जि.प्र.का. काठमाडौँ दर्ता नं ७४४ / ०६७/०६८
समाजकल्याण परिषद् आवद्धता नं ३१८१५
कामपा दर्ता नं ३७४ / ०७२ / ०७३
पान नं ३०४९६००५१

छविरमण भूमिका

पं छविरमणकृत भूमिका

आदरणीय,

गोत्रज तथा सगोत्रीबन्धुहरू ! सबै मानिसहरू गोत्रयुक्त सगोत्री हुन्छन् । तर यसबारे कमै मान्छेलाई राम्रो जानकारी हुन्छ । मैले धेरै मान्छेहरूलाई ‘गोत्र के हो ? हजुर ।’ भनेर सोध्दा कौशिक गोत्रलाई अशुद्ध तरिकाले ‘कौशिमा’ भनेको सुनेपछि मानिसलाई परापूर्वकालदेखिका कुरा लिखित रूपमा अत्यन्त खाँचो हुँदो रहेछ, घरघरमा आफ्नो पनि लिखत हुनुपर्ने रहेछ भन्ने सोंचे । गोत्रको व्युत्पत्तिबारे चर्चा गरौं । (गो इन्द्रियाणी, त्रायते रक्षति इति गोत्र । इन्द्रियहरूलाई नराम्रा मार्गबाट जोगाउँछ भने त्यसलाई गोत्र भनिन्छ भनेर पिताजीले बताउनु भएको थियो । तर सबै मानिसहरू विद्वान हँुदैनन् । मेरा पिताजी त विद्वान हुनुहुन्थ्यो र बताउनुभयो । कसैका पिता अपठित पनि होलान्, लिखित कहीँ छ भने पढेलेखेको मानिसहरूले बुझाई दिन्छन् । गोत्रका संरक्षण वेद, पुराण आदिले गरेका छन् । अर्को समस्या बीचमा आयो । कस ैले सोधे ‘कौशिक’ गोत्र कसरी भयो बाबु ? मैले जवाफ दिन सकिनँ । पुराण हेरें, ब्याकरण हेरे, अनि जवाफ दिएँ । कुशिके भव कौशिका कुशिक ऋषिबाट भएको जो सन्तान हो त्यसलाई ‘कौशिक’ भनिन्छ । अथवा कुशिकश्य अपत्यम् पुमान ‘कौशिक’ पढेलेखेको घमण्ड भए पनि आफ्नै विषयमा सही उत्तर चाहिँ दिन सकेन भने त्यसलाई अज्ञानी भने पनि हुन्छ । यदि नजानिकन केही न केही भनेर टारेछ भने पनि त्यो ढाँट हुन्छ, त्यस अर्थले पनि वंशको इतिहास अत्यन्त आवश्यक रहेछ भन्ने निर्णय गरें ।

एकचोटी दुई जना मानिस वातचित गर्दै रहेछन् म पनि त्यहाँ पुगे । एउटाले अर्कोलाई सोधे के थरी भाइ ? ‘रिमाल’ जवाफ दियो अर्कोले । रिमाल भन्नु भएको कारण के हो ? यदि यही प्रश्न मलाई सोधेको भए म झुटो उत्तर दिने थिएँ होला ! किनभने आफू रिमाल हुँदाहुँदै पनि मलाई यसवारे जानकारी थिएन । पढेलेखेको मानिसले पनि आफ्नै विषयको उत्तर दिन नसके लाटो हुने । म वंशबारे अनुसन्धानमा लागेँ । अघिअघिका सुनेका गाउँ, ठाउँ, रीति, स्थिति, भेषभूषा, खोलानाला, पिता, पुर्खाहरूका नामहरूको पनि उपयोगिता बुझेँ ।

तीन जना मानिसका बीच यस्तो वार्तालाप भयो— एकजनाले भने फलाना— फलाना नाम गरेका मानिस यस्ता रहेछन् अहा ! भन्दा नभन्दै अर्काले बीचबाट भने, तिमीले त देखेर आए जस्तो पो गर्यौं त । त्यति भनिनसक्दै तेस्रा व्यक्तिले भने तिम्रा कुप्रिबा पो हुन् कि ? तिम्रा कुप्रिबाको चाहिँ नाम के नि ? कुन्नी मलाई थाहा भएन । अनि यत्रो अघिको र टाढाको कुरो थाहा पाउने मानिसलाई थाहा हुनु पर्ने होइन त ? खोइ थाहा भएन, लेखेर राखेको भए पो थाहा हुन्थ्यो भन्ने जवाफ पहिलोले दिए । यसबाट मानिस आँखा हुँदाहुँदै पनि पुर्खाका बारेमा अन्धो हुँदो रहेछ भन्ने ज्ञान पाएँ । मानवले सबै कुरा त सम्झन सकेको हुँदैन । कसैले पनि लेखे खोजे मात्र मिल्न सक्दछ । यो अर्थले खोज गर्नु, लेख्नु भोलिको ठूलो आवश्यकता हो भन्ने बुझी खोज्ने र लेख्नेपट्टि लागेँ ।

वंशबाट नै प्रादुर्भाव भएका पंक्ति अथवा लहरलाई वंशावली भनिन्छ । वंशस्य अबली वंशावली । वंशस्य, वंशको, अबली, शक्ति । प्रत्येक वंशबाट प्रादुर्भाव भएका संस्कारले एउटा समाज बन्दछ । त्यस समाजबाट भाषा, भेष र संस्कारले देश चिनाएको हुन्छ । त्यसको अभावले सबै कुरो भुल्दै जाने हुन्छ ।

त्यतिमात्र होइन विकृतिहरू बढ्दै जान्छन, मानिसमा अज्ञानताको घमण्ड मात्र आउँदछ । एउटा पुस्ताले मात्र भावी पिँढी चल्दैन, हजारौं वर्षको इतिहासलाई पहिल्याउन खोज सुरु हुन्छ ।

खोज्दै जाँदा कठिन गिरीमा चढ्नु पर्दो रहेछ
तीतामीठा बचन रसले रङ्ग भर्दो रहेछ ।
खोलानाला सबतिर सुकी प्यास लाग्दो रहेछ,
बर्षा बाढी शिखर भलले मार्ग थुन्दो रहेछ ।।

यस्ता चालासित म पनि के हार खान्थे र साथी
भन्दै दौडें गएर गिरिका बाहिरी भित्र माथि ।
पुर्खा सोंधे कति समय यता अल्झिएँ रात थाती
जस्तै अल्झिन्छ उपवनका बीचमा झार पाती ।।

स्वप्ना पाएँ त्यस समयमा सक्तछौ कार्य भाँति
दैवी इच्छा उपर छ तिमीका गएँ आज नाति ।
भन्दै लागे जुन बखतमा ब्रह्म डाक्दो रहेछ
भाले मेरो नयन नखुली कान सुन्दो रहेछ ।।

यस्ता प्रकारले मेरा हजुरबुवा स्वर्गीय अविचन्द्र रिमालले स्वप्नमा प्रेरणा दिएपछि मैले अरू प्रेरित भएर उनले जीवनमा भोगेका र हामीहरूलाई सुनाएका कुरा सम्झे । वि.सं १९७० को प्राकृतिक प्रकोप पहिरोमा परी नानीहरूको काजक्रिया गरेपछि यहाँ बस्न मन लागेन र हिँडेर बर्मा गएँ । १० वर्ष बर्मामा बसेर, त्यहाँबाट फिर्ता भएँ । फिर्ता हुने थिइनँ होला नाति, तर ब्रिटिसले बर्माको सुन सारा लुट्यो । त्यसै कारणले बर्मा लुटाइ भन्छन् । बर्मामा सुनै सुन थियो, मैले पनि त्यहाँ बस्दा सुन चाल्ने काम गरे । राजस्व तिरेर एक धार्नी सुन ल्याएको थिएँ त्यही सुन बेचेर यो खाएल बारी किने दुई सयमा । त्यसबेला घरायसी राजीनामाको चलन थियो । एक वर्षपछि किर्ते राजीनामा हो भनेर फेरि मलाई लिम्बेले उल्टो मुद्दादिए । २६, २७ वर्षसम्म मुद्दा लाग्यो २००८ सालमा सर्वोच्च अदालतले राम्रो निर्णय गरिदियो । त्यसै कारणले ‘न्याय नपाए गोर्खा जानू’ भन्थे नानी । पछि त्यही राजधानी काठमाडौं नेपालमा स¥या हुनाले ‘न्याय नपाए नेपाल जानू’ भनेको हो । ‘विद्वान हुन काशी जानू’ भन्नुहुन्थ्यो । त्यसै दिन मैले ‘रिमा’मा पनि रिमाल छन् भन्ने सुने ।

त्यो ठाउँ पहिल्याउन मलाई एक वर्ष जति लाग्यो । त्यत्रो समय त लाग्ने होइन तर त्यस समयमा मसँग आधारभूत आवश्यकता (धन) थिएन । पहिले धनगढी गएँ । त्यसपछि म सुर्खेतमा गएँ । अर्को वर्ष ‘रिमा’जान खर्च बोकेर हिँडें । सुर्खेतबाट गुटु गएँ, त्यहा पद्मप्रसाद शर्मा रिमाल बाजेलाई भेटें । यस विषयमा सोध्दा रिमा जानुपर्छ आज यही बसौं भनेर त्यही बसाल्नु भयो । भोलिपल्ट उहाँका भदाहा दुर्गाप्रसाद धोडासैनीले बाटाको नक्सा बनाएर स्नेहपूर्वक बिदाइ गर्नुभयो । सो नक्साको आधारमा दुई दिनमा ‘रिमा’ पुगे । त्यहाँका रिमालहरूले परीक्षा लिए तिनले सोधे रिमाल हौ भने ‘भन कसलाई हामीले दान दिन हँुदैन ?’ मैले उत्तर दिए— ‘कानचिरा नाथ जोगीलाई ।’ उनीहरूले ए ! हाम्रो रिमाल रहेछौ भने अनि रामप्रसाद शास्त्रीका घरमा बसाए । शास्त्रीज्यूले पनि ठूलो चासो राखेर कुराकानी गर्नुभयो । यसरी ‘रिमा’ छाडेको १५—१६ पुस्ता पछाडि मलाई दैवले त्यहाँ पाइलो टेकाउँदा, मैले अहो भाग्य माने । त्यहाँका रिमालहरूले यसरी बाहिर जाने हाम्रा खलकहरूमा फेरि फिर्ता भएर वंशावली खोज्न आउने तपाईं पहिलो व्यक्ति हुनुहुन्छ, अरू आएका थिएनन् भने । भोलिपल्ट रिमा लय गाउँका मुखिया बाजेका घरमा सबै भेला भयांै । एक, दुई घण्टापछि हामी आआफ्नो काममा जान्छौं तपार्इं यहीँ बस्नुहोस् भनेर स्नेहपूर्वक बिदा मागे । लौ त भनेर म त्यहीँ बसें । मलाई आश्चर्य भयो ! अनुसन्धान गर्ने काममा शंका नै रह्यो ! त्यति टाढा पुर्खा कसरी गएछन् ? त्यस्ताका ठूलाठूला खोलामा पुल पनि थिएनन् । यातायातको सुविधा पनि थिएन । मलाई यातायात हुँदा त आउन यत्रो समय लाग्यो ! यसरी शंका गर्दैगर्दै म त्यहीँ बसें । मैले हजुर बुवाबाट एक किंवदन्ती सुनेको थिए, त्यो यस प्रकार छः—

‘लोहा से लोहा लडे सुनो राजा ह्विल,
लोहालागे घुनतो लडिका लागे चील’

यसको अर्थ धेरै लामो छ, अर्को ठाउँमा उल्लेख गर्नेछु । त्यस दिन मलाई धेरै थकाइ लागेको थियो । बिहान ७ बजेसम्म सुत्ने नियत गरेर निद्रा नलागे पनि सुतिनै रहे । मुखिया बाजेले मलाई चिया ल्याइदिनु भयो । मुखिया बाजे फर्किंदा यही किंवदन्तीको गाना गाउँदै फर्किनु भयो ।

‘लोहा से लोहा लडे सुनो राजा ह्एिल,
लोहालागे घूनतो लडिका लागे चील’

मेरा हजुर बुबाले गाएको किंवदन्ती र मुखिया बाजेले गाएको किंवदन्ती मिलेपछि मात्र विश्वास भयो कि म यथार्थ स्थानमा पुगेछु । पुरानो स्थल यही रहेछ । यही ‘रिमा’ लयगाउँबाट रिमाल थर रहन गएछ । पहिलो पटकको भ्रमणमा खास उपलब्धि भएन ।

अर्को वर्ष पुनः गएँ, ६, ७ दिन पुराना लिखित कागजहरू, रामप्रसाद शास्त्री, बद्रीप्रसाद, हरिप्रसाद, कृष्णप्रसाद, नवराज अरूहरू पनि लागेर खोज गर्दा एक सानो पुस्तावली लिखित भेटियो । त्यसलाई उतारे । रिमाल थर यसरी रहेछ भन्ने कुरा त थाहा भयो, अरू धेरै कुरा जान्न बाँकी नै रह्यो । त्योभन्दा अघि हामी के भनिन्थ्यौ ? भन्ने प्रश्न उठ्यो । गोत्र, प्रवर, शाखा मिल्न गयो भने ती एउटै बाजेका सन्तान हुन् भन्ने बुझ्नु पर्दछ । शाखा मात्रबाट त अलि छुट्ट्याउन सकिँदैन किनभने प्रायः शुक्ल यजुर्वेदाध्यायीहरू सबैको नै एउटै माध्यन्दिनेय शाखा हुन्छ तर गोत्र र प्रवर मिलेका खण्डमा त्यो एउटै च्याप्जूका सन्तान हुन भनेर निश्चित गर्न सकिन्छ । यसर्थ यहाँदेखि अघिको कुरा सगोत्रीसँग हुनुपर्छ, १८, १९ वटा सगोत्रीहरू छन्, कुन चाहिँ सगोत्रीसित खोज्ने ? अरू गम्भीर प्रश्न उठ्यो । ठाउँ निश्चय गर्नलाई एक वर्ष लाग्यो । ५, ६ पटक ती जिल्लाहरूमा चक्कर लगाउँदा मात्र म त्यो ठाउँमा पुगे । एक सज्जनले स्नेहवश मलाई बास बसाएर सबै बताइदिनुभयो । उहाँको नाम हो दुर्गाराज रेग्मी (जोशी) । मैले त्यस समयमा विचार गरे ‘देवराज’ले गरेको तपस्याको प्रभावले नै हामीहरूमा अहिलेसम्म प्रकाश परिरहेको छ । उहाँले मेरा घरमा त लेखेको कुरा सार्न भ्याएको छैन तर हाम्रा खलकमा छ, उहाँकहाँ गएर मानिस भेटे पछि काम बन्दछ । धेरै यस्ता कुरामा चासो भएको मानिस हुनुहुन्छ खुसीसँग हजुरलाई दिनुहुन्छ भनेपछि आरामसाथ विश्राम गरेँ । प्रातः स्नान गरेर त्यो घरमा गएँ । उहाँ दोकान जानु भएको
रहेछ, दोकानमा पनि घर जस्तै बसोबास गर्ने गर्नु भएको रहेछ । त्यहाँ परापूर्वदेखि लेखेर राखेको लामो कागज पाएँ । गोत्र, शाखा, प्रवर सबै मिल्न गयो । मैले कागजपत्र उतारें । खुसी भएँ– हाम्रा गोत्रमा कत्रो स्नेह र सद्भाव रहेछ ? मानिसहरू भन्ने गर्थे, यति अघिदेखिका कुराहरू कहाँ मिल्न सक्छन् ? यस्ता कुना ठाउँमा बसोबास गरेर यत्रो स्नेहसाथ पुस्तौंपुस्ता अघिदेखिका कुराहरू, नामहरू संकलन गरेर राख्ने दूरदर्शी बाजे हुन् श्री गोरखराज रेग्मी (जोशी) । त्यस ठाउँमा ज्योतिषको काम गर्नेलाई ‘जोशी’ भन्ने चलन रहेछ । यस्ता विशिष्ट व्यक्तित्वहरूले मात्र विशेषतालाई बुझेका हुन्छन् र कुनै पनि वस्तुको केही न केही सुरक्षा यस्ताले मात्र गर्दछन् ।

मैले शुभेक्ष्या व्यक्त गर्दै लेखे—

गो गोश्वराले अमर रहने कीर्तिको गान गाऊँ
र रक्षा गर्ने असल गुण हो भुल्न मैले नपाऊँ ।
ख खस्ला झर्ना तर नखस ए ! ज्ञान राम्रो बचाऊ
रा रागी द्वेषी नवन रसले स्वर्ण घैलो भराऊ ।।
ज जुम्ल्याहा झै बस उदरमा मित्रको स्नेह पाई
रे रेखा कोरी प्रणयीसितले भूल देऊ जनाई ।
ग्व ग्वालाको दूध तर छ दही एक ठेकी बनाई
मी मीठो पारी झिक तरल नौनी तताई जमाई ।।

द्वितीय चरण

गोरखराज रेग्मीलाई मैले भेट्नु र शुभेक्ष्या टक्र्याउनुका धेरै कारणहरू छन् । एकता ‘रिमलयगाउँ’का पुस्तावलीमा पहिलेपहिले नलेखेर धेरैपछि लेखिएका कुराहरू मात्र पाइए ‘कनउदेखि आउने भोलाभट्ट’ हुन् भन्ने कुरामा मलाई विश्वास लागेन । किनभने उनी कहिले आए ? हिन्दु मुसलमानको युद्ध कालमा भन्ने त्यहाँका केही मानिसको भनाइ निस्कियो । त्यसताका आउने अरू मानिसहरूको अन्दाजी ४०—४५ पुस्ता जानु हाम्रा रिमालको चाहिँ अन्दाजी १७ देखि २० पुस्ता मात्र जानु यो कुरो सम्भव हुँदैन । ब्राह्मण सूत्रले बताए र मैले बुझेअनुसार ब्राह्मण तीन किसिमका हुन्छन् । (दक्षिणी, चौवे, कान्यकुञ्जी (कनोज) । ब्रजचौराशी कोशभित्रका ब्राह्मणलाई चौवे, गंगादेखि उत्तर हिमालदेखि दक्षिणका ब्राह्मणहरूलाई कान्यकुञ्जी (कनोज) भनिन्थ्यो । गंगादेखि दक्षिण ब्रज र कान्यकुञ्ज बाहेकका ब्राह्मणहरूलाई दक्षिणी ब्राह्मण भनिन्थ्यो । स्वामी शंकराचार्यले अरू सारतत्वहरू पनि बताउनु भएको छ । तीनै तीस प्रवरका शाखा—प्रशाखाबाट विभाजन भएका छन् कि जस्तो लाग्छ मलाई । त्यो कुरो वेद, पुराणहरूले प्रष्ट्याउँलान् ।

सुरुमा शाखा आधार, त्यसपछि गोत्र, त्यसपछि प्रवर अनि थर विभाजन भए जस्तै अवस्थामा स्वामी शंकराचार्यले प्रतिपादन गरेका हुन् । यसकारण गंगादेखि उत्तर हिमालयदेखि दक्षिण क्षेत्रभित्र बसोबास गर्ने ब्राह्मणहरूको क्षेत्रलाई कान्यकुञ्ज क्षेत्र भनिन्थ्यो । अर्को एक जना मानिसले रिउलसेराबाट आएका भनेका थिए । खप्तरी खड्का, खप्तरी बस्नेत, खप्तरी बुढा, खप्तरी बुढाथोकी, ढुंगाना, यिनीहरू सगोत्री हुन् । रेग्मी पनि सगोत्री हुन् अरू पनि छन् । ढुंगानाकहाँ जाँदा रिमाल थरका साथै ढुंगाना भएका छन् । खप्तड जाँदा खत्रीमात्र छन् । खत्रीहरूले यो कुरो लेखेर राख्न गाह्रो छ, किनभने १००—५० घर क्षेत्रीहरू बसोबास गरेका ठाउँमा, अरू निम्न जातजातिहरू बसोबास गरेका ठाउँमा एक घर ब्राह्मण छ भने प्रतिदिन त्यही ब्राह्मणहरूको आलोचना, प्रत्यालोचना गरिरहेका हुन्छन् । ब्रह्मत्व राख्न कति गाह्रो छ ? हाम्रा च्याप्जुले किन कुट्टा छोडे भनेर अनुभव गर्न सक्दैनन् भने यिनीहरूसित अघिको कुरो अवश्य पनि छैन । ब्रह्मा एउटा हुन्छन् ब्रह्मण्डलाई चलाउँछन् । कसै कसै ऋषि महर्षिको भनाइ पनि छ ।

‘जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते,
वेदपाठी भवेत विप्र व्रह्म जानन्ति ब्राह्मणा ?’

‘दिएर साध्य न्वाएर उपाध्याय कहिल्यै हुँदैन’ ब्राह्मणहरूको अल्पमत चाहिँ हुन सक्छ किनभने ६० वर्षको उमेरमा मृत्यु भयो भने अथवा सन्तान भएन भने विवाह नगरी नहुने कारण पर्छ । अर्की कन्या केटी नै विवाह गर्नुपर्ने हुन्छ, त्यति गरेन अथवा एक पटक विवाह भएकी केटीसँग यदि विवाह भयो भने जात खस्ने हुन्छ । थोरै मत हुनु स्वाभाविक हो । खप्तडको निकटमा कोही सगोत्री छन् त ? भनेर प्रश्न उठ्यो मेरो मनमा । रेगममा रेग्मी छन्, धेरै अघिदेखि बसोबास गरेका तर उनीहरूले पनि जुन दिन अरू थरीहरूले थर लेख्न सुरु गरे त्यसै दिनदेखि मात्र थर लेख्न थालेका हुन् । यस्ता चिन्तनका साथ अनुसन्धानको क्रममा गोरखराज रेग्मीको घरमा गएको थिँए । मैले सोचे अनुरूप उहाँहरूले पनि अघिदेखिका नाम पुराना कागजमा सारेर राख्नुभएको रहेछ । किन यसरी पुराना कागजबाट नयाँमा सारेर राख्नु भएको ? भनी सोध्दा कीराले सबै कागज खाइदियो । पुराना काइते अक्षर नानीहरूले बुझ्न नसक्ने भए, अचानक मरियो भने दुरुपयोग हुने भयो । म हुँदाहुँदै सारौं भनेर सारेको हो । गोत्र, शाखा, प्रवर एकै रहेछ । हाम्रो वंशमा देवरात प्रवर आउनै पर्छ उनीहरूले पनि त्यस्तै लेखेका रहेछन् । प्रवरको व्युत्पति, तात्पर्य

‘कौशिक देवरात विश्वामित्रश्चेति’
अथवा ‘कौशिक देवरात औदलश्चेति’

त्रिप्रवरमा देवरात आउनुको कारण तीन प्रकार बताइएको छ । राजा हरिश्चन्द्रले रोहितको बदलामा बलि दिन भनेर किनेर बालक ल्याए, उसको नाम थियो शुनःशेप । विश्वामित्र ऋषिले सुनशेपलाई ‘हेर बाबु ! तिमी यो मन्त्रको एकचित्त भएर जप गर देवताले तिमीलाई रक्षा गर्नेछन्’ भनेर वरुणको आराधना मन्त्र अथवा बीज मन्त्र सिकाए । आराधना राम्रो भए अवश्य तिमी बाच्नेछौ नत्र भने मर्नेछौ भने पछि उनले बाँच्नका लागि एकत्व भएर त्यो मन्त्रको जप गरे । सो अनुरूप देवताले उनको रक्षा गरे । यसरी रक्षा भइसकेपछि यिनको नाम देवरात रह्यो । जस्तो— देवेन रक्षित, देवरात । देवताले रक्षा गरेको भन्ने उपनाम रह्यो । हाम्रामा देवरात प्रवर आउनुको कारण यो हो ।

विश्वामित्रश्चेति आउनुको कारण के त ? विश्वामित्रश्चेति आउनुको कारण चाहिँ शुनःशेप बाँचेपछिको नाम ‘देवरात’ भयो । म बाँच्न न त बाँचेँ अव छोरो चाहिँ कसको भएँ त ? समाजलाई सोध्दा ऋषि महर्षिहरूले निर्णय गरे ।

हरिश्चन्द्रोपाख्यानको भाषामा एक पंक्ति कविता हेरौं– ‘बेच्ने बाबु हुँदैन, मार्न किन्ने राजा हो । बेच्ने बाबु अवश्य हुँदैन, किन्ने राजा हरिश्चन्द्र पनि बाबु हुन सक्तैनन् किनभने प्रजाको पालन गर्नु, युद्धमा मर्नु, देशलाई र प्रजालाई बचाएर पुत्रवत् रमाएर राख्नु राजाको परम कर्तव्य हो । त्यसैले रञ्जयते प्रजां इति राजा । प्रजालाई रमाएर राख्छ भने त्यसलाई राजा भनिन्छ, राजा शब्दको ब्युत्पत्तिबाट अर्थ यस्तो निस्कन्छ । तर त्यसो नगरेर ठीक त्यसको उल्टो मार्न भनेर किनेर ल्याए, त्यस अर्थले राजा हरिश्चन्द्र बाबु हुन सक्दैनन् । अब बाबु को हुन्छ त ? बचाउने, कसले बचाए त ? इति विश्वामित्रश्चेति यो विश्वामित्रको हो, भन्ने अर्थबाट विश्वामित्रश्चेतिको प्रयोग भएको हो ।

‘औदत’ आउनाको तात्पर्य के त ? जव विश्वामित्रको भयो यो बालक भनेर जिम्मा लगाए अनि विश्वामित्रले लिएर त्यस बालकलाई घर गएपछि जेठा खालका आधा छोरालाई अथवा ठूला—ठूलालाई बोलाएर सोधे, यो मैले ल्याएको बालकलाई जेठो पारेर तिमीहरू राख्न सक्छौ ? सक्दैनौ ? ल भन भन्दा – तिनीहरूले अस्वीकार गरे, हामी यसलाई दाजु बनाएर राख्न सक्दैनौ, भने पछि तिमीहरू मेरो पुत्र भएर यति कुरा बुझ्न नसक्ने, जसलाई देवताले बचाए, देवर्षि, राजर्षि विप्रर्षि, महर्षि अरू सभासद्हरूले मेरो जिम्मा जगाए, त्यस्तो प्रसिद्ध बालकलाई पनि धर्म दाजु मान्न नसक्ने तिमीहरू म्लेच्छ हौ, मेरो कुलको संस्कारलाई बुझ्न नसक्ने जाओ तिमीहरू ‘नीच’ अथवा विपरीत कर्म गरेर मैले नदेख्ने ठाउँमा पश्चिमतिर गएर बस, उधो लाग्नेले पश्चिम जानु त हो नि जसरी सूर्य उधो लागेपछि पश्चिम जान्छन् त्यसैगरी जाओ विपरीत मार्गपट्टि भनेर श्राप दिए, तिनीहरू म्लेच्छ भए । यसै तात्पर्यबाट— उर्धदलेन त्यक्तः औदल यसरी आयो अर्थात् उभोपट्टिका दलहरूले त्यागिएको (विश्वामित्रका जेठाखाले आधा छोराले त्यागिएका) ‘औदल’अरू सोध्न बाँकी रहेका आधा छोराहरूलाई बोलाएर फेरि विश्वामित्रले सोधे, तिमीहरू यसलाई दाजु बनाएर राख्न सक्छौ, सक्तैनौ ? भन्दा उनीहरूले स्वीकार गरे, हुन्छ बुबा हामी हजुरले ल्याएका मानिसलाई दाजु बनाएर राख्छौं ।

अधदलेन स्वीकृत—औदल

विश्वामित्रका छोरा कान्छा खाले आधाले रुजु गरिएको औदल, अनि विश्वामित्र ऋषि प्रसन्न भएर उनीहरूलाई वरदान दिए, देवरात लगायत तिमीहरू सबै धर्म रक्षार्थ सदैव तत्पर रहनु, बाबु ! धर्म रक्षाका लागि हामी हाम्रो सन्तान सदैव तत्पर त रहँला तर ठूलठूला सबै गए, पछि उनीहरूले हामी सानाखालेलाई कथंकदाचित् बाधा पु¥याए भने वा दुःख दिए भने नि ? ‘त्यस समयमा तिमीहरू अथवा तिमीहरूको खलकमा दैवी ज्ञानको प्रादुर्भाव भएर त्यस ज्ञानबाट उनीहरू परास्त भएर जान्छन् । पूर्वोक्त तात्पर्यले हाम्रा प्रवरमा यी दुबै तरिकाबाट ‘देवरात’आउँछ, देवरातको खलकमा जस्तैः

‘कौशिक देवरात विश्वामित्रश्चेति’
‘कौशिक देवरात औदलश्चेति’

यी दुईमा जुन भने पनि एउटै अर्थ हुन्छ । विश्वामित्रका आधाछोरा जसले (देवरात) लाई दाजु बनाएका थिए उनीहरूको खलकमा चाहिँ देवरात आउँदैन किनभने उनीहरूलाई त्यस्तो संकटकालीन अवस्थामा देवताले रक्षा गरेका इतिहास
अथवा गर्नु परेको इतिहास पाइएको छैन र ‘देवरात’ जहाँ आउँछ त्यो शुनःशेपको खलक भन्ने बुझ्नुपर्छ । विश्वामित्रका ती आधा छोराको खलकमा के आउँछ त ? ल ‘कौशिक विश्वामित्र औदल’ मात्र आउँछ ( अथवा आउनुपर्छ उनीहरूको खलकमा औदल चाहिँ आउँनुको तात्पर्य के त ?

अधदलं अय औदल

यो चाहिँ विश्वामित्रका छोराहरूमध्ये उधो उधोकाको दल वा खलक भन्ने अर्थ हुन्छ, र औदल आउँछ, ‘देवरात’ आउने कुनै कारणै छैन र आउँदैन, यसरी जन्म र कर्म दुवैले युक्त भएको ब्राह्मण खलक हो । हाम्रो त्यसमा पनि ठूलो तपस्या गरेर देवताले बचाएका सन्तान हामीसम्मको पुस्तावली सुरक्षा राख्नु भएको हुँदा, रिमाल यहाँबाट फाटे भन्ने नाम भुलेको वा छुटेता पनि मैले निश्चित रेग्मीबाट गुयेलापानी र रोल आइसकेपछि मात्र हामी फाटेका हौ भन्ने निर्णय गरेर यहाँदेखिअघिको कुरो गोरखराज रेग्मीज्यूले सुरक्षित राखेको हुँदा उहाँका खलक सबैको शुभेक्ष्या पहिलो चरणमा उहाँलाईटक्र्याएको हुँ । अब उहाँले सुरक्षा राखेको वंशावलीको उपल्लो भाग हामी रिमालको वंशावलीमा पनि छाप्ने छौ ।

यो छाप्दा कतिपय मानिसलाई अविश्वास जस्तो पनि लाग्न सक्ला किनभने कहीँ रेग्मी, कहीँ भट्ट, कहीँ रिमाल बडो आश्चर्यको कुरो छ । तर ती कुराहरू महत्वपूर्ण छन् । कुनै समयमा कौशिक गोत्रका ब्राह्मणहरूलाई तिमीहरू विश्वामित्रका खलक हौ, विश्वामित्र क्षेत्री हुन्, त्यस कारणले ‘दिएर साध्य न्वाएर उपाध्याय हुँदैन’ तिमीहरू ब्रह्मकर्ममा सरिक हुन पाउँदैनौं भनेर जुम्ली राजाको पालामा विवाद चल्दा हामी कौशिक गोत्र पनि हौं, भट्ट पनि हौं भनेर दाबी गरे यसको अर्थ के रहेछ भने त्यस समयमा उपाध्यायलाई भट्ट भन्ने चलन रहेछ, किनभने सबै गोत्रका ब्राह्मणहरूले भट्ट केही पुस्तासम्म लेखेको पाइन्छ । अर्को कुरा ज्योतिष विषयको विद्वान मानिसलाई जुनसुकै गोत्रको भए पनि जोशी भन्ने र लेख्ने पनि चलनचल्ती छ । पुराना, तमसुक, भर्पाई, चिना, टिपनसमेतमा यस कुराको उल्लेख पाइन्छ । बुबा धुरन्धर ज्योतिषी भए छोराहरूले जोशी लेखे जोशीका छोरा मूर्ख अथवा अनपढ भए पनि जोशी हुँदै केही पुस्ता चलेको पाइन्छ । यस्ता कुराहरू अनुसन्धान गर्दा ख्याल राख्नु पर्दो रहेछ, जस्तैः नबुझी कतिपय मानिसहरूले एउटै खलकमा विवाह पनि गरे होलान् भनेर अनुसन्धानकर्ताले गोत्रावली तयार गरेर गोत्रमा विवाह गर्नु हँुदैन भन्ने उल्लेख गरेको हुँदा त्यसले धेरैलाई जोगायो । नजानी गरेको पाप ज्ञानबाट नष्ट हुन्छ ।

‘अज्ञानेन कृतं पापं सज्ञानेन विनश्यति ।
सज्ञानेन कृतं पापं बज्र तुल्यो भविष्यति ।।’

नजानिकन कसैले गर्न नहुने पाप ग¥यो र पछि जानकारी भयो भने जानेका दिनदेखि त्यस्तो पाप लाग्ने काम गर्न छाडिदिनाले त्यसलाई नजानिकन गरेको दोष लाग्दैन । यदि जानेर पनि पाप काम गरिरह्यो भने बज्र जस्तो भएर अथवा कठोर भएर अरू दोष लाग्दछ । वंशावलीको खोज यसरी पनि आवश्यक भयो । मेरो भूल भएमा सुधार गरी दिनुहुन सबैसित अनुरोध पनि गर्दछु ।

तृतीय चरण

कुल मान्ने परम्परा कसैकसैले केही भुल्नु कसैले नजानेर बिखण्डन ल्याउनु स्वाभाविकै हुन्छ तापनि रेग्मीहरू सहस्रलिंग शिवका नै उपासक हुन् । सहस्रशिव भन्नु र सहस्रलिंग भन्नु एउटै कुरो हो । ग्वाल ग्वालिनीलाई गोठालो र गाईकी अधिष्ठात्री देवीका रूपमा मानेका छौ । हामी रिमालहरूमा पनि कतै कतै आराध्य ग्वाल ग्वालिनी पनि छन् । रिमालको मूल कूलको रूपमा सहस्रलिंग नै पूजन गरेको पाइन्छ । कालान्तरमा रेग्मीका कुनै हाँगामा केही शाखा—प्रशाखामा थपिँदै पनि गएका हुन् ।

रिमालहरूको वंशावली प्रारम्भः

कौशिक गोत्रस्य कौशिक विश्वामित्र देवरातेति तृप्रवरस्य माध्यान्दिनेय शाखा शुक्ल यजुर्वेदाध्यायिनः पुराना टिपोटमा यस्तो लेखेको पाइएको छ, रेग्मी परिवारबाट २०५५ साउन २० गते बुधबारको दिन कोटभैरव गाविस वडा नम्बर ८ दुवालीका श्री गोरखराज रेग्मीबाट उपलब्ध भई सारेर लिएको पुस्तावली निम्न प्रकार छ :
१) आदि पुरुष अत्रि, २) चन्द्रमा, ३) बुध, ४) बुधको इलातर्फबाट पुरुखा, ५) विजय, ६) भीम, ७) काञ्चन, ८) होत्र, ९) जन्हु, १०) पुरू, ११) बालक, १२) अजक, १३) राजाकुश, १४) कुशाम्बु, १५) गाधी, १६) महर्षि विश्वामित्र, १७) देवरात, १८) कुशिका, १९) लोहिता, २०) यक्षका, २१) कर्मकायन, २२) अजा, २३) कला, २४) धनञ्जय, २५) अधमर्षण, २६) पुरणा, २७) इन्द्रकौशिक, २८) रोहिता, २९) रेणव,
३०) पेणव, ३१) जन्हु, ३२) आत्मरथ, ३३) उद्वेनब, ३४) जयशर्मा कुशाल (कुशीनगर) बाट विजय नगरमा आई बसे । ३५) देव शर्मा, ३६) जय शर्मा, ३७) श्री वत्सराज, ३८) विणिराज, ३९) सोमराज, ४०) बालराज, ४१) रोमती, ४२) शिवराज, ४३) पुरुषराज, ४४) पद्मनाथ, ४५) गणेश, ४६) देवराज, ४७) कृष्णराज, ४८) अमैराज, ४९) रश्मिराज, ५०) मणिराज, ५१) जयेतिराज, ५२) मनोहर, ५३) मनोहरका छोरा तीर्थराज विजयनगर, जालन्धर (अचेलको जम्मु काश्मीर)मा आई बसे । ५४) नरोत्तम, ५५) वनमवाली, ५६) विष्णुदास, ५७) मथुरा, ५८) देवीराज, ५९) दिनमणि, ६०) प्रजापति, ६१) पशुपति, ६२) वासुदेव, ६३) राममणि, ६४) श्री वरराज, ६५) मार्तण्ड, ६६) मधुकर, ६७) बलभद्र, ६८) प्रभुराज, ६९) नारायण, ७०) हेमकर, ७१) गोपाल, ७२) द्वारिका, ७३) कमलाकर, ७४) गन्धर्व, ७५) शिवराम, ७६) सहदेव, ७७) बालम्बर, ७८) देवल, ७९) विश्वामित्र (विद्यानगरबाट रङ्गलीपुरमा आइ बसे । ८०) हरिनारायण, ८१) विनोदीराज, ८२) नन्ददेव, ८३) स्वयंदेव, ८४) जगन्नाथ, ८५) रामनाथ, ८६) शङ्करनाथ, ८७) गौरीनाथ, ८८) शोभानाथ, ८९) हरिहर, ९०) विष्णुराज,९१) भूपतिराज, ९२) हरिराज, ९३) तीर्थराज, ९४) जगतराज, ९५) जयदेव, ९६) देवचन्द्र, ९७) जयचन्द्र, ९८) श्रीवत्स, ९९) पं विलम्बण (यी विलम्बण सम्पूर्ण शास्त्रका ज्ञाता थिए । यिनकी पत्नी भानुमतीका गर्भबाट ज्योतिषशास्त्र विशारद, बाणबलनामका बालक जन्मे बाणबलका समयमा सन्तान नभएकाले आफ्नी पत्नी शोभनासहित तीर्थ गर्न जाँदा जगन्नाथ पुग्दा बाटामा खापरेश्वर नामक बालक देखा परे । स्नेहवस त्यो बालक श्रीमती शोभनाको काखमा बस्नेबित्तिकै शिला भएकोले त्यो शिलालाई सँगै लिएर तीर्थाटन गरे । पछि समस्त कौशिक गोत्रीय खप्तडीका आराध्य इष्टदेवता खापड जगन्नाथ र खापडमष्ट नामले सर्वपूज्य भएका छन् ।

१००) पं बाणबल— यिनकी पत्नी शोभनाबाट १०१) निमा, १०१) चिमा (गोरखा) र १०१) चिन्तु नामका तीन छोरा भए । १०१ निमाका छोरा, १०२) पुण्डरिक भए । पुण्डरिकका छोरा, १०३) धर्मदास जोशी (यिनले डोटीका राजा रिपुमल्ल द्वितीयबाट शाके १२०१ मा ‘रेगम’गाउँ कुश बिर्ता पाएकाले त्यहाँदेखि सबै भाइका सन्तानहरू रेग्मी कहलाइए । कुशबिर्ताबाट कुशे औंसीका दिन डोटी राजदरबारमा सात भारी कुश पठाउनु पर्दथ्यो । शाके १३३५ मा थलहरा राज्य स्थापना भएपछि शाके १५८३ मा थलहराका राजा जितारी सिंहबाट ताम्रपत्र प्रदान गरी कुश पठाउने चलन छुटाइएको हो । १०१) शोभाखर (चिमा) रङ्गपुरबाट रेगममा आई बसे । त्यस समयमा लेखिएका संस्कृत कविता सारेर राखेको रहेछ । जुन निम्न लिखित छ–

स्नानं विद्यापुरि गृहेषु गमनं शैलाश्व गंगा श्रवे,
ग्रमे रङ्गेपुरि भवेत गृह गते स्थानंच यत् संगमे ।
सैवराज सुरागता अतीनृपा दन्तिच भूपुन्यदा
तत्कल्याणा द्विजोत्वमा वचनं लक्ष्मीनारायणम् कीर्तिनाम् ।।
रेगस्थानं द्विजोत्पनं नाना शास्त्र विशारदं
गुणा ज्ञानं महातेजा महातेजा सुरा कवि ।
तस्या भागीरथी गंगा रेगम स्थान विशेषतः
कण मात्र जलं पित्वा मम रेग्म वकन्यते ।।
दश दश पुण्य स्थानं मम रङ्गस्य पालयते
धन्यं भूपायते विप्र धन्यस्थानं द्विजोत्तमा ।
अवश्य दर्शनं स्थानं नृपा कुम्भ ददौ नृपः
पूर्वाग्रे च सीतानधा नित्यस्नानं तु कारगते ।।
तत्र दक्षिणा वेणिश्च सर्वदेव समागमे,
स्नानं दानं भवेत कुर्यात पूर्व पाप प्रमुच्यते ।
शोम खरस्य दैवज्ञः विप्रस्य अकारोजयः
देशत्यागी भवेत विप्र स्थाये नटर मातरः ।।
षटशास्त्री महाबुद्धिः दैवज्ञ कुल दीपकः
नाना शास्त्र प्रकासेवा नित्य दिनं गुरः प्रजोतः ।।

१०१) शोभाखर (चिमा) यी शोभाखरका पालामा भारतको रङ्गपुरबाट राजस्थान, राजस्थानबाट हरिवंश राना आई तल्लोकोटमा बसेका बेलामा सेती गङ्गालाई साक्षी राखी यिनले शोभाखरलाई गुरु थापे । गुरु दक्षिणा बापत चिणनु लाउने ठाउँ मागी जहाँसम्म लहरा पुग्छ त्यो ठाउँ पाउँ भनी लालमोहर लगाएपछि चिणनुको लहरा जहाँसम्म पुग्यो त्यो ठाउँसम्मा आफ्ना छोरा सन्तान गएर बसे ।

१०२) प्रभाखर, १०३) पुरुषोत्तम, १०४) पद्माखर, १०५) गणेशराज, १०६) श्री राज, १०७) रामराज, १०८) रामराजका छोरा ५)
१०९) हेमकरः खप्तड गई बस्या
१०९) खेमकरः कुमाउ गया
१०९) वासुदेवः डुङी, बझाङ छान्ना गया यतैबाट खप्तरी बस्नेत, खप्तरी खड्का, खप्तरी बुढा,खप्तरी बुढाथोकी फाट्दै गएको हुनुपर्छ ।
१०९) गोपालः झुटेरा, बझाङ गया
१०९) द्वारिकाः सल्यान गया
१०९) हेमकरका छोरा २
११०) प्रभुराजः प्रभुराजले डोटी गढसिरा भट्टकी कन्या र जुम्ली राजाकी मैयासँग बिवाह गरी खप्तडमा खापरमल्ली देवता स्थापना गरी देवल बनाया ।
११०) ब्रह्मराज
११०) प्रभुराजको पुत्र २
१११) धिराज ब्रह्मणीबाट
१११) पण्डितराज– मैयापट्टीबाट पिपलकोट गया
१११) धिराजका पुत्र ३ ः
११२) गोलुराज
११२) मसुराज, मसुराज गण्डौली बस्या (थलहरा) र
११२) झुसुराज जैसीगाउँ बस्या (थलहरा)
११२) गोलुराजका छोरा ४
११३) श्री धर
११३) शक्तिधर
११३) नन्दाखर र
११३) जोगानन्द अछाम गुयलापानी बस्या ।
११३) जोगानन्दका छोरा ४
११४) लक्ष्मीराज —बीसखेत दुवाली बस्या
११४) बिनिदास—गुयलापानी बस्या
११४) अमृताखर —रोल बस्या
११४) जयदेव (भोला)

यिनी जयदेव (भोला) नै पहिलो रिमाल हुन् । यिनी रोल जोगीबाडा हुँदै शेरा गए अनि शेराबाट रिमा गएर बसे । उनका खलकबाट रिमाल भए । यिनैको पुस्ताको आसपासबाट ढुङ्गाना पनि फाटेको हुनुपर्छ । त्यो कुरो गुयलापानी र रोलका रेग्मीहरूलाई थाहा हुनुपर्छ ।

(योचाहिँ रेग्मी हो यहाँ केही रेग्मी परिवारका तथा तिनबाट फाटेका अरू हाँगाको पनि नामावली नलेखी नहुने भयो किनभने पहिलेका नाम लेखेको कागजमा ती नाम थिए । त्यो उतारेको जतिमा आधा लेख्ने आधा छोड्ने अलि मिलेन त्यस कारणले निम्न रेग्मीका नामावली लेखिँदैछ । एक बाजेको खलक

१) लक्ष्मीराजका छोरा
(१) को नाम पश्चिम बझाङतिर
२) सुदेन
२ ) सुदेनका पुत्र
(३) सुरभान देव
३) सुरभान देवका पुत्र
४) श्री नन्द
४) श्री नन्दका छोरा २
(५) सुर्जाखर – बीसखेत बझाङ र
५) चन्द्राखर–दुवाली बझाङ
५) सुर्जाखरका पुत्र–
६) वैकुण्ठ
६) वैकुण्ठका पुत्र
७) अमन्त
७) अमन्तका पुत्र
८) सोवर्ण र
८) पण्डितराज
८) सोवर्णका पुत्र
९) वासुदेव
९) वासुदेव
१०) बद्री र
१०) हरि
१०) बद्रीको छोरो १
११) राम
११) रामको छोरो १
१२) शिव
१२) शिवको छोरो १
१३) भूमानन्द
१३) भूमानन्दका छोरा ५
१४) हंशराज,
१४) गजाधर–खरदार,
१४) ईश्वरीदत्त –खरदार,
१४) पर्शुराम र
१४) शिवी,
१४) गजाधरको पुत्र १
१५) मदनराज खरदार
१५) मदनराजको पुत्र १
१६) डिट्ठा अमरराज
१६) डिट्ठा अमरराजका पुत्र ३
१७) ध्रुवराज,
१७) शिवराज र
१७) लक्ष्मीराज
१४) ईश्वरीदत्तका छोरा ४
१५) डिट्ठा विजयराज,
१५) डिट्ठा जयराज,
१५) सिद्धराज र
१५) रामदत्त
१५) डिट्ठा विजयराजका पुत्र ७
१६) हरिप्रसाद,
१६) डिट्ठा दीर्घराज,
१६) तविलदार विष्णुप्रसाद,
१६) वै. ललितराज,
१६) वै. गङ्गाप्रसाद,
१६) करे खत्री र
१६) कालु खत्री
१६) डिट्ठा दीर्घराज छोरा ३
१७) हिक्मतराज
१७) सु. गोरखराज
१७) यदुराज
१४) पर्शुरामका पुत्र २
(१५) धर्मराज
१५) पुरन्धरका छोराहरूबाट भुसाल खत्री
भए (भुसाल खत्री हाम्रा सगोत्री हुनाको कारण यो हो ।)
१५) धर्मराजका पुत्र २
१६) हर्कनारायण
१६) देवदत्त
१६) देवदत्तका छोरा १
१७) लक्ष्मीराज
१५) डिट्ठा जयराजका छोरा ४
१६) सु. द्विजराज
१६) भोजराज
१६) शिवराज र
१६) हरिलाल
१६) द्विजराजका छोरा ३
१७) सु. नन्दराज
१७) खगेन्द्र
१७) गोपेन्द्र खत्री महेन्द्रनगरमा बस्याका
१६) भोजराजका पुत्र ३
१७) धर्मराज
१७) जनकराज र
१७) तेजराज
१६) शिवराजका छोरा २
१७) देवराज र
१७) मदनराज
१०) हरिका पुत्र १
११) लछिमन
११) लछिमनका पुत्र १
१२) भगीरथ
१२) भगीरथका पुत्र १
१३) भोला
१३) भोलाका छोरा २
१४) चन्द्रदेव र
१४) वीरभद्र
५) चन्द्राखरका छोरा १
६) विशाखर
६) विशाखरका छोरा १
७) सुईतु
७) सुईतुका छोरा २
८) सुदर्शन र
८) नीलकण्ठ – पर्वत गया
८) सुदर्शनका पुत्र १
९) मणिराम
९) मणिरामका पुत्र १
१०) जोगा
१०) जोगाका पुत्र २
११) बलभद्र
११) घनश्याम– पोखरी थोक, गोरखा बस्या ।
(यहाँसम्म दुवाली बझाङ पट्टिको

८) पण्डितराजका पुत्र १ जुम्ली राजाको पुत्रीबाट जन्मिएका पण्डितराज खलक यहाँबाट चन्द ठकुरी भए र उनीहरू सगोत्री हुनुको कारण यो हो ।
११२) भोजराजका पुत्र १
११३) उदयराज
११३) उदयराजका पुत्र १
११४) भक्ति चन्द
११४) भक्ति चन्दका पुत्र १
११५) कटक चन्द
११५) कटक चन्दका पुत्र १
११६) भूपति चन्द
११६) भूपति चन्दका पुत्र १
११७) शतधर्म चन्द
११७) शतधर्म चन्दका छोरा ३
११८) राम चन्द पूर्वगया
११८) शिव चन्द– छान्ना, बझाङ गया
११८) कालु चन्द – लुग्रा अछाम गया ।

यो कुरा त्यहाँ लेखेको नभेटे तापनि आधारातको कालुचन्द, आधारातको रघुवंशी भण्डारी भन्ने किंवदन्ती छ । कुनै कारणबस राजकाज चलाउँदै जाँदा आधा रातमा निस्किएर रघुवंशी भण्डारी भनेर जोगिए र यिनैबाट आधा खलक रघुवंशी भण्डारी बोलिन्छन् र रघुवंशी भण्डारी सगोत्री हुनुको कारण यो हो ।

ऐतिहासिक बझाङको एक झलक

नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल क्षेत्रको सेती नदीको उद्गमस्थल शैपाल र व्यास हिमालको काखमा स्थित अति दुर्गम र विकट जिल्लाको नाम हो बझाङ प्राकृतिक सौन्दर्य तथा सौन्दर्यको धनी ऐतिहासिक तथा सामाजिक सांस्कृतिक दृष्टिकोणले आफ्नै प्रकारको विशिष्टता र मौलिकता कायम राख्दछ । मध्यकालमा बाइसे र चौबिसे राज्यमध्ये थलहराको भिन्नै अस्तित्व भएको राज्य थियो तर थलहरा राज्य र बझाङ राज्य भिन्न हुनुअघि एक शक्तिशाली राज्य भएको पाइन्छ । वि.सं. २०१९ सालमा मात्र पुनः बझाङले बर्तमान आकृति धारण ग¥यो । थलहरा राज्यको खप्तडलेक, सकारलेकदेखि दक्षिणको भाग डोटी जिल्ला र उत्तरपट्टिको भूभाग बझाङ जिल्लामा गाभिन पुग्यो । ऐतिहासिक लेखका स्रोतहरू विभिन्न हुने भएकोले यस क्षेत्रको ऐतिहासिक विषयमा अझै अनुसन्धान गर्न आवश्यक छ । हाल थरहरा दुवाली गाउँ बस्ने गोरखराज रेग्मी (जोशी) तथा बिसखेत बस्ने मानबहादुर कहाँ पाइएका ताम्रपत्र वंशावलीअनुसार तत्कालीन राजाहरूको प्रष्ट मिति भएको शासनकाल उल्लेख गरेको नभएता पनि बझाङी थलहरि राजाका मूल पुर्खा १२३६ सालमा मुगल सम्राट्ले राजपुतनामा वैदिक धर्म (हिन्दु धर्म विरोधी अभियान चलाएपछि भारतको चितोडगढबाट धर्म रक्षार्थ नेपाल पसेका हरिवंश राना हुन् भन्ने उल्लेख गरेको पाइन्छ ।

रिमालको सुरुआत

कहाँबाट फाटेर रिमाल हुन पुगे र उनीहरूको वंशानुक्रम निम्नबमोजिम उल्लेख गरिन्छ । अछाम गुयेलापानीका जोगानन्द नै रिमाल वंशका साझा हजुरबा हुन्, भन्ने ठोकुवा छ । रिमालहरूका बाजे त्यहीँबाट विभाजन भएर आएका हुन् । ढुङ्गाना पुस्ता चाहिँ त्यसैको आसपास अलि पछिबाट फाटे तर ‘रिमा’ आउने बाजेको नाम (जयदेव या भोला) हो । गुयलापानीबाट विभाजन भएपछि धेरै कानचिरा जोगीहरूको आसपासमा बसोबास गरे (रोल, जोगीबाडाको आसपास) त्यसताकाको एउटा आहान छ । एक कानचिरा जोगीका छोरा थिएनन् उनीसित हेलमेल राम्रो रह्यो, दैव जानोस् यो सुनिएको परम्पराको कथन हो । ती जोगीले एउटा लौरो खन्ती जस्तो तिखो टेक्न हुने राख्न दिएर कानचिरा जोगी घुम्न गए । केही वर्षपछि त्यो घर परतिर सारेर बसे । १२ वर्षपछि ती कानचिरा जोगी आएर त्यो खन्ती जस्तो लौरो खोजे उनले दिन सकेनन्, मैले त्यो लौरोमा सुन राखेको थिएँ भनेर निहुँ खोजे । पटकपटक आउने झगडा गर्ने गरे । हदै भएपछि तिम्रो लौरो घुनले खायो भनिदिए । अनि आफ्नो छोरालाई कोक्रामा सुताएर काम गर्न गए, बेलुका घर फर्किदा बालक कोक्रामा थिएन । रुवाबासी होहल्ला भयो, राजाकहाँ खोजतलासीको लागि आवेदन चढाए । तिम्रो कसैसित झैझमेला थियो कि थिएन ? भनेर राजाले सोधपुछ गर्दा एकजना कानचिरा जोगीसित थियो, भनेपछि कानचिरा जोगीलाई झिकाइयो र सोधियो किन यसरी पटकपटक झगडा गरेर नानी बेपत्ता बनायौ ? भनेपछि यस्तो उत्तर दिए ।

‘लोहा से लोहा लडे सुनो राजा हिल
लोहा लागे घुनतो लडिका लागे चिल’

यस्तो उत्तर पाएपछि कस्तो थियो लौरो ? भनेर सोध्दा सुनजस्तो हजुर भने । लोहाको लौरो भनेर कविता गाउने सुन थियो सुन थियो भनेर आरोप लगाउने ? यसरी राजाले अनुसन्धान गरेपछि अलिकति चाहिँ सुन थियो हजुर भनेर जिरह लिए । अनि हाम्रा पुर्खालाई केही सुन तिराए र जोगीबाट बालक फिर्ता ल्याए, दुवैपट्टि गुनासा रहन्छन् भनेर यसरी वाचा बन्देज गराए, ‘आइन्दा मेरो खलकले कानचिरा जोगीलाई केही चिज दियो, लियो दोहोरो बोलचाल ग¥यो, एकै खाटमा बस्यो, सुत्यो भने छोएको पानी खायो, भने पनि मेरै सन्तानलाई बाधा पुगोस् भनेर’ कहार गरे ।

जोगीले पनि ‘मेरा त छोरा छैनन् हाम्रा नाथ सन्तानले यदि यिनका सन्तानबाट दान लिए, दोहोरो बातचित गरे उनीहरूका घरमा बास बसे, भइरुङ जगाए, फेरी लाए, हाम्रै नाथ सन्तानलाई बाधा पुगोस् भनेर कसम् खाए’ भन्ने परम्परागत किंवदन्ती जान्नेसुन्ने मानिसहरू आहान गर्दछन् । यस उद्देश्यले जुन हातमा विष लाग्यो त्यही हात मात्र झर्छ अर्को हातलाई विष लाग्दैन भन्ने उक्तिले उनका सहोदर भाइ जोगीसित बसउठ गर्ने, दान दिने, ऊ चाहिँ नगर्ने यस्तो भिन्नता भएपछि आफ्ना सहोदर भाइहरूबाट अलग्गिएका १३, १४ वर्ष त्यही बसिकन जोगीसँग झगडा भएपछि मात्र त्यहाँबाट छोराछोरी लिएर बदामीशेरा हुँदै रिमा आएर बसोबास गरे । यदि रेग्मीहरूले त्यस समयमा पुस्तावली लेख्ने गरेको रहेछ भने जयदेव (भोला) यी दुई नाममा एक नाम मिल्नुपर्छ, नत्र भने ऊ जोगीलाई दान नदिने हामी दिन छोडौ यसको नाम भनेर छोडे भने मात्र कि धेरै पुस्तापछिका मानिसहरूले पुस्तावली लेखे भने छुट्न सक्छ नत्र भने लेखिएको छ, ठाउँ र पुस्ता संख्या चाहिँ मैले बताइसकें, यसपश्चात् रिमा आएपछि के जात ? भनेर सोध्दा ब्राह्मण कस्तो ब्राह्मण ? कौशिक गोत्र (भट्ट) त्यस समयमा प्रायः गरेर (पुरोहित) काम गर्ने पण्डिताही गर्ने ब्राह्मणहरूलाई भट्ट लेख्ने चलन पनि रहेछ । किनभने बजगाईहरूले पनि भट्ट लेखेको भेटिन्छ । तिमल्सिनाहरूले, ढकालहरूले अरूले पनि पुराना कागजातहरू हेर्दा ५ देखि ७ पुस्ता कसैले अलि बढी पाइन्छ, त्यसमा पनि ज्योतिषविज्ञ मानिसहरूको सबै थरमा जोशी लेख्ने परम्परा पनि चिना टिप्पन आदिमा उल्लेख गरेको पाइन्छ । हामीले भेटेर केही सारेका छौं ।

अर्को पृष्ठमा उल्लेख गरिन्छ तर वंशावलीका काम क्रमबाट जस्तै ः एक घर (कृष्णराजका घर) बाट पाइएको पुस्तावली क्रम यस्तो छ, (रिमाल मसिल्लाबाट पुरानो टिपोट) (भोला भट्ट कौशिक गोत्र विश्वामित्र औदल देवरात) कमोदाक भट्ट, रतन भट्ट, गंगा भट्ट, श्रीपाल भट्ट, बोध भट्ट खिमाडी, विजै बुढा, रिवा जोशी, रतन जोशी, वैतु जोशी, जगम जोशी, जितु जोशी, राम जोशी, नन् जोशी, रत्नाखरन जोशी, सुतम जोशी, कवल जोशी, जस्तै अर्को घरबाट पाइएको पुस्तावली क्रम यस्तो छ रिमालय गाउँबाट मुखियाका घरबाट पुस्तावली भन्ने कागज–कनउदेखि आएका भोला भट्ट–भोला पट्टका हरि भट्ट–हरि भट्टका–श्याम भट्ट, कवद भट्ट, श्रीपाल भट्ट । श्रीपाल भट्टका छोरा २ बोध भट्ट जेठीपट्टिबाट– खिमाडी, विजय भट्ट कान्छी पट्टिबाट (रिमा यो खिमाडीबाट छुट्ट्याइएको कान्छा विजय भट्टका छोरा रिवा जोशीका दिन (समयमा) पाएको रिमाकोष्ट तासु जानी क्रमले माथि चार भाग दिएको । अतु जोशी, जगधर जोशी, मुषु जोशी धमाली बस्याका छन् । काषामुषु जोशी यहाँबाट बसाइँ सरी पूर्व त्रिशुलगङा काष्टको भन्ने ठाउँमा बसेका छन् । यहाँसम्म कहीँ क्रम मिलाएर कहीँ क्रम नमिलेको भन्ने अर्को सन्देश आउँछ । अर्कोबाट ककुका खलकबाट वूढा पुराना मानिस र केही कागजातहरूको आधारमा जैदेवबाट सुरु भन्ने पूर्वजहरूको भनाइअनुसार भनेर प्रट्याएका छन् । (ढकारी गाविस ८ नं वडा अछाम) यहाँ सुजान भट्ट मुनि श्रीपाल, भोलादेखि तल कमोदाक लेखियो । अर्कोमा हरि यसरी गढबढी बुझिन्छ र (ढकारी गाविस ७ अछाम) यसमा हाँगा विगा अझ केलाइको छ तर पुस्ता संख्या मात्र कम छ । एक खलकमा त पुस्ता संख्या भोलादेखि उँधोको ठीक छ । हाम्रा बाबु बाजे हिच्माबाट रिउल र त्यहाँबाट बदमीशेरा हँदै रिमा आएका हुन् । हरि भट्टका – श्याम भट्ट यो काले तीन दाजुभाइ जस्तो संकेत गर्छ, कवद भट्ट, श्रीपाल भट्ट, श्रीपाल भट्ट (यहाँ कवद मुनी श्रीपाल लेखियो केही गढवढी यसरी बुझिन्छ) र सुनेका कुरालाई पनि आधार लिनुपर्ने भयो । रिवा मुनी (दुवै पट्टी ऐतु आउँछ त्यस कारणले ऐतुका खलक रिमामा रहने बुझाउँछ । सुनेको कुरालाई पनि आधार मानेर यसक्रमले पुस्ता लेखिन्छ ।

गुयलापानीका जोगानन्दका खलकबाट १ भाइ १ जयदेव (भोला) रिमा आएका हुन् ।

१. जयदेवका (भोला) का छोरा ३
२) जगदेउ (जयपाल)
२) जसु भट्ट र
२) भोला भट्ट
२. भोला भट्टका छोरा ५
३) कामोदाक
३) रतन
३) गङ्गा र
३) सुजान
३) हरि भट्ट भए ।
३. हरि भट्टका छोरा ३
४) श्याम भट्ट
४) कवद भट्ट
४) श्रीपाल भट्ट (रिमाल वंशमा श्रीपाल भट्ट कुलदेवताको रूपमा पुजिन्छन् ।
४. श्रीपाल भट्टका छोरा २
५) बोध भट्ट
५) विजय भट्ट

श्रीपाल भट्टलाई अनन्त चतुर्दशीको दिन गोठबाट आफ्ना बाबुको श्राद्ध गर्न आउँदा अछाम जिल्ला ढकारी गाविसमा ढनेटाको खाद भन्ने ठाउँमा स्नान गर्न लागेको अवस्थामा उभोबाट एक हाण्डु नाम गरेको कानचिरा जोगी आयो र त्यहाँ श्रीपालले राखेको दही झिकेर खाएपछि एकता जोगीलाई दिन नहुने, अर्को बोध भट्टकी आमा कालागाउँकी कुइँकेलकी छोरी थिइन् । उनी आज मेरो बाबुको श्राद्धका दिन किन खाइस् ? भन्दा दुबैको झगडा भयो र हाण्डु नाम गरेको ती जोगीले श्रीपाललाई त्यहीँ मारेर भाग्न सफल भयो । श्रीपालकी श्रीमती दुईमध्ये जेठीपट्टि एक मात्र छोरा जसको नाम बोध भट्ट थियो । माइतमा गएर बसेकी थिइन् । जुन समयमा आफूपट्टिको छोरालाई दर्नाली राजाको पुरोहित भण्डारिया काममा नियुक्ति गरेकी रहिछन् । बुबाको दुःखद् घटना सुनेर घरआई काजक्रिया गरे । त्यस समयमा कान्छीपट्टिका छोरा विजय भट्ट चाहिँ सानै हुँदा भाइ, आमा दुबैको दुःख देखेर हाण्डुलाई आक्रोशित भएर खोज्न सुरु ग¥यो । एक वर्षसम्म भेट्न सकेनन् । एक वर्षपछि वार्षिक श्राद्ध आयो । वार्षिक श्राद्धपछि पिताको घटनास्थलमा गएर पुराण लगाएर वेदपाठ गरी कुलपूजा गरियो । त्यहाँदेखि पहिले सहस्रलिंगको स्थापना गरेर घरमा नै कुलपूजा गर्ने, सहस्रलिंग (शिव) लाई मूलकुलको रूपमा मान्ने चलन रहेछ तर श्रीपालका पालादेखि बाहिर पूजा गर्ने गरी फरक ल्याए, यसरी– श्रीपाल भट्टलाई अगति पारेर मारेको हुनाले सद्गति होस् भनेर श्रीपालका पालादेखि सहस्रलिंगमा बली दिने र बाहिर कुलपूजा गर्ने चलन ल्याएका हुन् । पहिले सहस्रलिंगको पूजापछि श्रीपाललाई बली दिने चलन यसरी चलिआएको हो । अहिले पनि श्रीपाललाई मारेको ठाउँमा रिमाका रिमाल परिवारको कुलस्थान मैले देखेर आएँ । श्रीपालले गोठ राखेको ठाउँलाई अहिले पनि स्थानीय जनताले श्रीपाल मेला (पाखा) भन्दा रहेछन् । त्यसपछि जेठा छोरा बोध भट्टले त्यो हाण्डु जोगीलाई खोज्दै जाँदा फेला पारेर खेद्दै जाँदा त्यसले मष्टामाण्डु विनायकको मन्दिरमा भित्र पसी दैलो लगायो । उनले बाहिरवाट बाण हानी हाण्डुको हत्या गरे । त्यसरी हाण्डु जोगीको हत्या भएको ठाउँ मष्टामाण्डु विनायक अछाम जिल्लामा पर्दछ । अहिले पनि त्यो ठाउँमा भुडी दुख्यो, सिट्टे लाग्यो, नानीहरू बिरामी भए भने छोड्छस् भने छोड नभए ‘रिमाल’ बोलाइदिन्छु भनेपछि, जाति हुन्छ भन्ने विश्वास रहेछ । आफ्ना बाबुलाई मार्ने हाण्डु जोगीलाई मारेर बदला लिएर फिर्ता भएपछि ‘तिमीले गर्ने काम गरेनौं यो ब्राह्मणले गर्ने काम होइन, तीर चलाउने काम क्षेत्रीको हो, ब्राह्मण भएर जोगीलाई मा¥यौं, अब मेरो भण्डारिया पुरोहित हुन सक्दैनौ’ भनेर राजाले निष्कासन गरिदिए र ‘ब्राह्मणकी छोरी पनि बिहे गर्न पाउँदैनौ’ भनी राजाले रोक्का लगाए । राजाको भण्डारिया पुरोहित भएका हुनाले यी बोध भट्टका खलकलाई भण्डारी रिमाल भन्दछन्, ब्राह्मणकी छोरी विवाह गर्न रोक लागेको र क्षत्रीकी छोरी विवाह गरेर बसोबास गर्दै रहेका खलक अहिले पनि चार सय घर जति जुपु गाविस, खिमाडा (अछाम जिल्ला) मा छँदैछन् । यही खलकको बंशानुक्रम यहाँदेखि लेखिन्छ ।