जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

विश्वामित्र

विश्वामित्र

कौशिक गोत्रसँग सम्बन्धित कौशिक विश्वामित्रको विशेषण हो । कोसी नदीलाई कौशिकी भनिन्छ । कौशिकले जुन नदीको किनारमा बसेर तपस्या गरे त्यो नदी पछि कौशिकी नामले चिनियो ।

विश्वमेवं मित्रस्य स विश्वामित्र अर्थात् विश्वलाईनै मित्र बनाउने विश्वामित्र हुन् । उनी कान्यकुब्जका राजा थिए । उनी भगवान् श्रीरामका गुरु तथा अभिभावक एवम् अनेक शस्त्र, अस्त्रका ज्ञाता थिए । विश्वामित्रले श्रीरामलाई लिएर तपोवनमा गई तपस्वीहरूलाई दुःख दिने ताडका, मारिच, सुवाहु लगायत राक्षसहरूमाथि विजय प्राप्त गरेको वर्णन रामायणमा पाइन्छ । उनले रामको आवतारको रहस्य बुझिसकेका थिए ।

गाधितनय मन चिन्ता व्यापी । हरि बिनु मरहिं न निशिचर पापी । तब मुनिवर मन कीन्ह विचारा । प्रभु अवतरेउ हरण महिभारा ।।

(रामचरित मानस, बालकाण्ड)

विश्वामित्रले नै श्री राम र लक्ष्मणलाई सीता स्वयम्बरका लागि जनकपुर लैजाँदा बाटामा पतिको श्रापका कारणले पत्थर बनेर बसेकी अहिल्यालाई श्रीरामको पादस्पर्शद्वारा उद्धार गराएको, गङ्गाको धरतीमा अवतरणको कथा महर्षिले बयान गरेको प्रसङ्ग पनि रामायणमा पाउँछौ । सीताजीलाई विवाह गरेर अयोध्या ल्याएपछि राजदरबारमा रहँदा वशिष्ठ, वामदेव लगायतका ऋषिहहरूले विश्वामित्रको कीर्ति, यश र पराक्रमको वर्णन गरेको प्रसङ्ग पनि बालकाण्डको अन्त्यतिर पाइन्छ ।

तर प्रारम्भमा विश्वामित्र र वशिष्ठका बीचमा भयङ्कर प्रतिस्पर्धा भएको थियो । त्यसबारे केही चर्चा यहाँ गरिन्छ । विश्वरथ (विश्वामित्र) राजा छँदा आफ्ना बाबुले छोडेको राज्यको सीमानाबाट उनलाई चित्त बुझेन । उनले विश्व वजेता बन्ने निधो गरे । विश्व विजयका लागि सेना सहित राज्यबाट निस्किए । विश्वका विभिन्न देशमा पुगी विश्व बजेता बन्ने उनको इच्छा साकार भयो । उनी राजधानी फर्कदै थिए । कुनै आश्रम नजिकै उनका सेनाले रातीको विश्रामस्थल बनाए । त्यस जङ्गलमा ब्रह्मर्षि वशिष्ठको आश्रम थियो । विश्वरथलाई वशिष्ठको आश्रमबाट निमन्त्रणा भयो । राजा विश्वरथ भोलिपल्ट बिहान आश्रम गए । ब्रह्मर्षिले राजाको स्वागत सत्कार गरे र विहानको खाना खाने आग्रह गरे । यति धेरै सेना सहितको समूहलाई खाना सम्भव छैन भनेर विश्वरथले भन्दा महर्षिले नन्दिनी गाईका कारण सम्भव हुने बताए पछि त्यहाँ सबैले आफूले चाहना गरे जस्तो भोजन प्राप्त गरे । राजालाई यसको रहस्य जान्ने इच्छा भयो । उनले थाहा पाए नन्दिनी गाईले आश्रमका सबैलाई इच्छा भोजन गराउने रहिछन् । नन्दिनी गाई देखेर राजाले वशिष्ठसँग उनका शवला गाई खरिद गर्ने इच्छा व्यक्त गरे । तर वशिष्ठले सो कुरा इन्कार गर्दा विश्वरथलाई रिस उठ्यो । उनले जबर्जस्ती गरेर भएपनि ती शवला गाई लैजान खोजे । तर वशिष्ठले रोके त्यसपछि दुई पक्ष बीच लडाइँ भयो । ब्रह्मर्षिले राजालाई परास्त गरिदिए ।

राजाको अहंमा ठूलो चोट लाग्यो । वशिष्ठको ब्रह्मतेज देखेर उनी भित्रभित्र प्रभावित भए यद्यपि बाहिरी रूपमा उनले वशिष्ठलाई शत्रु माने । अत विश्वरथले राजपाठ छाडेर घनघोर तपस्या गरे । कालान्तरमा राजर्षि कहलाए । त्यसपछि पनि उनले तपस्याको क्रम जारी नै राखे । उनको कठोर तपस्या देखेर स्वर्गका राजा इन्द्रसमेत डराए र उनको तपस्या विथोल्न अप्सरा नै पठाउनु प¥यो । उनले तपस्याबाट विचलित तुल्याउन आफ्नी सुन्दरी अप्सरा मेनका पठाए । मेनकाले केही समय राजर्षि विश्वरथलाई भुलाइ दिइन् । शकुन्तलाको जन्म भएपछि विश्वरथको आँखा खुल्यो । उनले माया, मोह त्यागेर अझ बढी दृढताका साथ तपस्या गर्न थाले । यस पटकको तपस्याबाट उनी विश्वामित्र र महर्षि बने, त्यसपछिको तपबाट ब्रह्मा खुसी भइ ब्रह्मर्षि समेतको उापधि पाए । तैपनि वशिष्ठले ब्रह्मर्षि नभनुन्जेल उनले तपस्या गर्न छाडेनन् । एकदिन वशिष्ठको अनिष्ठ गर्न भनी उनी वशिष्ठको आश्रमतिर बढे । त्यस समयमा वशिष्ठ र अरुन्धतिका बीच विश्वामित्रकै बारेमा कुराकानी भइरहेको थियो जुन वार्तालाप विश्वामित्रले सुने । वशिष्ठले आफ्नी धर्मपत्नीलाई वर्तमान समयमा ‘विश्वामित्र निकै उच्च तपस्वी सावित भएका छन् । उनले तपोबलले नै आफूलाई क्षेत्रीयबाट ब्राह्मणमा परिणत गरिदिए’ भने । यसरी आफूलाई ब्रह्मर्षि भनेको सुनेर विश्वामित्रको मनमा वशिष्ठप्रतिको शत्रुता हट्यो र उनले वशिष्ठलाई अँगालो हाले, अनि दुवैजना मित्र बने ।

ब्रह्मर्षि हुनुअघि विश्वामित्रले त्रिशंकु इक्ष्वाकुवंशी नरपति त्रट्यारूणिका पुत्र (सत्यव्रत जसले वशिष्ठको अपमान गरेको सुनेर वशिष्ठका छोराले श्राप दिएर चाण्डाल बनाइदिएका थिए) लाई ज्युँदै स्वर्ग पठाउन खोजे । इन्द्रादि देवताले त्रिशंकुलाई खसालेपछि विश्वामित्रले रिसाएर बेग्लै स्वर्ग सृष्टि गर्छु भनी कम्मर कसे । पछि देवताहरूले विश्वामित्रलाई मनाएपछि त्रिशंकु आकाश र धर्तीका बीच झुन्डिरहे । जिउँदै स्वर्ग पुग्ने लोभले गर्दा उनको त्यो गति हुनपुग्यो ।

सत्यवादी राजा हरिश्चन्द्रको कठोर परीक्षा लिने कार्य महर्षि विश्वामित्रले गर्नु परेको थियो । हरिश्चन्द्रको परीक्षा लिनुपर्ने कारण के परेको थियो भने इन्द्रको सभामा ब्रह्मर्षि वशिष्ठले अयोध्याका हरिश्चन्द्र झै दानवीर न कोही भयो, न भविष्यमा हुनेछ भनेका थिए ।

राजर्षिबाट महर्षि भएका विश्वामित्र कसरी ब्रह्मर्षि बन्न पुगे, त्यसबारे पुराणमा रोचक वर्णन पाइन्छ । उनका एक शिष्यको नाम थियो गालव । हरिवंश पुराणमा विश्वामित्रका एक पुत्र गालव थिए भन्ने उल्लेखित छ । यहाँ चर्चा गर्न लागिएको गावल चाहिँ महर्षिका छोरा नभएर शिष्य हुन् । यिनी गुरुका ठूला सेवक बने । एक दिन स्वयम् धर्मराज महर्षिको परीक्षा लिन भनी वशिष्ठको रूप लिएर उनको आश्रममा आएर भोजन मागे । त्यस बखत त्यहाँ भोजन बनेको थिएन, त्यसैले भोजन लिन भनी विश्वामित्र अन्यत्र गए र भोजन लिई फर्कंदा नक्कली वशिष्ठले आफूले भोक सहन नसकी अन्तै गएर खानेकुरा खाएर आएको बताए । अतिथि सत्कार गर्न नपाएर खिन्न भएका विश्वामित्रलाई उनले अब तपाई जहाँ उभिनु भएको छ त्यही भोजन सामग्री सहित उभिइरहनु होला भने । त्यसरी उभ्भिदा उभ्भिदा वर्ष दिन बित्यो, वर्षहरू बिते तर विश्वामित्र अडिग भएर रहे । एक सय वर्ष बित्यो । उनले वायु बाहेक अरू केही नखाइरहनु प¥यो । कठोर परीक्षामा उनी सफल भए । त्यसपछि धर्मराजले पुनः वशिष्ठको रूपमा आई खुसी हुँदै ‘म तपाईंदेखि अति प्रसन्न भएँ त्यसैले आजदेखि तपाईं ब्रह्मर्षि हुनुभयो’ भने । विश्वामित्र खुसी भए । अतिथिको आदेशको सम्मान गर्दा उनले चिर आकाङ्क्षित पद ब्रह्मर्षि प्राप्त गरे ।

विश्वामित्रको त्यस कठोर तपस्याका बखत शिष्य गालवले गुरुको खुब सेवा गरेका थिए । फलतः विश्वामित्रले खुसी हुँदै शिष्यलाई भने ‘तिम्रो गुरु भक्ति पूर्ण भयो र शिक्षा पनि पूरा भयो । अब तिमी आश्रमबाट बिदा होऊ ।’ गालवले गुरुदक्षिणा दिन खोजे । सुरुमा गुरुले अस्वीकार गरे तर धेरै आग्रह गर्दा उनले भने ‘गुरुदक्षिणा नदिई नहुने ठान्छौ भने ८०० श्यामकर्ण घोडा देउ ।’ गुरु दक्षिणा जुटाउन गालव मित्र गरुडलाई लिएर राजा ययातीकहाँ पुगे । राजाले उनको अनुरोध स्वीकार गरेकाले गुरु विश्वामित्रले मागेको गुरु दक्षिणा दिएर गालव त्यहाँबाट प्रस्थान गरे । ब्रह्मर्षि विश्वामित्रका अनेक कथा छन् वश परम्परा जोड्न यहाँ यी छानिएका सन्दर्भ मात्र समावेश छन् ।

भागवतमा बर्णन गरिए अनुसार सत्यवादी राजा हरिश्चन्द्रका सन्तान भएनन् । उनले प्रजापति बरुण देवको आराधना गरे । बरुणको बरदानले उनी सन्तान सुखका भागिदार भए तर जन्मनासाथ यज्ञपशुका रुपमा शलिदिन पर्ने बाचा बन्धन कायम भयो । हरिश्चन्द्रको घरमा सन्तानका रुपमा पुत्र लाभ भयो । अव बरुणले पछ्याउन थाले । राजा टार्दै जाने बरुण पछि लाग्ने लामो समय यो क्रम चल्यो । पछि यो समस्या समाधान गर्न ब्राह्मणको छोरा किनेर ल्याउने यज्ञ बलि बनाउने निधो भयो । त्यसपछि एक समय राजा हरिश्चन्द्रको दरबारमा ठूलो यज्ञको आयोजना गरिने भयो । यस यज्ञमा बलिदिनका लागि यज्ञ बलिका रूपमा ब्राह्मण पुत्र शुनः शेपलाई ल्याइएको थियो । शुनः शेप विश्वामित्रका भानिज नाताका थिए । भृगुवंशी अजिगर्तले मोल लिएर छोरा शुनः शेपलाई बेचेका थिए ।

सत्यवादी राजा हरिश्चन्द्रले युवराज रोहितको सट्टामा यज्ञ बलिका लागि शुनः शेपलाई मोल तिरेर ल्याएका थिए । विश्वामित्रको सहयोगमा शुनः शेपले प्रजापति बरुण लगायतका देवताहरूको स्तुति गरे । स्तुतिका कारण शुनः शेप यज्ञको पाशबन्धनबाट मुक्त भए अर्थात अब हरिश्चन्द्रले छोरोलाई बलिदिन परेन । यसबेला शुनः शेपलाई देवताले बचाए भनियो र उनको नाम देवरात राखियो । अजिगर्तले मोल लिएर शुनः शेपलाई बेचेको हुनाले उनी अजिगर्तका छोरा भएनन् । त्यस्तै राजाले यज्ञ बलिका लागि ल्याएका कारण उनी राजाका सन्तान पनि हुन सकेनन् । धर्मशास्त्र अनुसार बचाउनेको छोरा हुन्छ भन्ने भएका कारण शुनः शेप विश्वामित्रका छोरा भए । उनी विश्वामित्रसँग गए । विश्वामित्रका सय पुत्र थिए । विश्वामित्रले शुनः शेपलाई देवताले बचाएको हुनाले देवरातलाई छोरा मानेर ल्याएको हो । त्यसैले यसलाई दाजु मान भन्दा आधाले प्रस्ताव स्वीकार गरेनन् । ती ४९ जनालाई विश्वामित्रले म्लेक्ष हुने श्राप दिइ त्यागिदिए । बाँकी भाइमा जेठा मधुच्छन्दा थिए । उनले पिताजीको प्रस्ताव स्वीकार गरे । विश्वामित्रले छोराहरूलाई भने “देवारात अब हाम्रो गोत्रका भए यिनले भनेको मान्नु र वंश सञ्चालन गर्नु” यसै समयदेखि कौशिक देवरात भनेर दुई प्रवरको प्रचलनको थालनी भएको कुरा श्रीमद्भागवतमा उल्लेख छ । यसरी कौशिक देवरात वा विश्वामित्र देवरात भन्ने चलनको थालनी भएको हो । यो दुई प्रवरमा ओदल पनि समावेश गरेर त्रिप्रवर कायम भएको छ । यो भयो त्रेता युगको कुरा पछि द्वापर युगमा पनि विभिन्न स्थानमा यो वंशका सन्ततिहरूको बसोबमस भएको कथा भेटिन्छ ।