावरिधि (Ph.D) गरे । यिनी नेपाल भौगर्भिक सर्भेक्षण विभागमा महानिर्देशक पनि भए । हाल यिनी (Bureau of Land Management, D.C., U.S.A.) मा कार्यरत छन् ।

३८ डा. राम रत्न : यिनी कवि नरेन्द्रनाथका कान्छा छोरा हुन । यिनको जन्म वि.सं. १९९३ मा रामनगरमा भयो । यिनको प्रारम्भिक शिक्षा काशी हिन्दु विश्वविद्यालयबाट भयो यिनले कलकत्ता विश्वविद्यालयबाट एमबीबीएस (M.B.B.S) गरे । यिनले भारत, बेलायत, अमेरिका र क्यानडामा विशेष तालिम प्राप्त गरे । सक्रियता : काशी हिन्दु विश्वविद्यालय, नेपाली छात्र संघको महामन्त्री (१९६२) । खेलकुद : कलकत्ता विश्वविद्यालय कुलपति बीबी मल्लिकद्वारा हकी खेलमा ब्लु प्रदा, आजी कार मेडिकल कलेजको हकी क्याप्टेन (१९६१ (६२) । लेखन : कलेज तथा छात्रसंघको मुख पत्रिकामा कथा तथा कविता प्रकाशन । पदक : सुप्रबल गोरखा दक्षिणबाहु (तृतीय) । कार्य संलग्नता : अध्यक्ष नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुर संस्थापक तथा सञ्चालक नेपाल मेडिकल कलेज अत्तरखेल, जोरपाटी काठमाडौं, कामु महानिर्देशक श्री ५ को सरकार, स्वास्थ्य सेवा विभाग । अध्यक्ष : नरेन्द्र बाङ्मय निधि ।

३९ कवि भैरवनाथ ‘कदम’ : डि. गहोपालनाथका छोरा भैरवनाथ रिमाल ‘कदम’ साहित्यकारको रूपमा प्रसिद्ध छन् । खासगरी कविता र गीति कविताको क्षेत्रमा यिनको योगदान उल्लेखनीय छ । वि.सं. १९९३ साल माघ २ गते ठमेलमा जन्मेका कदमका प्रकाशित पुस्तकहरूको संख्या २४ पुगेको छ । तीमध्ये भैचम्पा, वनबगर, झझल्को, ढुंगाको मूर्ति, कहाँ छैन आश आदि प्रमुख छन् ।

४० वासु रिमाल ‘यात्री’ : यिनी श्री हरिप्रसाद र श्रीमती टंकेश्वरीका ६ छोराहरूमध्ये पाँचौं छोरा हुन् । वि.सं. १९९७ मा यिनको जन्म कलैया बारामा भएको थियो । यिनले जीवनी, बालसाहित्य समालोचना, उपन्यास आदि विधामा कलम चलाएका छन् । यिनका प्रकाशित कृतिहरूमा (१) विश्वका महान् व्यक्तिहरू, (२) केही साहित्यिक चिन्तनहरू, (३) माया मूर्ति, (४) जनआन्दोलन पछिका नेपाली कविता, (५) सम्पादन (बालक (द्वैमासिक) अठ्ठाइस कथा, कदीका केही आँखा ः केही परिभाषा, ॐ नम ः शिवाय, विदेह आदि, (६) संयुक्त लेखन : केही प्रश्न : केही समाधान । दुई दशकसम्म रासस मा सेवापश्चात हाल निवृत्त भएका छन् । रिमाल वंशावलीको पहिलो संस्करणको भूमिका तयार गर्नमा उहाँको योगदान रहेको छ ।

४१ सहायक रथी कुमुदनाथ : यिनी श्री तेजेन्द्रनाथ रिमाल र श्रीमती गायत्री रिमालका तीन छोराहरूमध्ये कान्छा छोरा हुन । यिनको जन्म वि.सं. २००७ सालमा भयो । प्ररम्भिक शिक्षा पद्मोदय हाइस्कुल र त्रिचन्द्र कलेजबाट आईकम गरी वि.सं. २०२६ सालमा शाही नेपाली सेनामा सहायक सेनानीमा नियुक्त भए । यिनले मद्रास विश्वविद्यालयवाट M.Sc. -Defense Studies, Military Science_, गरेका छन् । हाल यिनी सहायक रथी (Brigadier General) पदमा सेवारत छन् । यिनको स्वर्गारोहण २०७० वैशाख २० गते भएको थियो ।

४२ डा. राजीवनाथ : यिनी सहश्र शिवानन्दका सन्तान हुन् । श्री रवीन्द्रनाथ र श्रीमती शिला दुई छोराहरूमध्ये जेठा हुन् । यिनको जन्म वि.सं. २०१२सालमा काठमाडौंमा भयो । यिनको प्रारम्भिक शिक्षा सेन्ट जेभियरबाट सन् १९७९ मा र अमृत साइन्स क्याम्पसबाट सन् १९८३ मा भयो । यिनले भोपाल विश्वविद्यालयबाट सन् १९८८ मा बी.ई (B.E) पास गरे । यिनी हाल सयुक्त राज्य अमेरिकामा बसोबास गर्दछन् । यिनी संयुक्त राज्य अमेरिकाको बाल्टीमोर, जोन हपकिन्स विश्वविद्यालयमा जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थमा स्वास्थ्य, व्यवहार र समाज विभागका अध्यक्ष एवम् प्राध्यापकको रुपमा कार्यरत छन् । यस विश्वविद्यालयलाई संयुक्त राज्य अमेरिकाको सार्वजनिक स्वास्थ्य शिक्षाको सर्वश्रेष्ठ विश्वविद्यालय मानिन्छ । यस पहिले, राजीव जर्ज वाशिङ्गटन विश्वविद्यालयको मिलकेन इन्स्टिच्यूट स्कूल अफ पब्लिक हेल्थमा रोकथाम एवम् सामुदायिक स्वास्थ्य विभागको प्राध्यापक र अध्यक्ष थिए । उनले अस्टिनको टेक्सास विश्वविद्यालयमा सहायक प्रोफेसरको रूपमा पनि काम गरिसकेका छन् ।

उनले अन्तर्राष्ट्रिय सञ्चार संघ र राष्ट्रिय सञ्चार संघ दुबैको स्वास्थ्य सञ्चार विभागको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् । यिनीसँग विश्वव्यापी स्वास्थ्यको पदोन्नति गर्न हस्तक्षेप सम्बन्धी अवधारणा, कार्यान्वयन र मूल्याङ्कनमा २५ वर्षभन्दा बढीको अनुभव छ । यिनको थ्योरी अफ नर्मेटिभ सोसल बिहेभियर नामक पुस्तक प्रकाशित छ । यो पुस्तक विश्वभरिका विभिन्न अध्ययनहरूमा लागू गरिएको छ । सामाजिक परिवर्तनका लागि हस्तक्षेप गर्न यो पुस्तकबाट प्रतिपादित सिद्धान्तको अत्यधिक प्रयोग भइरहेको छ ।

४३ पं छविरमण उपाध्याय : यिनी पं खडानन्द तथा श्रीमती जानुका देवीका आठ छोराहरूमध्ये माहिला छोरा हुन् । यिनको जन्म वि.सं. २०१३ मा साप्लाखु, ताप्लेजुङमा भएको हो । यिनको प्रारम्भिक शिक्षा घरमै भई पूर्वमध्यमादेखि शास्त्रीसम्मको शिक्षा सम्पूर्णानन्द विश्वविद्यालयबाट गरे । वि.सं. २०४४ सालदेखि वि.सं. २०५० सालसम्म श्री लक्ष्मी मा वि बनियानी, झापामा शिक्षक भई सेवा गरे । २०५२ सालमा देखि रिमाल वंशावली संकलन कार्यमा संलग्न रही मेचीदेखि महाकालीसम्म र भारतका विभिन्न भागमा भ्रमण गरी वंशावली तयार गर्नमा योगदान गरे । रिमाल वंशावली प्रकाशन गर्नमा यिनको ठूलो योगदान छ । पूर्वमा आसामदेखि पश्चिममा अछाम, सुर्खेत, बझाङ कैयौ पटक गई वंशावली संकलन कार्य गरे । २०५७ साल चैत्रमा वंशावली संकलन कार्यकै क्रममा पाँचथर जिल्लाको नागिन भन्ने स्थानमा लामो समयसम्म निमोनियाबाट पीडित भई त्यसै स्थानमा यिनको देहावसान भयो । हाल यिनका परिवारको बसोवास झापा जिल्ला लखनपुर गाविस वडा नं ६ लालध्वान्द्रमा छ ।

४४ डा. अरविन्दप्रसाद : यिनी कलाकार श्री हरिप्रसाद तथा श्रीमती कल्याणीका दुई छोराहरूमध्ये कान्छा हुन् । यिनको जन्म वि.सं. २०१८ मा भयो यिनले प्रारम्भिक शिक्षा डीएमपीएस सानोठिमी र नेपाल कमर्स क्याम्पस, त्रिविबाट सन् १९८२ मा एम कम (MCom) गरे । सन् १९८६ देखि सन् १९९२ सम्म कृषि विकास बैंकमा कार्यरत थिए । Asian Institute of Management, Phillipines, बाट M.B.A र Rotger University बाट सन् १९९४ मा M.S. University of Florida बाट सन १९८८ मा खाद्य र स्रोत अर्थशास्त्र (Food and Resource Economics) मा विद्यावारिधि गरे । हाल यिनी सहायक प्राध्यापक पदमा कार्यरत छन् ।

४५ डा. सुरेन्द्र शर्मा रिमाल : यिनी डा चन्द्रकान्त शर्मा र श्रीमती पुष्पा शर्माका तीन छोराहरूमध्ये माहिला हुन् । यिनको जन्म वि.सं. २०१९ सालमा काठमाडौंमा भएको हो । यिनको प्रारम्भिक शिक्षा लेबोरेटरी स्कुलबाट र त्रिविबाट सन् १९८७ एमबीए (M.B.A.) पूरा गरे । यिनले सन् १९९७ मा इनसबु्रक विश्वविद्यालय, अस्ट्रिया (University of Innsbruck, Austria) बाट आर्थिक विषयमा विद्यावारिधि गरे । हाल यिनी नोभा स्कटिया बैक, टोरन्टो, क्यानडा (Bank of Nova Scotia, Toronto) मा कार्यरत छन् ।

४६ डा. महेशराज : यिनी श्री कृष्णप्रसाद र श्रीमती शारदाका तीन छोराहरूमध्ये माहिला छोरा हुन । यिनको जन्म वि.सं. २०२० मा सप्तरीमा भयो । भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरीबाट एसएलसी र अमृत साइन्स क्याम्पसाट आईएस्सी उत्तीर्ण गरी आर.ई. कलेज, दुर्गापुर, भारतबाट सन् १९८७ मा बी.ई. (B.E. Hons) मा सर्वप्रथम भई स्वर्ण पदक प्राप्त गरे । सन् १९८९ मा ए आईटी बैंककबाट एम.ई. (M.E. Structures) गरी सन् १९९२ मा टोकियो विश्वविद्यालयबाट भूकम्पसम्बन्धी विषयमा विद्यावारीधि (Ph.D earthquakes) गरे । यिनी वि.सं. २०४९ मा महेन्द्र विद्या भूषणबाट विभूषित भएका छन् । हाल यिनी (Obayashi Corporation, Sydney) मा कार्यरत छन् ।

४७ डा.डिल्लीराम : यिनी सातौं पुस्ताका विश्वनाथ (काषामुषु का कान्छा छोरा विष्णुवल्भका सन्तान हुन् । यिनी १९ पुस्ताका हरिप्रसाद र दिलमायाका पाँच छोरामध्येका साहिला छोरा हुन् । यिनको जन्म विक्रम सम्वत् २०१६ सालमा धनकुटा जिल्लाको साविक चानुवामा भएको थियो । यिनको प्रारम्भिक शिक्षा धनकुटाको चानुवा र मोरङको इटहरामा भएको थियो । यिनले विक्रम सम्वत् २०३४ सालमा तेह्रथुमबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । पछि विक्रम सम्वत् २०३९ मा प्रवीणता प्रमाणपत्र तह, २०४१ मा त्रिभुभव विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट स्नातक, कीर्तिपुरबाटै २०४५ मा नेपाली भाषा तथा नेपाली साहित्यमा स्नातकोत्तर (एम.ए.) २०४९ सालमा नेपाली शिक्षामा स्नातकोत्तर (एम.एड), २०६२ सालमा शैक्षिक नेतृत्व विषयमा काठमाडौं विश्वविद्यालयबाट एम.फिल र २०७१ सालमा बहुभाषिकता विषयमा त्रिभुवन विश्विविद्यालयबाट विद्यावारिधि गरेका हुन् । यिनले शिक्षक तथा प्रधानाध्यापक, अभ्यास शिक्षण प्रमुख तथा सहायक प्राध्यापक, शिक्षा शास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर काठमाडौं लगभग १६ वर्ष शिक्षण गरेका छन् । यिनले २०५३ सालदेखि २०७४ सालसम्म निजामति सेवाका जिल्ला शिक्षा अधिकारी लगायतका विभिन्न समानस्तरका पदमा र सहसचिवस्तरका क्षेत्रीय शिक्षा निर्देशक, उपमहानिर्देशक, परीक्षा नियन्त्रक, कार्यकारी निर्देशक, महानिर्देशक, सहसचिव भूमिका निर्वाह गरेका हुन् ।

सदस्य सचिव, राष्ट्रिय परीक्षा बोर्ड र समय समयमा मन्त्रालयको निमित्त सचिवको भूमिका निर्वाह गरेका छन् । यिनले थाइलेण्डको चुलालोङ्कन विश्वविद्यालयबाट उच्च शिक्षाको योजना निर्माण र स्विडेनको उपशाला विश्वविद्यालयबाट दिगो विकासका लागि शिक्षा विषयमा तालिम हासिल गरेका हुन् । आफ्नो जिम्मेवारी निर्वाहको व्रmममा भारत, बङ्गलादेश, श्रीलङ्का, थाइलेण्ड, फिलिपिन्स, इण्डोनेसिया, मलेसिया, जापान, चीन, स्विडेन, फ्रान्स, वेलायत, फिनलेण्ड र संयुक्त राज्य अमेरिकाको भ्रमण गरी देशको शिक्षा मन्त्रालयको प्रतिनिधित्व गरेका छन् । यिनका प्राथमिक तहमा भाषिक विविधताको सम्बोधन, नेपाली नाटक, एकाङ्की र निबन्ध, नेपाली शिक्षण लगायतका विभिन्न पुस्तक र अनुसन्धानमूलक दर्जनौं लेखहरू प्रकाशित छन् । २०७४ देखि अवकास भइ हाल विभिन्न अध्ययन अनुसन्धन र शिक्षणका क्षेत्रमा कार्यरत छन् । यिनले भाषा आयोगका विभिन्न भाषाका प्रतिवेदनहरूको मूल्याङ्न, राना थारु भाषा, भोजपुरी भाषा र बज्जिका भाषामा शिक्षा सम्बन्धी अध्ययन तथा प्रतिवदेन लेखनको काम गरेका छन् । यिनले नेपाल विद्याभूषण ‘क’ र शिक्षा पुरस्कार प्राप्त गरेका छन् । रिमाल समाजको आजीवन सदस्य रही रिमाल वंशावलीको प्रथम संस्करण प्रकाशनको कार्यमा संलग्न थिए । समाजको स्थापनाकालदेखि नै सम्लग्नता विभिन्न कार्यकारी पदहरूमा जिम्मेवारी निर्वाह गरी हाल समाजको केन्द्रीय कार्य समितिको अध्यक्षको भूमिकामा संलग्न रहेका छन् ।

४८ प्राध्यापक डा. मदनकुमार : यिनी सहश्रशिवानन्दतिरका १८ पुस्ताका गोविन्दप्रसाद उपाध्याय र लीलामञ्जरी देवीका दुई छोरामध्येका कान्छा छोरा हुन् । यिनको जन्म विव्रmम सम्वत् २०१६ सालमा मीन बजार जलेश्वरमा भएको थियो । यिनले सन् १९७८ मा जलेश्वरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । यसैगरी सन् १९८० मा रा.रा. बहुमुखी क्याम्पस, जनकपुरबाट आई.ए, सोही क्याम्पसबाट सन् १९८३ मा बी.ए, नेपाल ल क्याम्पस, काठमाडौंबाट सन् २००० मा एल.एल.बी, सन् १९८५ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट Nepalese, History, Culture and Archaeology स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा Archaeological and Cultural Heritage of Janakpur Dham विषयमा विद्यावारिधि गरेका हुन् । यिनी विक्रम सम्वत् २०४४ सालदेखि नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा प्राध्यापन गर्दै आएका छन् । २०७५ सालदेखि प्राध्यापक भइ कार्यरत छन् । हाल यिनी त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागको विभागाध्यक्ष भइ कार्य गरिरहेका छन् । यिनले नेपाली इतिहास, संस्कृति र पुरात्तवका क्षेत्रमा अध्ययन र अनुसन्धान गरी दर्जनौं प्रतिवेदन, अनुसन्धनात्मक लेख र पुस्तकहरू प्रकाशन गरिसकेका छन् । यिनले नेपाल विद्याभूषण ‘क’, महेन्द्र विद्याभूषण ‘ख’, गोकुलचन्द्र शास्त्री पदक, शिक्षा मन्त्रालयबाट शिक्षा पुरस्कार, संस्कृति, पर्यटन र नागरिक उड्डय मन्त्रालयबाट सम्मान पत्र पाएका छन् ।

४९ डा. दिपक : यिनी सातौं पुस्ताका विश्वनाथ (काषामुषु का सन्तान हुन् । १९ पुस्ताका हेमचन्द्र र मीनाका दुई छोरामध्येका जेठा छोरा हुन् । यिनको जन्म विक्रम सम्वत् २०२० सालमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरामा भएको थियो । यिनको प्रारम्भिक शिक्षा झापाको श्री जनता माध्यमिक विद्यालय, बैगुन्धुरामा भएको थियो । यिनले सन् १९९५ सालमा झापा जिल्लाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । पछि विज्ञान विषयमा विराट साइन्स क्याम्पस, विराटनगरबाट प्रवीणता प्रमाणपत्र तह, भौतिक विज्ञानमा काठमाडौंको त्रिचन्द्र कलेजबाट स्नातक (B.Sc) र भौतिक विज्ञानमै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर (M.Sc) गरेका हुन् । यिनले सन् २०१४ सालमा फ्लोरिडा अन्तराष्ट्रिय विश्वविद्यालयबाट भौतिकशास्त्र तर्फको परमाणुको केन्द्रमा हुने धनात्मक चार्ज भएको प्रोटोनमा हुने विद्युतीय र चुम्बकीय चार्जको अन्तरिक वितरण सम्बन्धी विषयको प्रयोगात्मक अध्ययन विषयमा विद्यावारिधि गरेका हुन् । यिनले परमाणु भौतिक विज्ञानको क्षेत्रमा विभिन्न अन्तरास्ट्रिय जर्नलहरूमा ७५ भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिसकेका छन् । यिनका केही अप्रकाशित विभिन्न अनुसन्धनात्मक कृतिहरू पनि तयार छन् । हाल यिनी संयुक्त राज्य अमेरिकाको शिकागोमा बस्दै आएका छन् ।

५० डा. नरेशनाथ : यिनी सातौं पुस्ताका काषामुसुका छोरा आठौँ पुस्ताका सुदामा (पं. सहश्रशिवानन्द) का ऋषि र राधुकामध्येका राधुकाका कृष्णदेव र कृष्णदेवका एक छोरा ऋषिका छोरा तुलारामका सन्तान हुन् । यिनी १७ पुस्ताका होमनाथका नाती मीरसुब्बा बोगेन्द्रनाथ र ईश्वरी आचार्यका पाँच छोरामध्येका कान्छा छोरा हुन् । यिनको जन्म विक्रम सम्वत् २०२८ सालमा काठमाडौंको ज्ञानेश्वरमा भएको थियो । यिनको प्रारम्भिक शिक्षा काठमाडौंमा भएको थियो । यिनले अमेरिकाको वासिङ्टन विश्वविद्यालयबाट वातावरण व्यवस्थापन विषयमा स्नातक र त्यसै विश्वविद्यालयबाट वातावरण तथा नीति विषयमा स्नातकोत्तर गरेका हुन् । यिनले सन् २०१४ मा अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयबाट नेपालमा खाद्य सुरक्षाको आधारभूत सिद्धान्त, बजारको मौलिक अस्तित्व, सैद्धान्तिक योगदान, जैविक विविधता, कृषि र सामाजिक रूपान्तरण विषयमा विद्यावारिधि गरेका हुन् । यिनले विभिन्न विश्वविद्यालयमा शिक्षण सहयोगी, भिजिटिङ् प्राध्यापक र गेष्ट प्राध्यापकका रुपमा काम गरेका छन् । यिनले विशेष गरी अनुसन्धान विधि, शोध लेखन र निर्देशन, सामाजिक तथा वातावरणीय क्षेत्रमा वरिष्ठ परामर्शदातृ, विभिन्न परियोजना निर्माण र कार्यान्वयनका क्षेत्रमा काम गरेका छन् । यिनले खासगरी ग्रामीण समुदायको खाद्य सुरक्षामा योगदान पुर्याएका छन् । नेपालको बजार प्रणाली, मौद्रिकता र मुद्रीकरणको दिगोपन, सामाजिक (पारिस्थिति र सांस्कृतिक अखण्डताका क्षेत्रमा विशेष योगदान रहेको छ ।

यिनले धनकुटा जिल्लाका समुदायको जीवनयापनको अनुभव लिन स्टोरी) वेबको विकास गर्न सिस्टम थिंकिङ एण्ड ग्राउन्डेड थ्योरीलाई डिस्टिल गरेका छन् । यो अध्ययन सन् २००९–२०१४ को बीचमा गरिएका अनुसन्धान गतिविधिहरूमा आधारित छ । यिनको अनुसन्धान गतिविधिले खाद्य, वातावरण र राष्ट्रिय सुरक्षा सरोकारका क्षेत्रहरूलाई ओगटेको छ । यिनले नेपाल, अमेरिका र अष्ट्रेलियाका विभिन्न विभिन्न विश्वविद्यालयमा अनुसन्धानकर्ताको रुपमा रही कार्य गरेका छन् ।

५१ श्री रामलक्ष्मण : यिनीहरू सातौँ पुस्ताका काषामुसुका छोरा आठौं पुस्ताका सहश्रशिवानन्द (सुदामा) का सन्तान हुन् । यिनीहरू २० पुस्ताका ईश्वरीप्रसाद र टुककुमारीका चार छोरामध्ये जेठा र माहिला छोरा (जुम्ल्याहा) हुन् । यिनहरूको जन्म विक्रम सम्वत् २०३७ सालमा नुवाकोटको मदानपुर, बेलकोट गढीमा भएको थियो । यिनीहरूले नुवाकोटको श्री शक्ति सेकेन्डरी स्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका हुन् । ठमेलको श्री सरस्वती बहुमुखी क्याम्पसबाट आई. कम र नेपाल कमर्श क्याम्पस मीनभवनबाट बी.बी.एस उत्तीर्ण भएका छन् । अनलाइन पाठ्यक्रमको उपयोग गरी Electronics, Mechanical, Latest Technologies, एवम् Computer Hardware and Software Training जस्ता विषयमा योग्यता बृद्धि र तालिम हासिल गरेका छन् । दुबै जनाको मेहनतबाट आविष्कार तथा प्रविधि तर्फ विशेष काम गरी नेपाली समुदायमा बेग्लै पहिचान बनाएका छन् । यिनीहरूले

चोरी, लुटपाट जस्ता अपराधिक व्रिmयाकलापबाट समुदायलाई सचेत गराउन तार रहित सामुदायिक साइरन, बिजुलीको सङ्कटको सहयोगी बिजुली आपूर्ति व्यवस्थापन प्रणाली, बैङ्कभित्रको आन्तरिक सञ्चारका लागि ताररहित बैङ्क सुरक्षा साइरन प्रणाली, स्वचालित मोटर जोड्ने उपकरण, मेकानिकल पात्रो, मकैको बीउ छर्ने मेसिन, बिद्युतीय मतदान उपकरण, ट्रक रेखदेख प्रणाली र हावा हुरी वा आँधी आएको जानकारी गराउने साइरन आदि प्रविधिका सामग्री तयारी गरी समुदायलाई उपलव्ध गराउने काम गरिरहेका छन् । यिनीहरूले युवा क्षेत्रका विभिन्न पुरस्कारहरू पनि पाएका छन् । जस्तो युवा पहल पुरस्कार, ल्ब्क्त् बाट कन्सोलेसन पुरस्कार, राष्ट्रिय युवा प्रतिभा पुरस्कार, भुवनेश्वर टेक्नोलोजी पुरस्कार, लगायत एसिया र प्रशान्त क्षेत्रबाट फेलोसिप आदिबाट पुरस्कृत भइ सकेका छन् । यिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न कार्यव्रmममा सहभागिता जनाइसकेका छन् ।

५२ निर्मलकुमार : यिनी सातौं पुस्ताका काषामुषुका छोरा आठौं पुस्ताका सुदामा (पं. सहश्रशिवानन्द) र नवौं पुस्ताका ऋषि र राधुकामध्येका राधुकाका छोरा ऋषि र यिनका छोरा भगीरथका सन्तान हुन् । यिनी १५ पुस्ताका बृहस्पति र उनका सन्तानमा पृथ्वीनाथ, १७ औं पुस्ताका पं. विश्वनाथका नाति र १८ औं पुस्ताका कविराज नरेन्द्रनाथ र शेष मञ्जरीदेवीका ६ छोरामध्येका कान्छा छोरा हुन् । यिनको जन्म विक्रम सम्वत् १९९३ सालमा काठमाडौंको कालिकास्थानमा भएको थियो । आजीवन साहित्य र कलाका पारखी निर्मलको मृत्यु २०७४ सालमा भएको थियो । उनी लामो समयदेखि नै नेपाली साहित्यमा साधनारत साहित्यकार थिए । काममा विश्वास गर्ने र सार्थक जीवन बाँचौं भन्ने आदर्श भावनालाई निरन्तर अनुसरण गर्ने व्यक्तिका रुपमा उनलाई चिनिन्छ । उनले एभरेष्ट रेभ्यु, ज्ञान–विज्ञान, ह्युमन होम्स रिभाइब्ड, चेतनाको प्रस्फुटन, संवेदनशीलतामा उभिएका रहरहरू, नवीन साहित्यिक संगालो, जीवनका अन्तहिन मोडहरू, उदात्त जीवन उदात्त दृष्टिकोण, काव्यान्जली, भावमन्जरी, सपनीका तरेलीहरू, पिरामिड अफ पोएम्स, विराना वस्ती, वृहत् हाइकु, निर्मल–निर्झर र आत्मचिन्तन लगायतका कृतिहरू प्रकाशित छन् ।उनले उल्लिखित कृतिहरू मार्फत राष्ट्र र समुन्नति, समाजमा मौलाएको विकृति र विसङ्गतिको विरुद्धमा सचेतना, मानवता, प्रकृति प्रेम, न्याय प्रति झुकाव, प्रणय प्रेम, श्रमप्रति सम्मान, मानवीय मूल्यमा आएको स्खलन र विकासप्रतिको मोहमा केन्द्रित भइ साहित्यको रचना गरेको देखिन्छ । कवि गोपालप्रसाद रिमालका लेखनमा देखिने विद्रोह पनि उहाँका कृतिमा देख्न पाइन्छ ।

उनले २०१३ सालमा नवीन कला मन्दिर नामक संस्था स्थापना गरी कला पारखीहरूलाई सिक्ने सिकाउने र अभ्यास गर्ने वातावरण सिर्जना गरे । जीवनको अन्तिम क्षणसम्म पनि यस संस्थाको नेतृत्व गरी कला क्षेत्रको निरन्तर साधनाको जग बसाएका छन् । उनले रिमाल समाजको अध्यक्ष र सल्लाहकार समेतको भूमिकामा रही रिमाल समाजको उन्नयन विकासमा निरन्तर योगदान गरेका थिए । उनले रिमाल समाजको वार्षिक कार्यव्रmमका अवसरमा सम्बद्ध प्रतिभाहरूलाई प्रोत्साहन गर्न निर्मल निरा शैक्षिक पुरस्कार स्थापना गरेका छन् । रिमाल समाजका सल्लाहकार श्री निर्मलकुमारद्वारा रू १००००० रु एकलाखको निर्मल निरा शैक्षिक कोषको स्थापना गरी यस रकमको व्याजबाट एसएलसी परीक्षामा संस्थागत र सामुदायिक विद्यालयका उत्कृष्ठ अङ्क ल्याउने एक एक जना भाइ बहिनीले सम्मान सहित पुरस्कार पाउने व्यवस्था गरेका छन् । उत्कृष्ठ अङ्क ल्याउने भाइ बहिनीलाई हरेक वर्षको साधारण सभाका दिन सो रकमको आर्जित व्याजबाट नगद रू ५००० का दरले सम्मान सहित रकम पाउने छन् । उनले रिमाल वंशका बाल बालिकालाई हौसला प्रदान गर्ने प्रस्ताव सहित निर्मल निरा शैक्षिक कोषबाट गरिने सम्मानको रकम रिमाल समाजमा हस्तान्तरण गरेका थिए । रिमाल समाजले तयार गरेको दोश्रो संस्करणका लागी उनका श्रीमती श्री अम्बिकादेबि र परिवार द्वारा रु. १०००००।– अक्षेरुपी रु एकलाख रुपैया मात्र समेत सहयोग यस समाजलाइ प्राप्त भएको छ । उनी नवीन कला मन्दिरका संस्थापक अध्यक्ष २०३४-२०३९ सम्म नेपाल गाइड एसोसियसनको अध्यक्ष २०३५-२०५५ नेपाल आयुर्वेदिक औषधि उत्पादन संस्था आरोग्य भवन वर्क्स नामक संस्थामा संचालक सदस्य नेपाल सांस्कृतिक संघ डिल्लिबजार, अध्यक्ष रिमाल समाज भइ तत् प्रकृतिको भूमिका निर्वाह गरेका थिए ।